१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मञ्जु टेलर काठमाडौं
२o८१ बैशाख २० बिहीबार o४:२o:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा, तर वीर र शिक्षणका अत्याधुनिक भवन खाली

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, 'अक्सिजन पाए अस्पतालले दोब्बर बेड चलाउन सक्छन्'

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o४:२o:oo

......

निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा 

 

तर, वीर र शिक्षणका अत्याधुनिक भवन खाली

दुई अर्ब २६ करोडमा बनेको वीरको नयाँ सर्जिकल भवन ६ सय ५० बेड क्षमताको हो । तत्कालै दुई सय ७० बिरामी राख्न सकिने गरी बेड पनि छन्, तर अक्सिजन नपाए बिरामीको मृत्यु हुने भन्दै वीरले भर्ना गर्न मानेन ।

 

शिक्षण अस्पतालमा सुरेश वाग्ले क्यान्सर भवन आठ तलाको छ, नवनिर्मित यो विशाल भवनमा तत्कालै दुई सय बेड सञ्चालन गर्न सकिन्छ । तर, अक्सिजन अभावले जम्मा ४० बेड मात्र सञ्चालन गरिएको छ । 

......

महामारीले आक्रान्त जनताको चाप धान्न नसकेर टेकु अस्पतालले पेटीमा बेन्चमा मात्र होइन, भुइँमा समेत राखेर उपचार गराइरहेको छ । जम्मा पाँच बेड क्षमताको इमर्जेन्सी वार्डमा ५२ जना बिरामी छन् । पटक–पटक परिरहेको पानीले भुइँका बिरामी भिज्न थालेपछि अस्पताल प्रशासनले पार्किङ खाली गरेर बेड थपेको छ । अस्पतालले पार्किङ खाली गरेर १० बेड राखेको छ । तैपनि धेरै बिरामी अझै पनि बाहिरै छन् । यीमध्ये २७ बिरामी गम्भीर छन् जसलाई आइसियूमा राख्न आवश्यक छ, तर बेडसमेत नपाएर पेटीमै सुतेर जीवनका लागि संघर्ष गरिरहेका छन् । 

टेकुको इमर्जेन्सी वार्डका प्र्रमुख लीलानाथ भण्डारी भन्छन्, ‘सकेसम्म हाइफ्लो अक्सिजन आवश्यक पर्ने बिरामीलाई वार्डमा सार्ने कोसिस गरिरहेका छौँ । तर, वार्डमा सबैजना गम्भीर बिरामी भएकाले निको हुने दर कम छ, अपेक्षित बेड खाली हुन सकेको छैन । त्यसैले आइसियूमा राख्नुपर्ने बिरामीसमेत तीन–चार दिन बाहिरै हुनुहुन्छ ।’ 

एकातिर निमोनियाले ग्रसित बिरामी टेकुको चिसो भुइँमा छन्, उता दुई किलोमिटर पर वीर अस्पतालमा भर्खरै निर्माण गरिएको भव्य सर्जिकल भवन खाली छ । दुई अर्ब २६ करोड लगानीमा भर्खरै निर्माण भएको यो भवनमा ६ सय ५० बेड राख्ने योजना छ । कम्तीमा दुई सय ७० बेडमा तत्कालै बिरामी राख्न सकिने स्वास्थ्य मन्त्रालयले नै स्पष्ट पारेको छ । टेकु वा अन्य अस्पतालको पेटीमा रहेका बिरामी वीरमा सार्न सकिए कम्तीमा न्यानो बेडमा उपचार पाउँथे । तर, सरकारले अक्सिजन नदिएको भन्दै वीरले नयाँ बेड सञ्चालन गरेको छैन ।

वीरको सर्जिकल भवनमा कम्तीमा एक सय नयाँ बेडमा मंगलबारदेखि नै कोभिडका बिरामी राख्ने तयारी गरिएको थियो । तर, अक्सिजन नपाएकाले बिरामी राख्न नसकिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सर्जिकल भवन सञ्चालन गर्न वीरलाई पटकपटक निर्देशन दिएको छ । तर, सरकारले अक्सिजन नदिएका भन्दै वीरले नयाँ बेडमा बिरामी राख्न मानेको छैन । ‘एक सय नयाँ बेड अहिले नै सञ्चालन गर्न सकिन्छ । तर, पुरानै भवनमा भएका बिरामीलाई पनि पुग्ने अक्सिजन आएको छैन । थप बिरामी भर्ना गर्ने, तर भोलि अक्सिजन नपाएर उनीहरूको मृत्यु भयो भने जिम्मेवारी कसले लिने ?’ निमित्त निर्देशक शान्ता सापकोटाले प्रश्न गरिन् । यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटकपटक छलफल भए पनि अक्सिजनको विषयमा भरपर्दो जवाफ नआएको उनले बताइन् । 

वीर अस्पतालको पुरानो भवनमा दुई सय ६१ बिरामी छन् । ‘शुक्रबार साँझसम्म एक सय ६१ जना संक्रमित अस्पतालको वार्डमा भर्ना भएका छन्,’ डा. सापकोटाले भनिन्, ‘इमर्जेन्सीमा एक सय छन् । बेड कुरेर इमर्जेन्सीमा बसिरहेका बिरामीसमेत अक्सिजन नपुगेर छटपटाइरहेका छन् । अक्सिजन थप आउने सुनिश्चित नभएम्म नयाँ भवनमा बिरामी कसरी थप्ने ?’

एक वर्षदेखि बिग्रिएको अक्सिजन प्लान्ट भर्खरै बनाएर सञ्चालनमा ल्याइएको छ । दैनिक एक सय ५० सिलिन्डर भर्दै आएको प्लान्टले वीरको माग धान्न सकेको छैन । नयाँ भवन सञ्चालन गर्न बाहिरबाटै अक्सिजन आउनुपर्ने उनको भनाइ छ । यसरी सरकारले पर्याप्त अक्सिजन जोहो गर्न नसक्दा वीर अस्पतालको नयाँ र भव्य पूर्वाधार यो महामारीमा उपयोगविहीन भएको छ । जब कि बिरामीले अथाह दुःख पाएका छन् । 

शिक्षण अस्पतालले पनि बेड नभएकाले बिरामी भर्ना गर्न सकेको छैन । बेडको प्रतीक्षामा शुक्रबार पनि ७० बिरामी इमर्जेन्सी वार्डमा थिए । भित्र नअटेका बिरामी बाहिर पेटीमै छन् । तर, शिक्षण अस्पतालमै भर्खरै निर्माण भएको सुरेश वाग्ले स्मृति क्यान्सर भवन आठ तलाको छ, तर जम्मा ४० बेड मात्र सञ्चालन गरिएको छ । 

‘यो विशाल भवनमा हामीले तत्काल दुई सय बेड थप्ने योजना बनाएका थियौँ । तर , ४० बेड मात्रै प्रयोग गरिएको छ । अरू सबै खाली छन् । अक्सिजन नभएकाले बेडमा बिरामी राख्न सकिएको छैन,’ शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास भन्छन्, ‘हामीले हाल अस्पतालमा भर्ना गरेका बिरामीलाई समेत अक्सिजन पु¥याउन सकेका छैनौँ, यो वेला नयाँ बेड थप्ने योजना टाढाको विषय भयो ।’ नयाँ भवनका नयाँ बेडमा बिरामी कहिले राख्ने भन्ने विषय अहिले स्पष्ट गर्न नसकिने उनले बताए । ‘अक्सिजन भए छिट्टै राख्न सकिन्छ, तर त्यसको जिम्मेवारी कसले लिने ?’ उनले भने । 

शिक्षणकै मनमोहन सेन्टरको नवनिर्मित ‘एनएक्स’ भवनमा भने कोरोना संक्रमितको उपचार सुरु गरिएको छ । यो भवनमा जनरल बेड र आइसियूमा बिरामी राखेर उपचार थालिएको अस्पतालका चिकित्सक डा. रत्नमणि गजुरेलले बताए । ‘एनएक्स भवनमा अहिले जनरल बेड २०, क्याबिन १० बेड र १२ बेड आइसियू सञ्चालनमा छ । अहिले सबै बिरामीले भरिएका छन्,’ डा. गजुरेलले भने । 

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्– अक्सिजन पाए अस्पतालले दोब्बर बेड चलाउन सक्छन्

 

अक्सिजनको चरम अभाव छ । अस्पतालले मात्र होइन, अहिले एम्बुलेन्सले समेत अक्सिजन सिलिन्डर भर्न पाएका छैनन् । वीर अस्पतालको सर्जिकल भवनमा बिरामी राख्ने भनिएको थियो, तर अक्सिजन नभएकाले राख्न सकिएको छैन । अक्सिजन पाउन सके अस्पतालहरूले अहिलेको दोब्बर बेड चलाउन सक्छन् । वीर नै सय बेड थप्न तयार छ, पाटन अस्पतालले तीन सय शड्ढया सञ्चालन गर्ने भनेकामा अक्सिजन अभावले एक सय ७० मात्र चलाएको छ । त्यस्तै सुरेश वाग्ले क्यान्सर भवनमा दुई सय बेड चलाउने भनिएकोमा अक्सिजन अभावले ४० बेड चलाइएको छ । शिक्षण अस्पतालले पाँच सय बेड सञ्चालन गर्ने भनेकोमा अक्सिजन अभावले तीन सय ४० मात्रै चलाएको छ । वीरको सर्जिकल भवनमा दुई सय ७० बेड तयार पारिएको छ । ५० बेड आइसियूका लागि प्रयोग गर्न मिल्ने खालका छन् । तर, दुई सय ७० बेड सञ्चालन गर्न २४ घन्टामा कम्तीमा पनि पाँच सय सिलिन्डर आवश्यक पर्छ । त्यो आपूर्ति गर्न सम्भव छैन । वीरकै पुरानो भवनमा भएका बिरामीलाई समेत अक्सिजन पु¥याउन सकिएको छैन ।

ad
ad