पुनर्निर्माण हुँदै पर्यटकीय संरचना

२०७५ फाल्गुण ११ शनिबार ११:२८:००

१२ वैशाख ०७२ । समय अपराह्न । हजारौँ नागरिकको ज्यान लिएर लाखौँ नेपालीलाई रुवाएको विनाशकारी भूकम्प आएको क्षण । समय बित्दै जाँदा आफन्त गुमाएका परिवार, घाइते, उनीहरूका परिवार र घरवारविहीन परिवारबाहेक धेरैको मन–मस्तिष्कबाट भूकम्प अब स्मृतिको पानामा सीमित हुने क्रममा छ । तर, यो भूकम्पले समग्र नेपालीलाई पटक–पटक झस्काउने गरी केही चिनो भने छाडेर गएको छ जहाँ पुग्दा अहिले पनि मन ढक्क फुल्छ, विनाशकारी भूकम्प आउँदा लाचार बनेको क्षण सम्झाइदिन्छ र पुनः एकपटक सचेत बन्न बाध्य बनाउँछ । 

मन्दिरै–मन्दिरको सहर काठमाडौं उपत्यकाको पहिचान हो । उपत्यकाभित्र सात विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा पूरातात्विक सम्पदा छन् । जसले संसारमा नेपाल चिनाउने क्षमता राख्छन् । यी गौरवशाली धरोहर १२ वैशाखको भूकम्पका कारण ढल्मलाए । कति ठडिएकै छन्, कति ढले । जुन ठडिएका छन्, ती सम्पदालाई पनि ‘टेको’ लगाएर भरथेग गर्नु परेको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अहिले देशभर पुनर्निर्माणको काम जारी छ । करिब नौ खर्ब रुपैयाँ लगानीमा निजी आवास, सरकारी तथा सुरक्षा निकायका भवन, पुरातात्विक तथा ऐतिहासिक सम्पदा, शिक्षण र स्वास्थ संस्थाका भवन पुनर्निर्माणका क्रममा छन् । पुनर्निर्माण यति तीव्र छ कि आज एउटा स्वरूपमा रहेको सम्पदाको भोलि अर्कै  स्वरूप भइसक्नेछ । 

पर्यटनविज्ञ प्रचण्डमान श्रेष्ठ भन्छन्, ‘पुनर्निर्माण नै आफैँमा एउटा पर्यटकीय उत्पादन हो, जहाँ आज घुम्न छुटाइयो भने भोलि त्यही रूप नदेखिन सक्छ । पुनर्निर्माण भइरहेको छ, हेर्न आऊ भनेर हामी विदेशीलाई त बोलाउन सक्दैनौँ । तर, हाम्रा लागि त यो महत्वपूर्ण क्षण हुन सक्छ ।’ उनका अनुसार यसरी पुनर्निर्माण भइरहेको सम्पदामा आफू पनि सहभागी हुन चाहने विदेशीलाई सहभागी गराउने प्रचलन अन्य मुलुकमा पनि हुन्छ ।

भूकम्पपछिका प्रारम्भिक वर्षमा विदेशमा हुने विभिन्न प्रवद्र्धनात्मक कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकारीलाई धेरै सोधिने प्रश्न नै पुनर्निर्माण कहिले सकिन्छ र संरचना कहिलेदेखि हेर्न पाइन्छ भन्ने हुन्थ्यो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी सम्झन्छन्, ‘त्यसपछि हामीले पुनर्निर्माण नै आफैँमा पर्यटकीय प्रोडक्ट बन्न सक्छ भनेर प्रचार थाल्यौँ, अहिले अध्ययन अनुसन्धान र अवलोकनका लागि पनि धेरै पर्यटक पुनर्निर्माण भइरहेको स्थानमा पुगिरहेका छन् ।’ 

केही महत्वपूर्ण सम्पदा पुनर्निर्माणका अवस्था

हनुमानढोका परिसरस्थित काष्ठमण्डप धेरै नेपालीले प्रतीक्षा गरिरहेको सम्पदा हो । काष्ठमण्डप एउटै काठबाट निर्माण गरिएको एक भव्य संरचना मानिन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार काष्ठमण्डपमा अहिले मूल थाम ठड्याउने काम सम्पन्न भइसकेको छ । आगामी असार मसान्तसम्म काष्ठमण्डपको पहिलो तला निर्माण गरिसक्ने लक्ष्य छ । पशुपतिनाथ मन्दिर परिसरभित्र मात्र कुल ४६ वटा सम्पदाको पुनर्निर्माण सक्नु पर्नेछ । त्यसमध्ये अहिलेसम्म करिब दुई दर्जन सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणले जानकारी दिएको छ ।

पुनर्निर्माण प्रत्यक्ष देख्न पाउनु ठूलै अवसर हो 
दीपकराज जोशी 
सिइओ, नेपाल पर्यटन बोर्ड 

आजभन्दा करिब तीन–चार सय वर्ष पुराना संरचनाको अहिले नेपालमा पुनर्निर्माण भइरहेको छ । विद्यार्थी, अनुसन्धानकर्ता तथा अन्य जिज्ञासुका लागि यो एउटा महत्वपूर्ण अवसर पनि हो । त्यसकारण, मानिसले पुनर्निर्माणलाई आफ्नै आँखाले देख्न लालायित हुने गरेका छन् । किनकि यस्तो अवसर जीवनमा एकपटक मात्र प्राप्त हुन्छ । त्यसकारण पनि हामीले अहिले अन्तर्राष्ट्रिय प्रवर्द्धनमा समेत पुनर्निर्माणलाई समेट्ने गरेका छौँ । 

 ऐतिहासिक बिरासत 
काठमाडौं उपत्यकाको चौघेराभित्र हनुमानढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, पशुपति क्षेत्र, चाँगुनारायण, बौद्धनाथ र स्वयम्भूनाथ गरी सात विश्वसम्पदा सूचीमा समेटिएका स्थान छन् । पर्यटन व्यवसायीका अनुसार नेपाल भनेर विश्वमा चिनाउने थोरै उत्पादनमध्ये यी ऐतिहासिक सम्पदाको भूमिका मुख्य थियो । यसबाहेक सगरमाथा र लुम्बनीले नेपाल चिनाइरहेका छन् । व्यवसायीका अनुसार उपत्यकाभित्रका यी सम्पदाले नेपालमा पर्यटकको बसाइ कम्तीमा दुई दिन लम्ब्याउने गरेका छन् । तर, पछिल्लो समय उपत्यकाभित्रको धुलो, धुवाँ, प्रदूषण, फोहोर र ट्राफिक चापका कारण पर्यटक धेरै लामो समय भने बस्न मान्दैनन् । 

 सबै सम्पदामा प्रवेश खुला 
अहिले नेपालभरका कुनै पनि सम्पदामा प्रवेश निषेध छैन । अत्यन्तै खतराजनक संरचनाको नजिक जान रोक लगाइएको भए पनि परिसर प्रवेश र अवलोकनमा निषेध नरहेको पुरातŒव विभागले जानकारी दिएको छ । सबै स्थानमा पर्यटकले निर्वाध अवलोकन गर्न सक्छन् । 

पुनर्निर्माण सम्पन्न भइसकेका केही महत्वपूर्ण सम्पदा 
 -बौद्धनाथ स्तुपा 
 -मनकामना मन्दिर 
 -भैरवनाथ मन्दिर पाल्पा 
- कृष्ण मन्दिर (पाटन) 

धमाधम पुनर्निर्माणको चरणमा रहेका सम्पदा 
 -काष्ठमण्डप, धरहरा
- हनुमानकोढा दरबार परिसर
 -पाटन दरबार परिसर
 -भक्तपुर दरबार परिसर
 -पशुपतिनाथ मन्दिर परिसर
 -स्वयम्भूनाथ परिसर
- दरबार हाई स्कुल, सिंहदरबार 

पुनर्निर्माण सुरु हुन बाँकी संरचना 
- रानीपोखरी 
 -साततले दरबार नुवाकोट 
 -सम्पदा पुनर्निर्माणको अवस्था 

-पुनर्निर्माण गर्नुपर्ने सम्पदा : ७५३
 -पुनर्निर्माण सम्पन्न पुरातात्विक : २१२ 
- पुनर्निर्माण जारी : ५३४

 पुनर्निर्माण सफलताको प्रतिनिधि उदाहरण बौद्धनाथ स्तुपा 
पुनर्निर्माण भइरहेका सम्पदामध्ये सबैभन्दा पहिले पुनर्निर्माण सम्पन्न भई सर्वसाधारणका लागि खुला भएको सम्पदा बौद्धनाथ हो । मंसिर ०७३ मै यो सम्पदा पुनर्निर्माण भएको थियो । त्यसवेला तत्कालीन सरकारका लागि पुनर्निर्माणको सफलता देखाउने यो एक मात्र सम्पदा थियो ।

 हेर्नलायक बन्दैछन् बस्ती 
धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकमा बनाएको गिरानचौर एकीकृत बस्ती अहिले आन्तरिक तथा बाह्य पर्यटकबीच चासोको गन्तव्य बनेको छ । एकपटक यहाँ पुग्न लालायित देखिन्छन् पर्यटक । वैशाख ०७२ भूकम्पको केन्द्र गोरखाको वारपाकमा अहिले आकर्षक एकीकृत बस्ती निर्माण भइरहेको छ । त्यतिमात्र होइन, भूकम्पबाट अति प्रभावित १४ जिल्लासहित अधिकांश जिल्लामा सरकारी मापदण्डअनुसार बनेका समान प्रकृतिका घरले अहिले बस्ती पनि हेर्नलायक पर्यटकीय प्रोडक्ट बनिरहेका छन् ।