मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएको भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील क्षेत्री सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै । तस्बिर सौजन्य : एन्फा
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३६:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल–भारत मैत्रीपूर्ण फुटबल भारतीय टोली काठमाडौं आइपुग्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३६:oo

नेपालविरुद्ध दुईवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न भारतीय सिनियर टोली काठमाडौं आइपुगेको छ । भारतीय टोलीलाई चर्चित खेलाडी सुनील क्षेत्रीले कप्तानी गरेका छन् । उनकै नेतृत्वमा २५ सदस्यीय सिनियर भारतीय टोली सोमबार काठमाडौं आइपुगेको हो ।नेपाल र भारतले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअघि तयारी स्वरूप दुई मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । दशरथ रंगशालामा १७ र २० भदौमा खेल हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दुवै खेल साँझ ५:३० बजे हुनेछ ।

भारतको सिनियर फुटबल टोली ६ वर्षपछि नेपाल आएको हो । यस अर्थमा ६ वर्षपछि नेपाल र भारतबीचको सिनियर टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१८ को रसिया विश्वकप छनोटका लागि सन् २०१५ मा भारतीय टोली नेपाल आएको थियो । त्यसयता भारतको सिनियर टोली नेपाल आएको छैन । भारतले यसबीचमा युवा टोलीलाई मात्रै नेपाल पठाउँदै आएको थियो । सन् २०१५ को मार्चमा दरशथ रंगशालामा भएको विश्वकप छनोटअन्तर्गत पहिलो लेगमा भारतले नेपाललाई २–० ले हराएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । 

नेपाली फुटबल टोली तीन साता पोखरामा अभ्यास गरी काठमाडौं फर्किसकेको छ । यता मैत्रीपूर्ण खेलका लागि भारतीय टोलीले कोलकातामा अभ्यास गरेको थियो । कोलकातामा प्रशिक्षण गरेपछि भारतीय टोली नयाँदिल्ली हुँदै नेपाल आएको हो । 

भारत–नेपालबीच १९ पटक भिडन्त
तथ्यांकअनुसार भारत र नेपालबीच १९ पटक भिडन्त भएको छ । जसमा भारतले नेपालमाथि १३ पटक जित निकालेको छ । नेपालले भारतलाई दुईपटक मात्र हराएको छ । नेपाल र भारतबीच चार खेल बराबरीमा समाप्त भएको छ । नेपाल र भारतबीच तीनपटक मात्र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भएको छ । जसमा भारतले दुई जित र एक बराबर नतिजा हात पारेको छ । 

भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपालले साफ च्याम्पियनसिपको अन्तिम तयारीका लागि २५ भदौमा कतार जानेछ । कतारबाटै नेपाली टोली ११ असोजमा माल्दिभ्स प्रस्थान गर्नेछ । १५ असोजदेखि साफ च्याम्पियनसिप माल्दिभ्समा हुँदै छ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।

 नेपालसँगको प्रतिस्पर्धा कठिन : कप्तान क्षेत्री
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका कप्तान क्षेत्रीले नेपालसँगको प्रतिस्पर्धा कठिन हुने बताएका छन् । उनले छिमेकी राष्ट्रसँग प्रतिस्पर्धा गर्न पाउँदा खुसी लागेको समेत बताए । ‘दक्षिण एसियामा नेपाल सधैँ भारतको कडा प्रतिद्वन्द्वीका रूपमा रहेको छ,’ विमानस्थलमा पत्रकारहरूसँग उनले भने, ‘दुई देशबीचको मैत्रीपूर्ण खेल रोमाञ्चक हुनेछ ।’ यो खेललाई विश्व फुटबलकै सर्वोच्च निकाय फिफाले समेत मान्यता दिएको छ । यस खेलमा आउने जित, हार वा बराबरी नतिजा फिफा वरीयतामा जोडिनेछ । जसले दुवै देशको फिफा वरीयतामा प्रभाव पार्ने निश्चित छ । 

मैत्रीपूर्ण प्रतिस्पर्धा भए पनि भारतीय फुटबल संघले नेपालविरुद्ध बलियो टोली बनाएको छ । भारतीय टोलीमा सबै अनुभवी खेलाडी छन् । भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले साफ च्याम्पियनसीपलाई मध्यनजर राखी नेपालविरुद्ध बलियो टोली घोषणा गरेका हुन् । कप्तान क्षेत्रीले नेपाललाई हल्का प्रतिद्वन्द्वीका रूपमा नलिएको जनाए । साफ च्याम्पिनयसिपभन्दा पनि भारतको मुख्य नजर दुई वर्षपछि चीनमा हुने एसियन कप प्रतियोगितामा छनोट हुनु रहेको छ ।

एसियन कप छनोटकै लागि भारतले अहिलेदेखि नै तयारी गरिरहेको छ । तयारीका रूपमा नेपालसँगको मैत्रीपूर्ण पनि एक रहेको छ । ‘हाम्रो लक्ष्य नै सन् २०२३ मा चीनमा हुने एसियन कप प्रतियोगितामा छनोट हुने हो,’ कप्तान क्षेत्रीले भने । यसैगरी भारतीय टोलीका मिडफिल्डर अनिरुद्ध थापाले नेपाललाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिएको जनाए । ‘हामीले नेपाललाई कहिले हल्का रूपमा लिएका छैनौँ, मैत्रीपूर्ण खेलमा पनि नेपालसँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेका छौँ,’ मिडफिल्डर थापाले भने, ‘यस खेलमा हामीले हाम्रो कमीकमजोरी सुधार गर्छाैँ ।’ 

भारतीय टोली
गोलकिपर : अमरिन्दर सिंह,धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु
रक्षापंक्ति : प्रितम कोटल,चिंललेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज
मिडफिल्ड : लालेङमावई, विपिन सिंह, अनिरुद्ध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर
स्ट्राइकर : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री र फारुख चौधरी