मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिव्यमणि राजभण्डारी, प्रतिनिधिसभा सदस्य
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण ८ शुक्रबार ०८:५६:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कोरोनाले थलिएको पर्यटनलाई उकास्न पहिलो प्राथमिकता दिनुपर्छ

अन्तर्वार्ता

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण ८ शुक्रबार ०८:५६:००

कोभिड–१९ का कारण नेपालको पर्यटन क्षेत्रमा परेको प्रभावबाट उकास्न के–कस्ता प्रयास गर्नुपर्छ भन्ने लाग्छ? 
नेपाल पर्यटकीय हिसाबले ठूलो सम्भावना भएको मुलुक हो । अहिले कोभिड–१९ का कारण सबैभन्दा प्रभावित व्यवसाय नै पर्यटन क्षेत्र हो । त्यसैले अब सरकारले पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । सरकारले हाम्रो पर्यटन क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाएर अघि बढ्नुपर्छ । अस्ति भर्खरै मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उठाउन प्रयास गर्छु भन्नुभएको छ । म उहाँलाई पर्यटन क्षेत्रको विकासका लागि खास योजनाहरूसहित काम गर्नका लागि आग्रह गर्दछु । 

बन्दाबन्दी भइसकेपछि हिजो भारी बोकेर खाने पोर्टरहरू के गरिरहेका छन् ? त्यो बोट चलाएर खाने मान्छेले अहिले के गरिरहेको होला ? यसबारे राज्यले सोच्नुपर्छ । मैले ठूला–ठूला होटेल व्यवसायको कुरा गरेको छैन । त्यहाँ पनि नोक्सानी छ । त्यसैले अब कोभिडपछिको पर्यटन व्यवसायलाई अघि बढाउन सम्भावना र चुनौती दुवै उत्तिकै देखिन्छन् । 

नेपालमा पर्यटन क्षेत्रको थप विकासका लागि के गर्न सकिन्छ ? 
हाम्रो देशमा हरेक खालको पर्यटनको सम्भावना छ । पूर्वदेखि पश्चिमसम्म प्राकृतिक र धार्मिक पर्यटकीय सम्भावना भएका ठाउँहरू छन् । त्यहाँ लगानी गर्नुपर्‍यो । त्यहाँका पर्यटन व्यवसायीलाई प्रोत्साहित गर्नुपर्‍यो । देशी–विदेशी पर्यटकलाई त्यहाँ आकर्षित गर्नुपर्‍यो । हाम्रो प्रकृति कस्तो छ ? हामीले राम्रो–राम्रो ‘ओल्ड एज होम’हरू सञ्चालन गर्नु भने त्यो पनि पर्यटक आकर्षण गर्ने प्रडक्ट बन्छ । हाम्रो देशको प्रकृति र हावापानी नै मानव स्वास्थ्यका लागि उपचार हो । नेचुरल थेरापी उपचारकै लागि हामी ठाउँ–ठाउँमा हस्पिटलहरू खोल्न सक्छौँ । उपचार भइसकेका बिरामीका लागि त्यस्तो रिह्याबिलिटेसन सेन्टरहरू खोल्न सकिन्छ । 

नेपालको सगरमाथा मात्रै देखाएर सधैँ पर्यटन चल्दैन । त्यसैले हामीले यहाँको सांस्कृतिक पर्यटन प्रवर्द्धन पनि गर्नुपर्छ । धेरै पर्यटकहरू काठमाडौं आउँछन् । किन यहाँ आउँछन् ? यहाँका आदिवासी नेवारहरूको संस्कृतिले उनीहरूलाई तानेको छ । यहाँको हावापानी, प्रकृति र सुविधाले उनीहरूलाई तानेको छ । हाम्रा यहाँका मन्दिर र धार्मिक स्थलहरूले उनीहरूलाई तानेको छ ।

अहिलेकै लागि ठुल्ठूला प्रदर्शनीहरू पनि पर्यटन प्रवद्र्धनको एउटा उपाय हो । हामीकहाँ अहिले मेलाहरू सञ्चालन हुने गरेका छन् । त्यसलाई व्यवस्थित गर्ने हो भने एक्जिविसन टुरिजम प्रवर्द्धन गर्न सकिन्छ । जर्मनीमा साना–साना गाउँमा पनि एक्जिविसन हलहरू बनाइएको हुन्छ । त्यहाँ संसारभरिका मान्छेहरू पुग्छन् । हामीकहाँ अफ सिजनमा यस्ता एक्जिविसन कन्फेरेन्स, कन्भेन्सनहरू सञ्चालन गर्न सकिन्छ । हामीले अन्तर्राष्ट्रिय बजारलाई समेत सोचेर पनि त्यस्ता प्रदर्शनीहरू गर्नुपर्छ । त्यस्तो प्रदर्शनीका कारणले हाम्रो व्यवसाय भइहाल्छ । त्यहाँ रोजगारी मिल्छ । 

नेपालमा विशिष्टीकृत (स्पेसलाइज्ड) पर्यटनको सम्भावनाचाहिँ कत्तिको देख्नुहुन्छ ? 
नेपालमा विशिष्टीकृत पर्यटनको ठूलो सम्भावना छ । संसारमा यस्ता मान्छेहरू पनि हुन्छन्, जसलाई गुराँस मात्रै हेर्नु छ, हाम्रो ‘टिपिकल खाना’ मात्रै चाख्न मन छ । त्यस आधारमा हामीले ‘फुड टुरिजम’लाई पनि अघि सार्न सक्छौँ । नेपालमा यस्ता खानपिनका परिकारहरू छन्, जसलाई हामीले ‘फुड टुरिजम’को गन्तव्यका रूपमा सहजै विकास गर्न सक्छौँ । हाम्रो खानाको संस्कृति ठाउँपिच्छे फरक छ । फरक समुदाय, फरक खानाको संस्कृति छ । अहिले प्रचलित मःमको उदाहरण लिनुस् । त्यस्तै, हामीले पनि फुड टुरिजमलाई प्रोत्साहन गर्नुपर्‍यो । 

शिक्षा पर्यटनलाई पनि प्रवद्र्धन गर्नुपर्छ । त्यो भनेको चाहिँ हामीले पढाइको गन्तव्य नेपाललाई किन नबनाउने ? अमेरिकामा टुरिजम पढ्नुभन्दा नेपालमा आएर त्यही विषय पढ्न पायो भने त विदेशीहरू यहाँ आउँछन् नि । यहाँ हामीले त्यस्ता सुविधायुक्त इन्टरनेसनल युनिभर्सिटीहरू किन नखोल्ने ? त्यसैले यी विषयमा पनि सरकारले ध्यान दिनुपर्छ । 

यी कामहरू गर्दै गर्दा त्यहाँ होटेल व्यवसाय चल्छ । हवाई सेवा चल्छ । यातायात हुन्छ । ती सबै ठाउँमा हाम्रो नेपाली जनशक्तिले रोजगारी पाउँछ । आर्थिक गतिविधि हुन्छ र त्यसले मुलुकको विकासमा योगदान पुग्छ । आर्थिक वृद्धिमा योगदान पुग्छ  ।

नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि कूटनीतिक क्षेत्रले कसरी योगदान गर्न सक्छ ? 
अहिले कोभिड–१९ को कारणले हाम्रा होटेलवालाहरूलाई जुन नोक्सानी भइरहेको छ, पर्यटनका अन्य क्षेत्रमा जुन असर परेको छ, त्यसलाई कसरी परिपूर्ति गर्ने भन्ने विषयमा ध्यान दिनुपर्छ । नेपाली पर्यटनका नयाँ–नयाँ कुराहरूलाई प्रवर्द्धन गर्न विदेशस्थित कूटनीतिक नियोगहरूले योगदान गर्न सक्छन् । संसारभरि हाम्रा दूतावास छन्, तिनको काम के हो ? त्यहाँ अवकाशप्राप्त जीवन बिताउन गएको होइन होला ? जनताले तिरेको एक–एक पैसाबाट चाहिँ एम्बेसीहरू चल्छन् भने उनीहरूको काम के हो ? आफ्नो देशको यस्ता प्रडक्टहरूका बारेमा प्रवर्द्धन उनीहरूले गर्नुपर्‍यो नि । 

नेपालमा सांस्कृतिक पर्यटनको सम्भावनाचाहिँ कस्तो देख्नुहुन्छ ? 
नेपालको पर्यटनको आधार प्राकृतिक सुन्दरता मात्रै होइन । नेपालको सगरमाथा मात्रै देखाएर सधैँ पर्यटन चल्दैन । त्यसैले हामीले यहाँको सांस्कृतिक पर्यटन प्रवर्द्धन पनि गर्नुपर्छ । धेरै पर्यटकहरू काठमाडौं आउँछन् । किन यहाँ आउँछन् ? यहाँका आदिवासी नेवारहरूको संस्कृतिले उनीहरूलाई तानेको छ । यहाँको हावापानी, प्रकृति र सुविधाले उनीहरूलाई तानेको छ । हाम्रा यहाँका मन्दिर र धार्मिक स्थलहरूले उनीहरूलाई तानेको छ । 

हामीसँग धेरै संस्कृतिहरू छन् । कति किसिमका भाषा बोल्छन् ? कति किसिमका पहिरन लगाउँछौँ ? कति किसिमका खानाहरू खान्छौँ ? हाम्रो प्रकृति कस्तो छ ? कस्तो उत्पादन छ ? कृषिउपज कस्तो छ ? यो सबै त हाम्रो कल्चरसँग जोडिएको छ नि । त्यसैले यो संस्कृतिको हामीले जगेर्ना गर्ने हो । र, त्यसलाई पर्यटनसँग साट्ने हो । त्यसलाई पर्यटन व्यवसायका रूपमा रूपान्तरण गर्ने हो । 

बोर्डमा बस्ने, जागिर खाने, तर त्यसबापत कुनै नतिजा नआउने हो भने त त्यसको के अर्थ र ? त्यहाँ नेतृत्वमा बस्नेलाई महिनामा ४ लाख रुपैयाँ तलब खुवाएपछि त त्यसको रिजल्ट आउनुपर्‍यो नि ।

पर्यटन क्षेत्रमा काम गर्ने मान्छेहरूको बोलीचाली कस्तो हुने ? त्यसमा पनि राज्यले लगानी गर्नुपर्‍यो । अहिले तपाईं जुन रेस्टुरेन्टमा जानुहुन्छ, त्यो रेस्टुरेन्टमा जतिसुकै मीठो खानेकुरा पाए पनि तपाईंलाई उसले गर्ने बोलीचाली प्रमुख कुरा हुन्छ । त्यसैले त्यो बोलीचाली राम्रो भयो भने पर्यटक आफैँ आइरहन्छन् । 

अर्को भनेको भिलेज टुरिजमको सम्भावना छ । गाउँबाट मान्छेहरू सहर पसेका छन् । उनीहरूलाई फर्काउनु पर्‍यो । त्यसैले मान्छेलाई गाउँतिर आकर्षित गर्नुपर्‍यो । गाउँमा हरेक चिजले पर्यटकलाई आकर्षित गर्छ । तर, त्यो कुरा त्यहाँ छ भनेर त पर्यटकलाई बुझाउनुपर्‍यो नि ।

पर्यटन उद्योगको विकासमा सरकारी नीति र नेतृत्वले चाहिँ कत्तिको सहयोग गरेको पाउनुहुन्छ ? 
नेपालको पर्यटन विकासमा कमजोरी भएका छन् । हामीले पर्यटन क्षेत्र नै नबुझेका मान्छेलाई त्यसको जिम्मेवारी दिने गरेका छौँ । विश्व घुमेको, बुझेको पर्यटनमन्त्री हुनुपर्‍यो नि । त्यस्तो मान्छेले मात्रै यसमा काम गर्न सक्छ । कोभिडका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रलाई माथि उठाउन के–के गर्न सक्छ त राज्यले ? त्यो गर्नुपर्‍यो । साना–साना इन्डस्ट्रिजहरूलाई माथि उठाउनुपर्छ । साना, मझौला लगानीका व्यवसायीलाई सपोर्ट गरिदिनुपर्छ । ऋण दिएर हुन्छ कि अनुदान दिएर पो हुन्छ कि ? के गर्दा हुन्छ, उनीहरूलाई त्यसमा निरन्तरता र नयाँ गर्नका लागि प्रोत्साहन दिइरहनुपर्‍यो । सस्तो ब्याजमा ऋण दिन सकिएला । केही हदसम्म अनुदानको व्यवस्था गर्न सकिएला । फेरि उनीहरूले आफूमाथि भएको लगानीको प्रतिफल पनि दिन्छन् नि । 

हामीले पर्यटनलाई दिगो विकाससँग जोड्नुपर्छ । पर्यटनबाटै नेपालको विकास र आर्थिक समृद्धिको सम्भावना छ । अब हाम्रो पर्यटन विकासका लागि बनाएका राज्यका अंगहरू छन्, तिनीहरूको पनि उपयुक्त व्यवस्थापन हुनुपर्छ । जस्तै कि नेपाल टुरिजम बोर्ड । यसलाई पनि हामीले एउटा स्वायत्त संस्थाका रूपमा अघि बढाउनुपर्छ । पर्यटन प्रवर्द्धनका लागि त्यो बोर्डले काम गर्नुपर्छ । बोर्डमा बस्ने, जागिर खाने, तर त्यसबापत कुनै नतिजा नआउने हो भने त त्यसको के अर्थ र ? त्यहाँ नेतृत्वमा बस्नेलाई महिनामा ४ लाख रुपैयाँ तलब खुवाएपछि त त्यसको रिजल्ट आउनुपर्‍यो नि । पर्यटन क्षेत्रमा काम गर्नेहरूको व्यवहार परिवर्तनमा के भूमिका खेले ? के विकास भयो ? के परिवर्तन भयो ? त्यो त हेर्नुपर्‍यो नि । टुरिजम बोर्ड भनेको चाहिँ विदेश घुम्न जाने ठाउँ मात्रै त हुनुभएन नि । हो, घुमेर–डुलेर मात्रै नयाँ आइडिया थाहा हुने हो । तर, घुम्ने–डुल्ने मात्रै त गर्नुभएन नि । बरु ठाउँ–ठाउँमा प्रतिनिधि कार्यालय खोले हुन्छ नि । विदेशको अभ्यास त नेपालका सबै पर्यटन व्यवसायीहरूलाई थाहा हुनुपर्छ । उनीहरूलाई पनि घुमाउने गर्नुपर्छ । 

मुलुकमा पर्यटन पूर्वाधारको अवस्थाबारे तपाईंको धारणा के छ ? 
हामीकहाँ ठाउँ–ठाउँमा जानका लागि अर्को यातायात चाहिन्छ । सबैतिर व्यवस्थित सडक पुग्नुपर्छ । भएका सडकहरूको मर्मत–सम्भार र व्यवस्थापन गर्नुपर्‍यो । एयरपोर्टहरू छन्, तिनीहरूको नियमित सञ्चालन र व्यवस्थापन गर्नुपर्छ । अहिले कतिपय ठाउँहरूमा व्यापार नभएका कारण उडानहरू हुन सकेको अवस्था छैन । कतिपय ठाउँमा प्रतिस्पर्धा छ । त्यसैले त्यसलाई पनि व्यवस्थित गर्नुपर्‍यो । पहिले त सेवा सञ्चालन हुनुपर्‍यो नि । सेवालाई प्राथमिकतामा राख्नुपर्छ । त्यसपछि व्यापारिक प्रतिस्पर्धा गर्ने हो ।