१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ४ शुक्रबार १३:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उच्च अदालत विराटगरको  रेकर्ड, दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्न सफल

Read Time : > 1 मिनेट
गणेश लम्साल विराटनगर
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ ४ शुक्रबार १३:o३:oo

उच्च अदालत विराटनगरले दुई वर्ष नाघेका मुद्दा शून्यमा झारेर रेकर्ड कायम गरेको छ। आर्थिक वर्ष २०७७/०७८ मा दुई वर्ष नाघेका सबै मुद्दाहरू फर्स्याेट गरेर उच्च अदालत विराटनगरले पहिलोपटक रेकर्ड कायम गरेको हो ।

उच्च अदालत विराटनगरमा आव २०७६/०७७ मा २२ थान र २०७५/०७६ मा २१ थान दुई वर्ष नाघेका मुद्दा बाँकी थिए ।  आव २०७७/०७८ मा बक्यौता रहेका दुई वर्ष नाघेका मुद्दा सबै फैसला भइसकेकाले उच्च अदालत विराटनगरले रेकर्ड कायम गरेको मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले बताए। न्यायधीश श्रेष्ठका अनुसार चालू वर्षमा उच्च अदालत विराटनगरमा १८ महिना नाघेका मुद्दा २७४ थान, एक वर्षदेखि १८ महिनासम्मका १९२ थान, ६ महिनादेखि एक वर्षभित्रको ५१५ र ६ महिनाभित्रको ५७२ थान मुद्दा मात्र बाँकी छन्। 

देशका अन्य ठूला उच्च अदालतहरूमध्ये पाटन उच्च अदालतमा अझै ५३२ थान, जनकपुरमा १२१, राजविराजमा ७७, वीरगन्जमा १०२, बुटबलमा १७, नेपालगन्जमा ५५ र पोखरामा ९ थान दुई वर्ष नाघेका मुद्दा फर्स्याेट हुन बाँकी छ।

मुद्दा फर्स्याेटमा उच्च अदालत विराटनगर सबैभन्दा अगाडि 
देशभरका १८ उच्च अदालतमध्ये विराटनगर उच्च अदालत गत वर्ष मुद्दा फैसला गर्न सबैभन्दा अगाडि रहेको देखिएको छ। अदालतले गत आव २०७७/०७८ मा कुल ५४ प्रतिशत अर्थात् तीन हजार ६६१ थान मुद्दामध्ये एक हजार ९७६ थान फर्स्याेट गरेर सबैभन्दा अगाडि भएको हो ।

गत वर्ष देशभरका ठूला उच्च अदालतहरूमध्ये पाटनले ४५ प्रतिशत, जनकपुरले ३३,  राजविराजले ४४, वीरगन्जले ४६, बुटबल र नेपालगन्जले ५० तथा पोखराले ५३् प्रतिशत मुद्दा फर्स्याेट गरेका छन् ।

जनकपुर उच्च अदालतमा तीन हजार ६८२, राजविराजमा तीन हजार १९४, वीरगन्जमा चार हजार २५४ बुटवलमा दुई हजार ५७८ मुद्दा दायर भएको थियो । यसैगरी पाटनमा १४ हजार ७ सय, नेपालगन्जा एक हजार ६८४ र पोखरा उच्च अदालता एक हजार ९७८ थान मुद्दा दर्ता भएका थिए ।

सबैभन्दा बढी मुद्दा फैसला गर्ने न्यायाधीश पनि विराटनगरकै 
देशभर रहेका उच्च अदालतका न्यायाधीशहरूमध्ये उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठले सबैभन्दा बढी मुद्दा फैसला गरेका छन् । उनले गत वर्ष ७०३ थान मुद्दा फर्स्याेट गरेका छन् । अन्य अदालतका न्यायाधीशहरू कुलप्रसाद शर्माले ६५४, महेश शर्मा पौडेलले ६५३, माधवप्रसाद पोखरेलले ६३५, किरण पौडेलले ६२८ थान मुद्दा फैसला गरेका छन् ।

‘उच्च अदालत कस्तो विराटनगरजस्तो’ भन्ने नारा दिएर दुई वर्षदेखि निरन्तर सुधार अभियानमा सक्रिय भएकाले प्रतिकूल समयमा पनि उल्लेख्य मुद्दा फर्स्याेट गर्न सफल भएको अदालतका मुख्य न्यायाधीश श्रेष्ठले बताए । उनका अनुसार उच्च अदालत विराटनगरमा रहेका ११ न्यायाधीशसहित रजिस्ट्रार र कर्मचारीहरूले विभिन्न समिति निर्माण गरेर अदालतको सेवा सुधार अभियान सञ्चालन गरिरहेका छन् ।

ad
ad