१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
Invalid date format १८:१o:oo
Read Time : > 11 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

स्वास्थ्यकर्मीको आत्मसम्मान : हाम्रो स्वास्थ्य प्रणाली र सामाजिक मनोविज्ञान

डा. रामेश कोइराला, सञ्जीव पोखरेल, डा. अरुण उप्रेती र डा. विजय आचार्यसँग गरिएको संवादको सम्पादित अंश

Read Time : > 11 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

......

मिडियाको समाचारले पनि डाक्टरप्रति नकारात्मक धारणा फैलाएको छ : डा. रामेश कोइराला

अस्पतालमा हिंसा हुन्छ, तपाईं सञ्चारमाध्यमतिर औँला तेर्स्याउनुहुन्छ, किन ? 

‘डाक्टरको लापरबाहीले बिरामीको मृत्यु’ भनेर शीर्षक राखिएको हुन्छ । त्यसको कारण के हो भने कस्तो शीर्षक राख्दा बढीभन्दा बढी पाठकले पढ्छन् भन्ने लोभ । पाठक धेरै तान्ने लोभमा सनसनीखेज शीर्षक खोजिन्छ, जो एकदमै गलत हो । डाक्टरहरूप्रति समाजलाई नकारात्मक बनाउन यस्ता प्रवृत्तिले पनि भूमिका खेलेका छन् । अर्को उदाहरण हेरौँ, हालै एउटा अनलाइनमा ‘कोभिडका कारण एकैदिन पचासजना डाक्टरको मृत्यु’ शीर्षकको समाचार आयो । भएको भारतमा थियो । हेडलाइनमा भारत राख्दा र नराख्दा समाचार पढ्ने पाठकको संख्या आनका तान फरक पर्ने भएकाले पाठक तान्न भारत राखिएन । यस्तो खाले लोभका कारण स्वास्थ्यकर्मीहरू पिटिन्छन् भन्नलाई धक मान्नु पर्दैन । अस्पतालमा प्राथमिकता हेरी बिरामीको उपचार गरिन्छ भन्ने सबैले बुझ्नुपर्छ । यस विषयमा सञ्चारमाध्यमले नागरिक सुसूचित हुने गरी लेखिदिनुपर्छ । 

हरेक अस्पतालका स्वास्थ्यकर्मीको बोली र व्यवहारको कसैले जिम्मेवारी लिन सक्दैन । हिंसा हाम्रो समाजसँग जोडिएको छ । समाज आजको दिन डाक्टरलाई विश्वास नगर्ने अवस्थामा छ । समाजमा डाक्टर भन्नेबित्तिकै हिंस्रक भनेर बुझिन थालियो । डाक्टरसँग समाज धेरै रिसाएको छ । अर्को दुःखको कुरा हाम्रो दुई पुस्ता नै समृद्धिको आस गरेर बितिसकेको छ । आस गरेको छ, आन्दोलन गरेको छ । यसले पो हुन्छ कि वा त्यसले पो गरिहाल्छ कि भनेर नेतृत्व मात्रै होइन, राजनीतिक प्रणाली नै पटक–पटक परिवर्तन गर्दा पनि समृद्धि नदेखेको समाजमा आक्रोश छ, निराशा छ, क्षोभ छ । त्यो आक्रोश, निराशा, क्षोभले कहीँ न कहीँ निकास खोज्छ । पञ्चायतकालमा सानो ढुंगा पनि उठ्दैन थियो । अहिले एउटा पार्टीले बन्द गरायो भने पनि इँटा उठाएर हिर्काउन कत्ति पनि बेर, लाज लाग्दैन । डर पनि छैन । डाक्टरसँगै चाहिँ किन रिस भन्दाखेरि यो त्यस्तै क्षेत्र पनि हो । डाक्टर भनेका पैसा कमाउने मान्छे मात्रै हुन् भन्ने सोच छ । डाक्टरको जीवनशैलीसँग कतिलाई ईष्र्या हुन्छ । ईर्ष्या को कारणले यी डाक्टर खालि पैसाका पछि कुद्छन् भन्ने परेको छ । सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा केही लेख्यो भने यसखाले टिप्पणी देखिन्छन् । डाक्टरको कामै पैसाको पछि लाग्ने मात्रै हो भनेर बुझिएको देखिन्छ ।

डाक्टरप्रति अति विश्वास र उसले उपचार गरेपछि बिरामी निको भइहाल्छ भन्ने सोच पनि हिंसा बढाउन उत्प्रेरक भएको हो ? 

जुनियर डाक्टरहरू भएका ठाउँमा हिंसा हुने गरेका छन् । जति सिनियर डाक्टर भयो, घटना कम भएका छन् । सिनियर डाक्टरलाई विश्वास गरेको, जुनियरलाई ‘यो त सिकारु हो, यसैले बिगारिदियो’ भन्ने ठानेको हुनुपर्छ । जहाँ भिड हुन्छ, जहाँ मानिसको ज्यान जान सक्ने अवस्था हुन्छ, त्यो भनेको प्रसूति र आकस्मिक कक्षहरूमा हो– दुर्व्यवहार त्यहीँ हुने गर्छ । ‘मेरो बिरामीलाई हेरिदिएन’ वा ‘यो डाक्टरले गर्दा मेरो बिरामी म¥यो’ भनेर आवेशमा आई आक्रमण भएको पाइन्छ । अनि समाजले चाहिँ यस्ता घटनालाई सजिलै हजम गरिदिने, ‘दुःखमा परेका वेला आवेशमा हात छाड्यो त कुन अपराध गर्‍याे’ भनेर लिइदिने भयो । ‘जेल विदाउट बेल’को माग वर्षौं पुरानो हो । भारतमा चार वर्षदेखि ‘जेल विदाउट बेल’ अभ्यासमा छ । त्यहाँ हरेकजसो अस्पतालमा ‘स्वास्थ्यकर्मी र अस्पतालको सम्पत्तिमा आक्रमण जमानत नपाइने अपराध हो’ भनेर ठूलो साइनबोर्ड राखिएको हुन्छ । हामीले त्यही गराँै भनेको हो । तर, कानुन निर्माताहरू डराउनुभयो । हाम्रा अधिकांश कानुन निर्माता कुनै न कुनै हिंसाको पृष्ठभूमिबाट आएको हुनाले उहाँहरूलाई अस्पतालमा हुने आक्रमण सामान्य लागेको हो कि ? मान्छे मार्न मन लागेर कोही डाक्टरी पेसामा आएको होइन भनेर नागरिकले पनि बुझिदिनुपर्‍याे । यति मात्रै बुझिदिए हिंसा एक हदसम्म कम हुन्छ । कुनै पनि डाक्टरले बिरामी बचाउँदिनँ भनेर चाहिँ काम गर्दैन, योचाहिँ सबैले बुझिदिनुपर्‍याे । 

तपाईंले डाक्टरको जीवनशैलीसँग पनि इर्ष्या गर्छन् भन्ने कुरा गर्नुभयो । जस्तो– डाक्टर भनेको पैसा कमाउने पेसा हो । पैसा कमाउनका लागि प्रयत्न गर्छ, तर सेवासहितको पैसा कमाउँछ भन्ने कुरा पनि खुलस्त हुन नसकेको हो कि ? 

नेपालमा सरदर अरू पेसाभन्दा डाक्टरले अलि बढी वैध कमाइ गर्ने अवस्था छ । र, डाक्टरलाई कमाइ लुकाइरहनुपर्दैन । कमाएको पैसा समाजले देख्ने गरी खर्च गर्छ । उच्चस्तरको जीवनशैलीले समाजमा ईष्र्या पैदा गर्छ नै । त्यो ईष्र्याले कहीँ न कहीँ उसमाथि दुव्र्यवहार गर्न भूमिका खेलेको हुन्छ । डाक्टरबाहेकका स्वास्थ्यकर्मी (अहेब, नर्स आदि) भन्दा डाक्टर नै निसानामा पर्छन् । अरू स्वास्थ्यकर्मी हुँदा गुनासो गरिरहेको मान्छे अघिल्तिर डाक्टर भएपछि आक्रामक हुन्छ । यसलाई तथ्यांकबाट पनि पुष्टि गर्न सकिन्छ । एकीकृत स्वास्थ्य प्रणाली लागू भयो भने पनि हिंसा न्यूनीकरण गर्न सकिन्छ । किनभने त्यसले चाहिँ कुनै पनि बिरामी एम्बुलेन्स नबोलाई अस्पतालको आकस्मिक कक्षमा जाँदैन, त्यसैले बिरामीले चाहेको ठाउँमा जाने भएकाले त्यहाँ त्यस्तो सम्भावना कम हुन्छ । सहरहरूमा इन्टिग्रेटेड हेल्थ सिस्टम भनेको एम्बुलेन्समै आउनुपर्ने र एम्बुलेन्सबाटै कुन अस्पतालमा लैजानुपर्ने ? कस्तो बिरामी हो ? भनेर पूर्वजानकारी पनि हुने भएकाले कस्तो प्रतिक्रिया जनाउने ? कस्तो उपचार दिने ? भन्ने पनि पूर्वतयारी हुन्छ । र, त्यसले चाहिँ स्वास्थ्यकर्मीमाथि हुने हिंसालाई कम गराउँछ । 

समाजमा हिंसालाई हामीले एकदमै सामान्यीकरण गरेका छौँ । जस्तै– बच्चा स्कुलमा कसैले कुट्यो भनेर आयो भने दुई–चार मुक्का हानिनस् भनेर उल्टै हप्काउने प्रवृत्ति छ । सानैदेखि नै मान्छेलाई सामाजिकीकरणको अभ्यास नभएर हो ? यो प्रश्न विशाल सिलवालजीले गर्नुभएको छ । 

मैले अघि भनेँ नि समाजमा समृद्धि देख्न नपाएको रिस छ । अभिभावकको रूपमा पनि त्यो रिस प्रकट भइहाल्छ । समाजवादउन्मुख देशमा बच्चाको शिक्षामै आम्दानीको उल्लेख्य हिस्सा खर्च गर्नुपरेको छ । कसैले एउटा सुन्तला चो¥यो भने गाउँका १० जना मान्छे भेला भएर पिट्न थाल्छन् । त्यो भनेको हामीसँग एकदमै रिस छ । त्यो रिस हिंसामा परिणत हुन्छ, त्यसैले कानुन बलियो नहुनेबित्तिकै मान्छे हिंसा गर्न उद्यत हुन्छ । मान्छे समाजमा बस्छ, तर एकदमै असामाजिक हुन्छ । मान्छेलाई डर नभएपछि उसलाई कानुन उल्लंघन गर्न एकदमै सजिलो लाग्ने रहेछ । र, डर भनेको कानुन हो र त्यसको प्रभावकारी कार्यान्वयन हो । नत्र, हामी मान्छे हिंस्रक नै हौँ । हामी अराजक नै हौँ । 

स्वास्थ्यकर्मीको सुरक्षाका लागि राज्यले के गर्नुपर्छ ? 

जसरी ड्युटीमा रहेको सुरक्षाकर्मीलाई हातपात गर्दा छुट्टै कानुन आकर्षित हुन्छ, स्वास्थ्यकर्मीले खोजेको त्यही हो । हालै विराटनगरमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने दुईजना प्रहरी हिरासतमा छन् । तिनले मुद्दा खेप्नुपर्ने अनि जमानत पनि नपाउने हो भने भोलि अर्काले ड्युटीमा रहेको स्वास्थ्यकर्मीलाई हात हालिहाल्दैन । अर्को कुरा कुनै मानिसले चक्कु देखायो भने उसले केही त गरेको छैन, चक्कु त देखाएको हो नि भनेर छाडिदिने भन्ने हुँदैन । कार्यस्थलमा हिंसा हुन्छ भने उसमाथि कारबाही हुनुपर्छ । बिरामी पक्षले पनि कानुनी उपचार खोज्ने ठाउँ छ । डाक्टरले बिरायो भने मेडिकल काउन्सिल आदि छन्, त्यहाँ उजुरी गरौँ । स्वास्थ्यकर्मीका लापरबाहीमा बढीभन्दा बढी बिरामी पक्ष कानुनी उपचारमा गएर दण्ड प्रणालीलाई स्थापित गरौँ । 

......

हिंसा राज्यको सामाजिक र राजनीतिक संरचनाको अन्तर्विरोधसँग पनि सम्बन्धित छ : सञ्जीव पोखरेल, मानवशास्त्री

स्वास्थ्यकर्मीमाथि हुने गरेका हिंसाबारेमा गम्भीर अध्ययनको आवश्यकता छ । पहिलो त हिंसा कसबाट भइरहेको छ भन्ने जान्न जरुरी छ । कतिपय हिंसाका घटनामा बिरामी स्वयं पनि संलग्न हुने गर्छन् । बिरामीका आफन्तबाट हुने हिंसाको दर बढी छ । संगठित गिरोह पनि स्वास्थ्यकर्मीमाथि हुने हिंसामा संलग्न रहने गरेको कतिपय घटनाले देखाएका छन् । त्यसैगरी, हिंसाका घटना प्रायः आकस्मिक कक्ष र बिरामीको मृत्यु भएका अवस्थामा हुने गरेका छन् । यस्ता सबै सूचनालाई एकीकृत गरी कुन सन्दर्भमा, कसबाट, कुन अभिप्रायले हिंसा भइरहेको छ, त्यो बुझ्नुपर्ने हुन्छ । पाकिस्तानको एक अध्ययनले विपन्न वर्गका मानिस आफ्नो परिवारको सदस्य गुमाउनुपरेको अवस्थामा स्वास्थ्यकर्मीप्रति हिंसात्मक हुने गरेको देखाउँछ । यससँगै लागुपदार्थ वा मादक पदार्थको सेवन अर्को कारण देखिएको छ । बिरामीलाई अस्पताल लिएर जानेमा मादक पदार्थ सेवन गरेका व्यक्तिहरूले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि हातपात गर्ने प्रवृत्ति देखिएको छ । 

मानिसहरूमा अस्पताल र डाक्टरसँग रोगको अचुक उपचार हुन्छ भन्ने विश्वास छ । अभ्यासमा सधैँ यस्तो हुँदैन । रोगको जटिलताका कारण र चिकित्सकले प्रयास गर्दागर्दै पनि उपचार सफल नहुन सक्छ । बिरामी र बिरामीका आफन्तले मानव शरीरको जटिलता र चिकित्सकको ज्ञानको सीमितता बुझ्दैनन् । यसकारण परिवारको सदस्य, नातागोता वा चिनजानको मानिसको मृत्युमा स्वास्थ्यकर्मीको दोष देख्ने र कहिलेकाहीँ हिंसामा उत्रने प्रवृत्ति छ ।

यी भए स्वास्थ्यकर्मीमाथि हुने हिंसाका मानवीय वा सामाजिक पक्ष । त्यसबाहेक नेपालका सन्दर्भमा स्वास्थ्यकर्मीमाथि हुने हिंसालाई स्वास्थ्य सेवाको विद्यमान संरचनासँग जोडेर पनि हेर्नुपर्ने हुन्छ । हाम्रो स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ । यो सुधार हुँदै जानुको सट्टा विगतका तुलनामा थप अव्यवस्थित बनेको छ । यसो हुनुको कारण स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने राजनीतिक इच्छाशक्तिको अभाव हो । स्वास्थ्य राजनीतिक नेतृत्वको प्राथमिकतामा नपरेकाले यस क्षेत्रलाई स्रोतसाधन उपलब्ध गराउने र स्वास्थ्य सुशासनमा सुधार ल्याउने गम्भीर प्रयत्न हुन सकेको छैन । स्वास्थ्य क्षेत्र अस्तव्यस्त र अप्रभावकारी भएकाले यो सीमित मानिसहरूको नियन्त्रणमा छ र यसले सीमित मानिसहरूको स्वार्थलाई मात्र संरक्षण गर्न सकेको छ । नेपालको विद्यमान स्वास्थ्य सेवा संरचना जनता (वा बिरामी) तथा स्वास्थ्यकर्मी दुवैको हितमा छैन । यसले न त जनतालाई स्वास्थ्य सुरक्षा प्रदान गर्न सकेको छ, न त यसले स्वास्थ्यकर्मीलाई नै सुरक्षित बनाएको छ ।

आमजनताले स्वास्थ्य सुरक्षा नपाएका कारण सामान्य रोगको उपचारका लागि पनि ठूलो धनराशि आफ्नो खल्तीबाट खर्च गर्न आमजनता बाध्य छन् । गरिब तथा विपन्न समूहका लागि मात्र नभएर मध्यम वर्गका लागि समेत स्वास्थ्य सेवाको भार बढी छ । कतिपय अवस्थामा रोगको उपचार गर्दा मानिसहरूले घरखेत नै बेच्नुपर्ने बाध्यता छ । परिवारका एक सदस्यको रोगको उपचार गराउँदा समग्र परिवार चरम गरिबीको भुमरीमा पर्ने अवस्था छ । यसका कारण मानिसमा रोग र उपचारप्रति चर्को संवेदना जोडिएको छ ।

प्रभावकारी कानुन तथा नियमनको अभावमा स्वास्थ्य संस्थाबाट हुने औषधोपचार पारदर्शी र व्यवस्थित हुन सकेको छैन । नाफामूलक निजी स्वास्थ्य संस्थामा यो प्रवृत्ति झन् बढी छ । बिरामीले उचित स्वास्थ्य सेवा पाउन नसक्ने र स्वास्थ्यकर्मीको लापरवाहीबाट हुने गरेका घटनामा सम्बन्धितलाई कानुनअनुसार कारबाही गर्न असजिलो हुने गरेका कारण पनि मानिसमा स्वास्थ्य संस्थाप्रति विश्वास र सम्मानमा कमी देखिन्छ ।

स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार हुन नसक्दा र हालसम्म केन्द्रीकृत रहेका कारण यसले स्वास्थ्यकर्मीको हितलाई पनि संरक्षण गर्न सकेको छैन । स्वास्थ्यकर्मीको छनोट, नियुक्ति, परिचालन, मूल्यांकन आदि प्रक्रिया केन्द्रीकृत भएको अवस्थाको गम्भीर प्रभाव उनीहरूको वृत्तिविकासमा परेको छ । 

केन्द्रीकृत र अप्रभावकारी स्वास्थ्य क्षेत्रले सीमित नाफामुखी स्वास्थ्य संस्था र सरकारको उपरी तहमा बसेर काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्वको हित मात्र संरक्षण गरेको छ । यसकारण, आममानिसमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीप्रति चरम अविश्वास छ । आममानिसमा स्वास्थ्य सेवाप्रति रहेको शंका र अविश्वासका कारण पनि चिकित्सकहरू कार्यस्थलमा सुरक्षित छैनन् ।

आमजनतामा पर्ने स्वास्थ्य सेवाको भारलाई कम गर्ने उद्देश्यलाई केन्द्रमा राखेर स्वास्थ्य क्षेत्रलाई विकेन्द्रित गर्दै जाने र प्रदेश तथा स्थानीय सरकारलाई स्वास्थ्य सेवा प्रवाहमा थप जिम्मेवार बनाउँदै लाने हो भने यस क्षेत्रमा विद्यमान प्रशस्त विकृति तथा अनियमितता कम गर्न सकिन्छ । 

स्वास्थ्यकर्मीमाथि हुने हिंसा बुझ्न समाजको प्रवृत्तिलाई पनि बुझ्नुपर्छ । कानुनी शासनको अवधारणा नेपालमा दिनानुदिन कमजोर भइरहेको छ । दण्डहीनता बढेको छ । राजनीतिक दलहरूले जनताको सुरक्षाभन्दा पार्टीको स्वार्थ केन्द्रमा राखेका छन्, जसको कारण हिंसा र अपराधका घटनामा संलग्नहरूले राजनीतिक पार्टी र प्रभावशालीहरूको संरक्षणका कारण सहजै उन्मुक्ति पाउने अवस्था छ । समग्र राज्यमा दण्डहीनता हावी हुँदा स्वास्थ्यकर्मीहरू आफ्नो कार्यस्थलमा सुरक्षित छैनन् । शान्ति क्षेत्रका रूपमा पहिचान बनाउन चाहेको नेपालमा हिंसाले प्रश्रय पाउनु दुःखद छ ।

स्वास्थ्यकर्मीमाथि हुने हिंसामा यस क्षेत्रको संरचना पनि जिम्मेवार छ भन्नुको अर्को कारण के पनि हो भने स्वास्थ्यकर्मीलाई राज्यले समेत सुरक्षा र सहुलियत प्रदान गर्न सकेको छैन । स्वास्थ्य संस्थामा आवश्यक संख्यामा स्वास्थ्यकर्मीको नियुक्ति भएको छैन । कम स्वास्थ्यकर्मीले अत्यन्त सीमित साधनस्रोतका भरमा सेवा दिनुपर्ने बाध्यता छ । यो समस्या सार्वजनिकमा मात्र नभएर निजी अस्पतालमा पनि उत्तिकै छ ।

स्वास्थ्यकर्मीमाथि हिंसाका घटनामा अर्को बिर्सन नहुने कानुन र कानुनको कार्यान्वयनको अभाव पनि हो । स्वास्थ्य संस्थाहरूमा हिंसाका घटना हुँदा त्यसमा संलग्न हुनेहरूलाई कानुनअनुसार कारबाही गर्न सुरक्षाकर्मीको भूमिका निर्णायक हुन्छ । तर, आवश्यक कानुनको अभाव तथा भएका कानुनको पनि कार्यान्वयन क्षमताको अभावका कारण सुरक्षाकर्मीको भूमिका प्रभावकारी हुन सकेको छैन । यस्ता घटनामा सुरक्षाकर्मीको भूमिका हिंसा गर्ने र स्वास्थ्यकर्मीबीच मेलमिलाप गर्नेमा केन्द्रित देखिएको छ । यसमा सुधार आवश्यक छ ।

यस सन्दर्भमा सञ्चारमाध्यमको भूमिका र संवेदनशीलता पनि बुझ्न आवश्यक छ । स्वास्थ्य संस्थामा हुने घटनामा सञ्चारमाध्यमले स्वास्थ्यकर्मीलाई जिम्मेवार बनाउने प्रवृत्ति देखिन्छ । यसले स्वास्थ्यकर्मीप्रति अविश्वास बढाएको छ । परिणामस्वरूप एकातिर स्वास्थ्यकर्मी असुरक्षित छन् भने अर्कोतर्फ मिडियामार्फत गलत सूचना प्रवाह हुँदा घटनाको निष्पक्ष छानबिन पनि प्रभावित हुने गरेको छ । सञ्चारमाध्यमले स्वास्थ्यका क्षेत्रमा हुने र भएका घटनामा विषयवस्तु बुझ्न सक्ने र केही प्राविधिक ज्ञान भएको जनशक्ति उपयोग गर्दा सही सूचना प्रवाह हुन सक्छ । यसबाट स्वास्थ्यकर्मी असुरक्षित हुने सम्भावनालाई कम गर्न सकिन्छ ।

......

अस्पतालमा हिंसा रोक्न विशेष कानुन आवश्यक छ : डा. अरुण उप्रेती, अर्थोपेडिक रेजिडेन्ट

विराटनगरमा हालै ड्युटीमा तैनाथ स्वास्थ्यकर्मीमाथि आक्रमण भयो । महामारीको वेला पनि स्वास्थ्यकर्मीमाथि आक्रमण जारी रह्यो । किन भइरहेको छ, नियन्त्रण कसरी गर्ने ? 

उपचार गर्ने व्यक्ति र संस्था संसारैभरि आक्रमणको उच्च जोखिममा रहन्छन् । अस्पतालमा कसैले अभिभावक त कसैले सन्तान गुमाइरहेका हुन्छन् । बिरामी पीडामा छटपटाइरहेका हुन्छन् । आफ्नो मान्छे गुमाउँदा वा गुमाउने सम्भावना देखिँदा आवेग–आक्रोश पोख्ने क्रममा कोही आवेशमा आउँछन्, आक्रामक भइदिन्छन् । कुनै न कुनै प्रकारको हिंसा अस्पतालमा देखिन्छ । संसारभरिका अध्ययनले देखाएअनुसार सुरक्षाकर्मीपछि हिंसाको जोखिममा रहने समूह भनेको स्वास्थ्यकर्मी नै हो । यसको मतलब स्वास्थ्यकर्मीको सुरक्षाका खातिर छुट्टै कानुन चाहिन्छ, सुरक्षाकर्मीमाथि हिंसा गर्नेलाई जसरी दण्डित गर्न । हामीकहाँ बाटोमा हिँडिरहेको मानिसलाई कसैले हातपात गर्‍याे भने जुन कानुन लाग्छ, त्यही कानुन अस्पतालमा स्वास्थ्यकर्मीमाथि हिंसा हुँदा लाग्ने हो । त्यही कानुनअनुसार पनि दोषी दण्डित भइहाल्छन् भन्ने छैन । यहाँ पीडक कुनै राजनीतिक दलसँग आबद्ध छ वा पहुँचवाला छ भने सुलह गर्न दबाब पर्छ । ०६२–६३ पछि कार्यस्थलमा हिंसा बढेको देखिन्छ, जेमा पनि राजनीतिक दलहरू हावी भएका कारण । 

हाम्रोमा अर्को समस्या पनि छ– डाक्टरले उपचारमा लापरवाही गरेको खण्डमा दण्डित गर्ने कारबाहीको प्रणाली स्थापित भइसकेको छैन । यसले पनि स्वास्थ्य क्षेत्रमा हिंसालाई बढावा दिएको छ । लापरवाहीबारे हामीमा विद्यमान धारणामा पनि समस्या छ । जस्तो कि कुनै बिरामीलाई केही अप्ठ्यारो भयो भने डाक्टरले गडबड गर्दियो भन्ने खाले धारणा बनिसकेको हुन्छ । फेरि उपचारमा अरू पक्षको पनि हात हुन्छ । जस्तो, कुनै बिरामीलाई अक्सिजन दिन प्रशासनिक वा अरू कारणले विलम्ब भयो भने डाक्टरले दिएन भन्ने लाग्छ । यस्ता कारणले पनि स्वास्थ्य क्षेत्रमा सुरक्षा चुनौती थपिएका छन् । दण्डको थिति नबसाली नियन्त्रण गर्न सकिन्न । अन्यत्र विशेष कानुन हुन्छन् । भारतमै कोभिड संक्रमण बढिसकेपछि स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेमाथि तीन वर्षदेखि पाँच वर्षसम्म जेल सजाय हुने र निश्चित जरिवाना पनि तिर्नुपर्ने गरी दण्डनीय बनाइयो । यस्तै माग नेपालमा विगत आठ–दश वर्षदेखि हुँदै आएको छ, आन्दोलनहरू पनि भएका छन् । माग सम्बोधन हुनुको सट्टा उल्टै डाक्टरलाई कमजोर बनाउने खालका नियम आएका छन् । जस्तै, बागमती प्रदेशमा नै डाक्टरले रिफर गर्न नपाउने भनेर एउटा कानुन आएको थियो, विकल्पमा के गर्ने भन्नेचाहिँ थिएन ।

हाम्रोमा विश्वासको अभाव हो कि जस्तो पनि देखिन्छ । नेता, पत्रकार र हुँदाहुँदा डाक्टरलाई पनि विश्वास नगर्ने अवस्था देखिन्छ । यो अविश्वासको वातावरणको सिकार पनि चिकित्सकहरू भएका हुन् ? 

– सबै क्षेत्रमा अविश्वास बढ्दो छ । जस्तै, अहिले पनि म लुगा किन्न जाँदा आमा छोरा ठगिन्छ कि भनेर चिन्ता गर्नुहुन्छ । पसलेले परल मोलमा सामान दिन्छ भनेर उहाँलाई विश्वासै छैन । समाचार छापिएपछि पत्रकारले के स्वार्थमा यो लेख्यो भनेर सोच्ने अवस्था छ । यो समस्या स्वास्थ्य क्षेत्रमा पनि देखिएको हो । तैपनि, अध्ययनहरूले देखाएअनुसार अहिले पनि स्वास्थ्यकर्मीलाई अन्य पेसाकर्मी र व्यवसायीभन्दा बढी विश्वास गरिन्छ । तर, हिंसाको जोखिम भएको क्षेत्र हुनाले थोरै मात्रै अविश्वासमा पनि हिंसाको खतरा हुन्छ ।

स्वास्थ्य क्षेत्रमा त्यस्ता के बेथिति छन्, जसका कारण यो क्षेत्रप्रति अविश्वास बढ्दो छ ?

हामी जहिल्यै ‘हाम्रो स्वास्थ्य क्षेत्रमा कमीकमजोरी छन् र त हिंसा हुन्छ’ भनेर हिंसाको औचित्य पुष्टि गर्न खोज्छौँ । कुनै पनि हालतमा हिंसालाई पुष्टि वा स्वीकार गर्न सकिँदैन । सबै क्षेत्रमा यो हुँदैन । जस्तो, पत्रकारितामा गलत समाचार प्रकाशन भयो भन्दैमा मानिस पिट्नै आइहाल्दैनन्, सञ्चारगृहमा धावा बोलिहाल्दैनन् । स्वास्थ्य क्षेत्रमा हिंसा हुनुको कारण अविश्वास हो भन्ने भनाइ पूरा सत्य होइन । यो सोच बदल्नुपर्छ, सँगसँगै समग्र स्वास्थ्य प्रणाली बदल्नु जरुरी छ । 

स्वास्थ्य क्षेत्रमा हुने यस्ता हिंसाका घटनाहरूको विश्वव्यापी अवस्था के छ ?

–अस्पताल भनेकै दुःख–अप्ठ्यारो परेपछि पुग्ने थलो हो । नेपालमा मात्रै होइन, दुनियाँका अधिकांश ठाउँमा अस्पतालमा हिंसा हुन्छ । हिंसा हुन्छ भनेर थाहा भएकैले प्रायः मुलुकमा कडा कानुन बनाइएका छन् । हामीकहाँ पनि प्रहरी वा अन्य यस्ता जोखिमयुक्त क्षेत्रका लागि विशेष कानुन छन् । जस्तो कि ड्युटीमा तैनाथ प्रहरीलाई कसैले हातपात गरे विशेष कानुनअन्तर्गत कारबाहीको व्यवस्था छ । प्रहरीलाई त्यहीअनुसार तालिम दिइएको हुन्छ । कतिपय मुलुकमा त आक्रमणको जोखिममा रहेको समूह भएकाले स्वास्थ्यकर्मीलाई पनि सुरक्षाको आधारभूत तालिमको व्यवस्था छ । स्वास्थ्यकर्मीमाथि हुने हिंसा विश्वमा जताततै भए पनि दक्षिण एसियाली मुलुकमा फरक प्रकृतिको छ । स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष कानुन चाहिन्छ भनेर स्वास्थ्य र कानुन मन्त्रालयले राम्रोसँग बुझेका छन् । पटक–पटक आन्दोलन गरेर राम्रोसँग बुझाएका छौँ । हामीलाई अस्पतालमै आएर कुटपिट गर्दा प्रहरीचाहिँ ‘यो दुई पक्षको झडप हो, यही मिलाउनु उपयुक्त हुन्छ’ भनेर त्यतातिर केन्द्रित हुन्छ । अति सामान्य विवादका रूपमा लिने गरिएको छ । हालै ड्युटीका प्रहरीमाथि कुटपिट हुँदा गरिने कारबाही गर्ने भन्ने निर्णय भएको थियो । तर, त्यो कहीँ कार्यान्वयन भएको जानकारी छैन । म चरिकोटमा कार्यरत रहँदा भएका घटनाहरूमा सुरक्षा निकायले गम्भीरता महसुस गरेको कहिल्यै पाइनँ । 

हिंसाका लागि सञ्चारमाध्यमलाई पनि जिम्मेवार ठह¥याएर सामाजिक सञ्जालमा लेख्नुहुन्छ, सञ्चारकर्मीले के गल्ती गरे ? 

भैरहवाको एउटा उदाहरण छ । पेट दुखेर हिँड्दै आएको मान्छे मृत्यु भएपछि हुलदंगा भएको थियो । त्यतिवेला लापरवाहीको आरोप लगाउँदै तनाव भनेर समाचार प्रकाशन–प्रसारण भयो । तर, हिँड्दै आएका ती बिरामीलाई हृदयाघात भएको थियो । यसरी अपूर्ण समाचार आउँदा चिकित्सकप्रति अविश्वास बढाउँदै लगेको छ । अर्को त सबैतिर भ्रष्ट छन् भन्ने आमधारणा छ । त्यसैको प्रतिछाया अस्पताल मात्रै होइन, जहाँ पनि देखिन्छ । पटक–पटक सञ्चारकर्मीसँग संवाद पनि गरेको छु । सञ्चारमाध्यममा स्वास्थ्यसम्बन्धी समाचारको कभरेज एकदमै कमजोर देखिन्छ । यसै पनि नेपालीमा स्वास्थ्यसम्बन्धी बुझाइ कमजोर छ । जस्तो कि अस्पताल जानेबित्तिकै हेरिदिनुपर्ने बुझाइ छ । दुनियाँभर हेर्नुभयो भने कहीँ त १० घन्टासम्म पर्खिनुपर्ने (वेट आवर) हुन्छ । हाम्रो त धेरै अस्पतालमा दुई घन्टाभन्दा कम मात्रै ‘वेट आवर’ छ । सञ्चारमाध्यमले यस्ता अभ्यास सुसूचित नगर्दिंदा पनि विश्वासमा संकट पैदा गरेको छ ।

......

कार्यस्थलमा हिंसा नेपालमा मात्रै होइन, संसारैभरि ठूलो समस्याका रूपमा छ : विजय आचार्य

कार्यस्थलमा हिंसा नेपालमा मात्रै होइन, संसारैभरि ठूलो समस्याका रूपमा छ । चीनमा झन् बढी छ । स्वास्थ्यकर्मीलाई कसरी सुरक्षित गर्ने भन्ने बहस छ । अहिले महामारीदेखि लिएर राज्यप्रतिको फ्रस्टेसन उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि पोख्ने गरेको पाइन्छ । उपचारको क्रममा आफन्तको मृत्यु भयो भने सबै सामाजिक, आर्थिक, राजनीतिक विषयको रिसचाहिँ स्वास्थ्यकर्मीमाथि पोख्ने गरेको देखिन्छ । नेपालमा डाक्टरलाई समाजले पनि एकदमै सम्मान गरेको छ, डाक्टरसाहेब भनेर सम्बोधन नगर्ने बिरलै हुन्छन् । साहेबमा बानी परेर कसैले डाक्टर मात्रै भनिदँदा अपमान गरेको ठानिन्छ । यसमा चाहिँ डाक्टरलाई पनि तालिमको जरुरी देखिन्छ । डाक्टरले बिरामीको अवस्था, पीडा र दुःखाइलाई बुझ्न नसकेका कारण पनि हिंसा हुन सक्छ । स्वास्थ्यकर्मीले बिरामीप्रति कसरी व्यवहार गर्ने, कसरी सहानुभूति देखाउने भन्ने कुरा पनि हुन्छ । तैपनि कानुन नै नभएका कारण डाक्टरमाथि हिंसा बढेको हो । अस्पतालमा कुनै गुनासो गर्नेबित्तिकै खर्च हुन्छ भनेर माफी मागिहाल्ने प्रवृत्ति पनि छ । डाक्टर भनेको चाहिँ एउटा सफल र समाजको प्रतिष्ठित पेसा अँगालेको मान्छे हो भनेपछि उसप्रति केही निराशा र रिस पोख्ने गरेको त भइराखेकै छ । नियन्त्रणका लागि सरकारले प्रयत्न गरिराख्नुपर्छ ।