१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रशासनले थाल्यो मास्क नलगाउनेमाथि कारबाही

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o६:oo

कोरोना संक्रमण बढिरहेका वेला उपत्यकाभित्र मास्क नलगाई हिँड्ने क्रम अझै बढेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबार गरेको अनुगमनका क्रममा मास्क नलगाई हिँड्ने ६ सयभन्दा बढीलाई नियन्त्रणमा लिएको छ। 

संक्रमण बढिरहेको वेला सहरबजार खुला राख्नुपर्ने बाध्यतात्मक अवस्था भएकोले यो समय स्वास्थ्य सुरक्षामा ध्यान दिन प्रशासनले अनुरोध गरेको छ। तर, उपत्यकावासीले पछिल्लो समय मास्क पनि नलगाई ओहोरदोहोर गर्न थालेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। 

उनका अनुसार मास्क नलाउनेमाथि कारबाहीका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ। मास्क नलगाई घरबाहिर निस्केकाहरूलाई प्रहरीले पाँच मिनेट सडकमै होल्ड गरी सम्झाइबुझाई गरी छाडेको छ। ‘अहिले बजारमा सबैखाले अनुगमन र निगरानी बढाएका छौँ, खाद्य तथा दैनिक उपभोग्य वस्तुको मुल्य स्थिर नै छ,’ उनले भने, ‘विनामास्क सडकमा निस्कनेको संख्या भने बढेको पाइयो, मास्क नलगाउनेमाथि कारबाही हुन्छ।’ 

कोरोना संक्रमण बढिरहेको वेला जिल्ला जनस्वास्थ्य, जिल्ला अनुगमन शाखा, नगरपालिका, उद्योग वाणिज्य संघ मिलेर अनुगमन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले पनि स्वास्थ्य मापदण्ड अनपाएर ओहोरदोहोर गर्न अनुरोध गरेका छन्। हाल संक्रमणकै बीच सार्वजनिक यातायात समेत सञ्चालन भइरहेको छ। 

साँझ–बिहान कार्यालय समयमा सार्वजनिक सवारीसाधनमा भिडभाड बढेको छ। सबैखाले कार्यालय सञ्चालन भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर ओहोरदोहोर गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले यात्रु र सवारीधनीलाई निर्देशन दिएको छ। 

प्रशासनले कोचाकोच यात्रु चढाउने सवारीसाधनमाथि कारबाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनले मानिसको भिडभाड हुने क्षेत्र बन्द गर्न निर्देशन दिइएको छ। तैपनि मानिसको ओहोरदोहोर बढ्दो छ। ‘अहिले बजार अनुगमनमा जोड दिएका छौँ,’ उनले भने, ‘मास्क नलगाई हिँड्ने, तोकिएको मूल्यभन्दा बढीमा सामान किनबेच गर्ने र सार्वजनिक यातायातमा कोचाकोच यात्रु चढाउनेलाई कारबाही सुरु गरिएको छ।’

यता प्रहरी प्रधान कार्यालयले पनि विनामास्क आहोरदोहोर गर्नेमाथि कडाइ गर्न मातहतका प्रहरी कार्यालयहरूलाई अनुरोध गरेको छ। नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले मास्कविना ओहोरदोहोर गर्नेहरूलाई नियन्त्रणमा लिएर सम्झाइबुझाई गर्न सबै प्रहरी कार्यालयहरूलाई अनुरोध गरेको जानकारी दिए। ‘कोरोना संक्रमणको पर्वाह नगरी ओहोरदोहोर र भिडभाड बढ्न थालेको छ, यस्तो वेलामा आफ्नो सुरक्षा आफैँ अपनाउनुपर्ने हो,’ उनले भने, ‘तर, मास्कसमेत नलगाई हिँड्नेहरू पनि छन्, उनीहरूमाथि कारबाही हुन्छ।’
 

ad
ad