मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ भदौ २९ मंगलबार १९:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीमा तीन महिनामा बाढीका कारण ३३ को मृत्यु, ५०२ घरमा क्षति 

Read Time : > 1 मिनेट
२०७८ भदौ २९ मंगलबार १९:३०:००

गण्डकी प्रदेशमा १ असारदेखि हालसम्म बाढीपहिरोमा परी ३३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर ४४ जना घाइते भएका छन् भने दुईजना अझै बेपत्ता रहेको प्रदेश सरकारले जानकारी दिएको छ । 

मंगलबार प्रदेश सभामा सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यस्तो जानकारी दिएका हुन् । मुख्यमन्त्री पोखरेलले बाढी पहिरोमा परी ज्यान गुमाउननेप्रति श्रद्धाञ्जली दिँदै उनीहरूका परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।  

भौतिक क्षतिको विवरण सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूमार्फत संकलन भइरहेको उनले जानकारी दिए । मुख्यमन्त्री पोखरेलका अनुसार प्रदेशमा बाढीपहिरोले ५०२ घर, पाँचवटा सरकारी कार्यालय, सातवटा विद्यालय, ६ वटा सामुदायिक भवन, २५ वटा हाइड्रोपावर, ३६ वटा पक्की पुलमा क्षति पुगेको छ । सडकको १ सय ७६ ठाउँमा क्षति पुगेको छ । 

विपद्को समयमा ७ सय ३१ घरका ३ हजार ७ सय ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए । १२ सय ५ घरधुरीका चार हजार ७६५ जनालाई ७९ लाख ६१ हजार ८ सय ९३ बराबरको जिन्सी सामग्री र ४१ लाख ८५ हजार नगद गरी एक करोड २१ लाख ४६ हजार ९ सय ७३ रुपैयाँबराबर रकमको राहत वितरण गरिएको मुख्यमन्त्री पोखरेलले बताए । 

विपद्बाट ज्यान गुमाउनेका परिवारलाई नेपाल सरकारको तर्फबाट दुई लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार रुपैयाँ राहतको प्रबन्ध भएको उनले बताए । यसैगरी, बेपत्ताका परिवारलाई समेत राहत, खाद्यान्नका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ, अस्थायी आवासका लागि २५ हजार, उपचार खर्च ५० हजार प्रदेश सरकारले उपलब्ध गराएको उनले जानकारी दिए । 

बाढी पहिरोले घर पूर्ण क्षति भएकालाई प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था पहिलेदेखि रहे पनि कार्यान्वयनमा नआएको र वर्तमान सरकारले क्षतिको विवरण संकलन गरी जिल्ला प्रशासन कार्यालयमार्फत यो रकम उपलब्ध गराउन कार्य अगाडि बढाइसकेको उनले बताए । दुर्गम र हिमाली जिल्ला मनाङमा पूर्ण क्षति भएका घरका लागि एक लाख थप गरी २÷२ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि भइसकेको उनले जानकारी दिए । 

लघु जलविद्युत् आयोजनामा पुगेको क्षतिबाट मनाङ सदरमुकाम चामेसहित कैयौँ बस्तीहरू लामो समय बिजुलीबिहीन भएकाले प्रदेश सरकारले तत्काल सोलारको प्रबन्ध गरेको उनले जानकारी दिए । मनाङ र गोरखाको चुमनुब्रीमा खाद्यान्नको अभाव हुन नदिन प्रदेशले हरसम्भव प्रयास गर्दै आएका उनको भनाइ छ ।