१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतले खोप निर्यातमा प्रतिबन्ध हटायो : नेपालले खरिद गरेको १० लाख डोज कोभिसिल्ड आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:oo:oo

भारतले कोभिड–१९ विरुद्धको खोप निर्यातमा दश दिनपछि अर्थात् अक्टोबरदेखि सुचारु गर्ने भएको छ । भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डव्यले सोमबार नयाँदिल्लीमा यो जानकारी दिएका हुन् । भारतको निर्णयसँगै नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड खोप अक्टोबरमा आउने सुनिश्चित भएको छ । 

भारतमा रहेको सेरम इन्स्टिच्युट (अक्सफोर्ड एस्ट्राजेनेकाको उत्पादक कम्पनी)सँग नेपालले खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आउन बाँकी छ । भारत सरकारले कोरोना महामारीको दोस्रो लहर बढेसँगै खोप निर्यातमा रोक लगाएको थियो । प्रतिपक्षी दलहरूको विरोध र अदालतको आदेशअनुसार खोप निर्यातमा रोक लागेको थियो । खोप मानवीय प्रश्न पनि भएको र पहिले नै खरिद सम्झौता भइसकेका कारण उपलब्ध गराइदिन नेपाल सरकारका तर्फबाट भारत सरकार र सेरम इन्स्टिच्युटसँग बारम्बार ताकेता भएको थियो ।

सेरमका अधिकारीहरूले खोप निर्यात खुला भएपछि पहिलो प्राथमिकतामा नेपाललाई दिने वचनबद्धता जनाइसकेका छन् । ‘निर्यात खुला हुनासाथ पहिलो खोप नेपाललाई दिन्छौँ भन्ने उनीहरूको प्रतिबद्धता कायम छ,’ खोप खरिदबारे जानकार परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘अब एक महिनाभित्र १० लाख कोभिसिल्ड खोपको आपूर्ति हुने सुनिश्चित छ ।’

दक्षिण एसियाका दुई मुुलुक श्रीलंका र बंगलादेशले पनि नेपालले जस्तै पहिले नै भुक्तानी गरेअनुसार खोप पाएका छैनन् । श्रीलंकाले १५ लाख डोज कोभिसिल्ड अर्डर गरेकोमा पाँच लाख डोज मात्रै पाएको छ । उसले बाँकी १० लाख डोजका लागि ताकेता गर्दै आएको थियो । बंगलादेशले सेरमसँग तीन करोड डोज खोप खरिद सम्झौता गरेको थियो । बंगलादेशका सञ्चारमाध्यमहरूका अनुसार उसले ७२ लाख डोज मात्रै प्राप्त गरेको छ । अब बाँकी खोप नेपालसहित अन्य मुलुकले पनि पाउने बाटो खुलेको छ ।

स्वास्थ्यमन्त्री माण्डव्यले सोमबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारत सरकारले अक्टोबरमा ३० करोड डोज कोभिसिल्ड खोप प्राप्त गर्ने र नोभेम्बरमा एक अर्ब डोज खोप प्राप्त गर्ने बताए । भारतले कोभ्याक्सअन्तर्गत पनि पूर्वप्रतिबद्धताअनुसार योगदान दिने उनको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम द वायरले जनाएको छ । भारतीय स्वास्थ्यमन्त्री माण्डव्यले भ्याक्सिनमैत्री कार्यक्रमअन्तर्गत अक्टोबरदेखि डिसेम्बरसम्म खोप निर्यात गर्ने जानकारी दिएका छन् ।