१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 29 June, 2025
डा. हितेशकुमार भट्टराई
Invalid date format १o:३५:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

विश्वको परिप्रेक्ष्यमा नेपालको विकास यात्रा

Read Time : > 5 मिनेट
डा. हितेशकुमार भट्टराई
नयाँ पत्रिका
Invalid date format १o:३५:oo

नौ कक्षामा नेपाली भाषाको अध्ययनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध ‘के नेपाल सानो छ ?’ पढाउने गरिन्छ । निबन्ध साह्रै भावनात्मक, देशभक्ति र प्रकृतिको प्रेमले ओतप्रोत छ । निबन्धकार भन्छन्– ‘नेपाल अघि बढेर देखाउनुभन्दा आफूलाई छुपाउनमा ज्यादा रुचि देखाउँछ । यसलाई एकान्त मन पर्छ । संसारको घच्चा घमासानमा पसिना काढी हिस्सा लिनुभन्दा ध्यान, ज्ञान र गंगाको तीर एवं हिमगिरिशीला यसलाई ज्यादा मन पर्छ । आधुनिकतामा जिज्ञासा राखे पनि यो प्राचीनताको पुजारी हो ।’ 

निबन्धकारका यी अभिव्यक्ति पढ्दा लाग्छ, नेपाललाई त्यो समय आधुनिक विकास नै चाहिएको थिएन । बुझ्नुपर्ने कुरा के हो भने आध्यात्मिक साथसाथै भौतिक विकास नेपाल र नेपालीले कालान्तरदेखि नै चाहेको विषय हो । चाहँदाचाहँदै पनि नेपालको भौतिक विकास कुनै एक वा‌ अर्को कारणवश हुन‌ नसकेको तथ्य हो । आधुनिक विकास किन सबैजसोको अभीष्ट हो ? आधुनिक विकासको अर्थ के हो ? अर्थशास्त्रमा विकासको सूचकांकमा सर्वप्रथम प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (जिडिपी) हेर्ने गरिन्छ ।

विकसित देश अमेरिकाको प्रतिवर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६० हजार डलरभन्दा बढी छ, नेपालको त्यसको सानो अंश करिब १२ सय डलर मात्रै । यही आम्दानीले नेपालमा निश्चित रूपमा बढी सामान खरिद गर्न त मिल्छ, तर हिसाब जसरी गरे पनि अमेरिका नेपालभन्दा धेरै धनी छ । आम्दानी बढी भएपछि अरू मानव विकासका सूचकांक पनि सबल हुन जान्छन् । धनी देशमा गुणस्तरीय स्वास्थ्य, शिक्षाको सुविधा पाइन्छ । सोहीअनुसार जनताको आयु पनि लामो हुन्छ । इन्टरनेटजस्तो उन्नत प्रविधिमा धेरैको पहुँच हुन्छ । 

हामी यस्तो गरिब, अमेरिका त्यस्तो धनी कसरी हुन पुग्यो त ? विश्वका बाँकी देश हाम्रो तुलनामा कति धनी अथवा गरिब छन् ? पहिलो प्रश्नको उत्तर यस लेखको विषयवस्तु नै हो, पहिले दोस्रो प्रश्नको जवाफ खोजौँ । उत्तर अमेरिकी, युरोपेली, केही मध्यपूर्वी देश र एसियाका जापान, दक्षिण कोरियालगायत मुलुक विकसित छन् । मध्यम धनी मुलुकमा पर्छन्, दक्षिण अमेरिकी देशहरू, चीन तथा केही दक्षिण पूर्वी एसियाली मुलुकहरू । दक्षिण एसियाली तथा अफ्रिकाको उप–सहारा क्षेत्रका अधिकांश मुलुक विकासको पुछारमा पर्छन् ।

धेरैजसो मुलुकको हकमा आजभन्दा १०, ५० र १०० वर्षअगाडि धनी मुलुक धनी नै र गरिब मुलुक गरिबै थिए त ? बेलायतमा १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म चलेको औद्योगिक क्रान्तिलाई जुन–जुन मुलुकले अँगाल्न सके, ती सम्पन्न हुन पुगे । 
औद्योगिक क्रान्तिअगाडि भने मुलुकहरूबीचको आर्थिक सम्पन्नतामा खासै ठूलो फरक थिएन । धेरैजसो मानिस जीविकोपार्जनका लागि खेतीकिसानी गर्थे ।

‘बन्दुक, कीटाणु र स्टिल (गन्स्, जम्र्स एन्ड स्टिल) र किन देशहरू असफल हुन्छन् (ह्वाई नेसन्स फेल)’ दुई पुस्तकले किन कोही देशहरू अरू देशभन्दा सफल हुन्छन् भनेर चर्चा गरेका छन् । दुवै पुस्तकले धनी देशका नागरिक बढी बुद्धिमान् हुन्छन् भन्ने धारणामा विमति जनाउँछन् । जेरेड डाइमन्डले बन्दुक, कीटाणु र स्टिलमा किन युरोपेली मूलका गोराहरूले अमेरिकाका आदिवासी नागरिकलाई १५औँ र १६औँ शताब्दीमा अमेरिकामा हराएर जमिन कब्जा गर्न सके भनी चर्चा गरेका छन् । युरोपेली र अमेरिकी आदिवासीबीच प्रविधिको फरक रहेको र प्रविधिको फरक भौगोलिक कारणले भएको बताएका छन् ।

राम्रो स्वास्थ्यसेवा प्रणाली सञ्चालन गर्न गाउँ–गाउँमा कुशल डाक्टरहरूको आवश्यकता पर्छ । उद्योगधन्दा खोल्न र कर्जा प्रवाह गर्न व्यवस्थापनका कुशल विद्यार्थी चाहिन्छन् । योग्यताका आधारमा बढुवा गर्न प्रणाली जरुरी हुन्छ, जुन शिक्षित जनसमुदायमा स्वतः विकास हुन्छ ।

एसियाली तथा युरोपेली महाद्वीपमा खेतीयोग्य बोटबिरुवा तथा पाल्न योग्य गाईवस्तु र घोडा पाइने भएकाले यो क्षेत्रको बढी विकास भएको औँल्याएका छन्, उनले । यही भौगोलिक कारणले नेपालको पनि अरू देशको तुलनामा विकास नभएको भन्न सकिन्छ । विकट पहाड र हिमालले भरिएको नेपालमा बाटोघाटो तथा अन्य सुविधा पु¥याउन गाह्रो हुनु स्वाभाविकै हो । तर, सोही तर्कअनुसार डाँडाकाँडा हुँदाहुँदै पनि‌ स्विट्जरल्यान्डको विकास भएको छ । फेरि नेपाल सबै डाँडाकाँडाले मात्र भरिएको पनि‌ छैन, यहाँको समतल भूभागमा पनि विकास हुन सकेको छैन । 

किन देशहरू असफल हुन्छन् भन्ने पुस्तकले चाहिँ कुनै एउटा देश सफल हुनु र अर्को देश असफल हुनुमा शासन व्यवस्था अथवा प्रणालीलाई प्रमुख कारक औँल्याएको छ । इतिहासका विभिन्न समय र ठाउँको दृष्टान्त दिएर शासन प्रणाली नै विकासको निर्धारक हुन्छ भन्ने तर्क गरिएको छ । जुन शासन व्यवस्था केन्द्रीकृत हुन्छ, जसमा सबै वर्गको प्रतिनिधित्व हुन्छ, जसमा व्यापार गर्न कसैलाई रोकटोक हुन्न, त्यस्तो शासन व्यवस्थाले विकासको मार्गचित्र कोर्छ । जुन व्यवस्थामा माथिल्लो वर्गले आफ्नो फाइदाका लागि राष्ट्रको दोहन गर्छ, त्यो व्यवस्था सफल हुन सक्दैन ।

पुस्तकले प्रस्तुत गरेका कैयौँ उदाहरणमध्ये मैले अमेरिका र मेक्सिकोको नोंगालेस सहर र दक्षिण तथा उत्तर कोरियाको उदाहरण यहाँ पेस गर्न चाहेँ । अमेरिका र मेक्सिकोको नोंगालेस सहरलाई केवल पर्खालले छुट्याएको छ । अमेरिकातर्फको नोंगालेस मेक्सिकोतर्फको सहरभन्दा निकै सम्पन्न छ । दुवैतर्फ उही परम्परा मान्ने उही समुदायका मानिस बसोवास गर्छन् । फरक केवल राजनीतिक तथा अर्थ प्रणालीमा छ । मेक्सिकोतर्फको प्रणाली दोहन गर्ने खालको छ । कार्लोस स्लिमजस्ता गिनाचुना धनाढ्यले प्रणालीको शोषण गरेका छन् । अर्कोतिर, अमेरिकाको प्रणालीमा केही थोरै व्यक्तिले मात्रै राज्यको स्रोत दोहन र शोषण गर्न सक्दैनन् । यस्तो फरक प्रणालीको ऐतिहासिक कारणहरू पनि पुस्तकमा खोजिएको छ । 

अर्को उदाहरण, दक्षिण र उत्तर कोरियाको हो । दुई मुलुकमा विभाजित हुनुअघि दुवै देशको अवस्था उस्तै थियो । विभाजनपछि दक्षिण र उत्तर कोरियाले फरक विकासको मार्ग अँगाले । दक्षिण कोरिया पनि पहिले तानाशाही नै थियो, पछि प्रजातान्त्रिक व्यवस्थातर्फ लम्कियो । पुस्तकका अनुसार दोहनकारी आर्थिक व्यवस्थाका कारण उत्तर कोरिया गरिब रहिरह्यो भने समावेशी आर्थिक व्यवस्थाका कारण दक्षिण कोरियाले विकासको छलाङ मा¥यो ।

 पुस्तकमा चर्चा नगरिएको नेपालको विकास यात्राबारे अब चर्चा गरौँ । औद्योगिक क्रान्तिअगाडिको विकासको चर्चा खासै उपयोगी छैन, किनभने त्यसअगाडि प्रायः सबै गरिब थिए । विकासको एउटा पूर्वाधार छापाखानाको आविष्कार १५औँ शताब्दीमा भइसकेको थियो । तर, शिक्षामा छापाखानाको व्यापक प्रयोग नेपालमा धेरै पछिसम्म हुन सकेन । बेलायतमा औद्योगिक क्रान्ति सुरु हुँदा नेपालमा राणाकाल थियो ।

१०४ वर्ष स्थिर चलेको राणाकाल नेपालका लागि विकासमा छलाङ मार्ने सुवर्ण अवसर थियो । ज‌ंगबहादुरले एक वर्ष लगाएर बेलायत र युरोप देखेर आएका पनि थिए । चन्द्र शमशेरले कलकत्ताबाट मेट्रिकुलेसन गरेका थिए । यी दुई राणा प्रधानमन्त्रीले मात्र नेपाललाई ६० वर्ष शासन गरे । तिनले आफ्ना छोरा, नाति र भतिजाहरूलाई त पढाउने काम गरे, तर आमनेपाली जनतालाई सामूहिक शिक्षा प्रदान गर्न भूमिका खेल्न चाहेनन् । औद्योगिक क्रान्तिको युगमा पनि उद्योग कारखाना खोल्ने पहल गरेनन् । सय वर्षको राणाकाल नेपालको विकासयात्राको कालरात्रि सिद्ध भयो । 

००७ को क्रान्तिपछि आएका बहुदलीय प्रजातान्त्रिक प्रणाली र निर्दलीय पञ्चायती व्यवस्थाले विकासको बीज त रोपे, तर कुनै कारणवश हामी विकासको छलाङ मार्न भने असफल रह्यौँ । माओवादी द्वन्द्वको अवस्थामा राष्ट्र केन्द्रीकृत र स्थिर रहन सकेन । यसैले भारत र चीनले छलाङ मारेको अवस्थामा पनि नेपालमा खासै केही हुन सकेन । माथि उल्लेखित पुस्तकहरूले खासै जोड नदिए पनि अहिलेको युगको विकासको मुख्य पूर्वाधार आधुनिक शिक्षा प्रणाली हो ।

कृषि, औद्योगिक उत्पादन र सेवा तीनै क्षेत्र सबल तरिकाले चलाउन विशिष्ट शिक्षाको आवश्यकता पर्छ । एकीकृत रूपमा व्यवस्था सञ्चालन गर्न कुशल योजनाकारहरू चाहिन्छन् । राम्रो स्वास्थ्य सेवा प्रणाली सञ्चालन गर्न गाउँ–गाउँमा कुशल डाक्टरहरूको आवश्यकता पर्छ । उद्योगधन्दा खोल्न र कर्जा प्रवाह गर्न व्यवस्थापनका कुशल विद्यार्थी चाहिन्छन् । योग्यताका आधारमा बढुवा गर्न प्रणाली जरुरी हुन्छ, जुन शिक्षित जनसमुदायमा स्वतः विकास हुन्छ । हामीकहाँ समावेशी शासन प्रणालीको विकास त भइसकेको छ । अब शिक्षित श्रमशक्तिको विकास भएमा विकास अवश्यम्भावी छ । 

नेपालको विकासको आगामी यात्रा कस्तो रहन्छ त ? यसका लागि चर्चा नगरी नहुने कारक हो, जनसांख्यिकीय । नेपालको ठूलो जनसंख्या कम उमेरको छ । तर, काम गर्ने उमेरको ठूलो जनसंख्या विदेशमा छ । नेपालको आधाभन्दा बढी जनसंख्या काम गर्ने उमेरको हुँदै छ । यो जनसंख्यालाई शिक्षित बनाएर काममा लगाउन सके देश विकास हुन्छ । हामीले नेपालको आम्दानीको सूचकांक न्यून रहेको चर्चा गर्‍यौँ । नेपालका स्वास्थ्य, शिक्षाका सूचकांकहरू राम्रै छन् ।

नेपालको औसत आम्दानी भारतको भन्दा कम भए पनि औसत आयु नेपालकै बढी छ । यसपटक १२ कक्षाको जाँच दिनेको संख्या ६ लाख छ । यसले नेपालको विद्यालय भर्ना दर अत्यन्त उच्च रहेको देखाउँछ । गरिबको अर्थशास्त्र (पुअर इकोनोमिक्स) नामक एस्थर डुफ्लो र अभिजित बेनर्जीले लेखेको विकास अर्थशास्त्रसम्बन्धी किताबमा गरिब देशको स्वास्थ्य र शिक्षा प्रणाली कस्तो हुन्छ भन्ने वर्णन छ । तर, नेपालको अवस्थासँग यो पुस्तकको वर्णनले खासै मेल भने खाँदैन । 

आजको युगको छापाखाना इन्टरनेट हो । संसारको सबैभन्दा राम्रो र बृहत्तर विश्वकोश विकिपिडिया इन्टरनेटमा पाइन्छ । अवैध नै सही, धेरैजसो उपयोगी अंग्रेजी पुस्तक, अनुसन्धानपत्रहरू इन्टरनेटमा पाउन सकिन्छ । कोरसेरा, एडएक्सजस्ता वेबसाइटमा कुनै पनि विषयमा ख्यातिनाम शिक्षकबाट कक्षा लिन पाइन्छ । नेपालमा इन्टरनेटको पहुँच ९० प्रतिशत जनसंख्यामा पुगिसकेको छ । जबकि यो पहुँच भारतमा ५० प्रतिशत मात्र छ । नेपालमा शिक्षा र इन्टरनेटमा धेरैको पहुँच पुगेको छ । अब शिक्षाको गुणस्तर कस्तो रहन्छ, त्यसले कुन तहको विकास हुन्छ भन्ने निर्धारण गर्छ । इन्टरनेट विकिपिडिया हेर्न प्रयोग हुन्छ कि फेसबुकमा च्याट गर्न, त्यसले पनि निर्धारण गर्छ । 

लक्ष्मीप्रसाद देवकोटाले ‘के नेपाल सानो छ ?’मै लेखेका छन्– यहाँ वाग्नर कोदालो खनिरहेछन्, सेक्सपियर हलो जोत्दा हुन्, टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटस गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढ पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ सान्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलेरहरू गीत गाउँछन्, जसको कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ । यो अभिव्यक्ति राणाकालीन र अहिलेसम्मको नेपालमा लागू भयो होला । तर, भविष्यमा आधुनिक शिक्षाका माध्यमबाट यसरी प्रतिभालाई खेर जान नदिने हो भने नेपालको विकास सम्भव हुन्छ ।
(भट्टराई काठमाडौं विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका उप–प्राध्यापक हुन्)