मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको रसुवामा जिओलोजिकल सर्भे गर्दै कर्मचारी
२०७८ भदौ १६ बुधबार १०:०४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन नयाँ रुटको सर्भे सुरु, लागत एक अर्ब घट्ने

Read Time : > 2 मिनेट
२०७८ भदौ १६ बुधबार १०:०४:००

पाँच हजार मेगावाट क्षमता वहन गर्न सक्ने प्रसारण लाइन १० अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य, दूरी पनि पाँच किलोमिटर घट्ने

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि परिवर्तन गरिएको नयाँ रुटको विस्तृत सर्भेको काम सुरु भएको छ । रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनामार्फत इन्जिनियरिङ निर्देशनालयअन्तर्गतको सर्भे महाशाखाले काम सुरु गरेको आयोजनाका सर्भे महाशाखाका प्रमुख दीपक चौधरीले बताए । लागत रकम कम र निर्माणमा सहज हुने भएपछि परिवर्तन गरिएको नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नयाँ रुटको विस्तृत सर्भेको काम सुरु भएको हो । 

पहिलाको रुटभन्दा अहिलेको रुट पाँच किलोमिटर छोटो हुने आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए । त्यसैगरी, प्रसारण लाइनको लागत रकमसमेत करिब एक अर्ब घट्ने देखिएको उनको भनाइ छ । ‘पहिलाको भन्दा अहिलेको रुटमा सामान ढुवानीदेखि सबै कुरामा सहज हुने देखिएको छ, लागत रकमदेखि निर्माण दूरीसमेत कम हुने देखिएको छ,’ आत्रेयले भने । पाँच हजार मेगावाट क्षमता वहन गर्न सक्ने प्रसारण लाइनको विद्युत् विकास विभागबाट अनुमति लिइएको छ । यो आयोजनाको लागत १० अर्ब रहेको छ ।

गत ३२ साउनदेखि पाँचजनाले नुवाकोटको रातमाटेबाट सर्भेको काम सुरु भएको उनले जानकारी दिए । उनले भने, ‘नुवाकोटको रातमाटेबाट सर्भे सुरु भएको छ, नुवाकोटको रातमाटेदेखि चीनसँगको सिमाना रसुवागढीसम्म सर्भे हुन्छ ।’

अन्तरदेशीय प्रसारण लाइनका लागि त्रिशूलीमा सबस्टेसन बनेसँगै भारत र चीन दुवै देशसँग नजिक हुने बताइएको छ । यसले चीन, नेपाल र भारतबीचको ऊर्जाको–अपरेसन र बिस्तारमा महत्वपूर्ण भूमिका राख्ने आयोजनाले जनाएको छ ।

सर्भेमा टावर राखिने स्थानहरूमा पिल्लरहरू राख्ने, रुटको दायाँ–बायाँ के–के पर्छ भनी हेर्नेलगायतको काम हुनेछ । दुई महिनामा सर्भेको काम सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए । ‘बर्सातको समय छ, कुनै पनि समस्या भएन भने दसैँसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ,’ उनले भने । सर्भेको काम सकिएपश्चात् नक्सा तयार तथा डिजाइनको काम हुनेछ । यसका लागि करिब दुई महिना लाग्ने उनको भनाइ छ । 

यसअघि खोलापारिपट्टिबाट रुट रहेकोमा अब खोलावारिपट्टि निकुञ्ज क्षेत्र हुँदै अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने भएको छ । अघिल्लो रुटअनुसार अगाडि बढाउँदा सामान हेलिकोप्टरबाट लैजानुपर्ने बाध्यता थियो । जसले गर्दा काम गर्नसमेत असहज हुने भएकाले रुट परिवर्तन भएको रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाका प्रमुख कोमलनाथ आत्रेयले बताए । अहिलको रुट निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएकाले सहज रहेको उनले जानकारी दिए । ‘पहिलाभन्दा अहिले रुट छोटो हुने देखिएको छ, लागत रकम कम लाग्ने देखिएको छ,’ उनले भने । 

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको सबस्टेसन नुवाकोटको त्रिशूलीमा बन्ने भएको छ । नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ९ त्रिशूलीमा नेपाल विद्युत् प्राधिकरणको आफ्नै जग्गामा सबस्टेसन बनाउने भएको हो । सबस्टेसन निर्माणका लागि सम्भाव्यता अध्ययन, वातावरण अध्ययन, सबस्टेसन डिजाइन, सबस्टेसन रेखांकनलगायतको कार्य भइरहेको आत्रेयले बताए । चीनतर्फको भने सबस्टेसन निर्माण भइसकेको चिनियाँ पक्षले जानकारी दिएको बताइएको छ । रसुवागढी नाकाबाट ७९ किलोमिटर पर जिलाङमा सबस्टेसन बनिसकेको चिनियाँ पक्षले जानकारी दिएको आत्रेयले बताए । 

त्यसैगरी, चीनतर्फ निर्माण भइरहेको प्रसारण लाइनको अध्ययन–अवलोकन गर्न समस्या भएको छ । कोरोनाको कारण देखाउँदै चीनले रसुवागढी नाकाबाट आवतजावत बन्द गर्दा स्थलगत अवलोकनमा समस्या भएको हो । डेढ वर्षअघिदेखि सबस्टेसन निर्माणका लागि चीनतर्फ भएका गतिविधिको अध्ययन–अवलोकनसहितको बैठक गर्ने भने पनि हालसम्म हुन नसकेको आत्रेयले बताए । ‘चिनियाँसँग मिटिङ बस्नुपर्नेछ, दुईवटा मिटिङ बसिसकेको छ, तेस्रो मिटिङ चीनमा बस्नुपर्ने हो, तर नाका बन्द रहेकाले जान सकिरहेका छैनौँ,’ उनले भने । चीनमा सबस्टेसन बनिसकेको भए पनि अवलोकन गर्न नपाइएको उनले बताए । यसका लागि मन्त्रीस्तरबाट सहजीकरण गरिदिनुपर्ने भए पनि हालसम्म हुन नसकेको उनले बताए ।  

अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि नेपाल–चीनबीच तीन हजार मेगावाट विद्युत् आदान–प्रदान गर्न सकिने भएको छ । प्रसारण लाइनमा पाँच हजार मेगावाट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ । ६ वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । डेढ वर्ष बितिसकेको छ । यो गेम चेन्जर आयोजना हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको २०१६ मा भएको चीन भ्रमणमा यसको समझदारी भएको थियो । जुनवेला देश भारतसँगको नाकाबन्दीमा रहेको थियो । त्यतिवेला नेपाललाई तेल, ऊर्जाबाट, ट्रास्पोर्टेसनबाट, पारवहनबाट मुक्त गर्ने हिसाबले उनको भिजन रहेको थियो । २०१८ मा ओलीको दोस्रोपटक चीन भ्रमणमा को–अपरेसन एग्रिमेन्ट भएको थियो । उनकोे उपस्थितिमा नेपालको तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङले हस्ताक्षरसमेत गरेका थिए । 

अन्तरदेशीय प्रसारण लाइनका लागि त्रिशूलीमा सबस्टेसन बनेसँगै भारत र चीन दुवै देशसँग नजिक हुने बताइएको छ । यसले चीन, नेपाल र भारतबीचको ऊर्जा
को–अपरेसन र बिस्तारमा महत्वपूर्ण भूमिका राख्ने आयोजनाले जनाएको छ ।

प्रसारण लाइन निर्माण भएपछि नेपालमा उत्पादन भएको विद्युत् चीनले खरिद गर्नेछ । प्रसारण लाइन निर्माण भएमा नेपालले बंगलादेशलाई समेत विद्युत् बेच्न सक्नेछ ।