युरोकपमा मेरो मनपर्ने टोली नै पोर्चुगल थियो । आइतबार बेल्जियमसँग पराजित हुँदै साविक विजेता पोर्चुगल यसपटक प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरिएको छ । क्रिस्टियानो रोनाल्डोका कारण पनि पोर्चुगल अगाडि बढोस् भन्ने सोचेको थिएँ ।
तर, सोजेजस्तो भएन । विशेषगरी बेल्जियमविरुद्ध पोर्चुगल आक्रमणमै चुक्यो जस्तो लागेको छ । बल पोसेसन पनि थियो । अवसर पनि पाइरहेकै थिए । तर, उनीहरूले हान्नु पर्ने बललाई हान्न सकेनन् । अर्थात् सदुपयोग गर्नुपर्ने अवसरलाई सदुपयोग गर्न सकेनन् ।
खेलको अन्तिमतिर उनीहरूको एउटा प्रहार साइड बारमा लागेर फर्कियो । सायद, त्यो बल गोलमा परिणत भएको भए पनि पोर्चुगल हार्ने थिएन । एक किसिमले पोर्चुगलका लागि यो खेलमा भाग्यले पनि साथ दिएको देखिएन । त्यसो त पोर्चुगललाई यसपटक अघिल्लो युरोकपको तुलनामा निक्कै मुस्किल थियो । फ्रान्स, जर्ममी रहेको समूहमा परेको थियो । हंगेरीविरुद्धको खेलमा गरेको प्रदर्शन देखेपछि पोर्चुगल यसपटक कम्तीमा फाइनलसम्म त पुग्छ जस्तो लागेको थियो । यद्यपि, नकआउट चरणमा बेल्जियम बाधक बनिदिएको छ ।
यो असफलतामा पोर्चुगलको आफ्नै केही कमजोरी पनि देखेको छु । विशेषगरी समूहगत चरणमा पनि पोर्चुगलले यसपटक आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको हो । विशेषगरी जर्मनीविरुद्धको समूहगत चरणको खेलमा पोर्चुगल कमजोर नै देखियो । उसले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सकेको थिएन । जारी युरोकप रोनाल्डोका लागि अन्तिम जस्तै मानिएको छ । सम्भवतः उनले अर्काे युरोकप खेल्दैनन् ।
त्यसैले आफ्नो मनपर्ने खेलाडीको लागि यो प्रतियोगिता अविस्मरणीय होस् भन्ने चाहेको थिएँ । आशा छ उनलाई फेरि अरू प्रतियोगितामा पनि देख्न पाइनेछ । विश्वभरि नै उनले लाखौँ युवाहरूलाई प्रेरित गरेका छन् । त्यसमध्ये म पनि एक हुँ । उनको खेल्ने कला र सफलताभन्दा पहिले उनको संघर्ष देखेर मन परेको हो । त्यहीबाट प्रेरित भएर म पनि फुटबलर बनेकी हुँ ।
त्यसैले उनीप्रतिको सम्मान त सधैँ नै रहिरहने छ । उनी सधैँ नै मेरो आइडल रहनेछन् । जारी प्रतियोगितामा राष्ट्रिय टोलीबाट धेरै गोल गर्ने कीर्तिमान बराबरी गरेका छन् । उनले यो कीर्तिमान तोडुन् भन्ने चाहेको हो । यद्यपि, यसपटक त्यो सम्भव भएन । तर, आगामी खेलमार्फत उनले यो सफलता प्राप्त गर्ने नै छन् । उनलाई अझै पनि खेलेको हेर्ने इच्छा छ ।