मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ असोज ३ आइतबार ०८:५७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काबुलमा रोकिएका ३४ नेपाली सोमबार आउँदै

Read Time : > 1 मिनेट
२०७८ असोज ३ आइतबार ०८:५७:००

युएन कार्यालयको सुरक्षाप्रदायक कम्पनीले त्यहाँ कार्यरत सय नेपालीसँगै  रोकिएका ३४ जनालाई पनि सोमबार चार्टर उडानबाट काठमाडौं ल्याउँदै छ 

 अफगानिस्तानको राजधानी काबुलबाट उद्धार हुन बाँकी ३४ जना नेपाली सोमबार स्वदेश फर्किंदै छन् । काबुलस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको सुरक्षाप्रदायक कम्पनी आइडिजीले व्यवस्था गरेको इरानियन महान एयरको उडानबाट उनीहरू आउने तय भएको हो । काबुलबाट ३४ जना नेपाली आएपछि नेपालीको उद्धार मिसन सम्पन्न हुनेछ । 

राष्ट्रसंघीय कार्यालयमा कार्यरत करिब सय नेपाली सुरक्षाकर्मी र केही भारतीय सुरक्षाकर्मीलाई ल्याउने चार्टर विमानमा ३४ जना नेपाली स्वदेश फर्किनेछन् । भारतीय नागरिकलाई इरानको राजधानी तेहरान छाडेर महान एयरलाइन्सको जहाजले नेपालीलाई सोमबार दिउँसो काठमाडौं ल्याइपुर्‍याउनेछ । 

उडानको समन्वय गरिरहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले सुरक्षित रूपमा काबुलबाट ३४ जना नेपालीलाई काठमाडौं आउने बन्दोबस्त मिलाइएको जानकारी दिए । उद्धार भएर आउन लागेका ३४ मध्ये १२ जना नेपाली सेनाबाट र २२ जना भारतीय सेनाबाट सेवानिवृत्त भएकाहरू छन् । राहदानीसमेत नभएका दुईजनालाई नेपाली राजदूतावास नयाँदिल्लीले ट्राभल डकुमेन्ट पठाएको छ । 

सुवेदीका अनुसार उनीहरू शनिबार काठमाडौं आउने गरी तयारी थियो । तर, युएईको अबुधाबी हुँदै आउँदा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाले इरान हुँदै चार्टर उडान भर्न लागिएको हो । सुवेदीले ३४ जनाको पिसिआर परीक्षण गरिएको र सबैको रिपोर्ट निगेटिभ आएको पनि बताए ।

सोमबार आउन लागेकामध्ये कोही चार महिनादेखि त कोही १८ महिनादेखि काबुल पुगेर बेरोजगार बसेका थिए । नेपालमा दलाललाई सात लाख बुझाएर गएका उनीहरूमध्ये अधिकांशले काबुल पुगेपछि रोजगारी पाउने नाममा थप चारदेखि आठ लाख रुपैयाँ अफगान दलाललाई बुझाए । तर, उनीहरू खाने र बस्ने सुविधा लिएर रित्तोहात स्वदेश फर्किंदै छन् । 

संयुक्त राष्ट्रसंघीय कार्यालयमा काम गर्ने सय जना र बेरोजगार अवस्थाका ३४ जना सँगै आउँदै छन् । आइडिजीमा कार्यरत ४३ जना सुरक्षाकर्मीलाई नेपालबाट लैजान आइडिजीले अनुमति मागे पनि नेपालबाट उनीहरू तत्काल नजाने भएका छन् । 
यसैबीच, अफगानिस्तानबाट उद्धार भएर अहिलेसम्म करिब नौ सयजना स्वदेश फर्केका छन् । परराष्ट्रका अधिकारीहरूका अनुसार सयजना नेपाली विभिन्न मुलुकका पारगमन बिन्दु (ट्रान्जिट प्वाइन्ट)मा छन् । करिब हजारजना नेपालीले काबुल छाडेका छन् ।