१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १o:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निजी क्षेत्रलाई करको भार कम गर्ने योजना आयोगका उपाध्यक्ष पौडेलको आश्वासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:३o:oo

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व पौडेलले सस्तो मूल्यमा वस्तु उत्पादन गर्ने अवसर दिएर नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा उनले सरकारको खर्च घटाई उद्यमीलाई सहुलियत दिने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याए । 

सरकारले सहज व्यवसायको प्रतिस्पर्धात्मक बजार निर्माणमा सहयोग गर्नुपर्ने उनले बताए । सरकारले दीर्घकालीन राजस्वका स्रोतहरू खोज्ने बताएका छन् । ‘हामी निजी क्षेत्रलाई करको दायरा कम गर्ने बाटोमा अघि बढ्नेछौँ,’ उनले भने, ‘दीर्घकालीन राजस्वका स्रोत खोज्ने र सरकारले खर्च कम गर्ने बाटोमा हामी अघि बढ्नेछौँ ।’ उत्पादनमूलक क्षेत्रको विकास नभई सेवा क्षेत्रले मात्रै नेपालको उच्च आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताउँदै उनले उद्यमी–व्यवसायीले व्यहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्ने बताए ।  

हामी निजी क्षेत्रलाई करको दायरा कम गर्ने बाटोमा अघि बढ्नेछौँ । दीर्घकालीन राजस्वका स्रोत खोज्ने र सरकारले खर्च कम गर्ने बाटोमा हामी अघि बढ्नेछौँ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले २ अंकको आर्थिक वृद्धिदर हासिल गर्न उत्पादनमुखी अर्थतन्त्रलाई पहिलो उद्देश्य बनाएर काम गर्नुपर्ने बताए । परिसंघले औद्योगिक विकास र उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्न ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी दिँदै उक्त अभियान सञ्चालन गर्ने सोच कार्यान्वयन गर्ने महत्वपूर्ण श्रेय राष्ट्रिय योजना आयोगलाई पनि जाने बताए । 

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले योजना आयोगले मुलुकको विकासका लागि दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाएर अघि बढ्ने भएकाले मुलुकलाई औद्योगिकीकरणको बाटोमा लैजान उपाध्यक्ष पौडेलको भूमिका महत्वपूर्ण हुने बताए । ‘निजी क्षेत्रको वास्तविक समस्या तपाईंलाई राम्रोसँग थाहा छ,’ उनले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै सहजीकरणका लागि भूमिका खेल्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

ad
ad