
पाकिस्तानी राजदूतावासले एक करोड १९ लाख रुपैयाँबराबरका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई बिहीबार हस्तान्तरण गरेको छ । पाकिस्तानी दूतावासका चार्ज डे अफेयर्स एडनान जाभेद खानले स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई स्वास्थ्य मन्त्रालयमा भेटेर सामग्री हस्तान्तरण गरेका हुन् ।
पाकिस्तानी दूतावासका अनुसार ‘मेड इन पाकिस्तान’ अर्थात् पाकिस्तानमा निर्मित ३० भेन्टिलेटर, ३० वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण भएको हो । सार्क सदस्य मुलुकहरूका लागि पाकिस्तानले घोषणा गरेको कोभिड– १९ आपतकालीन सहायता कार्यक्रमअन्तर्गत नेपाललाई सहयोग गरेको दूतावासले जनाएको छ । गत महिना दूतावासले चार करोड ३० लाख रुपैयाँबराबरको सहयोग रकम नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
स्वास्थ्यसचिव पोखरेलले सहयोगका लागि सरकार र पाकिस्तानी जनतालाई धन्यवाद व्यक्त गरे । पाकिस्तानी कूटनीतिज्ञ जाभेदले नेपाललाई कोभिड महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि पाकिस्तानले निरन्तर सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।