हिमालमुनिको जुम्ल्याहा पोखरीबाट झरेको नेसम खोला पुग्न गुम्बाथाङबाट दुई घन्टा जोखिमपूर्ण यात्रा गर्नुपर्छ, त्यसैले अत्यावश्यक काम पर्दा पनि तेम्बाथाङ–गुम्बाथाङ आवतजावत गर्ने साहस गर्दैनन् स्थानीय
झमझम पानी परिरहेको छ । ठाडो खोलाको कर्कस आवाजबाहेक केही सुनिन्न । वारि किनारमा दुईजना महिला घोप्टो परेर बसिरहेको देखिन्छ । नजिकै पुगेपछि ती महिला चिच्याइरहेको सुनियो । किन चिच्याएको ? हामीमध्ये एकजनाले प्रश्न गर्यौँ ।
खोलापारि देखिएको कालो झोला र जुत्ता देखाउँदै गुम्बाथाङकी ३३ वर्षीया लक्ष्मी लामा डाँको छोडेर रुन थालिन् । अर्की महिलाले भनिन्, ‘खोलाले मान्छे बगायो ।’ टाउके नामले चिनिने ३८ वर्षीय छिमीघ्याम्छो लामाको हो त्यो झोला र जुत्ता । एक हप्ताअघि तेम्बाथाङ गएका लामा घर फर्कने क्रममा नेसम खोलाले बगाएको आशंकामा पत्नी लक्ष्मी चिच्याइरहेकी थिइन् ।
भर्खरै जडान गरिएको तुइन चढेर दुवै महिला पारि तरे । पतिको जुत्ता र झोला पहिचान भएपछि बेहोस भएर बगरमा लडेकी लक्ष्मीलाई माओवादी केन्द्रका नेतात्रय युवराज दुलाल, माधव सापकोटा र सरल सहयात्री पौडेलले बोकेर माथि चौरमा ल्याए । १ असारमा आएको बाढीले नेसम खोला तर्ने झोलुंगेपुल बगाएकाले एक महिनादेखि गुम्बाथाङ–तेम्बाथाङ सम्पर्कविच्छेद भएको थियो । त्यही समस्या समाधान गर्न माओवादी नेता तुइन जडान गर्न त्यहाँ पुगेका थिए । गुम्बा र निमाडोल्मोबाट तुइनसम्म आएका आफन्तबीच केहीबेर रुवावासी चल्यो ।
छिमीघ्याम्छो जडीबुटी व्यापारी हुन् । गुम्बाथाङ, बोल्दे र पांगार्पुमा उत्पादित अन्न तेम्बाथाङ पुर्याउने, उसैगरी तेम्बाथाङको जडीबुटी र भकारी तलतलका बस्तीसम्म ल्याउने उनको काम हो । खच्चर र जोप्क्यालाई भारी बोकाएर उनी भीर र जंगलको बाटो ओहोरदोहोर गरिरहन्थे । यो वर्ष संकलन गरिएका यार्सागुम्बा, कुट्की, पाँचऔँले, जटामसी, पाखनवेद, चिराइतो, सतुवालगायत जडीबुटीको छलफल गर्न उनी तेम्बाथाङ पुगेका थिए । फर्केको तीन दिनपछि तेम्बाथाङबाट आफन्तले घर पुगे÷नपुगेको निश्चित गर्न पत्नी लक्ष्मीलाई फोन गरेका थिए ।
सिन्धुपाल्चोकको ‘कर्णाली’ भनेर चिनिने डाँडापारिका गाउँको यो प्रतिनिधिमूलक घटना हो । पाङताङको कात्तिकेबाट तेम्बाथाङसम्म पुग्दा स्थानीयले सुनाए, यस्ता विपत्को शृंखला कति हो कति । ब्रम्हायणी नदीमा मिसिने खोलाहरूले बर्सेनि मान्छे बगाउँछ । गुम्बाथाङमा तीन सय घर छन् । तेम्बाथाङ, निमाडोल्मो, तेगा, दिपु र साङ्गोलिङमा दुई सय घर छन् । यहाँ कुनै पनि प्रकारको सरकारी सेवा उपलब्ध छैन । स्वास्थ्य र शिक्षाबाट स्थानीय वञ्चित छन् । भौगोलिक विकटताले सडक, सञ्चार र विद्युत् जोड्ने प्रयास सफल भएको छैन ।
भूकम्पले हल्लाएर धाँजा फाटेको जमिन पहिरो बनेर झर्दै छ । ल्हाग्याप जंगलको बीचभागमा पुगेपछि जीवनलाई हत्केलामा राखेर हिँड्नुको विकल्प छैन । हिमालमुनिको जुम्ल्याहा पोखरीबाट झरेको नेसम खोला पुग्न गुम्बाथाङबाट दुई घन्टा जोखिमपूर्ण यात्रा गर्नुपर्छ । गुम्बाथाङबाट नेसम खोला छिचोल्न जोकोहीले आँट गर्दैनन् । त्यसैले अत्यावश्यक काम पर्दा पनि तेम्बाथाङ–गुम्बाथाङ आवतजावत गर्ने साहस गर्दैनन् स्थानीय । वृद्धवृद्धा र बच्चालाई उद्धार गरेर आवतजावत गराउन दिनभर लाग्छ । बर्खे झरीले धाँजा फाटेको जमिन गलाउँदा भासिएको जंगलमा बाटो पहिल्याउनै सकिन्न ।
चट्टानेभिर छिचोल्दा पाँच सय मिटर तल बगिरहेको धमिलो ब्रम्हायणी नदी देखिन्छ । खुला मौसममा तलतिर हेर्दा रिंगटा चल्छ । बोटबिरुवाको लहरामा झुन्डिएर नेसम खोला पुगेपछि सिन्धुपाल्चोकको ‘कर्णाली’ पार गरेजस्तै लाग्छ । तेम्बाथाङसँग टुटेको सम्पर्क स्थापित गर्न तत्कालका लागि नेसम खोलामा तुइन जडान गरिएको छ । माओवादी केन्द्रमा आबद्ध नेताकार्यकर्ताले तुइन जडान गरेका हुन् । स्थानीय नेता रेशम स्याङ्बो र आकाश तामाङले रकम संकलन गरेर तुइनका सामग्री जुटाएका थिए । ‘मानिस हिँड्न नसक्ने भिर र जंगलको बाटो छिचोल्दै तुइनका सामग्री पुर्याइयो,’ स्याङ्बोले भने, ‘बर्खाभरका लागि तुइन हालिएको हो ।’ तत्काल स्थायी प्रकृतिको पुल निर्माण सम्भव नभएको उनले सुनाए ।
हिउँदमै खाद्यसामग्रीको जोहो
आवतजावतको समस्याले बर्खाका लागि हिउँदमै खाद्यसामग्री जोडजाम गरिसक्नुपर्छ । नेसम खोला तरेर निमाडोल्मोका पाँच घर, तेम्बाथाङका एक सय ५०, तेगाका १५, दिपुका १९ र साङ्गोलिङका १० घरले असार, साउन र भदौका लागि जेठ महिनाभित्रै खाद्य सामग्रीको जोडजाम गरिसक्छन् । नेसम खोलाबाहेक अरू स–साना खोलामा बाढी आउँदा तर्न नसक्ने भएकाले हिउँदमै खाद्यसामग्री संकलन गर्ने चलन रहेको स्थानीय जाङ्बो शेर्पाले बताए ।
नेसम खोलाको झोलुंगेपुल बगाएको जानकारी पाएलगत्तै जिल्ला प्रशासनले नेपाली सेनाको हेलिकोप्टरबाट स्थानीयलाई खाद्यसामग्री लगिदिएको थियो । त्यसपछि सरकारी प्रतिनिधि त्यहाँ पुगेका छैनन् । जुगल गाउँपालिकाले पनि घरायसी प्रयोजनका लागि अत्यावश्यक सामग्री पुर्याएको थियो । यतिवेला जिल्लाभर विद्यालयमा नयाँ भर्ना चलिरहेको छ । तर, तेम्बाथाङ विद्यालयमा शिक्षक पुग्न सकेका छैनन् । पुल नभएकाले विद्यालयलाई आएको किताब र स्टेसनरी सामग्री गुम्बाको पांगार्पुमै थन्किएका छन् । आलु, छुर्पी, जडीबुटी र निगालोको चोयाबाट बुनेका डोको, थुन्चे र भकारी बिक्री गरेर यहाँका स्थानीयले गुजारा चलाउँछन् ।