१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार २३:२८:oo
Read Time : > 10 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

बालकृष्ण खाणबारे पत्नी मञ्जुलाई १०१ प्रश्न

Read Time : > 10 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार २३:२८:oo

 नयाँ पत्रिका अर्काइभ 

कांग्रेस नेता बालकृष्ण खाण सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिन्छन् । नेविसंघको सभापति, नेपाल तरुण दलको अध्यक्ष हुँदै उनी पार्टीको नेतृत्व तहमा पुगेका हुन् । खाणका बानी र स्वभावबारे पत्नी मञ्जुलाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन् :

 

 पत्रिकाभित्र राखेर गुलाफ दिनुभयो 

१. तपाईंहरूको पहिलो भेट कहाँ भएको हो ?
०४९ सालतिर होजस्तो लाग्छ, अनेरास्ववियुले के विरोध कार्यक्रम थियो, नेविसंघका कार्यकर्तालाई ढुंगा हानिरहेका थिए । विश्वज्योति हलअगाडि झडपजस्तो भएको थियो । ढुंगाबाट जोगिन लुक्ने क्रममा हाम्रो चिनजान भएको थियो ।

२. बिहे कति सालमा गर्नुभयो ?
०५१ साल वैशाख ११ गते ।

३. प्रेम विवाह कि मागी विवाह ?
प्रेम विवाह हो ।

४. प्रेमप्रस्ताव कसले पहिला राख्नुभयो ?
उहाँले गर्नुभयो नि । 

५. के भन्नुभएको थियो ?
बेरेको एउटा पत्रिका दिँदै ‘मञ्जुजी पत्रिका हेर्नुस् त एउटा राम्रो समाचार छ’ भन्नुभयो । पत्रिकाभित्र गुलाफको फूल राखिएको थियो । 

६. अनि, तपाईंले के भन्नुभयो त ?
केही भनिनँ । सुरुमा त मजाक गर्नुभएको होला भन्ने लाग्यो । पछि उहाँको कुराकानी, हाउभाउबाट साँच्चिकै हो भन्ने थाहा भयो । मैले मौन समर्थनजस्तो जनाएँ । 

७. डेटिङ कत्तिको गर्नुहुन्थ्यो ?
कहाँको डेटिङ हुनु नि ? त्यस्तै,  पार्टीका, संगठनका कार्यक्रममा भेट हुन्थ्यो । 

८. कसैले थाहा पाउला भन्ने डर कत्तिको लाग्थ्यो ?
सबै भएको भीडभाडमा भेट हुन्थ्यो, केको डर मान्नु नि ।

 योग गुरु खोज्दै हुनुहुन्छ 

९. बिहान कति बजे उठ्नुहुन्छ ?
सामान्यतया उहाँ उठ्ने पाँच बजे हो । कहिलेकाहीँ राति सुत्न ढिला भएका वेला भने ६–साढे ६ बजे उठ्नुहुन्छ ।

१०. चिया–कफी के रुचाउनुहुन्छ ?
ग्रिन टी खानुहुन्छ । दूध हालेको चिया त्यति खानुहुन्न ।

११. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ? 
गर्नुहुन्छ । दोस्रो जनआन्दोलनअगाडि मसाज र ब्लड थेरापी गर्ने मेसिन ल्याउनुभएको छ । त्यसमाथि उभिँदा भाइब्रेट हुन्छ । नियमित त्यही गर्नुहुन्छ ।

१२. मर्निङवाकमा निस्कनुहुन्न ? 
उहाँ वाकमा निस्केको त मैले अहिलेसम्म देखेको छैन । 

१३. योगा गर्नुहुन्छ त ?
योगा पनि अहिलेसम्म गर्नुभएको छैन । तर, पछिल्लो समय ‘घरमै आएर सिकाइदिने योग गुरु चाहियो’ भन्दै हुनुहुन्थ्यो ।

१४. राति कतिखेर सुत्नुहुन्छ ?
काम छ भने राति अबेरसम्म पनि बस्नुहुन्छ । सामान्यतया ११ बजेभित्र सुतिसक्नुहुन्छ ।

 कुकरमा मीठो रोटी पकाउनुहुन्छ 

१५. बिहानको खाजामा के लिनुहुन्छ ?
ओट, कन्फ्लेक्स, फलफूल लिनुहुन्छ । फेरी–फेरी खानुहुन्छ ।

१६. खानामा के मन पराउनुहुन्छ ?
सामान्य खाना नै हो । थोरै ब्राउन राइस, दालभात, तरकारी खानुहुन्छ ।

१७. माछामासुमा कत्तिको रुचि छ ?
मासुमा त्यति रुचि छैन । माछा भने एकदम मन पराउनुहुन्छ ।

१८. दिउँसो खाजा के खानुहुन्छ ?
दिउँसो घरमा हुने–नहुने टुंगो नै हुन्न । घरमा भएका वेला मकै भुटेर पनि खान्छौँ ।

१९. रातिको खानामा के खानुहुन्छ ?
रातिमा हामी प्रायः रोटी–तरकारी खान्छौँ । कहिलेकाहीँ सुप पनि खानुहुन्छ ।

२०. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?
खाना कस्तो छ भन्ने मेसो नै पाउनुहुन्न, के कमेन्ट गर्नु ? नुन, मसला कम–बेसी भएको पत्तै पाउनुहुन्न । पिरोचाहिँ धेरै रहेछ भने थाहा पाउनुहुन्छ (हाँसो) ।

२१. अनि उहाँले खाना मीठो मानेको–नमानेको तपाईंले कसरी थाहा पाउनुहुन्छ त ?
उहाँको एक्सप्रेसनबाटै थाहा पाउने हो । मीठो लाग्दा दुई–चार गाँस बेसी खानुहुन्छ ।

२२. कहिलेकाहीँ आफैँ किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ?
पस्नुहुन्छ फुर्सद हुँदा ।

२३. आफैँ खाना पकाउन कत्तिको जाँगर देखाउनुहुन्छ ?
छोराछोरी होस्टेलमा छन् । प्रत्येक महिनाको अन्तिम शुक्रबार उनीहरू आउँछन् । उनीहरूलाई केही न केही आफँै पकाएर खुवाउनुहुन्छ । कांग्रेस नेता–कार्यकर्ताबीच पनि उहाँ ‘गुड फादर’ भनेर चर्चा हुने गर्छ । 

२४. के–के पकाउन आउँछ उहाँलाई ?
दालभात त पकाएको देखेको छैन । अरू विशेष परिकार पकाउनुहुन्छ । जेहोस्, केही न केही पकाएर खुवाउनुहुन्छ बच्चाहरूलाई ।

२५. के पकाएर खुवाउनुहुन्छ ?
हामी तेल राखेर अम्लेट बनाउँछौँ । उहाँले उम्लिएको पानीमा चिल्लोरहित अम्लेट बनाउनुहुन्छ । कुकरमा रोटी पकाउनुहुन्छ । माछामासु पनि मीठो पकाउनुहुन्छ ।

२६. कुकरमा रोटी कसरी पकाउनुहुन्छ नि ?
रोटी बेलेर कुकरमा राख्नुहुन्छ । एकछिनमा अर्को साइड फर्काउनुहुन्छ । कस्तो मज्जाले रोटी फुलाउनुहुन्छ । कुकरको ढक्कन लगाएर सिटी लगाउने होइन नि (हाँसो) ।

२७. सबैभन्दा मीठो के पकाउनुहुन्छ ?
ठकुरीको छोरो हुनुभयो, बँदेलको मासु साह्रै मीठो पकाउनुहुन्छ । बँदेलको मासु काट्ने तरिकाले पनि मासुमा मीठो स्वाद आउँछ । त्यस्तै परेवाको मासु पनि मीठो पकाउनुहुन्छ । बुटवल गएका वेला उहाँले गिरिजाबाबुलाई पनि परेवाको मासु खुवाउनुभएको रहेछ । ‘तपाईंले पकाएको परेवाको मासुको स्वाद कस्तो जिब्रोमै झुन्डिएको’ भनेर गिरिजाबाबुले पछिसम्म भन्नुहुन्थ्यो रे । परेवाको मासु गिरिजाबाबुले पनि साह्रै मन पराउनुहुँदो रहेछ । 

२८. घरमा कसले पकाउँछ ?
सहयोगी पनि छ । तर, ५० प्रतिशत मैले नै पकाउँछु । 

२९. कसले पकाएको धेरै मीठो मन पराउनुहुन्छ ?
यसैले पकाएको मीठो भन्ने छैन । राजनीति गर्ने मान्छे, कति वेला खाएर अर्को काममा हिँडौला भन्ने तयारीमा हुने हरेक श्रीमान्को यसैले पकाएको मीठो लाग्छ भन्ने हुँदैनजस्तो लाग्छ ।

३०. तपाईंले पकाएको कुन परिकार उहाँले धेरै मीठो मान्नुहुन्छ ?
झोल भएको माछा मीठो मान्नुहुन्छ ।

 

 पुराना गीत मन पराउनुहुन्छ 

३१. सिनेमा हेर्न कत्तिको मन पराउनुहुन्छ ?
त्यति धेरै त होइन, कहिलेकाहीँ मुड फ्रेस गर्न हेर्नुहुन्छ ।

३२. कस्ता सिनेमा रुचाउनुहुन्छ ?
आर्ट मुभीहरू मन पराउनुहुन्छ ।

३३. बूढाबूढी सँगै हलमा गएर सिनेमा कत्तिको हेर्नुहुन्छ ?
वर्षमा एक–दुईवटा हेरिन्छ होला । पछिल्लो समय त नगएको धेरै भयो ।

३४. पछिल्लोपटक कुन सिनेमा हेर्नुभयो ?
हलमै गएर त श्रीकृष्ण श्रेष्ठको ‘कोहिनुर’ हेरेका थियौँ, त्यसपछि गएका छैनौँ ।

३५. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
कुनै–कुनै ऐतिहासिक कथावस्तु भएको सिरियल हेर्नुहुन्छ ।

३६. कुन सिरियल हेर्नुहुन्छ ? 
पहिला ‘जोधा अकबर’ हेर्नुहुन्थ्यो, अचेल ‘अशोका’ हेर्नुहुन्छ ।

३७. गीत–संगीतप्रति कत्तिको रुचि छ ?
संगीतप्रति रुचि नभएको पनि के मान्छे भयो र ?

३८. गीत कत्तिको सुन्नुहुन्छ ?
वेला–वेलामा सुन्नुहुन्छ ।

३९. कस्ता गीत रुचाउनुहुन्छ ?
पुराना गीत सुन्नुहुन्छ । अमिताभ बच्चन, बैजन्ती मालाका जमानाका गीतहरू सुन्नुहुन्छ ।

 सँगै हुँदा राजनीतिक कुरा हुँदैन 

४०. परिवारलाई कति समय दिनुहुन्छ ?
उहाँ मेरो श्रीमान्भन्दा देशको प्रोपर्टी भइसक्नुभएको छ । परिवारभन्दा देश र जनताप्रतिका दायित्व धेरै छन् । यस्ता श्रीमान्का पत्नी, छोराछोरीले केही न केही त्याग त गर्नु नै पर्छ । फेरि पनि भ्याउँदासम्म समय दिनुहुन्छ ।

४१. कति वेला परिवारलाई समय दिनुहुन्छ ?
बच्चाहरू होस्टेलमा छन् । हामी दुवै राजनीतिमा सक्रिय छौँ । बिहान, बेलुका समय निकाल्नुहुन्छ ।

४२. परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?
परिवारसँग भएका वेला राजनीतिक कुराकानी बहुत कम हुन्छ । पारिवारिक, बूढाबूढीका गफगाफ नै बढी हुन्छन् ।

४३. आफूले थाहा पाएका कुरा तपाईंलाई कति खुलेर बताउनुहुन्छ ?
उहाँको स्वभाव नै कम बोल्ने छ । कहिलेकाहीँ ऐँठन भएका कुरा सेयर गर्नुहुन्छ । सल्लाह पनि लिनुहुन्छ तर, हाम्रो सल्लाहमा निर्णय भने लिनुहुन्न ।

 दौरा–सुरुवालमा ह्यान्डसम देखिनुहुन्छ 

४४. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
सचेत नै हुनुहुन्छ । राम्रा–नराम्रा जस्ता लुगा भए पनि सबै एकै ठाउँ दराजभित्र हेंगरमा मिलाएर राखेको हुनुपर्छ । आफैँ छानेर लगाउनुहुन्छ ।

४५. कस्ता लुगा लगाउन रुचाउनुहुन्छ ?
सर्ट–पाइन्ट, दौरा–सुरुवाल मन पराउनुहुन्छ । हाफ टी–सर्ट, सर्ट प्रायः लगाउनुहुन्न ।

४६. तपाईंले उहाँलाई कस्तो लुगामा राम्रो देख्नुहुन्छ ?
दौरा –सुरुवालमा ह्यान्डसम देखिनुहुन्छ ।

४७. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
आइरन गरेको अहिलेसम्म देखेकी छैन । आउँछ कि आउँदैन थाहा नै भएन ।

४८. उहाँको लुगामा कसले आइरन गरिदिन्छ ?
म नै गरिदिन्छु । मलाई आइरन गर्न सबैभन्दा सजिलो काम लाग्छ ।

४९. आफूले लगाउने लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ?
आफैँ पनि किन्नुहुन्छ, कहिले मैले पनि किनिदिन्छु । वेला–वेलामा साथीभाइले गिफ्ट पनि ल्याइदिन्छन् ।

५०. कुन ब्रान्डका लुगा मन पराउनुहुन्छ ?
यही ब्रान्ड भन्ने छैन । सकभर उहाँलाई ब्रान्डहरूको नाम नै थाहा छैन होला ।

 तलब सबै विद्या ट्राभल्समा जान्छ 

५१. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?
उहाँको त पत्नी नै विद्या ट्रावल्स भएको छ । सभासद्को आम्दानी त उतै बुझाउनुहुन्छ (हाँसो) । आफ्नो निर्वाचन क्षेत्रमा आउने–जानेमै पैसा सक्काउनुहुन्छ । 

५२. त्यति धेरै आवत–जावत गर्नुहुन्छ र जिल्ला ?
निर्वाचन क्षेत्रमा धेरै जाने नेतामध्ये उहाँ पनि पर्नुहुन्छजस्तो लाग्छ । दोस्रो संविधानसभा निर्वाचनपछि ९४ पटक पुग्नुभएको छ । प्लेनबाट जाने–आउनेमै धेरै सकिन्छ नि ।

५३. तपाईंलाई कत्ति पनि दिनुहुन्न ?
कत्ति पनि नदिए त मैले घर कसरी चलाउनु नि ? मलाई पनि आवश्यक रकम दिनुहुन्छ । आफूलाई चाहिने आफू राख्नुहुन्छ ।

५४. उहाँको खर्च केमा हुन्छ ?
त्यही जिल्ला आऊ–जाऊ गर्दा, साथीभाइसँग चिया–खाजा खाँदा त हो नि । घरको सबै व्यवस्थापन मैले नै हेरेकी हुन्छु । कांग्रेसका केन्द्रीय नेताहरूमध्ये सबैभन्दा सस्तो स्कुलमा पढ्ने मेरा बच्चाहरू नै होला । उहाँले ‘हाइफाई स्कुलमा नहालौँ, सामान्य स्कुलमा भर्ना गरौँ’ भन्नुभयो । टोखाको साइबाबा स्कुलमा हालेका छौँ, दुई बच्चाको मासिक सात हजार मात्रै खर्च हुन्छ । 

५५. उहाँको नाममा बैंक ब्यालेन्स कति छ ?
त्यो त मलाई थाहा भएन, सोधेकी पनि छैन ।

५६. तपाईंसँग कहिल्यै सापट भनेर पैसा माग्नुभएको छ ?
तरुण दल चलाउँदा कार्यालयको भाडा तिर्न पैसा नहुँदा ‘तिमीलाई पछि तिरौँला ल्याऊ न’ भनेर माग्नुभएको छ । सजिलो छैन संगठन चलाउन, दुःख पनि उत्तिकै छ ।

५७. फिर्ता गर्नुभयो त पछि ?
फिर्ता त गर्नुभयो ।

५८. पैसाको बारेमा बूढाबूढीबीच कहिल्यै किचलो भएको छ ?
अरू कुरामा सामान्य ठाकठुक पर्ने छुट्टै कुरा हो, तर पैसाका बारेमा त कहिल्यै भएको छैन ।

 वेला–वेला कार्यकर्तालाई पनि हकार्नुहुन्छ 

५९. रिसाउने बानी कति छ ?
बालकृष्ण खाण रिसाउँदैन भनेर त कसले पत्याउला र (हाँसो) ? उहाँ त कार्यकर्तालाई धेरै हकार्ने नेतामा पनि पर्नुहुन्छ होला, तर हकार्ने मायाले हो है ।

६०. कस्ता कुरामा रिसाउनुहुन्छ ?
बच्चाहरूको राम्रो व्यवस्थापनमा कमी–कमजोरी भयो भने, कुनै वेला कार्यकर्ताले गर्नै नसकिने कामका लागि पनि दबाब दिएर इरिटेड बनाए भने रिसाउनुहुन्छ ।

६१. रिसाएपछि के गर्नुहुन्छ ?
एकछिन कराउनुहुन्छ, धेरै बोल्नुहुन्न । मैले ‘यस्तो काम गरौँ न’ भनेर सोध्दा उहाँलाई चित्त बुझेको छैन भने ‘तँलाई जे मन लाग्छ त्यही गर्, मलाई केही मतलब छैन’ भन्नुहुन्छ ।

६२. रिसाएपछि कसले पहिला फकाउँछ ?
मैले फकाउनुपर्छ नि । कतिखेर रिसाउनुभयो, कतिखेर बिर्सनुभयो उहाँलाई त मतलबै हुन्न । 

६३. के भनेर फकाउनुहुन्छ ?
आफू बोल्यो भने उहाँ पनि बोलिहाल्नुहुन्छ, रिसाएको बिर्सनुहुन्छ ।

६४. बाहिरको टेन्सन–रिस घरमा कत्तिको रिफ्ल्याक्ट हुन्छ ?
कहिलेकाहीँ रिफ्ल्याक्ट हुन्छ । उहाँ तनावमा भएका वेला स–साना कुरामा पनि झोक्किनुहुन्छ । बैठकमा जग रहेछ भने ‘यो जग यहाँ कसले राखेको’ भनेर झर्किनुुहुन्छ । उहाँ तनावमा हुनुहुन्छ भन्ने हामी बुझिहाल्छौँ ।

६५. तपाईंलाई कहिल्यै पिट्नुभएको छ कि छैन ?
छैन । राजनीतिमा लागेका हामीजत्तिका महिलाले पनि त्यस्तो हिंसा सह्याैँ भने आममहिलालाई के सिकाउने ? केको राजनीति गर्ने ?

६६. तपाईंले नि ?
मैले पनि किन पिट्नु ? मलाई पिटेको भए पो π

६७. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?
‘मन्जे’, ‘मोटे’ भन्नुहुन्छ ।

६८. तपाईंले नि ?
मैले त ‘राजा’ भन्छु । दुई अक्षर नपढेको बाहुनलाई पनि ‘गुरु’ र एक बित्ता जमिन पनि नभएको ठकुरीलाई ‘राजा’ भन्ने  त चलन नै छ नि (हाँसो) ।

 

 उपहारका नाममा एउटा सुनको चुरा 

६९. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ ?
उहिले डेनमार्कबाट फर्किंदा एउटा सुनको चुरा ल्याइदिनुभएको थियो । त्यसबाहेक उहाँले गिफ्ट दिनुभएको छैन । बरु, मैले ‘तिजमा त गिफ्ट दिनुपर्छ’ भनेर जिस्क्याउने गर्छु । 

७०. जन्मदिन, म्यारिज एनिभर्सरी, भ्यालेन्टाइन डेमा विस गर्नुहुन्छ कि बिर्सनुहुन्छ ?
जन्मदिनमा विस गर्नुहुन्छ । गुलाफको फूल पनि दिनुहुन्छ । एनिभर्सरी र भ्यालेन्टाइन डे त सम्झिनुहुन्न ।

७१. तपाईंले उहाँलाई उपहार कत्तिको दिनुहुन्छ ?
म त वेला–वेलामा दिन्छु । 

७२. कस्ता चिजहरू दिनुहुन्छ ?
यही भन्ने हुँदैन, उहाँलाई आवश्यक चिज दिन्छु । 

 “कक्टेल” हुँदा एकपल्ट नराम्ररी मात्नुभयो 

७३. चुरोट–खैनी खानुहुन्छ कि खानुुहुन्न ?
खानुहुन्न । परिवारमै कसैले खाँदैनन् । 

७४. रक्सी कत्तिको खानुहुन्छ ?
त्यस्तो धेरै खानुहुन्न । कहिलेकाहीँ पार्टीहरूमा खानुहुन्छ, त्यो पनि एक–दुई पेग । धेरै खाँदा उहाँलाई सन्चो पनि हुँदैन ।

७५. कुन रक्सी खानुहुन्छ ?
खै, कहिले ‘युरिक एसिड छ, म त सेतो खान्छु’ भनेको सुन्छु । यही नै खानुहुन्छ भन्ने मलाई थाहा छैन । 

७६. कहिलेकाहीँ घरमै खानुहुन्छ कि खानुहुन्न ?
घरमा जमघट भएका वेला, पाहुना आएका वेला खानुहुन्छ । तर, एक्लै खानुहुन्न । 

७७. तपाईं खानुहुन्छ कि खानुहुन्न ?
म त खाँदिनँ । 

७८. उहाँले कहिल्यै मात्ने गरी खानुभएको छ कि छैन ?
एकपल्ट प्रकाशमान सिंह दाइको घरमा पार्टी थियो, त्यहाँबाट फर्किंदा धेरै मात्नुभएको थियो । सुरेन्द्र पाण्डेले बोकेरै घर ल्याइदिनुभएको थियो । तर, त्यहाँ पनि धेरै खाएर मात्नुभएको होइन रे । पछि थाहा भएअनुसार ‘कक्टेल’ भएर धेरै लागेको हो । घर पुगेपछि घर्लप्प सुत्नुभयो ।

७९. उहाँ मातेपछि कहिलेकाहीँ ठाकठुक पर्छ कि पर्दैन ?
त्यस्तो मात्ने गरी खानु नै हुन्न ।

 कार्यक्रममै आँखा झिम्क्याउनुभयो 

८०. रोमान्टिक कत्तिको हुनुहुन्छ ?
मेरो श्रीमान् रोमान्टिक हुँदा त पानी नै पर्छ (हाँसो) । उहाँको स्वभाव नै त्यस्तो छैन । तर, वेला–वेलामा रोमान्टिक बन्नुहुन्छ । कहिलेकाहीँ त्यस्तो गर्ने मान्छेको रोमान्टिकपन पनि अलि फरक नै हुन्छ ।

८१. कस्तो फरकपन ?
जिस्किनुहुन्छ । अस्ति भर्खरै हो, एउटा कार्यक्रममा सँगै थियौँ, उहाँ बाथरुम गएर फर्किंदा आँखा झिम्क्याउनुभयो । मेरो छेउमा अरू महिला नेतृ पनि हुनुहुन्थ्यो, उहाँहरूले मलाई जिस्क्याउनुभयो । मैले पनि ‘मलाई होइन, तपाईंहरूलाई हो’ भनेर जिस्किदिएँ । त्यस्तै, कहिलेकाहीँ कार्यक्रममा उहाँ मञ्चमा, म दर्शकदीर्घामा हुन्छु । अनि, अकस्मात् आएर नचिनेझैँ ‘मञ्जुजी जाने होइन त’ भनेर जिस्क्याउनुहुन्छ । 

८२. कतिवेला रोमान्टिक मुडमा देखिनुहुन्छ ?
राजनीतिदेखि बाहिर व्यक्तिगत, पारिवारिक घुमघामका वेला रोमान्टिक बन्नुहुन्छ । जोकहरू सुनाउने, हाँसोमजाक, रमाइलो गर्ने गर्नुहुन्छ ।

८३. गीत कत्तिको गुनगुनाउनुहुन्छ ?
वेला–वेलामा गुनगुनाउनुहुन्छ । 

 पैसा सहयोग माग्ने पनि आउँछन् 

८४. सहयोगी कत्तिको हुनुहुन्छ ?
सहयोगी नै हुनुहुन्छ । आफूले भ्याएका, जानेका सबै कुरामा सघाउनुहुन्छ ।

८५. कहिल्यै तपाईंका लुगा धोइदिनुभएको छ ?
मेरो लुगा त धोइदिनुभएको छैन, तर फुर्सद हुँदा आफ्ना लुगा आफैँ धोएर सघाउनुहुन्थ्यो ।

८६. दुवैजना राजनीतिमा सक्रिय हुनुुहुन्छ, सजिलो छ कि अप्ठ्यारो ?
सजिलो र अप्ठ्यारो दुवै हुन्छ । 

८७. पटक–पटक मन्त्री, सांसद हुनुभयो । सहयोग माग्ने कार्यकर्ता कत्तिको आउँछन् ?
आउँछन् । सबैका आ–आफ्नै गुनासा, समस्या हुन्छन् । 

८८. पैसा माग्ने कति आउँछन् ?
त्यस्ता पनि आउँछन् । एउटा मान्छेले त मसँग ‘मेरी आमा बित्नुभयो, काजकिरिया गर्ने पैसा पनि छैन’ भनेर पाँचपटक पैसा लग्यो । छैटौँपटकमा थाहा पाएँ । 

८९. सहयोग माग्न आएकालाई कति सहयोग गर्नुहुन्छ ?
आफूले सकेको, आफ्नो बलबुताले भ्याएको सहयोग गर्नुहुन्छ । 

 खुसी हुँदा चम्किँदै घर पस्नुहुन्छ 

९०. कस्ता कुरामा एकदम खुसी मान्नुहुन्छ ?
कार्यकर्ता–जनताले भनेको र आफूले साचेको काम हुँदा खुसी बन्नुहुन्छ । 

९१. पछिल्लो समय सबैभन्दा धेरै खुसी कहिले हुनुभयो ?
शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको दिन धेरै खुसी हुनुभयो । उहाँको अर्जुनदृष्टि नै देउवालाई सभापति बनाउने थियो । 

९२. खुसी कसरी साट्नुहुन्छ ?
खुसी भएका दिन चम्किँदै घरभित्र पस्नुहुन्छ । उहाँको एक्टिङ देखेरै आज केही राम्रो भयो भन्ने थाहा पाउँछौँ । साथीभाइले पनि ‘उहाँ खुसी भएका वेला खल्तीमा २५–३० हजार भयो भने चम्किनुहुन्छ’ भन्नुहुन्छ । 

९३. सबैभन्दा धेरै दुःखी कहिले हुनुभयो ?
बुबा बित्दाखेरि धेरै दुःखी हुनुभयो । ‘बुबालाई मैले समय नै दिन सकिनँ, उहाँका लागि केही गर्न सकिनँ’ भन्ने ठूलो गुनासो छ उहाँको । 

 बूढाबूढी रेस्टुरेन्ट नगएको पाँच–सात वर्ष भयो 

९४. विदेश जाँदा तपाईंलाई सँगै लैजान कत्तिको मन पराउनुहुन्छ ?
उहाँ आफैँ त त्यति धेरै जानुभएको छैन, मलाई कहाँबाट लैजानु ?

९५. विदेश जानुभएकै छैन र ?
उहिले तरुण दलको अध्यक्ष हुँदा युथहरूको सम्मेलनमा डेनमार्क जानुभएको हो, त्यहीँबाट युके पनि पुगेर आउनुभयो, त्यो कार्यक्रममा म कसरी जानु ? शिक्षा राज्यमन्त्री हुँदा एथेन्स ओलम्पिकको कार्यक्रममा जानुभएको थियो, त्यतिवेला बच्चाहरू साना थिए, म गइनँ ।

९६. खाजा–खाना खुवाउन रेस्टुरेन्ट कत्तिको लैजानुहुन्छ ?
कहिलेकाहीँ परिवारसहित जाने गरेका छौँ ।

९७. बूढाबूढी मात्रै जानुहुन्न ?
पहिला–पहिला त गइन्थ्यो । तर, पाँच–सात वर्ष भयो नगएको ।

९८. गुनासो गर्नुहुन्न नलगेकोमा ?
उहाँलाई समय नै हुँदैन । म पनि पार्टीमै सक्रिय छु, उहाँको व्यस्तता बुझ्दा–बुझ्दै गुनासो गर्ने त कुरै भएन नि ।

९९. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
बिहानमा पत्रपत्रिका त हेर्नुहुन्छ । 

१००. टेलिभिजनमा समाचार कत्तिको हेर्नुहुन्छ ?
घरमा हुनुभयो भने समाचार, अन्तर्वार्ताहरू हेर्नुहुन्छ ।

१०१. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? 
समाचार हेरेर रिसाउने वा फुर्किने गरी कुनै प्रतिक्रिया जनाउनुहुन्न । कहिलेकाहीँ टिभीमा अन्तर्वार्ता दिएर आएपछि ‘मेरो अन्तर्वार्ता हेर्यौँ, कस्तो छ’ भनेरचाहिँ सोध्नुहुन्छ ।

(शनिबार २५ असार ०७३, नयाँ पत्रिकामा प्रकाशित)

ad
ad