१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ जेठ २१ शुक्रबार ०१:३३:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

डायलाइसिसको पालो कुर्न अस्पतालको चिसो भुइँमा बिरामी

Read Time : > 6 मिनेट
२०७८ जेठ २१ शुक्रबार ०१:३३:००

जीवन बचाउन डायलाइसिस अनिवार्य छ, तर अस्पताल जान यातायात अवरुद्ध छ । बिरामीलाई अस्पताल आउन–जान केन्द्र, प्रदेश र स्थानीय तहले कुनै व्यवस्था गरेका छैनन् । दुःख झेल्दै अस्पताल पुगेका बिरामीले समयमै सेवा पाउँदैनन्, पालो पर्खनेले आराम गर्ने कुनै सुविधा नहुँदा चिसो भुइँमा सुत्न बाध्य ।

......

देशभरि मिर्गाैलाका करिब ८५ हजार बिरामी भएको सरकारी तथ्यांक छ । त्यसमध्ये १५ हजारले नियमित डायलाइसिस गराउँदै आएका छन् । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सार्वजनिक यातायात बन्द हुँदा मिर्गौला रोगपीडितलाई अस्पताल पुग्न समस्या भइरहेको छ ।

नवलपरासी देवचुलीका ४४ वर्षीय प्रेमबहादुर महत गत बिहीबार दिउँसो भरतपुर अस्पतालमा भेटिए । मिर्गौलाका बिरामी उनी अस्पतालको बेडमा वा कुर्सीमा होइन, भ¥याङछेउको चिसो भुइँमा सुतिरहेका थिए । अघिल्लो दिन नै अस्पताल आइपुगे पनि उनले डायलाइसिस गर्न पाएनन् । बिहीबार पालो पाइन्छ कि भनेर पर्खिए । तर, साह्रै थाकेपछि उनी चिसो भुइँमा पल्टिए । उनीजस्ता बिरामीका लागि आराम गर्ने ठाउँसमेत अस्पतालमा छैन ।

वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा रहँदा उनको मिर्गौलाले काम गर्न छाड्यो । नेपाल फर्किएपछि चार महिनादेखि उनी नियमित डायलाइसिस गराइरहेका छन् । यतिवेला कोरोनाको कहर चलिरहेकाले उनले निकै सास्ती खेप्नु परिरहेको छ । ‘आफूसँग सवारीसाधन छैन, अरूको साधन जोहो गरेर आउँदा डाक्टर निस्किसक्नुभएछ, जाने ठाउँ कतै छैन, त्यसैले यहीँ भुइँमा सुतेको छु,’ उनले भने । निषेधाज्ञाको कारण सार्वजनिक यातायात नचल्ने भएकाले उनको दुःख थपिएको छ । उनीजस्ता बिरामीका लागि केन्द्र, प्रदेश वा स्थानीय तहले कुनै राहतको कार्यक्रम ल्याएका छैनन् । 

भरतपुर अस्पतालको सिँढीको मार्बलमा सुतिरहेका नवलपरासी देवचुलीनिवासी ४४ वर्षीय प्रेमबहादुर महत । उनी बुधबार अस्पताल आएका थिए, बिहीबार मात्र डायलाइसिस हुने भएपछि उनले रात यही सिँढीमा काटे । यातायात र अस्पतालको अव्यवस्थाले अरू बिरामीले पनि यस्तै दुःख पाएका छन् । तस्बिर : विवेक पोख्रेल/नयाँ पत्रिका

भरतपुर महानगरपालिका– ६ केसरबागकी कमला तामाङले पनि भुइँमै सुतेर सेवा लिइरहेकी छिन् । चितवन मेडिकल कलेज (सिएमसी) मा भेटिएकी उनले भनिन्, ‘सास भएसम्म बाँच्ने आस हुँदोरहेछ, आउन–जान गाह्रो भएकाले म त १५ दिनदेखि अस्पतालमै छु । बेडमा बस्दा पैसा तिर्नुपर्छ, त्यसैले भुइँमै सुत्ने गरेकी छु ।’ साताको दुईपटक डायलाइसिस गराउँदै आएकी उनले पैसाकै अभावले अस्पतालमै बसेको बताइन् । ‘साथमा जम्मा दुई हजार रुपैयाँ थियो । घरमा चार वर्षकी छोरी छ । उसलाई पनि स्याहार गर्नुपर्ने हो । तर, आउन जान पैसा नभएकाले अस्पतालमै बस्ने गरेकी छु,’ उनले भनिन्, ‘कहिलेकाहीँ बेडमा कोही भएनन्, खाली देखेँ भने बेडमै सुत्छु, नभए भुइँ छँदै छ ।’ 

कमला मात्र होइन, अरू केही बिरामी पनि हप्तौँदेखि सिएमसीमै बसेर डायलाइसिस गराइरहेका छन् । नवलपरासीका २५ वर्षीय भीमबहादुर मगर एक महिनादेखि सिएमसीमा बसिरहेका छन् । ‘घर पहाडी भेगमा पर्छ, भनेको वेला अस्पताल आउन सवारीसाधन पाइँदैन,’ सातामा दुई दिन बिहीबार र शुक्रबार डायलाइसिस गराउँदै आएका भीमबहादुरले भने, ‘त्यसैले एक महिनादेखि अस्पतालमै बसेको छु ।’ गोरखाका ४२ वर्षीय कर्णबहादुर गुरुङ पनि एक महिनादेखि अस्पतालमा बसेर सेवा लिँदै आएका छन् । उनीहरूसँगै भेटिएका तनहुँ देवघाटका धनबहादुर गुरुङले पनि निषेधाज्ञाका कारण नियमित सेवा लिन समस्या भएपछि अस्पतालमै बसिरहेको बताए । 

हेटौँडा उपमहानगरपालिकाकी ४६ वर्षीया विनिता उप्रेतीलाई हरेक सोमबार र बिहीबार गरी सातामा दुईपटक डायलाइसिस गराउन उनी भरतपुर अस्पताल पुग्नुपर्छ । ‘हेटौँडामा डायलाइसिस सेवा छैन । यहाँसम्म आउन सार्वजनिक गाडी चलेको छैन, आफूसँग साधन छैन । त्यसैले सडकमा टिपर, ट्रक जे भेटिन्छ, जसले रोकिदिन्छ त्यही चढेर आउने गरेकी छु,’ उनले भनिन् । उनको पनि दुवै मिर्गौलाले काम गर्न छाडेको छ । गोरखाकै ४१ वर्षीय ज्ञानबहादुर थापा पनि यातायातका साधन नहुँदा समस्या भएको बताउँछन् । 

डायलाइसिस गराउन श्रीमतीलाई बोकेर सात घन्टा ओहोर–दोहोर गर्छन् ६० वर्षीय वृद्ध

तनहुँको रिसिङ गाउँपालिका– १ कोइदिमका तिलबहादुर थापा बिहीबार दमौली अस्पतालको गेटमा ६० वर्षीया श्रीमती मीनमायालाई बोकेर हिँड्दै गरेको भेटिए । दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि मीनमायाको जीवन साढे दुई वर्षदेखि डायलाइसिसको भरमा छ । डायलाइसिस सकेपछि उनी श्रीमतीलाई बोकेर घर फर्कँदै थिए । चार घन्टा लगाएर अस्पताल आइपुगेका उनले फर्कन तीन घन्टा लाग्ने बताए । हरेक सोमबार र बिहीबार उनी यसैगरी श्रीमतीलाई बोकेर सात घन्टाको यात्रा गर्छन् । 

‘एक महिनाअघिसम्म जतिखेर पनि सवारीसाधन पाइन्थ्यो । परिस्थिति सहज थियो । यतिवेला कोरोनाको महामारी फैलिएर सबै क्षेत्र बन्द हुन पुग्यो,’ उनले भने, ‘हामी गरिबसँग घोडागाडी हुने कुरा भएन । अरूका सवारीसाधन पनि चलेका छैनन् । स्वास्थ्य कमजोर भएकाले श्रीमती राम्ररी हिँड्न पनि सक्दिनन् । त्यसैले यसरी बोकेरै ल्याउने–लैजाने गरिरहेको छु ।’

परम्परागत कृषिमा आधारित थापा परिवारको अन्य आम्दानी केही छैन । त्यसैले आर्थिक अवस्था बलियो छैन । त्यसमाथि सातामा दुई दिन अस्पताल धाउनुपर्ने भएकाले उनीहरूको जीवन नै कठिन बनेको छ । उनीहरूले डायलाइसिस गर्दै आएको शत्रुघ्न मञ्जु डायलाइसिस युनिटले मीनमायालाई निःशुल्क डायलाइसिस गराउँदै आएको छ । निकै पुरानो बिरामी भएकाले आफूहरूलाई निःशुल्क सेवा दिएको तिलबहादुरले बताए । तिलबहादुरले श्रीमतीलाई ९ मंसिर ०७६ देखि दमौलीमा डायलाइसिस गराउँदै आएका छन् ।

बन्दीपुर गाउँपालिका– ५ कलचोकका लीलाबहादुर मगरको पनि अवस्था उस्तै छ । दमौली अस्पतालमा भेटिएका उनले गाउँकै एक छिमेकीका छोरालाई पेट्रोल हाल्ने पैसा दिएर मोटरसाइकलमा आएको बताए । दमौली अस्पताल परिसरमा रहेको शत्रुघ्न मञ्जु डायलाइसिस युनिटमा सेवा लिन तनहुँसहित गोर्खा, लमजुङ, स्याङ्जाबाट बिरामी आउने गर्छन् । 

दोस्रो लहरपछि नेपालगन्जमा सात मिर्गौला बिरामीको मृत्यु 

एक वर्षदेखि नियमित रूपमा डायलाइसिस गराउँदै आएकी राजापुर नगरपालिका– ४ संघर्षनगरकी जगनी थारूको ६ जेठमा मृत्यु भयो । उनी नेपालगन्ज डेरा गरेर बस्ने छोरीकहाँ बसेर भेरी अस्पतालमा मिर्गौलाको डायलाइसिस गराउँथिन् । 

कोरोनाको दोस्रो लहरको कोरोना सुरु भएपछि उनका छोरी र ज्वाइँलाई कोरोना संक्रमण भयो । त्यसपछि उनलाई नेपालगन्जबाट सय किलोमिटर पश्चिम बर्दियाको राजापुर लगियो । त्यहाँ गएपछि उनका परिवारले गाडी रिजर्भ गरेर एकपटक नेपालगन्ज ल्याएर मिर्गौलाको डायलाइसिस गराए । तर, आर्थिक अभावका कारण ल्याउन नसकेपछि डायलाइसिस गराउन नपाएर उनको राजापुरमै मृत्यु भएको जगनीका छोरीज्वाइँ रामकिशोर थारूले बताए । जगनीलाई पनि कोरोना संक्रमण भएको थियो, तर उनले कोरोना जितेको १६ दिनपछि डायलाइसिस अभावमा ज्यान गुमाइन् । 

निषेधाज्ञाका कारण गाडी नपाउँदा सल्यान सल्लीबजारका शालिकराम श्रेष्ठले पनि नियमित रूपमा डायलाइसिस गराउन पाएनन् । तीनपटकसम्म डायलाइसिस गराउन नपाएपछि उनको २८ वैशाखमा सल्लीबजारस्थित घरमै मृत्यु भयो । लकडाउन भएपछि गाडी रिजर्भ गरेर एकपटक नेपालगन्ज ल्याएको उनकी पत्नी निता श्रेष्ठले बताइन् । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएदेखि भेरी अस्पतालमा नियमित रूपमा डायलाइसिस गराइरहेका सातजनाको मृत्यु भएको डायलाइसिस विभाग प्रमुख फिजिसियन डा.पारस श्रेष्ठले जानकारी दिए । लकडाउनले नेपालगन्जबाट टाढा रहेका बिरामीलाई डायलाइसिस गराउन समस्या भएको उनले बताए । 

मिर्गौला बिरामीलाई अस्पताल पुग्नै समस्या

मिर्गौला रोगबाट पीडित बैतडीको सुर्नया गाउँपालिका– ८ कठमोडाका धीरसिंह धामीले तीन सातायता डायलाइसिस गराउन पाएका छैनन् । सवारीसाधन बन्द भएपछि गाउँबाट धनगढी आउन नसक्दा उनले डायलाइसिस गराउन नपाएका हुन् । ४० वर्षीय धामी पाँच महिनादेखि मिर्गौला रोगबाट पीडित छन् । सुरुमा नेपालगन्ज र काठमाडौं उपचार गराएका उनी चार महिनादेखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सातामा एक दिन डायलाइसिस गराउँदै आएका छन् । लकडाउनयता सार्वजनिक यातायात बन्द भएपछि भने उनी डायलाइसिसका लागि धनगढी आउन पाएका छैनन् । गाडी बुकिङ गरेर जान सक्ने आर्थिक क्षमता नभएपछि डायलाइसिस गराउन नपाएको धामीले बताए ।

डडेल्धुराको अमरगढी नगरपालिका– २ सोलपरीका शम्भु कठायत डायलाइसिसका लागि निषेधाज्ञा खुल्ने पर्खाइमा छन् । लकडाउनले यातायात बन्द भएपछि उनले तीन हप्तादेखि डायलाइसिस गराउन पाएका छैनन् । ५२ वर्षीय कठायतले एक वर्षयता सेतीमा हरेक हप्तामा एकपटक डायलाइसिस गराउँदै आएका थिए ।

......

डेढ वर्षदेखि मिर्गौला प्रत्यारोपणका लागि पालो कुर्दै पर्शुराम

मञ्जु टेलर/नयाँ पत्रिका

काठमाडौं/ दुवै मिर्गौला फेल भएपछि २० पुस ०७६ देखि नियमित डायलाइसिस गरिरहेका गुल्मीका पर्शुराम घर्तीमगर मिर्गौला प्रत्यारोपणका लागि डेढ वर्षदेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा पालो कुरिरहेका छन् । उनकी श्रीमती मोनिता मिर्गौला दिन तयार छिन्, प्रत्यारोपणका लागि दुईपटक दुबैजनाको स्वास्थ्य अवस्था परीक्षण गरेर मिति तय भए पनि अहिलेसम्म प्रत्यारोपण हुन सकेको छैन । 

पर्शुरामले पहिलोपटक प्रत्यारोपणका लागि ०७६ माघमा स्वास्थ्य जाँच गराएका थिए । मिर्गौला दाताको स्वास्थ्य अवस्था नियमित अपडेट हुनुपर्ने भएकाले उनकी श्रीमती पनि पुसदेखि नियमित अस्पताल धाइरहेकी थिइन् । मिर्गौला प्रत्यारोपणका लागि स्वास्थ्य परीक्षण गरिएको तीन महिनाभित्र प्रत्यारोपण भइसक्नुपर्छ, तर पर्शुरामले चैतसम्म पालो पाएनन् । उनले प्रत्यारोपणका लागि फेरि सुरुदेखि स्वास्थ्य परीक्षण गर्नुपर्ने भयो । पहिलोपटकको परीक्षण र आवश्यक उपचारमा उनको ८० हजार रुपैयाँ खर्च भइसकेको थियो ।

गत ३० चैतमा उनले पुनः स्वास्थ्य परीक्षण गराए, अस्पतालले वैशाखको अन्तिम सातासम्म मिर्गौला प्रत्यारोपण गर्ने बताएको थियो, तर १६ वैशाखमै निषेधाज्ञा लागू भएपछि प्रत्यारोपण सेवा नै बन्द भयो । उनी भन्छन्, ‘दोस्रोपटकको परीक्षणमा पनि सबै गर्दा ७५ हजार रुपैयाँजति खर्च भएको थियो । यसपालि प्रत्यारोपण हुन्छ भनेर ढुक्क थिएँ, अब परीक्षणको म्याद पनि सकिन लागिसक्यो । प्रत्यारोपणका लागि राखेको पैसा परीक्षणमै सकिन लागिसक्यो, त्यसपछि पनि तीन–चार महिना अस्पतालमा बस्नुपर्छ रे । पैसा जुटाउनै गाह्रो पर्ने भयो ।’ डायलाइसिस निःशुल्क भइरहे पनि समयसमयमा दिनुपर्ने रगत र अन्य औषधिका लागि उनले प्रत्येक महिना २० देखि ३० हजार रुपैयाँ जुटाउनुपर्ने हुन्छ ।  

२७ मिर्गौला रोगी प्रत्यारोपणका लागि पालो कर्दै

भक्तपुर मानव अंग प्रत्यारोपण केन्द्रमा २७ जना बिरामी सबै आवश्यक परीक्षण गरेर मिर्गौला प्रत्यारोपणका लागि पालो कुरेर बसेका छन् । दुई सय ५० जनाले नियमित डायलाइसिस गराइरहेका छन् । तर, प्रत्यारोपण गरिएका बिरामीमा संक्रमणको जोखिम उच्च भएको भन्दै संसारभरि नै प्रत्यारोपण सेवा बन्द गरिएको छ । महामारीमा कतिपयले समयमै डायलाइसिससमेत नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था छ । तर, चिकित्सकहरूले भने महामारीमा नियमित डायलाइसिस गराइरहेका बिरामीमा मिर्गौला प्रत्यारोपण गर्दा ‘हत्या’ गरेसरह हुने भन्दै मिति सारिरहेका छन् ।

‘हामीले असोजदेखि चैतसम्म ३० वटा प्रत्यारोपण ग¥यौँ । प्रत्यारोपणका लागि तयारी गरिएका बिरामीमा संक्रमणका कारण रोकेका छौँ । अप्रेसन मात्र गरेर हँुदैन, सम्बन्धित परीक्षण गर्नुप¥यो, सबै ल्याबहरूले अहिले टेस्ट गरेका छैनन्, एक्सरे समयमा भइरहेको छैन,’ मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेमराज ज्ञवालीले भने, ‘प्रत्यारोपण गरिएका व्यक्तिमा कोभिडको मृत्युदर २५ प्रतिशत छ, यस्तो जटिलता थाहा हुँदाहँुदै प्रत्यारोपण गर्नु हत्या गर्नुसरह हुन्छ । संक्रमण नियन्त्रण यही दरमा घट्दै गएमा असारदेखि प्रत्यारोपण सुचारु गर्ने सोचेका छौँ ।’