Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७८ असार ५ शनिबार २०:०८:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश २ : विपद्मा उद्धारको संयुक्त अभ्यास गर्दै सुरक्षाकर्मी 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७८ असार ५ शनिबार २०:०८:००

प्राकृतिक प्रकोपको जोखिममा रहेको प्रदेशमा उद्धारको अभ्यास थालिएको छ । वर्षामा बाढीले पु¥याउन सक्ने असरलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले संयुक्त उद्धार अभ्यास थालेका हुन् । सुरक्षाका तीनवटै निकायले प्रदेश २ का आठवटै जिल्लाका विभिन्न स्थानमा विपद् खोज उद्धार तथा प्रतिकार्यको अभ्यास गरिरहेका छन् । 

सप्तरीको राजविराज नगरपालिकास्थित कुर्मी पोखरीमा सशस्त्र प्रहरीका २५, सेनाका ६० र नेपाल प्रहरीका ३० सुरक्षाकर्मीले संयुक्त अभ्यास गरिरहेका छन् । 

सिराहाको कर्जन्हा नगरपालिकास्थित बाबातालमा नेपाल प्रहरीका १९, सशस्त्र प्रहरीका २० र सेनाका २०, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको गंगासागर पोखरीमा नेपाल प्रहरी १९, सशस्त्र प्रहरी ६० र नेपाली सेनाको ४० सुरक्षाकर्मीले विपद् उद्धारसम्बन्धी प्रशिक्षण लिइरहेको प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डिआइजी सिद्धि गौतमले बताए ।
 
महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित रणभीम गणमा नेपाल प्रहरीका १५, सशस्त्र प्रहरीका १५ र नेपाली सेनाका १५, सर्लाहीको बागमती नदीमा नेपाल प्रहरी ३०, सशस्त्र प्रहरी ४० र नेपाली सेना, रौतहटको गौरस्थित बरहवातालमा नेपाल प्रहरी ४०, सशस्त्र प्रहरी ५१ र नेपाली सेनाको ७०, बाराको कलैया उपमपहानगरपालिका–१ स्थित सेनाको ज्वालादल गणमा नेपाल प्रहरी २०, सशस्त्र प्रहरी १० र नेपाली सेना २० गरी ५० जना र पर्साको वीरगन्ज–८ स्थित जिल्ला प्रहरी कार्यालय पर्सामा नेपाल प्रहरी २८, सशस्त्र प्रहरी १० र नेपाली सेना १० गरी ४८ जना सुरक्षाकर्मीले विपद् उद्धार तथा प्रतिकार्यसम्बन्धी संयुक्त अभ्यास गरिरहेको डिआइजी गौतमले बताए ।

सुरक्षाकर्मीले एक सातादेखि नियमित रूपमा अभ्यास गरिरहेको उनले बताए । ‘कुनै पनि प्राकृतिक प्रकोप आफ्नो हातमा हुँदैन’ डिआइजी सिंहले भने, ‘विगतका घटनाहरूलाई मध्यनजर गर्दै हामीले प्रदेशमा आउन सक्ने बाढीपहिरो तथा डुबान–कटानबाट हुने जनधनको क्षतिलाई कसरी न्यूनीकरण गर्ने ? मानवीय तथा भौतिक क्षतिबाट कसरी जोगाउने भन्ने विषयमा केन्द्रित भएर हामीले सुरक्षा निकायका तीनै अंगको संयुक्त अभ्यास गरिरहेका छौँ ।’ 

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने, ‘प्राकृतिक प्रकोपको हिसाबले सबभन्दा उच्च जोखिममा प्रदेश २ रहेको छ । त्यसैले हामीले समयानुसार हुन सक्ने विपद्को व्यवस्थापनको तयारी गरिरहेका छौँ ।’ 

विगतको क्षति
विगत दुई आर्थिक वर्षमा बाढी तथा डुबानमा परेर प्रदेश २ मा ९२ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार समीक्षा अवधिमा बाढी तथा डुबानमा परी रौतहटमा ४३, धनुषामा १५, सिराहामा १२, सर्लाहीमा ९, सप्तरीमा ५, पर्सामा ६ र बारामा दुईजनाको मृत्यु भएको छ । 

गत वर्ष वर्षासँगै आएको बाढी तथा डुबानका कारण प्रदेश २ मा कृषिमा मात्रै अढाई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका आठवटै जिल्लामा गत वर्ष कृषि क्षेत्रमा मात्रै दुई अर्ब ६७ करोड ६ लाख ४८ हजार रुपैयाँबराबरको क्षति भएको थियो ।