१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७८ श्रावण १४ बिहीबार २०:५४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

४० दिनपछि लयमा बग्न थाल्यो मर्स्याङ्दी नदी

Read Time : > 1 मिनेट
२०७८ श्रावण १४ बिहीबार २०:५४:००

गत १ असारदेखिको निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण ५ असारदेखि थुनिएको मर्स्याङ्दी नदी पुरानै लयमा बग्न थालेको छ । मर्स्याङ्दी नदीले बगाएर ल्याएको ढुंगा र काठका मुढाले थुनिँदा पानी जमेर चामेमा ठूलो बाँध बनेको थियो । बाढीले बगाएर ल्याएको ढुंगा र काठका मुढा माथिल्लो मनाङ जाने चामेमा रहेको बेलिब्रिजमा अड्किएपछि नदीले धार परिवर्तन गर्दा चामे बजार नै जोखिममा परेको थियो । 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले एक्स्काभेटर र सुरक्षाकर्मीको सहायताले नदीमा थुप्रिएको ढुंगा र रूख पन्छाएपछि मर्स्याङ्दी नदी बिहीबारदेखि पुरानै लयमा बग्न थालेको बताए । नदी थुनिएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले ढुंगा र काठका मुढा पन्छाएको मनाङका डिएसपी सुवास खड्काले बताए । उनले भने, ‘सबैको अथक प्रयासपछि ४० दिनमा मस्र्याङ्दी नदी पुरानै लयमा बगेको छ ।’ माथिल्लो मनाङ जाने एक मात्र बेलिब्रिज पुल पनि जोगिएको छ । 

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीय, सुरक्षाकर्मीको पहल र एक्स्काभेटरको सहायतामा नदीमा अड्किएका काठका मुढा र ढुंगा पन्छाएसँगै मर्स्याङ्दी नदी पुरानै लयमा बग्न थालेको बताए । उनले भने, ‘वर्षाका कारण मस्र्याङ्दी नदीको बहाव बढेपछि मर्स्याङ्दी धार परिवर्तन गर्दा मनाङको सदरमुकाम चामेमा रहेको लोकप्रिय माविको तीनवटा भवनसमेत बगाएको छ ।

उनका अनुसार चामे बजारको बीचबाट बग्ने घट्टेखोला र मर्स्याङ्दी नदीले बगाएर ल्याएको ढुंगा र ठूलाठूला रूख मर्स्याङ्दी नदीमा अड्किएपछि चामेमा  ताल बनेको थियो । 

अध्यक्ष घलेका अनुसार मनाङका प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङको पहलमा एक्स्काभेटरको सहायताबाट मर्स्याङ्दी नदीमा अड्किएको ढुंगा र माटो पन्छाइएको हो । सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले मस्र्याङ्दी खुलाउन आफूसहित सुरक्षाका सबै निकाय लागिपरेको बताए । साउन ६ गतेदेखि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म मनाङका डिएसपी पन्थीको कमान्डमा खटिएको विपत् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त टोलीले दैनिकजसो मस्र्याङ्दी नदीको ढुंगा र काठ पन्छाउने कार्य गरेको थियो । 

सशस्त्र, नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मीले जोखिम मोलेर माथिल्लो मनाङ जाने बेलिब्रिज पुलसमेत जोगाएका छन् । डिएसपी पन्थीका अनुसार पुल भत्काउने खतरा बढेपछि नदीमा रहेका मुढा काटेर पन्छाएपछि पुल जोगिएको हो । नदीमा पानीको सतह केही मात्रामा घटेको र तत्काललाई जोखिम टरे तापनि सतर्कता अपनाउन मनाङवासीलाई प्रशासनले आग्रह गरेको छ । यस वर्ष मनसुनको सुरुवातमै मनाङमा बाढीपहिरोले भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ ।