१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जीवन बस्नेत काठमाडाैं
२०७८ श्रावण २८ बिहीबार १०:१२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

देशमा एक करोड २३ लाख युवा : स्वरोजगारीमा महिला अगाडि, रोजगारीमा पुरुष

अन्तर्राष्ट्रिय युवा दिवस

Read Time : > 2 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७८ श्रावण २८ बिहीबार १०:१२:००

देशमा युवा जनसंख्या एक करोड २३ लाख रहेको छ । राष्ट्रिय युवा नीति, २०७२ ले परिभाषित गरेअनुसार १६ देखि ४० वर्षसम्मका युवाको संख्या कुल जनसंख्याको ४० दशमलव ३५ प्रतिशत छ । त्यसमध्ये महिला ५४ दशमलव पाँच प्रतिशत र पुरुष ४५ दशमलव पाँच प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार २७ साउनमा नेपालको जनसंख्या तीन करोड चार लाख २९ हजार ३० जना पुगेको छ । त्यसको ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड २२ लाख ७८ हजार एक सय १३ जना युवा रहेको प्रक्षेपण गर्न सकिने केन्द्रीय तथ्यांक विभागका जनसंख्या शाखा प्रमुख ढुण्डीराज लामिछानेको भनाइ छ । 

‘यसअघिको जनगणनाका आधारमा विभागले हरेक दिनको जनसंख्या प्रक्षेपण गर्छ, हामीले त्यसलाई नै आधार मान्नुपर्ने हुन्छ,’ उनले भने । यसअनुसार युवा महिला ६६ लाख ९१ हजार पाँच सय ७१ र युवा पुरुष ५५ लाख ८६ हजार पाँच सय ४२ जना रहेका विभागको प्रक्षेपण छ । 

७२ प्रतिशत युवा पुरुष र ५४ प्रतिशत महिला आर्थिक रूपमा सक्रिय 
राष्ट्रिय युवा परिषद्ले प्रकाशित गरेको युथ भिजन, २०२५ तथा दशवर्षे रणनीतिक योजना प्रतिवेदनअनुसार १६ देखि ४० वर्ष उमेर समूह युवामध्ये महिला ५४ प्रतिशत र पुरुष ७२ प्रतिशत आर्थिक रूपमा सक्रिय छन् । त्यसमध्ये पनि महिलामा १६ देखि २५ वर्षका ४२ प्रतिशत र २६ देखि ४० वर्षका ६६ प्रतिशत मात्र आर्थिक रूपमा सक्रिय रहेको देखाएको छ । त्यस्तै पुरुषहरूमा १६ देखि २५ वर्षका ५० प्रतिशत र २६ देखि ४० वर्षका क्रमशः ९४ प्रतिशत आर्थिक रूपमा सक्रिय रहेका छन् । 

कुल युवामध्ये ७१ प्रतिशत साक्षर
देशमा भएको कुल युवा (१६–४० वर्ष) मध्ये ७१ प्रतिशत साक्षर रहेका छन् । तर, त्यसमध्ये पनि १६ वर्षदेखि २५ वर्ष उमेर समूहका ८२ प्रतिशत युवा साक्षर रहेका छन् । यसले पछिल्ला वर्षहरूमा शिक्षित हुनेको संख्या बढ्दै गएको देखाउँछ । 

पूर्ण बेरोजगार युवा दुई प्रतिशत, अर्धबेरोजगार २८ प्रतिशत
देशमा भएका कुल ४० प्रतिशतभन्दा बढी युवा जनसंख्यामध्ये दुई दशमलव तीन प्रतिशत पूर्ण रूपमा बेरोजगार रहेका छन् । यसको अर्थ न्यूनतम पनि दुई लाख ८२ हजार दुई सय ९६ युवा पूर्ण रूपले बेरोजगार छन् । आर्थिक रूपमा सक्रिय यति ठूलो जनसंख्या बेरोजगार हुनु देशकै लागि ठूलो क्षति हो । योभन्दा पनि अझ डरलाग्दो भनेको कुल युवामध्ये २८ दशमलव तीन प्रतिशत अर्धबेरोजगार अवस्थामा छन् । यो संख्या ३४ लाख ७४ हजार सात सय पाँचजनाबराबर हो । यसैगरी स्नातक अध्ययन सकेका युवामध्ये २६ दशमलव एक प्रतिशत बेरोजगार छन् । यसको अर्थ सय जनाले स्नातक उत्तीर्ण गर्दा २६ जनाले रोजगारी पाउँदैनन् । 

वैदेशिक राजगारीमा जाने युवामध्ये दुई प्रतिशत दक्ष, ७४ प्रतिशत अदक्ष
राष्ट्रिय युवा परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये दुई प्रतिशत मात्र दक्ष हुन्छन् । त्यस्तै, अर्धदक्ष युवा २४ प्रतिशत र अदक्ष युवा ७४ प्रतिशत रहेका छन् । यसको अर्थ हरेक सयजना युवा वैदेशिक रोजगारीमा जाँदा ७४ जना अदक्ष हुन्छन् भन्ने हो । 

स्वरोजगारमा महिला अगाडि, रोजगारमा पुरुष
देशमा औसत स्वरोजगार युवाको जनसंख्या ७२ लाख १९ हजार पाँच सय ३० जना रहेको अध्ययनले देखाएको छ । यो कुल युवा जनसंख्याको ५८ दशमलव आठ प्रतिशत हो । त्यसमध्ये स्वरोजगार हुने महिलाको संख्या पुरुषको तुलनामा बढी रहेको छ । १६ देखि २५ वर्ष उमेर समूहका महिलामध्ये ७० प्रतिशत स्वरोजगार रहेको परिषद्को तथ्यांक छ । त्यस्तै, २६–४० वर्षका महिलामध्ये ७४ प्रतिशत स्वरोजगार छन् । त्यही उमेर समूहका पुरुषहरूमध्ये स्वरोजगारको संख्या क्रमशः ४० प्रतिशत र ५२ प्रतिशत मात्रै छ ।