Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
दिपेश शाही काठमाडाैं
२०७८ भदौ २ बुधबार ०९:०९:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

माधव नेपालहरू पार्टीमा नरहने नै हुनुभयो : प्रदीप ज्ञवाली 

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ भदौ २ बुधबार ०९:०९:००

एमालेको एकताका सम्भावनाहरू बाँकी छन् वा सकिए ?
माधव नेपालहरू पार्टीमा नरहने नै हुनुभयो । त्यसो भएपछि पार्टीले कारबाही प्रक्रिया अगाडि बढाएको हो । तर, त्यो ढंगले पार्टीविरोधी गतिविधिमा संलग्न नभएका साथीहरूसँग छलफल चलिरहेको छ । धेरै साथीहरू पार्टीको मूल प्रवाहमा कायम रहनुहुनेछ ।

एकातिर एकताका लागि हदैसम्मको प्रयास चलिरहेको भनिएको छ । अर्कोतिर माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्नुभएको छ । यसले एकता कसरी जोगिन्छ ?
हामीले उहाँहरूको मागअनुसार नै कार्यदल बनायौँ । कार्यदलबाट १० बुँदे प्रस्ताव पनि तयार भयो । त्यसलाई पार्टीले ग्रहण गर्‍यो र कार्यान्वयन गर्ने निर्णय पनि गर्‍यो । त्यो कार्यान्वयनमा गयो पनि । त्यसपछि नयाँ–नयाँ सर्तहरू अगाडि आए ।

त्यसमध्येको एउटा सर्त भनेको दोस्रो अध्यक्ष राख्ने भन्ने थियो । त्यो स्वीकार्य विषय नै थिएन, तैपनि पार्टी एकता त्यसो गरेर हुन्छ भने त्यो पनि गरौँ भनेर गरियो । उहाँहरूको आग्रहमा पटक–पटक बैठकलाई स्थगन गर्दै, पार्टीका नियमित कामहरूलाई रोक्दै पनि गयौँ । तर, उहाँहरू उतातिर पार्टी विभाजनको तयारीमा लाग्ने, यतातिर पार्टीलाई कुनै पनि गतिविधि गर्न नदिएर अकर्मण्य र विघटनप्रायः बनाउने उद्देश्य देखियो ।

आज जुन ढंगले उहाँहरूले सरकारमार्फत अध्यादेश जारी गराउनुभयो त्यो उहाँहरूकै लागि, उहाँहरूकै पहलमा थियो भन्ने कुरा प्रस्ट छ । अब पनि त्यसमा अलमलिनुपर्ने, द्विविधा राख्नुपर्ने भन्ने रहेन । को विभाजनका लागि तयार छ, को त्यसका लागि तयारी गरिरहेको छ भन्ने कुरामा कुनै अलमल नै छैन । यसैले को एकता चाहन्छ, को चाहँदैन भन्ने देखाइसकेको छ ।

अध्यक्ष ओलीले नै पार्टीको दोस्रो अध्यक्षको प्रस्ताव पहिले राखेर पछि सहमत भइसकेपछि उहाँले नै मान्दिनँ भनेका कारण एकता बिथोलियो भन्ने माधव नेपाल पक्षको आरोप छ नि ?
बिलकुलै गलत कुरा हो । त्यो उहाँहरूले पठाएको हस्तलिखित प्रस्ताव अहिले पनि पार्टी अध्यक्षसँग सुरक्षित छ । साथै कम्प्युटर टाइप गरेर पठाएको प्रस्ताव पनि छ । यो आरोप मात्रै हो ।

तपाईंहरूले पार्टीका १४ जना सांसदलाई कारबाही केका आधारमा गर्नुभएको हो ? 
उहाँहरू २७ वैशाखमा पार्टी अध्यक्षले प्रधानमन्त्रीका रूपमा विश्वासको मत लिने क्रममा ह्विप उल्लंघन गर्दै अनुपस्थित हुनुभयो । त्यस दिन उहाँहरू उपस्थित भएको भए संसद् पनि जोगिन्थ्यो र सांसद पद पनि जोगिन्थ्यो । त्यसका अलावा पार्टीविरोधी गुटगत गतिविधिमा उहाँहरू निरन्तर संलग्न भइरहनुभयो । यसैका आधारमा अनुशासनको कारबाही गरिएको हो ।

अब माधव पक्षले के गरेको खण्डमा एमाले एक रहन सक्छ ? 
उहाँहरूले यो कारबाही त भोग्नैपर्छ । त्यसपछाडि गल्तीलाई स्वीकार गर्दै सार्वजनिक रूपमा आत्मालोचना गर्नुभयो भने त्यसमा छलफल गर्न सकिन्छ । 

माधव नेपालले पार्टी एकताका लागि अन्तिम प्रयास भन्दै पुरानै सर्तहरू राखेर प्रस्ताव पठाउनुभएको छ । यो मान्य हुन्छ ?
अब कुनै अर्थ छैन । किनभने २ जेठमा पार्टी संरचनालाई फर्काउने विषय हामीले १० बुँदे प्रस्तावमा नै समेटेका थियौँ । त्यसैमा २३ फागुनयता पार्टी विधानमा मेल नखाने निर्णय पनि खारेज हुने भनेर पनि उल्लेख गरिएको छ । त्यसमा थप सर्त राख्नुको कुनै अर्थ छैन । यो बहाना हो, के गर्दा एकता नहुने स्थिति सिर्जना हुन्छ भनेर अघि सारिएका विषय हुन् ।

सरकारले ल्याएको अध्यादेशविरुद्ध अदालत पनि जानुहुन्छ कि विरोध मात्रै जनाउनुहुन्छ ?
हामी सबै क्षेत्रबाट विरोध गर्छौँ । यसले अहिले नेकपा एमालेलाई प्रभाव पार्‍यो भन्ने मात्रै होइन, लोकतन्त्रलाई भित्रैदेखि क्षतविक्षत बनाउने चरम विकृति यसले निम्त्याउँछ । केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत हुनेबित्तिकै विभाजन गर्न पाइने भन्ने कुरा अहिले उहाँहरू आनन्द मानिरहनुभएको होला । एमालेलाई अप्ठ्यारो पारियो भन्ने सोचिरहनुभएको होला । तर, यो रोग सबै पार्टीमा सल्किनेछ र उहाँहरूले पछि थाहा पाउनुहुनेछ ।