१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख ३० आइतबार o९:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

शव दहन गर्ने पशुपति विकास कोषका  कर्मचारीलाई एक हजार भत्ता, नेपाली सेनाबाट खटिएकाले पाउँदैनन् प्रोत्साहन भत्ता

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o९:३३:oo

पशुपतिस्थित भस्मेश्वर घाटमा जोखिम मोलेर कोभिडबाट मृत्यु भएकाको शव दहनमा संलग्न दहनकर्ताबीच प्रोत्साहन भत्तामै उपेक्षा गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार कोभिडबाट मृत्यु भएकामध्ये झन्डै ६० प्रतिशत शव भस्मेश्वर घाटमा दहन हुँदै आएका छन् । जसमा सेनाका ४० सुरक्षाकर्मी र पशुपति क्षेत्र विकास कोषबाट खटिएका ३५ गरी ७५ जना छन् । जसमध्ये विकास कोषबाट खटिएका दहनकर्ताले जोखिम मोलेबापत प्रतिशव एक हजार रूपैयाँ प्रोत्साहन भत्ता पाउँछन् । तर, सेनाबाट खटिएका सुरक्षाकर्मी कसैले पनि प्रोत्साहन भत्ता पाउँदैनन् ।

सहायक रथी सन्तोषबल्लभ पौडेल, प्रवक्ता नेपाली सेना

सरकारले शव दहन गर्ने जिम्मा हामीलाई दिएको छ । त्यसैले नेपाली सेना यसलाई आफ्नो कर्तव्य सम्झी खटिँदै आएको छ । यसबापत सेनाले कुनै प्रोत्साहन भत्ता पाउँदैन । ‘सरकारले अतिरिक्त सुरक्षा भत्ता दिने भनेको हो । तर, अहिलेसम्म कसैले पाउन सकेका छैनन् ।

कोषबाट खटिएका दहनकर्तालाई संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले नै जोखिम मोलेबापत प्रोत्साहन भत्ता दिने निर्णय भएको हो । तर, सेनाबाट खटिएका सुरक्षाकर्मीका लागि भने त्यस्तो व्यवस्था नभएको विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले बताए । ‘भस्मेश्वर घाटमा अहिले कोभिडबाट मृत्यु हुने सरदर सयको हाराहारीमा शव दहन हुँदै आएका छन् । जसका लागि सेनाबाट ४० र कोषबाट ३५ जना खटिएका छन् । कोषबाट खटिएकालाई प्रतिशव एक हजार रुपैयाँ भत्ता दिने भनिएको छ । सेनाको हकमा उत्तैबाट केही व्यवस्था होला कि,’ उनले भने ।

कोभिडबाट मृत्यु हुनेको शव दहन गर्ने मुख्य जिम्मा सेनाले लिएको छ । त्यसो हुँदा मुलुकभर मृत्यु भएका संक्रमितको शव सेनाले नै दहन गर्दै आएको छ । यसका लागि दैनिक सयदेखि एक सय ५० जना सुरक्षाकर्मी खटिँदै आएका छन् । यसरी खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय नभएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रोत्साहन भत्ताभन्दा पनि सेनाले आफ्नो दायित्व पूरा गरिरहेको बताए । ‘सरकारले शव दहन गर्ने जिम्मा हामीलाई दिएको छ । त्यसैले सेना यसलाई आफ्नो कर्तव्य सम्झी खटिँदै आएको छ । यसबापत सेनाले कुनै प्रोत्साहन भत्ता पाउँदैन,’ उनले भने ।

घोषित अतिरिक्त भत्तासमेत कसैले पाएनन् 
कोभिडको महामारीका क्रममा अग्रपंक्तिमा खटिएकालाई सरकारले अतिरिक्त भत्ता दिने निर्णय गरेको थियो । विशेष गरी सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीलाई सरकारले यस पंक्तिमा राखेको थियो । तर, घोषणा भएको वर्षदिन बितिसक्दा पनि कसैले अतिरिक्त भत्ता पाउन सकेका छैनन् ।

कोभिड संक्रमणकै कारण सेनाका दुई, नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका दुई गरी ११ सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन् । तीनवटै सुरक्षा निकाय गरी १३ हजार चार सय ४२ संक्रमित भएका छन् । यो दर अझ बढ्दो छ । त्यस्तै, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी पनि कोभिडबाट मृत्यु भएका छन् । संक्रमित हुने दर पनि उत्तिकै छ । तर, घोषणा भएको अतिरिक्त भत्ता भने कसैले पाउन सकेका छैनन् । ‘सरकारले अतिरिक्त सुरक्षा भत्ता दिने भनेको हो । तर, अहिलेसम्म कसैले पाउन सकेका छैनन् । यसैका आधारमा ड्युटी नै प्रभावित हुने भन्ने होइन,’ सैनिक प्रवक्ता पौडेलले भने ।

रक्षा मन्त्रालयका प्रवक्ता कृष्ण ज्ञवालीले अग्रपंक्तिमा खटिनेलाई दिने भनिएको अतिरिक्त भत्ताबारे नयाँ केही नभएको बताए । ‘सरकारले अग्रपंक्तिमा खटिनेहरूलाई भत्ता दिने भनेको हो । तर, यसबारेमा नयाँ केही डेभलपमेन्ट भएजस्तो लाग्दैन । पहिला जे निर्णय भएको हो, विषयवस्तु त्यही नै हुन्,’ उनले भने ।

ad
ad