१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७८ भदौ १८ शुक्रबार ०६:३४:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलो खेल बराबरी

Read Time : > 2 मिनेट
२०७८ भदौ १८ शुक्रबार ०६:३४:००

नेपाल र भारतबीच अहिलेसम्म २० मध्ये पाँच खेल बराबरी भएको छ । भारतले नेपाललाई १३ खेलमा हराएको छ । नेपालले दुईपटक मात्र भारतमाथि जित निकालेको छ । 

 नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो हाफमा लिएको अग्रता रक्षा गर्न नसक्दा बिहीबार भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा १–१ को बराबरी नजिता हात पारेको छ । अब दोस्रो मैत्रीपूर्ण खेल आइतबार साँझ हुनेछ ।

सुधार आवश्यक छ : अब्दुल्लाह अलमुताइरी नेपाली प्रशिक्षक

नेपाली टोलीमा धेरै सुधार आवश्यक छ । यो मैत्रीपूर्ण खेल हो । हाम्रो लक्ष्य साफ च्याम्पिनसिप हो । मैत्रीपूर्ण खेलबाट गल्तीकमजोरी थाहा हुन्छ । यो खेल सुधार्ने एक अवसर पनि हो । भारतसँगको प्रतिस्पर्धामा आज नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । हामीले जित निकाल्न सकेनौँ । म माफी माग्न चाहन्छु । दर्शकलाई भारतविरुद्धको खेलमा गर्व गर्नलायक प्रदर्शन हुने भनेका थिएँ । गोलरक्षक किरणको गल्तीमा गोल भएको होइन । त्यो गोल किरणकै कारण सम्भव भएको म मान्दिन । सबैले बल बाहिर गएको अनुमान गरेका थिए । तर, बलभित्रै ड्रप भयो । 
 

दशरथ रंगशालामा ५१ सय दर्शकसहित भएको मैत्रीपूर्ण खेलमा अञ्जन विष्टले खेलको ३६औँ मिनेटमै नेपाललाई भारतविरुद्ध १–० को अग्रता दिलाएका थिए । स्ट्राइकर विष्टले भारतीय डिफेन्डर चिन्ग्लेनसाना सिंह कोनसामको गल्तीमा गोल गरेका थिए । कोनसामले डिबक्सअगाडि गोलरक्षकका गुरप्रित सिंह सन्धुलाई ब्याक पास दिएका थिए । कोनसामको ब्याक पास बल गोलरक्षक सन्धुसम्म पुगेन । डिबक्सभित्रै रहेका विष्टले सुरुमा गोलरक्षक सन्धुलाई छकाए । त्यसपछि उनले सहजै खाली पोस्टमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । 

नेपालले ६ वर्षपछि भारतीय सिनियर टोलीको पोस्टमा दोस्रोपटक गोल गरेको हो । सन् २०१५ को डिसेम्बरमा साफ च्याम्पियनसिपमै भारतले नेपालमाथि ४–१ को जित निकाल्दा नेपालले एक गोल फर्काएको थियो । नेपाल र भारतबीच अहिलेसम्म २० मध्ये पाँच खेल बराबरी भएको छ । भारतले नेपाललाई १३ खेलमा हराएको छ । नेपालले दुईपटक मात्र भारतमाथि जित निकालेको छ । 

पहिलो हाफमा एक–आपसमा खासै तालमेल मिलाउन नसकेको भारतले मध्यान्तरपछि उत्कृष्ट कमब्याक ग¥यो । खेलको ६०औँ मिनेटमा अनिरुद्ध थापाले भारतलाई १–१ को बराबरीमा पु¥याए । उनी दोस्रो हाफमा मैदानभित्र छिरेका थिए । पोस्टभन्दा २२ यार्ड टाढाबाट भारतीय कप्तान सुनील क्षेत्रीले उत्कृष्ट बल प्रहार गरे । क्षेत्रीले प्रहार गरेको बललाई नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले गोललाइननजिकबाटै पन्च गरे ।

चेम्जोङले पन्च गरेको बल गोललाइननजिकै ड्रप भयो । थापाले गोललाइनबाटै भारतलाई बराबरी गोल बनाउन सफल भए । यद्यपि गोलरक्षक चेम्जोङले बल क्लियर गर्ने प्रयास नगरेका होइनन् । तर, उनले थापालाई गोल गर्नबाट रोक्न सकेनन् । थापा ब्रान्डन फर्नान्डेजको स्थानमा मैदान दोस्रो हाफमा प्रवेश गरेका थिए । पहिलो हाफमा नेपालले भारतमाथि प्रावधिक रूपमा दबाब राखेको थियो । 

यद्यपि भारतीय खेलाडी शारीरिक फिट हुनु र अग्ला भएकाले नेपाली खेलाडीले भारतीय डिबक्सभित्रसम्म बल लान कडा मिहिनेत गरेका देखिन्थे । दशरथ रंगशालाको मैदानमा अभ्यस्त नभएका कारण भारत पहिलो हाफमा त्यति जम्न सकेन । खेलको २८औँ मिनेटमा पुजन नगरकोटीले डिबक्सबाहिरबाट प्रहार गरेको बल फ्रेममा पर्न सकेन । ३१औँ मिनेटमा डिबक्सबाहिर प्राप्त अञ्जन विष्टले प्रहार गरेको फ्रिकिक निकै अकासियो । 

मध्यान्तरपछि भारतको दबाब
पहिलो हाफको इन्जुरी समयमा सुमन लामाले दोस्रो बारको कुना च्यापेर प्रहार गरेको बललाई भारतका गोलरक्षक गुरप्रितले बचाएका थिए । मध्यान्तरअघि भारतले त्यति राम्रो पोस्ट चार्ज गर्न सकेन । मध्यान्तरपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ६ खेलाडी परिवर्तन गरे । यसैगरी भारतले मध्यान्तरपछि चार खेलाडी परिवर्तन गरेको थियो । खेलाडी परिवर्तन गरेको भारतले मध्यान्तरपछि नेपालमाथि दबाब राख्यो । 

खेलको ५०औँ मिनेटमा भारतका अनिरुद्ध थापाको फ्रिकिकमा कप्तान क्षेत्रीले पोस्टनजिकबाटै प्रहार गरेको बल नेपालका गोलरक्षक चेम्जोङले बचाए । खेलको ८३ औँ मिनेटमा भारतका मनवीर सिंहले डिबक्सभित्रैबाट प्रहार गरेको बल गोलपोस्टको दिशा लिन सकेन । खेलको ५१औँ मिनेटमा नेपालका गोलरक्षक चेम्जोङ बल क्लियर गर्ने क्रममा आफ्नो पोसेसन छाडेर बाहिर आएका थिए । 

उनले करिब २५ यार्डसम्म बल क्लियर गर्न पोस्ट छाडे । यसैक्रममा उनले हातले बल समात्दा पहेलो कार्ड पाए । खेलको अन्तिम इन्जुरी समयमा नेपालले केही राम्रो अवसर गुमाएको थियो । खेलको ६४औँ मिनेटमा भारतका कप्तान क्षेत्री मैदानबाट बाहिरिएका थिए । मैदानबाट बाहिरिनुअघिसम्म क्षेत्रीलाई नेपाली डिफेन्डरले मार्क गरिरहेका थिए । जसका कारण उनले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । पहिलो हाफको तुलनामा दोस्रो हाफ रोमाञ्चक थियो ।

मध्यान्तरपछि खेल राम्रो : इगोर स्टिमाक भारतीय प्रशिक्षक 

पहिलो हाफमा हामीलाई मैदान कस्तोकस्तो लागेको थियो । भिजेको मैदान थियो । यस किसिमको मैदानमा हामीले तयारी गरेका थिएनौँ । तर, नेपालले मैत्रीपूर्ण खेलका लागि लामो समयदेखि नै तयारी गरेको देखियो ।

पहिलोभन्दा दोस्रो हाफमा हाम्रो प्रदर्शन राम्रो भयो । मध्यान्तरअघि भएका कमजोरी सच्याउँदै दोस्रो हाफमा सुधार गर्‍यौँ । यद्यपि भारत नै जितको हकदार थियो ।

नेपालभन्दा भारत तुलनात्मक रूपमा बलियो टोली हो । नेपालले हाम्रै डिफेन्डरको गल्तीमा गोल गरेको हो । नेपाली टोलीको स्तर वृद्धि भएको पाएँ । हामीले नेपालको रणनीतिअनुसारै प्रदर्शन गरेको हौँ ।