निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १२ बिहीबार
  • Thursday, 26 May, 2022
टेकराज थामी काठमाडौं
२०७८ असार २८ सोमबार ११:५०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अनलाइनमार्फत हुने ठगी बढ्दै : नाइजेरियामा बन्छ नेपाली ठगिने योजना,  विदेशी उम्कन्छन् नेपाली युवा समातिन्छन्

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ असार २८ सोमबार ११:५०:००

झापा अर्जुनधारा नगरपालिका–९ का ३० वर्षीय पंकज पौडेल सामाजिक सञ्जालका धुरन्धर अम्मली । उनलाई एकाएक सामाजिक सञ्जालबाट पैसा कमाउने जुक्ति फुर्‍यो । यसका लागि उनले फेसबुक, ह्वाट्सएप, इमोलगायतका नक्कली आइडी खोले ।

जाली कागजातकै आधारमा इमेल आइडी पनि नक्कली खोले । सोही आइडीका आधारमा भेटिएजति सबैलाई फ्रेन्ड रिक्वेस्ट पठाउन थाले । र, साथी भएकाहरूसँग गफिन थाले । आफ्नो अनुरोध स्वीकार्नेमध्ये कसैलाई उनी लन्डन निवासी भनी परिचय दिन्थे । कसैलाई सिंगापुर र कोरियन नागरिक भन्थे । गफकै क्रममा उनले यसरी मान्छेको मनस्थिति परिवर्तन गरिदिन्थे कि सामाजिक सञ्जालमा साथी बनाएकाहरू उनका लागि जे गर्न पनि तयार होऊन् । अन्ततः उनको यही खुबी ठगीको माध्यम बन्यो ।

गुलियो गफमा लठ्ठिएका साथीहरूलाई उनले नेक्लेस, घडी, जुत्ता, मोबाइलदेखि डलरसम्म विदेशबाट पठाइदिएको छु भन्थे । पार्सल मात्र होइन, सामग्री लोड भएको फोटोसमेत सँगै पठाउँथे । ‘गिफ्ट आइटम’ भारतको भन्सार कार्यालयमा आएको र भन्सार छुटाउन केही रकम आवश्यक परेको भनी अन्य व्यक्तिमार्फत फोन गर्न लगाउँथे । र, रकम जम्मा गर्न बैंक खाता पनि सँगै दिएर पठाउँथे । केहीलाई भने आइएमई पनि गर्न लगाउँथे ।

आइएमई र बैंकबाट रकम झिक्न पनि उनले नक्कली कागजात बनाएका थिए । सोही कागजातका आधारमा उनले रकम झिक्ने गरेका थिए । अपराध अनुसन्धान महाशाखाका अनुसार पौडेलले सोही तरिका अपनाएर नेपालीबाट मात्रै एक करोड ९५ लाख १२ हजार रुपैयाँ ठगी गरेका छन् । झापाबाट पक्राउ परेका उनको साथबाट प्रहरीले १३ लाख ९५ हजार दुई सय रुपैयाँसहित विभिन्न कागजात बरामद गरेको थियो ।

कोरोना महामारीका कारण धेरैको रोजगार गुम्यो । आयस्रोतमा भारी गिरावट आयो । दोलखा जिरी–८ का २३ वर्षीय शिव खड्कालाई भने समस्यको यही चाङमा खेल्दै धनी बन्ने बुद्धि फुर्‍यो । जसका लागि उनले सामाजिक सञ्जाल प्रयोग गरे । आकर्षक तलब सुविधासहित रोजगारको विज्ञापन सामाजिक सञ्जालमा राखे । यसका लागि उनले ‘जब भ्याकेन्सी’ नामको फेसबुक फेज नै खोलेका थिए ।

फारमको निश्चित मूल्य तोके । फारम भर्न सामाजिक सञ्जालबाटै सकिने बनाए । ‘पेमेन्ट’ भने इ–सेवाबाट गर्न लगाए । बेरोजगार नेपाली युवाहरू फाराम भर्न भटाभट अग्रसर भए । मागिएबमोजिमको रकम पनि इ–सेवाबाटै भुक्तान गरे । जब अन्तर्वार्ता लिने दिन आयो, शिव एकाएक सम्पर्कविहीन बने । प्रहरीका अनुसार उनी ४३ भन्दा धेरै युवाबाट १५ सयदेखि ३५ सय रुपैयाँसम्म संकलन गरी फरार बनेका थिए । अन्ततः उनलाई पनि प्रहरीले पक्राउ गरिछाड्यो । 

काठमाडौंकी मोनिका शर्मा (परिवर्तित नाम) सम्भ्रान्त परिवारकी हुन् । सामाजिक सञ्जालमा रमाउने क्रममा उनको परिचय फेभर वेलफेर्ड नामक व्यक्तिसँग भयो । वेलफेर्डले आफूलाई नेदरल्यान्ड्सको नागरिक बताउँथे । दुईबीच केही वर्ष राम्रो कुराकानी चल्यो । यही क्रममा वेलफेर्ड मोनिकासँग विवाहको प्रस्ताव राखे । नेदरल्यान्ड्सको नागरिक हुने लोभमा उनले प्रस्तावलाई सहजै स्वीकार गरिन् । यसपछि पनि दुईबीच निक्कै गफ चल्यो । 

एसएसपी चन्द्रकुवेर खापुङ
प्रमुख, अपराध अनुसन्धान महाशाखा

विगतमा परम्परागत तरिकाका ठगी हुन्थे । तर, अचेल त्यस्ता घटना कम हुने गरेका छन् । त्यसको ठाउँमा प्रविधिमा आधारित ठगीका घटनाले लिएको देखिन्छ । विशेष गरी सामाजिक सञ्जाल यसमा प्रयोग भएका छन् । हामीकहाँ दर्ता भएका उजुरीले त्यही बताउँछ । निषेधाज्ञामा सामाजिक सञ्जालमार्फत ठगिनेको संख्या अत्यधिक बढेको छ । हामीले सचेत रहन सूचना नै सार्वजनिक गरेका छौँ । दैनिक यस्ता घटना महाशाखामा मात्रै पाँचदेखि सातवटासम्म दर्ता हुने गरेका छन् ।

वेडफेर्डले एकदिन मोनिकालाई हिराको हार पठाएको सन्देश पठाए । सन्देशमा हिराको हारको फोटो र पार्सल गरिएको फोटोे पनि थियो । मोनिकाको खुसीको सीमा रहेन । उनले वेलफेर्डलाई धन्यवाद दिइन् । यही क्रममा उनलाई भारतको भन्सार कार्यालयको हवाला दिँदै फोन आयो । फोनमा ‘पार्सल आएको र भन्सार छुटाउन रकम आवश्यक रहेको’ भनियो । त्यसपछि उनले वेलफेर्डलाई फोन गरिन् । उनले मोनिकालाई रकम दिन मात्रै भनेनन्, रकम जम्मा गर्न भन्दै सन्तोष श्रेष्ठ र आशा श्रेष्ठको नाममा रहेको बैंक खाता नम्बर पनि दिए । 

हिराको हार पाउने आशामा उनले सन्तोष र आशाको बैंक खातामा रकम जम्मा गर्दै गइन् । केही रकम आइएमईमार्फत पनि पठाइन् । तर, हिराको हार हात परेन । जब उनले आफू ठगिएको महसुस गरिन्, त्यसवेलासम्म ४९ लाख २३ हजार चार सय ५० रुपैयाँ गुमाइसकेकी थिइन् । अनुसन्धानपछि प्रहरीले बैंक खातावाला सन्तोष र आशालाई पक्राउ ग¥यो । घटनाका मुख्य योजनाकार वेलफेर्ड भने फरार भए । प्रहरीका अनुसार उनलाई अझै पनि पक्राउ गर्न सकिएको छैन । तथ्यांक केलाउँदा कोरोना महामारीको पछिल्लो अवधिमा यस्ता घटनाको जाहेरी अपराध अनुसन्धान महाशाखामा मात्रै दैनिक पाँचदेखि सातवटा दर्ता हुने गरेका छन् । 

 ठगीको परम्परागत ट्रेन्ड बदलियो 
बागलुङ काठेखोला गाउँपालिका–२ का २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिशा केसीलाई धनी बन्ने लोभ जाग्यो । यसका लागि उनीहरू पनि सामाजिक सञ्जाल प्रयोग गर्ने निधोमा पुगे । आकर्षक फोटो राखे । युवाहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाए । साथी बनेकाहरूसँग घन्टौँ गफिन थाले । गफमा उनीहरू ‘डिभी परेको र अमेरिकाको क्यालिफोर्निया बस्ने गरेको’ बताउने गर्थे । साथमा नेपाली केटासँग विवाह गर्न चाहेको पनि बताउँथे ।

यसक्रममा उनीहरूले विभिन्न युवासँग मायाप्रीतिका गफ गरे । रकम बुझे । तर, विवाह गरी अमेरिका लैजाने गफ भने गफमै सीमित भयो । ठगिएको भेउ पाएपछि युवाहरू प्रहरी कार्यालय पुगे । अनुसन्धानपछि कोपिला र अमिशा बुटवलबाट पक्राउ परे । उनीहरूले सोही तरिका अपनाएर ६ लाख ६० हजार रुपैयाँ ठगी गरिसकेको अनुसन्धानका क्रममा खुल्यो । 

महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले ठगीको परम्परागत टे«न्ड बदलिएको र त्यसको ठाउँमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनाले लिएको बताए । ‘विगतमा परम्परागत तरिकाका ठगी हुन्थे । तर, अचेल त्यस्ता घटना कम हुने गरेका छन् । त्यसको ठाउँमा प्रविधिमा आधारित ठगीका घटनाले लिएको देखिन्छ । विशेष गरी सामाजिक सञ्जाल यसमा प्रयोग भएका छन् । हामीकहाँ दर्ता भएका उजुरीले त्यही बताउँछ,’ उनले भने । एसएसपी खापुङले निषेधाज्ञामा सामाजिक सञ्जालबाट ठगिने संख्यामा उल्लेख्य वृद्धि भएको बताए । 

 ठगी धन्दामा प्रयोग भएका अधिकांश फेक आइडी नाइजेरियाबाट अपरेट
विदेशीका नाममा खुलेका फेक आइडीबाट ठगीको संख्या बढेपछि प्रहरीले घटनाको अनुसन्धान गरेको थियो । फेक आइडीको प्राविधिक पक्ष विश्लेषण गर्दा र ट्याकिङ गर्दै जाँदा अधिकांश आइडी अफ्रिकी मुलुक नाइजेरियाबाट खुलेको देखियो ।

नेपाल प्रहरीले ठगीमा संलग्न आइडी बन्द गर्न फेसबुक कार्यालयलाई पत्र पनि लेख्यो । तर, बन्द गर्न सक्ने अवस्था रहेन । किनकि नेपालको कानुनले नाइजेरियामा खुलेको आइडी बन्द गर्न सक्दैन । महाशाखाका प्रवक्ता एससपी कृष्ण कोइरालाले भने, ‘ठगीमा संलग्न अधिकांश फेक आइडी नाइजेरियाबाट अपरेट भएको देखिन्छ । हामीले बन्द गर्न सम्बन्धित कार्यालयमा पत्र लेख्यौँ । तर, बन्द गर्न सकिने अवस्था देखिएन । किनकि नेपालको कानुनले नाइजेरियामा खुलेको फेक आइडी बन्द गर्न सक्दैन । त्यसैले मुख्य अभियुक्त सधैँ उम्कने अवस्था आयो ।’