मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २६ बुधबार १७:४२:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

स्वयंसेवक टोली लिएर गोरखाको गाउँगाउँमा नारायणकाजी 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २६ बुधबार १७:४२:००

गोरखामा कोभिड संक्रमण तीव्र रूपमा फैलिएपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले स्वयंसेवक टोली लिएर जेठ महिनामा दुईपटक गरी  गृहजिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका १८ स्थानमा कोभिड उच्च संक्रमण रहेका बस्ती र स्वास्थ्य केन्द्रहरूमा पुगेर कोभिड परीक्षण, उपचार तथा परामर्श शिविर सञ्चालन गरेका छन् । 

चिकित्सक, ल्याब प्राविधिक र अन्य स्वास्थ्यकर्मीसहित श्रेष्ठको निजी सचिवालय अन्तर्गतको कोभिड–१९ स्वयंसेवकको टोलीले जिल्लाभर एन्टिजिन विधिमार्फत कोभिड परीक्षण गरेको थियो । परीक्षण गरिएका ९६८ जनामध्ये १८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको र ती बिरामीहरूलाई तत्काल उपचार र परामर्श सेवा प्रदान गरी केही जटिल अवस्थाका बिरामीहरूलाई भने अन्य अस्पतालहरूमा रिफर गरेको कोभिड–१९ स्वयंसेवाका संयोजक इन्द्रराज भट्टराईले जानकारी दिए । 

शिविरकै दौरानमा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूलाई कोभिड संक्रमित बिरामीहरूलाई गर्ने व्यवहार, उपचार र अनपनाउनुपर्ने आवश्यक स्वास्थ्य सतर्कताका उपायहरू चिकित्सकमार्फत अभिमुखीकरण गराइएको थियो । स्थानीय प्रयोगशाला प्राविधिकहरूलाई एन्टिजिन परीक्षण विधिबारे प्रयोगशालाविज्ञमार्फत प्रशिक्षण पनि शिविरसँगै सञ्चालन गरिएको थियो । 

टोलीमा रहेका स्वास्थ्यकर्मी र अन्य स्वयंसेवकहरूले संक्रमित व्यक्ति र तिनका परिवारका सदस्यहरूलाई घरमै आइसोलेसनमा बस्दा ख्याल गर्नुपर्ने आधारभूत मापदण्ड र परिवार र समुदायमा संक्रमण सर्न नदिन अपनाउनुपर्ने सावधानीका उपायहरू पनि सिकाइएको कोभिड–१९ स्वयंसेवाका स्वयंसेवक चिकित्सक डा. राकेश परियारले जानकारी दिए । श्रेष्ठले अभियानका क्रममा स्थानीय सरकार एवं सम्बन्धित सबै पक्षहरूसँग सामूहिक छलफल गरी परिस्थितिको समीक्षा एवं कोभिड नियन्त्रण एवं उपचारको थप योजना बनाएका थिए । 

जेठ महिनाको पहिलो र तेस्रो साता गरी दुई चरणमा जम्मा नौ दिन सञ्चालन भएको कोभिड परीक्षण उपचार तथा परामर्श शिविरका दौरानमा जिल्ला अस्पताल गोरखालाई १० थान र गोरखाकै अन्य स्थानीय निकायहरूलाई १० थान गरी जम्मा २० थान अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । त्यसैगरी आँप–पिपल अस्पताललाई तीन, जौवारी स्वास्थ्य केन्द्रलाई एक , बारपाक सुलिकोट गाउँपालिकालाई एक, सहिद लखन गाउँपालिकालाई एक र भीमसेन थापा गाउँपालिकालाई एक गरी जम्मा सात थान अक्सिजन कन्सन्ट्रेटर पनि प्रदान गरिएको छ । 

कोभिड उपचार र नियन्त्रणका लागि आवश्यक ग्रामीण स्वास्थ्य संस्थाहरूलाई सबल बनाउन सघाउने योजनाअनुरूप जिल्लाका विभिन्न १० स्थानीय निकाय र २२ स्वास्थ्य संस्थालाई पिपिई सेट, सर्जिकल मास्क, स्यानिटाइजर, सर्जिकल पन्जालगायतका अन्य स्वास्थ्य सामग्रीहरू पनि प्रदान गरिएको छ । यी औषधि र स्वास्थ्य उपकरणहरू केही स्वास्थ्यसेवा विभागबाट प्राप्त हुन् भने बाँकी सबै प्रवक्ता श्रेष्ठ आफँैले खरिद गरी वितरण गरेको उनको सचिवालयले जनाएको छ । 

सचिवालयको टोलीले पहिलो चरणमा पालुङटार नगरपालिकास्थित आँप–पिपल अस्पतालबाट सुरु भई सिरानचोक गाउँपालिकाको जौवारी स्वास्थ्य केन्द्रसहित चिलाउने गाउँ, अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य केन्द्र, बारपाक सुलिकोट गाउँपालिकाको बारपाक स्वास्थ्य केन्द्र, सहिद लखन गाउँपालिकाको बुङकोट स्वास्थ्यचौकी र घैरुङ स्वास्थ्य केन्द्र, भीमसेन थापा गाउँपालिकाको क्यामुनटार, धावा स्वास्थ्यचौकीसहित तान्द्राङ स्वास्थ्यचौकी पुगेर टुंगिएको कोभिड–१९ स्वयंसेवाका सदस्य किरण पन्तले जानकारी दिए । 

त्यसैगरी, दोस्रो चरणको अभियान  बारपाक सुलिकोट गाउँपालिकाको सौरपानी स्वास्थ्यचौकी, पाँचखुवा देउराली स्वास्थ्यचौकी , पालुङटार नगरपालिकाको ठाँटीपोखरी र सिमपानी, गोरखा नगरपालिकाको देउराली, गण्डकी गाउँपालिकाको दर्बुङ स्वास्थ्यचौकी, मकैसिङ स्वास्थ्य केन्द्र, फुजेल स्वास्थ्यचौकीमा सञ्चालन भएको थियो । 

प्रवक्ता श्रेष्ठसहित चिकित्सक र स्वास्थ्यकर्मीहरूको मूल टोली दोस्रो चरणको अभियान सकेर काठमाडौं फर्किए पनि स्वयंसेवा समूहका अन्य सदस्यहरू भने गोरखाका विभिन्न स्थानीय तहमा रहेर कोभिड संक्रमित जनताको उद्धार, उपचार र सहयोगमा क्रियाशील भइरहेको कोभिड–१९ स्वयंसेवाका सदस्य वसन्त देवकोटाले जानकारी दिए ।  

काठामाडांै फर्किएपछि पनि गोरखामा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएका संक्रमित बिरामीहरूको टोलीमा संलग्न चिकित्सकहरूले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइरहेको टोलीका सदस्य सुरेशकाजी श्रेष्ठले जानकारी दिए । टोलीमा संलग्न डा. राकेश परियारले आपूmहरूले एन्टिजेन परीक्षणका क्रममा संक्रमण पुष्टि भएकाहरूको स्वास्थ्य अवस्थामा सुधार भए–नभएको बारेमा टेलिफोनबाट नै अवस्था बुझेर सल्लाह दिन सुरु गरेको बताए । 

गोरखामा कोभिड–१९ महामारी नियन्त्रणमा नआएको खण्डमा स्थानीय सरकार र आमजनताको आवश्यकता र मागका आधारमा तेस्रो चरणको कार्यक्रम तय गरिने कोभिड–१९ स्वयंसेवा सचिवालयले जनाएको छ ।