१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाको पहिलो छालमा भन्दा दोस्रो छालको ६ महिनामै दोब्बर बालबालिका संक्रमित

१८ वर्षभन्दामुनिका बालबालिका बढी संक्रमित, पहिलो छालमा ३८ र दोस्रो छालको ६ महिनामै ४८ बालबालिकाको मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२o:oo

कोभिड–१९ महामारीमा पहिलो छालमा भन्दा दोस्रो छाल सुरु भएको ६ महिनामा धेरै बालबालिका संक्रमित भएका छन् । पहिलो छाल ८ वैशाख ०७७ देखि ८ चैत ०७७ सम्म २१ हजार पाँच सय २३ बालबालिका संक्रमित भएका थिए । दोस्रो छाल सुरु भएको २० चैत ०७७ देखि गत बिहीबारसम्ममा संक्रमित हुनेको संख्या झन्डै दोब्बर छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार दोस्रो छालको ६ महिनामा ४० हजार चार सय ६४ बालबालिका संक्रमित भएका छन् । १८ वर्षभन्दामुनिका बालबालिका कोरोनाको दोस्रो छालमा बढी संक्रमित भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए । तथ्यांकअनुसार पहिलो छालमा कोरोनाबाट मृत्यु हुने बालबालिकाको संख्या जम्मा ३८ थियो । तर, दोस्रो छालको ६ महिनामा मात्रै ४८ जना बालबालिकाको मृत्यु भएको छ ।

चिकित्सकहरूका अनुसार नेपालमा कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा संक्रमित हुने बालबालिकाको संख्यामा पनि वृद्धि देखिएको हो । अघिल्लोभन्दा यसपटकको भाइरस बढी संक्रामक देखिएकाले बालबालिकामा पनि बढी देखिएको चिकित्सकहरूको भनाइ छ । नेपालमा हाल कोरोना भाइरसको युके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्ट देखापरेको छ । यी भाइरस विगतको अनुपातमा निकै डरलाग्दो रहेको चिकित्सकहरूले जनाएका छन् ।

वयस्क व्यक्तिहरूको तुलनामा बालबालिकाको कोभिड–१९ परीक्षण कम भएको र खोप नलगाएका कारण संक्रमित बालबालिकाको संख्या बढेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ । हालसम्म नेपालमा १८ वर्षभन्दा बढी उमेर समूहमा मात्रै खोप लगाइएको छ । तर, सरकारले १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई ४० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया अघि बढाएको छ ।

केही महिनाभित्र फाइजर खोप नेपाल आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले गत वर्ष कोरोना भाइरसका केस फेला पर्नासाथ कडा लकडाउन गरेको थियो । तर, दोस्रो छालमा नागरिकले लकडाउनको अनुभूति गर्न पाएनन् । दैनिक १० हजार केस हुँदासमेत सरकारले लकडाउनमा कडाइ गरेन । कडा प्रतिबन्ध नलगाएकाले भाइरस फैलिने दर बढ्यो र बालबालिका पनि बढी प्रभावित भए । कोरोना बढ्नुमा सरकारले तोकेका स्वास्थ्य मापदण्डको पूर्ण पालना नहुनु पनि मुख्य कारण मानिएको छ । ‘हामीले पछिल्लो समय सम्पूर्ण मापदण्डलाई बेवास्ता गर्‍यौँ । पुस–माघमा त हामी य ति बाहिर निस्कियौँ, यति हेलचेक्र्याइँ र लापरबाही ग¥यौँ कि त्यसको फलस्वरूप बाहिरबाट आएको भाइरस पनि फैलिन पुग्यो,’ सहप्रवक्ता अधिकारीले भने ।

डेल्टा भेरियन्टबाट संक्रमित बालबालिका अस्पताल भर्नादर बढ्यो
कोभिड महामारीको तेस्रो लहर देखिइसकेको अमेरिकामा बालबालिका संक्रमणदर तीव्र बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले गरेको पछिल्लो एक सर्वेक्षणले डेल्टा भेरियन्ट संक्रमित बालबालिका अस्पताल भर्नादर बढेको देखाएको छ । गर्मी मौसममा अन्य उमेर समूहको तुलनामा १८ वर्षमुनिका बालबालिका संक्रमण निकै बढेको अध्ययनले देखाएको हो ।

पछिल्लो समय विश्वभरि नै महामारीको रूप लिएको डेल्टा भाइरस लगभग अमेरिकाभरि नै फैलिएको र खोपबाट वञ्चित बालबालिका बढी प्रभावित भएकोसमेत प्रतिवेदनले उल्लेख गरेको छ । डेल्टा भाइरसले बालबालिकाहरू किन प्रभावित भइरहेका छन् भन्ने विषयमा अध्ययनले निष्कर्ष नदिए पनि विज्ञहरूले भने खोपसमेत लगाउन नमिल्ने बालबालिका बढी गम्भीर हुन थालेको बताएको छ । 

जुनको अन्त्यदेखि अगस्टको मध्यसम्म तुलनात्मक रूपमा बालबालिका संक्रमणदर पाँच गुणा बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो केही सातादेखि नेपालमा पनि बालबालिका अस्पताल भर्नादर बढेको डा.असरफ हुसेनले बताए । ‘नेपालमा बालबालिका संक्रमणदर त्यति नबढे पनि पूर्वतयारी आवश्यक रहेको संकेत भने दिएको छ । हालसम्म बालबालिकामा खोपको पहुँच नभएको र दोस्रो लहरमा पनि सुरुवातमा अमेरिकामा नै संक्रमण देखिएकाले बेवास्ता गर्न सकिँदैन,’ उनले भने ।

 

 

ad
ad