मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ४ शुक्रबार
  • Tuesday, 15 July, 2025
शान्ता कमली लमजुङ
२o७८ भदौ ४ शुक्रबार १o:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई महिनादेखि विद्युतविहीन मनाङमा प्रसारणलाइन मर्मत सुरु

Read Time : > 1 मिनेट
शान्ता कमली लमजुङ
नयाँ पत्रिका लमजुङ
२o७८ भदौ ४ शुक्रबार १o:४७:oo

गत असार १ को बाढीपहिरोले दुई महिनादेखि मनाङ विद्युतविहीन बनेको छ। लघु जलविद्युतकै भरमा रहेको मनाङमा सदरमुकाम चामेदेखि भ्राताङसम्म ०७७ माघमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको थियो। मनाङमा लमजुङको मर्स्याङ्दी– ५, घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामे– १ स्यार्कुस्थित सबस्टेसनमा जडान गरिएको थियो।

राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पुर्‍याएपछि मनाङ दुई महिनादेखि विद्युतविहीन बनेको हो। अहिले सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्थाको काम सोलारकै भरमा चलिरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताउँछन्। चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले विद्युत् अवरुद्ध हुँदा गाउँपालिकाको काममा समेत समस्या भएको बताउँछन्। बाढीले लघु जलविद्युतसहित राष्ट्रिय प्रसारणलाइनमा समेत ठूलो क्षति पुगेको छ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इन्जिनियर मिलन सुवेदीका अनुसार लगातारको वर्षासँगै आएको बाढीपहिरोले मनाङस्थित प्रसारण लाइनमा एक करोड ७० लाखबराबरको क्षति भएको छ। बाढीले मनाङ जोड्ने राधी हाइड्रो–स्यार्कु ३३ केभी प्रसारणलाइनसहित स्याक्य्रु –चामे ११ केभी र भित्रीभाग चार सय भोल्टका पोल र तारमा समेत क्षति पुगेको छ। ३३ केभी लाइनको ८.४ किलोमिटरको एक सय १६ वटा पोल, ५.६ किलोमिटरको ११ केभी लाइनको ८८ वटा पोलमा क्षति पुगेको छ । चार सय भोल्टको ५१ पोलमा क्षति पुगेको सुवेदीले बताए।

बाढीपहिरोले विभिन्न ठाउँमा सडक बगाएकाले पोल गाड्ने रुटको पहिचानसमेत हुन सकेको छैन। अहिले बेंसीसहरदेखि तालसम्मको बाटो खुलेसँगै नेपाल विद्युत् प्राधिकरण मनाङ शाखाले पोल, तार र अन्य निर्माण सामग्रीहरू व्यवस्थापन गरी निर्माणस्थलसम्म ढुवानीका लागि प्रक्रिया अघि बढाएको छ।

नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख सुवेदीले लाइनमा प्रयोग हुने इन्सुलेटरलगायत अन्य सामग्रीहरू भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रियामा रहेको बताए। लाइन मर्मतकार्य सुरु भइसकेकाले अबको एक महिनामा मर्मत सम्पन्न भई मनाङमा बिजुली बालिने उनी बताउँछन्। नासोँ गाउँपालिका– १ तालगाउँबाट मर्मत सुरु गरेर स्याक्य्रु, चामे हुँदै भ्राताङसम्म लाइन मर्मत गरिने प्राधिकरणले जनाएको छ।