Skip This
असंलग्न परराष्ट्र नीति जोगाइराख्ने चुनौती
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १० आइतबार
  • Monday, 17 June, 2024
प्रा.डा. शिव गौतम
२o७८ असोज १० आइतबार १o:४२:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

असंलग्न परराष्ट्र नीति जोगाइराख्ने चुनौती

अग्रलेख

Read Time : > 4 मिनेट
प्रा.डा. शिव गौतम
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार १o:४२:oo

असंलग्नतालाई परराष्ट्र नीतिको मियो मानेर अघि बढ्नु नेपालको संस्कृतिजस्तै भइसकेको छ 

राष्ट्रको परराष्ट्र नीति, राष्ट्रको सर्वोपरि हितको परिधिभित्रै घुम्नुपर्छ । समय–समयमा संसारका चलायमान परिस्थिति र अन्य राष्ट्रका नीतिसँग सापेक्षिक समायोजन गर्नुपर्ने हुन्छ । तर, यस्ता समायोजनको केन्द्र भने स्वराष्ट्र नै हुनुपर्छ, पर राष्ट्र होइन । 

परराष्ट्रहरूसँगको सम्बन्धलाई निर्धारित गर्ने केही अवयव जस्तै– छिमेकी, भूगोल, इतिहास, संस्कृति, परम्परा आदि अपरिवर्तनीय हुन्छन् भनिन्छ, तर सम्पूर्ण अवयव भने सधैँ उस्तै रहिरहन्छन् भन्न सकिँदैन । अनेकौँ बाह्य वा आन्तरिक आर्थिक, सामाजिक, राजनीतिक आदि भुइँचालाले गर्दा राष्ट्र–राष्ट्रबीचको सम्बन्धमा चिरा पर्न सक्छ वा त्यो गल्र्यामगुर्लुम ढल्न पनि सक्छ । नेपालले अवलम्बन गर्ने परराष्ट्र नीतिमा यस्ता भुइँचालाविरुद्ध प्रतिरोधक क्षमता हुनुपर्छ भन्नेमा दुई राय नहोला । 

केही समयअघिसम्मको शीतयुद्ध शिथिल हुन नपाउँदै संसारमा फेरि नयाँ परिस्थिति सिर्जना हुँदै छ । नयाँ राजनीतिक व्यूह बुनिँदै गरेको जस्तो देखिन्छ । यसपालिको यो व्यूह, पहिलेको शीतयुद्धको भन्दा नेपालको नजिकै आएको छ । यस्तो अवस्थामा नेपाललाई नताकिएको छर्रा लाग्न सक्छ, साँढेको जुधाइ र बाच्छाको मिचाइ हुन सक्छ । क्यानडाका प्रधानमन्त्री ट्युडोले एकपल्ट, अमेरिका र क्यानडाको सम्बन्धबारे भनेका थिए– अमेरिकाको छेउमा हुनु भनेको हात्तीसँग सुत्नुजस्तै हो । हात्तीले जति नै मित्रवत् व्यवहार गरे पनि यसो अलिकति निद्रामै चटपटायो वा आवाज निकाल्यो भने पनि छेउमा सुत्नेलाई असर पर्न सक्छ । यस सन्दर्भमा नेपालको स्थिति त झन् दुई–दुईवटा मित्र हात्तीहरूबीच सुतेको जस्तो अवस्था छ । त्यसमाथि नेपालका ती दुई मित्रराष्ट्र एक–आपसमा आजका दिनमा त्यति साह्रो मित्र छैनन् । घुक्र्याउन वा धम्क्याउन अलिक ठूलो स्वरले एक–अर्कालाई हप्काए भने मात्रै पनि नेपाललाई प्रतिकूल असर पर्न सक्छ । 

भौगोलिक रूपले चीन र भारतको बीचमा हुनुका साथै अहिलेको वैश्विक, विशेषगरी आर्थिक परिस्थिति र राजनीतिक समीकरण नेपालका लागि वरदान सावित हुन पनि सक्छ । यो नयाँ परस्थितिको सेरोफेरोमा भारतसँगको डोरीमा अमेरिका पनि जोडिएको हुनाले, नेपाल एक प्रकारले हाल र निकट भविष्यका लागि समेत गरी तीन आर्थिक महाशक्तिसँग संगत गर्ने अवस्थामा पुगेको छ । अमेरिकासँग त्यसै पनि नेपालको सम्बन्ध राम्रै छ । भारतसँगको उसको बढ्दो घनिष्टताको उल्लेख त हालको परिस्थितिमा थपिएको आयामको सन्दर्भमा मात्र गरिएको हो । 

यो विकसित हुँदै गइरहेको परिस्थिति वरदान वा अभिशाप हुन सक्ने कुरा मुख्यतः नेपालको सोच, संकल्प, ल्याकत र खुबीमा भर पर्ने विषय हो, भारत र चीनको होइन । तर, यस्ता वरदान स्वतः पोल्टामा नपर्न सक्छन् । स्वतः प्रस्ट नहुन सक्छन् । यसका लागि ‘खुर्पाको बिँड’ र ‘श्रीखण्ड’ छुट्याउने प्रयत्न गरिनुपर्ने हुन्छ । यस सन्दर्भमा कतिपय देशले फेरिएको यस परिस्थितिअनुसार आफ्ना परराष्ट्रसम्बन्धी केही नीतिगत विषयमा हेरफेर गर्नुपर्ने हुन सक्छ । तर, त्यसमा नेपाल भने सापेक्षिक रूपले निकै भाग्यमानी छ भन्दा हुन्छ । नेपालले ऐतिहासिक रूपमा असंलग्नतालाई परराष्ट्र नीतिको मियो मानिआएकाले यसमा त्यति अलमलिनुपर्दैन, यो त नेपालको संस्कृतिजस्तै भइसकेको छ । 

महाशक्ति अमेरिकासितको विशेष सम्बन्ध तथा विशाल दुई अर्थतन्त्र चीन र भारतसँगको निकटताको अवसरलाई असंलग्नाताकै दायराभित्र रहेर नेपाललाई समुन्नतितिर लैजाने दिशामा उपयोग गर्न सक्नु आजको मुख्य चुनौती हो

यता वा उता लाग्नका लागि लोभ्याउने कति कुरा होलान्, तर हामी हाम्रो परम्परामै कायम रहन्छौँ, त्यसैलाई निरन्तरता दिन्छौँ भन्दा राजनीतिक हिसाबले मित्रदेशलाई बुझाउन र उनीहरूले त्यो बुझ्न पनि सजिलो हुन्छ । तर, एकपल्ट एकातिर ढल्किसकेपछि फेरि पहिलेको स्थितिमा आउनुपर्ने भयो भने ज्यादै गाह्रो हुन सक्छ । नेपालले त्यसको ठुलै मूल्य चुकाउनुपर्ने हुन सक्छ । उदाहरणका रूपमा पाकिस्तान र अमेरिकाको अचेलको सम्बन्धलाई लिन सकिन्छ । पाकिस्तान पहिले अमेरिकातिर ढल्क्यो, अनि पछि चीनतिर । 

‘सबै अन्डा एउटै डालोमा राख्नुहुन्न’ भन्ने वित्तीय बजारका साथै अन्य क्षेत्रमा सुनिने एउटा मन्त्र सायद पररास्ट्र नीतिमा पनि उत्तिकै लागू हुन्छ होला । भारत यसको प्रत्यक्ष उदाहरण छ । असंलग्न परराष्ट्र नीतिले भारतलाई बंगलादेश बन्दा निकै सामरिक सहयोग पुर्‍याएको थियो । तर, पछिल्लो समयमा उसले रुसको डालोमा राखेका अधिकांश अन्डा झिकेर अमेरिकाको डालोमा राखिदियो, अर्थात् आफ्नो असंलग्न नीतिबाट अलिक परपर सरेजस्तो देखियो । यसले गर्दा हालै अफगानिस्तानमा भएको अचानकको परिवर्तनले भारतलाई अलिक सकस पर्दा रुसले सुरुमा त्यति वास्ता नगरेको हो कि भन्ने ठाउँ बनेको छ । यदि भारतले रुससँग उस्तै सम्बन्ध राखिछाडेको भए रुसमार्फत अफगानिस्तानका केही सूत्रलाई समाइराख्न सजिलो हुन्थ्यो होला । त्यसैगरी चीनसँग चिसिँदै गएको सम्बन्धमा पनि केही फाइदै हुन्थ्यो होला । खोजी पसे अरू पनि उदाहरण भेटिनेछन् । 

परराष्ट्र नीतिको आधुनिक युगमा पस्नुअघि विभिन्न कारणले नेपालले आफ्ना सम्पूर्णजसो अन्डा भारतको डालोमा हालेको थियो । वेला–वेला भारतसँग देखिने केही अप्ठ्यारामा सायद त्यसको रहलपहलले अझै पनि भूमिका खेलेको हुन सक्छ । यहाँ के सोच्नु पनि आवश्यक हुन्छ भने संलग्नता नीतिको प्रतिकूल असर परेमा जसरी ठूला र शक्तिशाली राष्ट्रले त्यसलाई झेल्न वा सोस्न सक्छन्, त्यस्तो क्षमता नेपालजस्ता विकासशील राष्ट्रसँग हुँदैन । 

प्राकृतिक सुगमता, परम्परा र संस्कृतिको हिसाबले भारत नेपालको धेरै नै नजिक छ, यसमा दुईमत छैन । सम्बन्धका वर्तमान आयामलाई अझ टड्कारो पार्दै जाने, व्याख्या गर्दै गए र नयाँको सिर्जना र खोजी गर्ने सम्बन्ध झन् दह्रो बनाउन सके मित्रता झन् मौलाउन सक्छ । यसै सन्दर्भमा, पछिल्लो समयमा चलेको ‘रोटी–बेटीको’ प्रसंगले भारतसँगको सम्बन्धलाई झन् टड्कारो पारेको छ । यद्यपि यो नजानेको विषय होइन, खाली अझ प्रस्ट्याइएको मात्र हो । आधुनिक प्रविधिको अधिकतम सहयोगले चुस्त तीर्थाटनमार्फत धेरैभन्दा धेरै भारतीय तीर्थयात्री भिœयाउन सके दोस्रो खाले उदाहरण बन्न सक्छ । 

चीनसँग पनि कुनै समयमा रोटीबेटीको सम्बन्ध थियो भन्ने बुढापाकाबाट सुनिआएकै हो । रोटीको पृष्ठभूमिमा लेखिएको ‘मुनामदन’ त नेपाली जनमानसमा एउटा मिथक नै बनेको छ । भारतको सेतो नुनले विस्थापित गर्नुअघि तिब्बतको नुनको चलन खुब थियो । चीन र नेपालको सम्बन्धमा बौद्धधर्मको डोरी भारतसँगभन्दा दरिलो हुनुपर्ने हो भन्दा हुन्छ । 

नेपालले इजरायललाई मान्यता दिनुलाई तात्कालिक नेपालको असंलग्न परराष्ट्र नीतिको एउटा कोसेढुंगा नै मान्न सकिन्छ । त्यसवेला नेपाल यस विषयमा संसारका धेरै देश (भारत र चीनलगायत) भन्दा अगाडि थियो । यो नेपालको परराष्ट्र नीतिको कुशाग्रता र दूरदर्शिताको एउटा उदाहरण थियो । 

त्यसको गुन इजरायलले अहिलेसम्म बिर्सेको छैन । सहयोगका अन्य पक्षबाहेक यहुदीको एउटा ठूलो चाड पासओभर मनाउन र पर्यटन गर्न संसारभरिका देशबाट यहुदीहरू नेपाल आउने गर्छन् । इजरायली तकनिकीबाट अझ धेरै नेपालले फाइदा लिन सक्छ । इजरायलको हाल भारत र अमेरिका दुवैसँगको घनिष्टतालाई पनि नेपालले एकप्रकारको राजनीतिक नेटवर्क र सम्पत्तिका रूपमा हेर्न सक्छ । त्यस्तै चीन र रुसबीच बढ्दै गएको सम्बन्धलाई पनि लिन सकिन्छ । कुनै वेलाको नेपाल र रुसबीचको सम्बन्ध जति उचाइमा पुगेको थियो, अहिले अलिक खस्केजस्तो देखिन्छ । त्यसलाई पुनस्र्थापना गर्नुपर्ने हुन्छ कि, सोच्नुपर्छ । 

विश्वका विभिन्न द्वन्द्व क्षेत्रमा गएर संयुक्त राष्ट्र संघको शान्ति–मिसनको अनुगमनमा नेपाली सेनाले अवसर पाउनु, दक्षिण अफ्रिका रंगभेद नीतिविरुद्धको विश्वमञ्चमा नेपालले गरेको उल्लेखनीय योगदान आदिमा नेपाले अपनाएको असंलग्न परराष्ट्र नीतिकै भूमिका थियो । दुई देशका सोझा सम्बन्धमा ‘नेटवर्क सम्बन्धले’ परोक्ष मद्दत पुर्‍याउन सक्छ । ‘शत्रुको शत्रु, मित्र’ भन्ने (पुरानो) सोच कोही पनि शत्रु नभएको नेपाललाई काम लाग्दैन । नेपालले ‘मित्रको मित्र, मित्र’ भन्ने सोच विकसित गरी त्यसैलाई परराष्ट्र नीतिको एउटा अंग बनाउन सक्छ । उल्लिखित ‘नेटवर्क’ सम्बन्ध यसको एउटा हिस्सा हुन सक्छ । 

नेपाल सुहाउँदो परराष्ट्र निर्धारण गरी त्यसलाई अपनाउने नेपालसँग अनुभव छ, क्षमता दुवै छ । असंलग्नताको पुँजी मित्रराष्ट्रहरूमा वितरण गर्न ढिला गर्नुहुँदैन । पछिल्ला दिनमा देखिएको सुषुप्त र अलमलको स्थितिबाट निस्केर एउटा अग्रसर नीतिको अवलम्बनमा नेपाल सरकारले चाँडै नै ठोस पाइला चाल्नुपर्छ । 

जे होस्, एउटा अभूतपूर्व मौका छेउमै आउँदै छ जस्तो देखिँदै छ । अरू देशले आफ्नो स्वार्थ हेर्छन्, त्यो उनीहरूको गल्ती होइन । नेपालले पनि आफ्नो स्वार्थ हेरे त्यो नेपालको गल्ती हुनेछैन । नेपालको स्वार्थ, जो समृद्धि हो, अरूले पूरा गरिदिँदैनन्, त्यसका लागि नेपाली आफैँ तात्नुपर्छ । जेजस्ता नीति बनाए पनि ती आफैँ चलायमान हुँदैनन्, आफैँ केही गर्दैनन् । त्यस्ता नीति कुशल चालकको दस्ताले चलाउनुपर्ने हुन्छ । महाशक्ति अमेरिकासितको विशेष सम्बन्ध तथा विशाल दुई अर्थतन्त्र चीन र भारतसँगको निकटताको अवसरलाई असंलग्नताकै दायराभित्र रहेर नेपाललाई समुन्नतितिर लैजाने दिशामा उपयोग गर्न सक्नु आजको मुख्य चुनौती हो । 

(गौतम अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका प्राध्यापक हुन्)

ad
ad
ad
ad