Skip This
ad
भारतबाट घर फर्किनेहरूको नाकामा भिड : स्वास्थ्य परीक्षणमा भइरहेको लापरबाहीले कोरोना बढ्ने जोखिम
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
भारतका विभिन्न सहरबाट स्वदेश फर्कने क्रममा सोमबार जमुनाह नाका आइपुगेका नेपाली । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:३८:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भारतबाट घर फर्किनेहरूको नाकामा भिड : स्वास्थ्य परीक्षणमा भइरहेको लापरबाहीले कोरोना बढ्ने जोखिम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:३८:oo

रोजगारीका लागि भारतको विभिन्न ठाउँ पुगेका नेपाली दसैँ नजिकिएसँगै धमाधम फर्कँदै छन् । तर सीमानाकामा कोरोना परीक्षणको प्रभावकारी व्यवस्था नहुँदा गाउँगाउँमा संक्रमणको जोखिम बढ्दो 

दसैँ–तिहार, छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सीमानाका हुँदै भारतका विभिन्न सहरबाट फर्किने नेपालीको संख्या बढ्न थालेको छ । तर, त्यसरी फर्किनेहरूमा कोभिड–१९ संक्रमण भए–नभएकोबारे प्रभावकारी परीक्षण हुन सकेको छैन । रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली अहिले फर्किन थालेका हुन् । स्वदेश फर्किने नेपालीका कारण पूर्वी झापादेखि सुदूरपश्चिम कञ्चनपुरसम्मका प्रमुख सीमानाकामा भिड बढेको छ । 

६ महिनाअघि कामका लागि भारतको हिमाञ्चल प्रदेश कुल्लु मनाली गएका सल्यानका जंगबहादुर खड्का सोमबार जमुनाह नाका आइपुगे । शरीरभन्दा ठूलो भारी बोकेका उनले यात्रामा सयौँलाई भेटे । जमुनाह नाका आइपुगेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले कोरोना परीक्षणका लागि हेल्थ डेस्कतर्फ पठाए । एन्टिजेन प्रविधिबाट कोरोना जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएन । उनी आफ्ना साथीभाइसँगै नेपालगन्जतर्फ लागे । तर, उनीसँगै आएका उनका थुप्रै साथीको एन्टिजेन परीक्षणसम्म भएन ।

कोरोना कहरकै वेला उनी रोजगारीको खोजीमा भारत गएका थिए । ‘भोको पेटले कोरोनाको जोखिम रहेकै वेला पनि रोजगारीका लागि भारत गएको थिएँ,’ जंगबहादुरले नयाँ पत्रिकासँग भने, ‘दसैँ, तिहारलगायत चाडपर्व परिवारसँगै मनाउन स्वदेश फर्किएको हुँ ।’

रोजगारीका लागि भारतको विभिन्न ठाउँ पुगेका नेपाली दसैँ नजिकिएसँगै धमाधम फर्कँदै छन् । तर सीमानाकामा कोरोना परीक्षणको प्रभावकारी व्यवस्था नहुँदा गाउँगाउँमा संक्रमणको जोखिम बढ्दो छ।

सुर्खेत मेहलकुनाका दशरथ विक पनि सोमबार बिहान जमुनाह नाका हुँदै स्वदेश आइपुगे । कामका लागि भारतको चण्डीगढ गएका उनी पनि चाडपर्व मनाउन स्वदेश फर्किएका हुन् । उनले भने, ‘खान, लाउन समस्या भएपछि कामको खोजीमा भारत गएको थिएँ । चाडपर्व नजिकिएपछि मन थाम्न नसकेर काम छाडेर स्वदेश फर्किएँ,’ उनले भने । उनी परिवारका साथ चाडपर्वको खुसी मनाउन घर फर्किएका हुन् । तर, उनी काम गर्न गएको भारतको चण्डीगढ तथा उनले यात्रा गर्दा तय गरेका धेरै ठाउँमा कोरोनाका अझै संक्रमित छन् । त्यसो त नेपाल आइपुग्दासम्म उनीजस्ता प्रायः हरेकले भिडभाड र घुइँचो पार गरेरै आउनुपरेको छ । तर, नेपाल प्रवेशका क्रममा ती अधिकांशको परीक्षण हुन सकेको छैन । जसका कारण अघिल्लो वर्षजस्तै गाउँ–गाउँमा कोरोना फैलिने जोखिम बढेको छ । 

कर्णाली प्रदेशको सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कालिकोट, जुम्लालगायत सुदूरपश्चिमको अछाम र लुम्बिनी प्रदेशका दाङ, रुकुम पश्चिम, रोल्पा र प्युठानका सर्वसाधारण नेपालगन्ज नाका भएर आउने गरेका छन् । भारतबाट आउनेहरू चाडपर्व मनाउनकै लागि स्वदेश फर्किएको बताउँछन् । ‘काम राम्रो थियो, कमाइ पनि चित्तबुझ्दो थियो, तर काम र दामभन्दा चाडपर्व ठूलो लाग्यो । चाडपर्वले काम छाड्न बाध्य बनायो,’ बबई गाउँपालिका–४ का निमबहादुर बस्नेतले भने । निमबहादुरका अनुसार उनीसँगै काम गर्ने धेरै नेपाली स्वदेश फर्किरहेका छन् । 

खड्का, विक र बस्नेतजस्तै दसैँ र तिहार मनाउन स्वदेश फर्किने नेपालीको संख्या बढ्दै गएको छ । नेपालगन्ज नाकाबाट दैनिक सरदर दुई हजार नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायव निरीक्षक पूर्ण खत्रीले जनाए । दसैँ जति नजिकिँदै छ, त्यति भारतबाट आउनेको संख्या बढ्दो छ, तर नाकामा कोभिड परीक्षणको भरपर्दो व्यवस्था छैन । न त आवश्यकताअनुसार जनशक्ति नै परिचालन गरिएको छ । 

वीरगन्ज नाकामा पनि उस्तै अवस्था 
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब १७ महिनादेखि सीमानाका बन्द गरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा संक्रमण कम भए पनि औपचारिक रूपमा सीमानाका खोलिएको छैन । तर, वीरगन्ज–रक्सोल नाका भएर दिनहुँ सयौँ मानिस निर्बाध आवतजावत गरिरहेका छन् । मालवाहक सवारी, मोटरसाइकल र साइकल विनारोकतोक आउजाउ गरिरहेका छन् । यात्रुवाहक सवारी निषेध हुँदा पनि दैनिक सयौँ मानिस आवतजावत गर्ने गरेका छन् । 

नाकामा खटिएका सुरक्षाकर्मीले मुख्य सडकबाट आवतजावतमा निषेध गरे सर्वसाधारणले भन्सार पूर्वपट्टिको बाटो प्रयोग गर्ने गरेका छन् । नेपालबाट जानेहरू निर्बाध आउजाउ गरिरहे पनि भारतबाट भने यात्रुवाहक सवारी आउन रोक लगाइएको सुरक्षाकर्मीहरूको भनाइ छ । वीरगन्ज नाकाबाट मालवाहक भारतीय गाडी र नागरिकले प्रवेश पाए पनि निजी नम्बरका भारतीय सवारीले भने प्रवेश अनुमति पाएका छैनन् ।

प्रशासन भन्छ– जेठयता संक्रमित भेटिएका छैनन्
गत वर्ष भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना संक्रमण देखिएपछि स्थानीय प्रशासनको निर्देशनबमोजिम वीरगन्ज महानगरपालिकाले सीमानाकामा हेल्थ डेस्क स्थापना गरेको थियो । सोही डेस्कबाट अहिले पनि नेपाल प्रवेश गर्नेहरूको स्वास्थ्य जाँच गर्ने व्यवस्था छ । प्रशासनको दाबीअनुसार हेल्थ डेस्कमा सीमानाका भएर भित्रिनेहरूको एन्टिजेन परीक्षण हुँदै आएको छ । तर, नाकामा केहीबेर उभिएरै हेर्दा पनि स्वास्थ्य जाँच नै नगराई ओहोरदोहोर चलिरहेको स्पष्टै देखिन्छ । 

पछिल्लो समय वीरगन्ज नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा संक्रमित नभेटिएको हेल्थ डेस्कमा खटिएका एचए सैनुल्लाह हवारीले बताए । उनका अनुसार अहिले दैनिक तीन सयदेखि पाँच सय एन्टिजेन परीक्षण हुँदै आएको छ । र, जेठयता एकजनामा पनि संक्रमण पुष्टि भएको छैन । 

ad
ad