मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format २o:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङका आठजनामा डेंगु देखियो, सचेत रहन स्वास्थ्यकर्मीको सुझाब

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३५:oo

खोटाङका आठजना बिरामीमा डेंगु रोग पुष्टि भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँचजना, सोही नगरपालिकाको वडा नम्बर–६ नेर्पाका एकजना, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एकजना र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एकजना बिरामीलाई डेंगु रोग पुष्टि भएको हो । 

डेंगु संक्रमितमध्ये शरीरमा रगत कम भएका एक बिरामीलाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकले बताए । “डेंगु रोगको अहिलेसम्म खास उपचार छैन । यसको लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ”, डा. मल्लिकले भने, “लामखुट्टेको टोकाइबाट बच्ने, घरवरपर पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, सुत्दा अनिवार्य झुल प्रयोग गर्ने उपाय अपनाएर डेंगुबाट बच्न सकिने भएकाले सबै सचेत हुन आवश्यक छ ।”

डेंगुको संक्रमण पुष्टि भएका दुईजना बिरामी भने हाल जिल्ला अस्पतालमै भर्ना भएर उपचाररत रहेका डा. मल्लिकले बताए । अस्पताल स्रोतका अनुसार अन्य पाँचजना बिरामी भने आफ्नै घरमा उपचाररत रहेका छन् ।

एक्कासी लगातार पाँच–सात दिनसम्म उच्च ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कटकटी दुख्ने, ढाड दुख्ने, कसैलाई रक्तश्राव हुने, जोर्नी, हड्डी तथा मांसपेसी दुख्ने, पाँच÷छ दिनपछि शरीरमा बिमिरा आउनेलगायतका शारीरिक समस्या देखिनु डेंगुको लक्षण भएको डा. मल्लिकले बताए । डेंगुको मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु भए पनि कतिपय अवस्थामा वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, बेहोस हुनेलगायतका लक्षण पनि देखिन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
जिल्लाको दक्षिण पूर्वीक्षेत्रमा पर्ने साकेला गाउँपालिकामा पनि डेंगुका बिरामी भेटिएको समाचार स्रोतले जनाएको छ । गत वर्ष पनि यो सिजनमा खोटाङमा डेंगुका बिरामी भेटिने गरेको जिल्ला अस्पतालले जनाएको छ ।

१० स्थानीय तह रहेको जिल्लाका हरेक गाउँमा अहिले रुघाखोकी तथा ज्वरोको बिरामी अत्यधिक रहेको स्थानीय बासिन्दाहरूले बताएका छन् । पछिल्लो समय जिल्ला अस्पतालमा उपचार गराउने आउने बिरामीको संख्यासमेत वृद्धि भएको अस्पतालले जनाएको छ । अहिले जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या दैनिक २०० को हाराहारीमा रहेको अस्पतालका प्रमुख डा. मल्लिकले बताएका छन् ।