१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ श्रावण १६ शनिबार ०८:२६:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चर्चामा रहिन् ओलम्पिककै कान्छी खेलाडी जाजा

Read Time : > 2 मिनेट
२०७८ श्रावण १६ शनिबार ०८:२६:००

३२औँ गिष्मकालीन टोकियो ओलम्पिक सुरु भएको शुक्रबार एक साता भएको छ । खेलाडीले टोकियोमा दोहोरो, तेहोरोदेखि पाँचौँपटकसम्म ओलम्पिकमा सहभागिता जनाएको रेकर्ड राखेका छन् । फरक–फरक देशका सम्भावित स्वर्ण दाबेदार खेलाडी पहिलो चरणबाटै घर फर्किदा त्यत्तिकै चर्चामा रहे । अप्रत्यासित नतिजा निकालेका तथा स्वर्ण विजेता खेलाडीहरूको प्रशंसा चलिनै रहेको छ । ११ हजार ओलम्पियनबीच एक सिरियाकी युवती खेलाडीको विशेषतः चर्चा अन्तर्राष्ट्रिय मिडियाहरूले उत्तिकै गरिरहेका छन् । उनी हुन् १३ वर्षीया टेबलटेनिस खेलाडी हेन्ड जाजा । 

टोकियो ओलम्पिकमा जाजाको नाम बारम्बार लिइरहनुको पछाडि एउटै मात्र कारण हो, सहभागीमध्ये उनी सबैभन्दा कान्छी खेलाडी । यति मात्र होइन, जाजा सन् १९६८ पछिको ओलम्पिक इतिहासकै सबैभन्दा कान्छी खेलाडीका रूपमा दर्ता भएकी छिन् । सन् १९६८ मा स्केटिङकी ११ वर्षीया बिआट्रिक हस्टिउले कम उमेरमा ओलम्पिक खेल्ने रेकर्ड बनाएकी थिइन् । एक दशकदेखि द्वन्द्वग्रस्त क्षेत्र सिरियाबाट १३ वर्षीया टेबलटेनिस खेलाडी जाजाले ओलम्पिकमा छनोट चरण पार गरी भाग लिँदै छिन् भनी सुरुमा खासै पत्यानन् । 

घरेलु हिंसाको चपेटामा परेको सिरियाजस्तो देशबाट भर्खरकी १३ वर्षीया खेलाडी जाजाले छोटो समयमै ओलम्पिकमा स्थान बनाउनु आफैँमा अचम्म र असम्भव पक्ष हो । यही साता अस्ट्रेलियाकी ३९ वर्षीया प्रतिद्वन्द्वीविरुद्ध जाजाले एकल स्पर्धामा प्रतिस्पर्धा गरिन् । लामो सिल्की कपाल, सानो ब्याग र हल्का ग्रे कलरको टिसर्ट लगाएकी जाजाले अनुभवी तथा आफूभन्दा २६ वर्ष जेठी अस्ट्रेलिया खेलाडीसँग कडा चुनौती प्रस्तुत गरिन् ।

जाजा पहिलो चरणबाटै ओलम्पिकबाट बिदा भइन् । जाजाले परिवारको सहयोगकै कारण ओलम्पिक यात्रामा सम्भव भएको बताएकी छिन् । ‘सिरियाजस्तो सधैँ गोली र बम विस्फोट हुने देशबाट ओलम्पिक खेल्नु चानचुने कुरा होइन, यसमा मलाई मेरो परिवारबाट ठूलो सहयोग प्राप्त भएको छ,’ ओलम्पिक यात्रा सम्भव हुनुपछाडि कारण व्याख्या गर्दैै जाजाले भनिन्, ‘दिनदिनै गोलीको आवाज सुनेर मैले टेबलटेनिस अभ्यास गरेकी थिएँ ।’ द्वन्द्वका कारण सिरिया दिनदिनै तहननहस भइरहँदा नगरपालिकाले व्यवस्था गरेको टेबलटेनिस बोर्डमा अभ्यास गरेको उनको भनाइ छ । 

‘नगरपालिकाले सानो ग्यारेजमा व्यवस्था गरेको टेबलटेनिस बोर्डमै मैले अभ्यास सुरु गरेकी थिएँ,’ खेल जीवनको प्रारम्भिक अभ्यासबारे उनी भन्छिन्, ‘पछि बिस्तारै मैले आफ्नो खेल सुधार गरेँ ।’ सन् २०११ देखि सिरियामा द्वन्द्व चर्किएको हो । अझै सिरियामा युद्ध समाप्त भएको छैन । बेलायतस्थित सिरिया युद्ध अध्ययन गरिरहेको ह्युमन राइट्सले सार्वजनिक गरेको डाटाअनुसार अहिलेसम्म सिरिया युद्धमा चार लाख ९४ हजार चार सय ३८ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तो भयावह स्थिति सामना गरेको सिरियाले टोकियो ओलम्पिकमा पाँचजना खेलाडी पठाएको छ । जाजासहित अन्य चार खेलाडीले राष्ट्रले सुम्पिएको जिम्मेवारी निर्वाह गरेका छन् । गत शुक्रबार उद्घाटन समारोहमा सिरियाको झन्डा र राष्ट्रिय धुनमा मार्चपास गरेको समयमा फरक अनुभव गरेको उनले बताएकी छिन् । ‘अझै पनि रंगशालामा सिरियाको झन्डा र राष्ट्रिय धुनसँगै हिँड्दा गौरवान्वित भएको महसुस गरिरहेकी छु,’ गौरवका साथ जाजा भन्छिन्, ‘हामीले खेलको माध्यमबाट सिरियामा शान्ति सन्देश फैलाउन कोसिस गरेका छौँ ’

६ वर्षको उमेरमा जाजालाई उनका दाइले टेबलटेनिस खेल्न रोकेका थिए । सार्वजनिक स्थलमा खेल्दा ज्यान नै जान सक्ने बताउँदै दाइले जाजालाई खेल्न रोकेका थिए । पछि प्रशिक्षक अधम अल्वमानले निरन्तर रूपमा जाजालाई टेबलटेनिसमा धारिलो बनाए । जाजाले छोटो समयमै प्रशिक्षकले सिकाएको सबै टिप्स हासिल गरिन् । प्रशिक्षक अल्वामान र जाजाले ज्यान नै बाजी लगाएर प्रशिक्षणलाई निरन्तरता दिएका थिए । रातिको समयमा अभ्यास गर्दा विद्रोही समूहले विद्युत् कटौती गर्नेदेखि तोपखानमा आगोको आवाजले दुवै भयभीत हुन्थे ।

उनीहरू दुवै सरकारका सेना तथा विद्रोहीबीचको युद्ध शान्त नहुँदासम्म लुकेरै बस्थे । घन्टौँसम्म प्रशिक्षण केन्द्रमै ज्यान जोगाउँदै पुनः दुवै प्रशिक्षणतिर होमिन्थे । ‘त्यो प्रशिक्षण समय सम्झदा अहिले पनि सपनाजस्तै लाग्छ,’ गोलीबारुदसँगै प्रशिक्षण गरेको अनुभव जाजाले बताइन्, ‘तर हामीले हिम्मत हारेनौँ ।’ ११ वर्षको उमेरमै जाजाले जोर्डनमा भएको वेस्टर्न एसिया ओलम्पिक छनोटमै प्रतिस्पर्धा गरिन् । स्कुल र प्रशिक्षकले सिकाएको भरमै उनले छनोट चरणमा भाग लिएकी हुन् । विश्व वरीयताकै नवौँ स्थानमा रहेकी चिनियाँ खेलाडी लिउ जोविरुद्ध उत्कृष्ट प्रदर्शन गरिन् । यसै प्रदर्शनलाई जाजाले गत वर्ष जोर्डनमै भएको ओलम्पिक छनोटमा निरन्तरता दिइन् । छनोट चरणमा उनले लेबनानकी लेवानोन मारियालाई ४–३ को सेटमा हराउँदै ओलम्पिकमा स्थान सुरक्षित गरिन् । ओलम्पिकमा छनोट हुँदा उनी केवल १२ वर्षकी मात्र थिइन् ।

अर्को रमाइलो पक्ष भनेको सिरियाली टेबलटेनिस इतिहासमा छनोट चरण पार गरी ओलम्पिकमा स्थान बनाउने उनी पहिलो खेलाडी हुन् । यो सफलताको राज उनले पाँच वर्षको कडा मिहिनेतलाई लिएकी छिन् । ‘यो पाँच वर्षभित्र मैले धेरै कुरा सिक्न अवसर पाएँ,’ जाजा भन्छिन्, ‘विशेषत युद्धको बीचमा पनि मैले आफ्नो खेललाई निरन्तरता राख्न सकेँ ।’ अहिले ओलम्पियन खेलाडी बनेकी जाजाले सिरियाका युवा तथा युवतीहरूलाई एउटा सन्देश टोकियोबाट दिएकी छिन् । ‘हामी सबै भविष्य तथा सपना पूरा गर्न लड्नुपर्छ, यद्यपि जस्तोसुकै खराब परस्थितिमा पनि सपना देख्न छाड्न हुन्न र त्यसको पछि लाग्नुपर्छ,’ उनी भन्छिन्, ‘कठिनाइबीच तपाईं आफ्नो लक्ष्यमा पुग्नु हुनेछ, जुन मैले ओलम्पिकमा गरेँ ।’