१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नर्थ म्यासेडोनियाविरुद्ध दोस्रो गोल गरेपछि नेदरल्यान्ड्सका कप्तान जियोरजिनियो विज्नाल्डम ।
एजेन्सी
२o८१ जेठ ८ मंगलबार o८:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेदरल्यान्ड्स समूह विजेता, अस्ट्रिया उपविजेता बन्दै प्रिक्वार्टरमा

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o८:२८:oo

नेदरल्यान्ड्स युरोकप २०२० अन्तर्गत समूह सीको विजेता टोली बनेको छ । यसअघि नै प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको नेदरल्यान्ड्स सोमबार आम्स्र्टडमस्थित घरेलु मैदानमा नर्थ म्यासेडोनियालाई ३–० गोलले पराजित गर्दै समूह विजेता बनेको हो । नेदरल्यान्ड्सले समूहगत चरणमा शतप्रतिशत जित निकालेको छ । 

सोमबार राति एकै समयमा भएको अर्काे खेलमा युक्रेनलाई १–० ले पराजित गर्दै अस्ट्रिया पनि समूह सीबाट उपविजेताको रूपमा अन्तिम १६ को यात्रा निश्चित गरेको छ । प्रतियोगितामा अस्ट्रियाको यो दोस्रो जित हो । जितको नतिजाले युक्रेनसँग पनि अस्ट्रियालाई पछि पार्दै अघिल्लो चरण प्रवेशको अवसर थियो । यद्यपि, त्यो अवसर अस्ट्रियाले खोसिदिएको हो । 

यसका बाबजुद युक्रेनसँग अझै प्रतियोगिताको अन्तिम १६ मा पुग्ने सम्भावना छ । यद्यपि त्यसका लागि उसलाई प्रतियोगिताको बाँकी खेलको नतिजा पनि कुर्नुपर्नेछ । प्रतियोगिताको ६ समूहको तेस्रो स्थानमा रहेका ६ टोलीमध्ये उत्कृष्ट चारभित्र पर्ने टोलीले पनि प्रतियोगिताको अन्तिम १६ मा प्रवेश पाउनेछन् । नर्थ म्यासेडोनिया भने प्रतिस्पर्धाबाट यसअघि नै बाहिरिसकेको टोली हो ।

विज्नाल्डमको दुई गोलमा नेदरल्यान्ड्स विजयी
जियोरजिनियो विज्नाल्डमले २ र मेफिस दिपेले १ गोल गरेपछि नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियाविरुद्ध सहज जित आत्मसात् गर्‍यो । १२ हजार दर्शक उपस्थित घरेलु जोहन क्रुफ एरेनामा नेदरल्यान्ड्सले सशक्त प्रदर्शन गरेको थियो ।

नेदरल्यान्ड्सले काउन्टर एट्याकमा गोल गर्दै खेलको २४औँ मिनेटमा १–० अग्रता बनाएको थियो । डोनेल मालेनले पास दिएको बललाई दिपेले गोलमा परिणत गराएका थिए । जारी प्रतियोगिताकै दौरान स्पेनी क्लब बार्सिलोना भित्रिएका दिपेले राष्ट्रिय टोलीका लागि पछिल्लो १० खेलबाट नौ गोल पुर्‍याएका छन् । यस्तै, थप तीन गोलका लागि अवसर सिर्जना गरेका छन् ।

पहिलो हाफमा १–० ले अघि रहेको नेदरल्यान्ड्सलाई खेलको दोस्रो हाफमा सात मिनेटको अन्तरमा दुई गोल गर्दै विज्नाल्डमले ३–० को जित दिलाए । उनले खेलको ५१औँ मिनेटमा दिपेले नै क्रस गरेको बललाई ‘ट्याप इन’ गर्दै पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ५८औं मिनेटमा रिबाउण्ड बललाई गोलमा परिणत गराउँदै टोलीका कप्तानसमेत रहेका विज्नाल्डमले नेदरल्यान्ड्सको जित निश्चित गरेका थिए । 

समूहगत चरणको खेल घरेलु मैदानमा खेलेको नेदरल्यान्ड्सले अब नकआउट चरणको खेलका लागि बुडापेस्टको यात्रा गर्नेछ । अन्तिम १६ को प्रतिस्पर्धामा नेदरल्यान्ड्सको भेट समूह डी, ई वा एफमध्ये एउटा समूहको तेस्रो स्थानमा रहँदै बढुवा भएको टोलीसँग हुने छ ।

यो पराजय म्यासेडोनिया र उसका कप्तान गोरान पान्डेभका लागि भने सुखद् रहेन । कप्तान पान्डेभ म्यासेडोनियाको राष्ट्रिय टोलीबाट १२२औँपटक खेल्दै थिए । उनका लागि राष्ट्रिय टोलीबाट यो अन्तिम खेल पनि थियो । यद्यपि, यी भेट्रान स्ट्राइकरको अन्तिम खेलमा म्यासेडोनिया लगातार तीन खेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको ६९औँ मिनेटमा मैदानबाट बाहिरिँदा उनलाई टोलीका अन्य खेलाडीहरूले ‘गार्ड अफ अनर’ दिएका थिए । उनले ३७ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट बिदा लिएका छन् । म्यासेडोनियाको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने कीर्तिमान कायम गरेका उनी देशको सर्वाधिक गोलकर्ता पनि हुन् । पहिलोपटक युरोकप खेलेको नर्थ म्यासेडोनिय अस्ट्रिय र युक्रेनसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो ।

नर्थ म्यासेडोनिया आफ्नो डेब्यु युरोकपमा सबै खेलमा पराजय व्यहोर्ने चौथो टोली बनेको छ । यसअघि सन् १९९६ मा टर्की, १९६४ मा डेनमार्क र सन् १९६० मा फ्रान्सले पनि म्यासेडोनियाले जस्तै आफ्नो डेब्यू युरोकपको सबै खेलमा पराजय व्यहोरेको थियो । 
 

ad
ad