मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ ३० बुधबार १०:५८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतमा ९/११ पछि मौलाएको राजनीतिक द्वेष

Read Time : > 2 मिनेट
२०७८ भदौ ३० बुधबार १०:५८:००

११ सेप्टेम्बर २००१ (९/११)को घटनापछि भारतीय मुसलमानको पहिचानबारे आएका टिप्पणीलाई इस्लामोफोबिया अर्थात् इस्लाम द्वेष शब्दले न्याय दिँदैन । इस्लाम द्वेषले इस्लामप्रति अत्यधिक घृणा, भय तथा मुसलमानप्रतिको पूर्वाग्रह जनाउँछ । इस्लाम द्वेष मूलतः पश्चिमा चिन्तनको उपज हो । इस्लाम द्वेषले आतंकवादविरुद्धको युद्धपछिको अमेरिकी एवं युरोपेली मध्यमवर्गीय गोराहरूको उत्कण्ठा जनाउँछ ।

भारतमा भने मुसलमान पहिचान एक स्थापित समस्याजनक वर्ग नै हो । राजनीतिक वर्गले कहिल्यै मुसलमान उपस्थितिलाई रुचाएन र यो राजनीतिक वर्गमा कथित धर्मनिरपेक्षतावादी पनि पर्छन् । मुसलमान समुदाय राजनीतिमा संलग्न एवं सहभागी हुनुलाई मुसलमान भोटबैंकको राजनीतिमा झारियो भने मुसलमान सामाजिक जीवनलाई पछौटेपनको प्रतीकका रूपमा लिइयो । 

९/११ को घटनाले यो हेराइलाई थप बलियो बनायो । विश्वव्यापी बनेका जिहादी इस्लाम, इस्लामिक आतंकवाद, सरिया शासनलगायत शब्दले पहिल्यैदेखि बहसमा आउँदै गरेका मुसलमान अलगाव एवं पृथकीकरणलाई एक नयाँ अर्थ दियो । वैश्विक इस्लाम र मुसलमानविरोधी साम्प्रदायिकताको रोचक मिश्रणले एक नयाँ राजनीतिक मतैक्यको जन्म दियो, जसलाई ‘मुसलमान राजनीतिक द्वेष’ भन्न सकिन्छ ।

९/११ पछि राजनीतिक दलहरूले भारतीय मुसलमानलाई सम्बोधन गर्न मुसलमान राजनीति द्वेषको नीति लिए, जहाँ मुसलमानलाई एक समस्याजनक धार्मिक अल्पसंख्यकभन्दा माथि उठेर वैश्विक इस्लामिक समुदायका रूपमा व्यवहार गरियो । मुसलमान राजनीतिक द्वेषका तीन मुख्य पारिभाषिक आधारबाट पछिल्ला दुई दशकमा परिवर्तन हुँदै गइरहेको भारतीय मुसलमानप्रतिको राजनीतिक अवधारणा बुझ्न सहयोगी हुनेछ ।            

  पहिलो आधार हो, भारतीय मुसलमान पहिचान क्रमिक रूपमा वैश्विक इस्लामिक आतंकवादसँग जोड्ने काम । भारतीय मुसलमान र इस्लामवादी तथा जिहादी संगठनको इस्लामिक साइनो इस्लाम एवं मुसलमानविरुद्धको हिंसालाई जायज ठहर्‍याउने सबैभन्दा वैधानिक खाका बनेको छ । ९/११ को घटनापछि भारतीय प्रधानमन्त्रीहरूको दुई भिन्न अभिव्यक्तिले पहिलो आधारलाई बुझ्न सहयोग गर्नेछ । सन् २००२ मा अटल विहारी बाजपेयीले चर्को भाषामा मुसलमानहरू ‘आफ्नो श्रद्धा आतंक एवं धम्कीका माध्यमबाट फैलाउन चाहन्छन् । विश्व यो खतराबारे सचेत भइसकेको छ’ भनेका थिए ।

बाजपेयीको अभिव्यक्तिको तीन वर्षपछि मनमोहन सिंहले ‘भारतमा १५ करोड मुसलमान नागरिक भए पनि एकजना मुसलमान अल कायदाको उच्च ओहदा वा तालिबानसँग संलग्न छैन’ भनेर गौरव जनाएका थिए । उसो त यी दुवै अभिव्यक्तिले परस्पर विरोधी निचोड दिन्छ तथापि मुसलमान पहिचानलाई वैश्विक आतंकवादसँग कुनै न कुनै रूपमा जोडिनुले भारतीय मुसलमानलाई वैश्विक इस्लामकै प्रतिरूपका रूपमा हेरेको देखिन्छ ।

सार्वजनिक बहसमा मुसलमान राजनीतिक द्वेषले कसरी काम गर्छ भनेर हालैको अफगानिस्तान संकटले देखाइसकेको छ । मिडियाको एक तप्काले अफगान संकटलाई सम्भावित विचित्रको डरका रूपमा स्थापित गर्न कोसिस गरिरहेका छन् । उनीहरू भारतीय मुसलमान तालिबानको विचारधारा मान्छन् भन्ने प्रमाण जुटाउन लागिपरेका छन् । भारतका हिन्दूको एक ठूलो जमातले ‘भारतीय तालिबान’को सम्भावना देख्छ किनभने उनीहरूका लागि तालिबानजस्तो संगठन बनाउन भारतमा पर्याप्त मुसलमान छन् ।

राजनीतिमा मुसलमानको प्रत्यक्ष संलग्नता वा कुनै पनि किसिमको संग्लग्नता नहुनुको डर मुसलमान राजनीतिक द्वेषको दोस्रो आधार हो । पछिल्ला तीन दशकमा मुसलमान भोटबैंकको नवीकृत बहस यसको एक रोचक उदाहरण हो । मुसलमानलाई राष्ट्रिय रूपमा कुनै एक पार्टीको मतदाताका रूपमा हेरिएको छ । बाबरी मस्जिद भत्काइसकेको समयपश्चात् यो तर्कले थप बल पाएको छ । अहिले त मुसलमानले मतदान गर्ने भनेकै भारतीय जनता पार्टी (भाजपा)लाई पाठ सिकाउन हो भन्ने अर्थका रूपमा लिइन्छ ।

पछिल्लो वर्षको बिहार विधानसभा चुनावले मुसलमान राजनीतिक द्वेषको यस आधारलाई पुष्टि गर्छ । हैदराबाद आधारित एआइएमआइएमले मुसलमान बहुल सीमाञ्चल क्षेत्रमा चुनाव जित्यो । असदउद्दिन ओवेसी नेतृत्वको एआइएमआइएमको जितलाई भाजपा हिन्दुत्वको इस्लामिक जवाफका रूपमा हेरिएको छ । गण्यमान्य राजनीतिक एवं धर्मनिरपेक्ष विश्लेषक र गैरभाजपा पार्टीले समेत मुसलमान भोटलाई साम्प्रदायिक चस्माबाट हेरेका छन् । यहाँनेर कसैले सीमाञ्चल क्षेत्रको राजनीति बुझ्ने प्रयत्न नै गरेनन् जहाँ मुसलमानभित्रकै जातको मतले एआइएमआइएमको जित सुनिश्चित गराएको थियो । विहार राज्यतहमा एआइएमआइएमको थोरै मत अर्थात् एक दशमलव दुई चार प्रतिशत मतलाई पनि नहेरीकन भारतमा इस्लामिक राजनीति बढ्यो भन्ने तर्क सारियो ।

मुसलमान राजनीतिक द्वेषको तेस्रो आधार राजनीतिक रूपमा सचेत मुसलमान वा मैले भन्ने गरेको सियासी मुसलमानप्रति हेरिने दृष्टिकोणसँग सम्बन्धित छ । मुसलमानहरू अधिकारबारे सचेत छन् र यी अधिकारका लागि सदैव राजनीतिक निर्णय लिन्छन् भन्ने धारणा देखिन्छ । केही वर्षयता यो धारणा थप बलियो हुँदै गइरहेको छ । मुसलमानका जीवनका हरेक पक्षलाई वैश्विक जिहादी राजनीतिको दृष्टिकोणबाट हेरिँदै छ । मुसलमान जोडीले हिन्दूलाई उछिन्ने उद्देश्यले नै परिवार संख्या निर्धारण गरिरहेका छन् भन्ने अथ्र्याएर मुसलमानको जनसंख्या वृद्धिलाईसमेत ‘जनसंख्या जिहाद’को नाम दिइएको छ । 

मुसलमानी व्यक्तिगत कानुनलाई सरिया आधारित इस्लामिक शासनसँग जोड्ने काम पनि भइरहेको छ । समतापूर्ण हिन्दू र आधुनिकतावादी समान नागरिकसंहिता (युसिसी)को बाधकका रूपमा हेरिएको छ । यस अर्थमा मुसलमान राजनीतिक द्वेषलाई हिन्दुत्वको राजनीतिले निम्त्याएको हो भन्नु सरासर गलत हुनेछ । 
द इन्डियन एक्सप्रेसबाट