मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ श्रावण २१ बिहीबार ०९:२६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दार्चुला घटना : गृह मन्त्रालयको छानबिन समितिले प्रत्यक्षदर्शीसँग लियो बयान

Read Time : > 2 मिनेट
२०७८ श्रावण २१ बिहीबार ०९:२६:००

अनुसन्धान माथि शंका नगर्न संयोजक जनार्दन गौतमको आग्रह

एसएसबीले तुइन चुँडाइदिएपछि जयसिंह धामी बेपत्ता भएको प्रकरणमा छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित समितिले प्रत्यक्षदर्शीसँग बयान लिएको छ । घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको समिति मंगलबारदेखि दार्चुलामा छ ।

जनार्दन गौतम, छानबिन समितिका संयोजक

सूक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन आउँछ । हामीले जे भेटाउँछौँ, सत्य–तथ्य नै आउँछ । स्थलगत पनि पुगेर आउँछौँ । प्रतिवेदन विश्वसनीय बनाउनकै लागि प्रत्यक्षदर्शी, सञ्चारकर्मी, राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय एवं पीडित परिवार पनि भेट्छौँ । प्रत्यक्षदर्शीले के भने अहिले भन्न मिल्दैन, सबै प्रतिवेदनमा आउँछ ।

समितिले बुधबार बिहान प्रत्यक्षदर्शी भनिएका कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामीसँग सोधपुछ गरेको हो । उनीहरूलाई सोमबार खलंगा ल्याइएको थियो । तर, प्रत्यक्षदर्शीले दिएको बयानबारे समितिले केही बताएको छैन । ‘उनीहरूले समितिसँग के भने भन्ने अहिले भन्न मिल्दैन,’ समिति संयोजक गौतमले भने, ‘सबैले भनेका कुरा प्रतिवेदनमार्फत सरकारलाई बुझाउँछौँ । विषयको गाम्भीरता बुझिदिनुपर्‍यो ।’ उनले अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको घटनाको तथ्यपरक प्रतिवेदन आउने बताए । 

त्यसैबीच, समिति संयोजक गौतमले धामी बेपत्ता प्रकरणमा निष्पक्ष अनुसन्धान हुने बताएका छन् । सदरमुकाम खलंगामा बुधबार जिल्लास्थित पत्रकार तथा मानव अधिकारकर्मीसँगको छलफलमा उनले सत्य–तथ्यको नजिक पुगेरै प्रतिवेदन आउने बताए । ‘सूक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन आउँछ,’ उनले भने ।

संयोजक गौतमले वास्तविकतामा रहेरै प्रतिवेदन सरकारलाई बुझाइने जानकारी दिए । उनले भने, ‘हामीले जे भेटाउँछौँ, सत्य–तथ्य आउँछ । स्थलगत पनि पुगेर आउँछौँ । प्रतिवेदन विश्वसनीय बनाउनकै लागि प्रत्यक्षदर्शी, सञ्चारकर्मी, राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय एवं पीडित परिवार पनि भेट्दै छौँ । समितिले सूचनाको विश्लेषण गरेरै प्रतिवेदन बनाउँछ ।’

१५ साउनमा व्याँस गाउँपालिका– २ मालका ३३ वर्षीय धामी महाकालीमा बेपत्ता भएका थिए । बेपत्ता धामी अझै फेला परेका छैनन् । सरकारले छानबिन समितिको प्रतिवेदन आएपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ । समितिलाई २७ साउनसम्मको समय दिइएको छ । 

छलफलका क्रममा पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामीले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले घटनाबारे शनिबार निकालेको विज्ञप्तिप्रति आपत्ति जनाए । उनले छानबिन समितिले घटनास्थलमै गएर सत्य–तथ्य बाहिर ल्याउन आग्रह गरे । ‘घटना भारतीय एसएसबीकै कारण भएको हो । यसमा कुनै शंका छैन,’ अध्यक्ष धामीले भने । 

समितिको टोली मंगलबार दार्चुला पुगेसँगै भेटघाट र सूचना संकलनको काममा जुटेको छ । समितिले जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरिसकेको छ । समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ ।

भारतसँग छलफल गर्न सरकारलाई सांसदहरूको सुझाब : नारायणकाजी श्रेष्ठ, माओवादी सांसद

यसप्रकारको अमानवीय, उत्पीडनकारी र क्रूर कार्यको घोर निन्दा एवं भत्र्सना गर्छु । घटनाका निम्ति भारतले अविलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न तथा दोषीमाथि तत्काल कडा कारबाही गर्न माग गर्दछु । र, अबका दिनमा यस प्रकारका हेपाहा, उत्पीडनकारी व्यवहार अन्त्य गर्न, नदोहोर्‍याउन पनि जोडदार माग गर्न चाहन्छु ।

खिमलाल भट्टराई, एमाले सांसद

‘एसएसबीले तुइनको तार काटेर जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुन्, देखिजान्ने साक्षीले यो भनिरहेका छन् । बुझ्न बाँकी के छ ? भारतीय पक्षको हेपाहा र मिचाहा प्रवृत्ति हो । यस्तो घटनामा नेपाल सरकारका प्रधानमन्त्रीले भारतीय समकक्षीसँग संवाद गर्नुपर्ने होइन र ? 

अनिता देवकोटा, कांग्रेस सांसद

म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– जयसिंह धामीको घटनामा भारतसँग संवाद गरियोस् । भारतको उच्च तहसँग छलफल गरेर दोषीलाई कानुनी कारबाहीमा ल्याउने प्रयत्न गरोस् । भविष्यमा यस्ता घटना नदोहोरिनका लागि भारतसँग प्रतिबद्धता लिन सकोस् ।