१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
Invalid date format १७:४६:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

हिंसा राज्यको सामाजिक र राजनीतिक संरचनाको अन्तर्विरोधसँग पनि सम्बन्धित छ : सञ्जीव पोखरेल, मानवशास्त्री

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४६:oo

स्वास्थ्यकर्मीमाथि हुने गरेका हिंसाबारेमा गम्भीर अध्ययनको आवश्यकता छ । पहिलो त हिंसा कसबाट भइरहेको छ भन्ने जान्न जरुरी छ । कतिपय हिंसाका घटनामा बिरामी स्वयं पनि संलग्न हुने गर्छन् । बिरामीका आफन्तबाट हुने हिंसाको दर बढी छ । संगठित गिरोह पनि स्वास्थ्यकर्मीमाथि हुने हिंसामा संलग्न रहने गरेको कतिपय घटनाले देखाएका छन् । त्यसैगरी, हिंसाका घटना प्रायः आकस्मिक कक्ष र बिरामीको मृत्यु भएका अवस्थामा हुने गरेका छन् । यस्ता सबै सूचनालाई एकीकृत गरी कुन सन्दर्भमा, कसबाट, कुन अभिप्रायले हिंसा भइरहेको छ, त्यो बुझ्नुपर्ने हुन्छ । पाकिस्तानको एक अध्ययनले विपन्न वर्गका मानिस आफ्नो परिवारको सदस्य गुमाउनुपरेको अवस्थामा स्वास्थ्यकर्मीप्रति हिंसात्मक हुने गरेको देखाउँछ । यससँगै लागुपदार्थ वा मादक पदार्थको सेवन अर्को कारण देखिएको छ । बिरामीलाई अस्पताल लिएर जानेमा मादक पदार्थ सेवन गरेका व्यक्तिहरूले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि हातपात गर्ने प्रवृत्ति देखिएको छ । 

मानिसहरूमा अस्पताल र डाक्टरसँग रोगको अचुक उपचार हुन्छ भन्ने विश्वास छ । अभ्यासमा सधैँ यस्तो हुँदैन । रोगको जटिलताका कारण र चिकित्सकले प्रयास गर्दागर्दै पनि उपचार सफल नहुन सक्छ । बिरामी र बिरामीका आफन्तले मानव शरीरको जटिलता र चिकित्सकको ज्ञानको सीमितता बुझ्दैनन् । यसकारण परिवारको सदस्य, नातागोता वा चिनजानको मानिसको मृत्युमा स्वास्थ्यकर्मीको दोष देख्ने र कहिलेकाहीँ हिंसामा उत्रने प्रवृत्ति छ ।

यी भए स्वास्थ्यकर्मीमाथि हुने हिंसाका मानवीय वा सामाजिक पक्ष । त्यसबाहेक नेपालका सन्दर्भमा स्वास्थ्यकर्मीमाथि हुने हिंसालाई स्वास्थ्य सेवाको विद्यमान संरचनासँग जोडेर पनि हेर्नुपर्ने हुन्छ । हाम्रो स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ । यो सुधार हुँदै जानुको सट्टा विगतका तुलनामा थप अव्यवस्थित बनेको छ । यसो हुनुको कारण स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने राजनीतिक इच्छाशक्तिको अभाव हो । स्वास्थ्य राजनीतिक नेतृत्वको प्राथमिकतामा नपरेकाले यस क्षेत्रलाई स्रोतसाधन उपलब्ध गराउने र स्वास्थ्य सुशासनमा सुधार ल्याउने गम्भीर प्रयत्न हुन सकेको छैन । स्वास्थ्य क्षेत्र अस्तव्यस्त र अप्रभावकारी भएकाले यो सीमित मानिसहरूको नियन्त्रणमा छ र यसले सीमित मानिसहरूको स्वार्थलाई मात्र संरक्षण गर्न सकेको छ । नेपालको विद्यमान स्वास्थ्य सेवा संरचना जनता (वा बिरामी) तथा स्वास्थ्यकर्मी दुवैको हितमा छैन । यसले न त जनतालाई स्वास्थ्य सुरक्षा प्रदान गर्न सकेको छ, न त यसले स्वास्थ्यकर्मीलाई नै सुरक्षित बनाएको छ ।

आमजनताले स्वास्थ्य सुरक्षा नपाएका कारण सामान्य रोगको उपचारका लागि पनि ठूलो धनराशि आफ्नो खल्तीबाट खर्च गर्न आमजनता बाध्य छन् । गरिब तथा विपन्न समूहका लागि मात्र नभएर मध्यम वर्गका लागि समेत स्वास्थ्य सेवाको भार बढी छ । कतिपय अवस्थामा रोगको उपचार गर्दा मानिसहरूले घरखेत नै बेच्नुपर्ने बाध्यता छ । परिवारका एक सदस्यको रोगको उपचार गराउँदा समग्र परिवार चरम गरिबीको भुमरीमा पर्ने अवस्था छ । यसका कारण मानिसमा रोग र उपचारप्रति चर्को संवेदना जोडिएको छ ।

प्रभावकारी कानुन तथा नियमनको अभावमा स्वास्थ्य संस्थाबाट हुने औषधोपचार पारदर्शी र व्यवस्थित हुन सकेको छैन । नाफामूलक निजी स्वास्थ्य संस्थामा यो प्रवृत्ति झन् बढी छ । बिरामीले उचित स्वास्थ्य सेवा पाउन नसक्ने र स्वास्थ्यकर्मीको लापरवाहीबाट हुने गरेका घटनामा सम्बन्धितलाई कानुनअनुसार कारबाही गर्न असजिलो हुने गरेका कारण पनि मानिसमा स्वास्थ्य संस्थाप्रति विश्वास र सम्मानमा कमी देखिन्छ ।

स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार हुन नसक्दा र हालसम्म केन्द्रीकृत रहेका कारण यसले स्वास्थ्यकर्मीको हितलाई पनि संरक्षण गर्न सकेको छैन । स्वास्थ्यकर्मीको छनोट, नियुक्ति, परिचालन, मूल्यांकन आदि प्रक्रिया केन्द्रीकृत भएको अवस्थाको गम्भीर प्रभाव उनीहरूको वृत्तिविकासमा परेको छ । 

केन्द्रीकृत र अप्रभावकारी स्वास्थ्य क्षेत्रले सीमित नाफामुखी स्वास्थ्य संस्था र सरकारको उपरी तहमा बसेर काम गर्ने कर्मचारी र राजनीतिक नेतृत्वको हित मात्र संरक्षण गरेको छ । यसकारण, आममानिसमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीप्रति चरम अविश्वास छ । आममानिसमा स्वास्थ्य सेवाप्रति रहेको शंका र अविश्वासका कारण पनि चिकित्सकहरू कार्यस्थलमा सुरक्षित छैनन् ।

आमजनतामा पर्ने स्वास्थ्य सेवाको भारलाई कम गर्ने उद्देश्यलाई केन्द्रमा राखेर स्वास्थ्य क्षेत्रलाई विकेन्द्रित गर्दै जाने र प्रदेश तथा स्थानीय सरकारलाई स्वास्थ्य सेवा प्रवाहमा थप जिम्मेवार बनाउँदै लाने हो भने यस क्षेत्रमा विद्यमान प्रशस्त विकृति तथा अनियमितता कम गर्न सकिन्छ । 

स्वास्थ्यकर्मीमाथि हुने हिंसा बुझ्न समाजको प्रवृत्तिलाई पनि बुझ्नुपर्छ । कानुनी शासनको अवधारणा नेपालमा दिनानुदिन कमजोर भइरहेको छ । दण्डहीनता बढेको छ । राजनीतिक दलहरूले जनताको सुरक्षाभन्दा पार्टीको स्वार्थ केन्द्रमा राखेका छन्, जसको कारण हिंसा र अपराधका घटनामा संलग्नहरूले राजनीतिक पार्टी र प्रभावशालीहरूको संरक्षणका कारण सहजै उन्मुक्ति पाउने अवस्था छ । समग्र राज्यमा दण्डहीनता हावी हुँदा स्वास्थ्यकर्मीहरू आफ्नो कार्यस्थलमा सुरक्षित छैनन् । शान्ति क्षेत्रका रूपमा पहिचान बनाउन चाहेको नेपालमा हिंसाले प्रश्रय पाउनु दुःखद छ ।

स्वास्थ्यकर्मीमाथि हुने हिंसामा यस क्षेत्रको संरचना पनि जिम्मेवार छ भन्नुको अर्को कारण के पनि हो भने स्वास्थ्यकर्मीलाई राज्यले समेत सुरक्षा र सहुलियत प्रदान गर्न सकेको छैन । स्वास्थ्य संस्थामा आवश्यक संख्यामा स्वास्थ्यकर्मीको नियुक्ति भएको छैन । कम स्वास्थ्यकर्मीले अत्यन्त सीमित साधनस्रोतका भरमा सेवा दिनुपर्ने बाध्यता छ । यो समस्या सार्वजनिकमा मात्र नभएर निजी अस्पतालमा पनि उत्तिकै छ ।

स्वास्थ्यकर्मीमाथि हिंसाका घटनामा अर्को बिर्सन नहुने कानुन र कानुनको कार्यान्वयनको अभाव पनि हो । स्वास्थ्य संस्थाहरूमा हिंसाका घटना हुँदा त्यसमा संलग्न हुनेहरूलाई कानुनअनुसार कारबाही गर्न सुरक्षाकर्मीको भूमिका निर्णायक हुन्छ । तर, आवश्यक कानुनको अभाव तथा भएका कानुनको पनि कार्यान्वयन क्षमताको अभावका कारण सुरक्षाकर्मीको भूमिका प्रभावकारी हुन सकेको छैन । यस्ता घटनामा सुरक्षाकर्मीको भूमिका हिंसा गर्ने र स्वास्थ्यकर्मीबीच मेलमिलाप गर्नेमा केन्द्रित देखिएको छ । यसमा सुधार आवश्यक छ ।

यस सन्दर्भमा सञ्चारमाध्यमको भूमिका र संवेदनशीलता पनि बुझ्न आवश्यक छ । स्वास्थ्य संस्थामा हुने घटनामा सञ्चारमाध्यमले स्वास्थ्यकर्मीलाई जिम्मेवार बनाउने प्रवृत्ति देखिन्छ । यसले स्वास्थ्यकर्मीप्रति अविश्वास बढाएको छ । परिणामस्वरूप एकातिर स्वास्थ्यकर्मी असुरक्षित छन् भने अर्कोतर्फ मिडियामार्फत गलत सूचना प्रवाह हुँदा घटनाको निष्पक्ष छानबिन पनि प्रभावित हुने गरेको छ । सञ्चारमाध्यमले स्वास्थ्यका क्षेत्रमा हुने र भएका घटनामा विषयवस्तु बुझ्न सक्ने र केही प्राविधिक ज्ञान भएको जनशक्ति उपयोग गर्दा सही सूचना प्रवाह हुन सक्छ । यसबाट स्वास्थ्यकर्मी असुरक्षित हुने सम्भावनालाई कम गर्न सकिन्छ ।