मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ३० आइतबार
  • Sunday, 13 June, 2021
२०७८ बैशाख २७ सोमबार ०९:५३:००
Read Time : > 5 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

भेरिएन्ट नयाँ–नयाँ आउँछन्, गम्भीर तयारी गर्नु आवश्यक छ : डा. जनक कोइराला

Read Time : > 5 मिनेट
२०७८ बैशाख २७ सोमबार ०९:५३:००

सिकिस्त बिरामीको जीवनरक्षा हुने आसमा मान्छे प्लाज्मा खोज्दै भौँतारिएका छन् । प्लाज्माथेरापीले जीवन रक्षा गर्ने सम्भावना कति छ ?
उपचारमा प्लाज्मा चलाउन थालेको करिब ६० वर्ष भइसक्यो । भ्याक्सिन लिँदा जस्तै एन्टिबडी संक्रमणबाट गुज्रिसकेका मान्छेको रगतमा पनि हुन्छ । एन्टिबडी कसैको धेरै हुन्छ, कसैको कम । उपचारका उपाय पहिचान नभएको महामारीको सुरुवात कालमा प्लाज्माको एन्टिबडीले बचाउँछ कि भनेर उपचारमा थोरै यो विधि प्रयोग गरियो । केहीलाई फाइदा पनि भयो । अमेरिकामा विस्तृत अध्ययन भयो । प्रमाणको आधारमा वृद्धवृद्धा, दीर्घरोग भएकालाई सुरुकै चरणमा प्लाज्मा दिइयो भने मृत्युबाट बचाउन पनि सकिने देखियो ।

गम्भीर भएर अस्पतालमा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्लाज्माले खासै लाभ गर्दैन, डुबिरहेकालाई सिन्काको सहारा भने जस्तो मात्रै हो । अगाडि नै दिइयो भने चाहिँ प्लाज्माले काम गरेर जोगाउन सक्छ । सुरुकै अवस्थामा प्लाज्मा दिनका लागि खोज्नुप¥यो । त्यतिको धेरै प्लाज्मा पाउन पनि गाह्रो छ । बिरामी गम्भीर अवस्थामा भएको वेला हतासमा परिवारजनले उपचार मात्र होइन, पूजा–पाठ, भाकलले हुन्छ कि भनेर हरसम्भव यत्न गर्छन् । चिकित्सकले प्लाज्माले गर्छ कि भन्दिए प्लाज्मा खोज्न थाल्छन् । तर, चिकित्सकले त्यो अवस्थामा के गर्ने, के नगर्नेमा सही निर्णय गर्न सक्नुपर्छ । गम्भीर अवस्थामा पुगेपछि भाइरसलाई मार्नेभन्दा पनि दबाउने हो । यसमा स्टेरोइड प्रकारका औषधि, अक्सिजन काम लाग्छ भन्ने वैज्ञानिक रूपले प्रमाणित भइसकेको छ । गम्भीर अवस्थामा पुगिसकेकोमा प्लाज्मा प्रभावकारी हुँदैन । 

रेम्डेसिभिर सुईको कालोबजार भइरहेको छ । यसको प्रभावकारिताको प्रमाण के छ ? कि प्लाज्माकै जस्तो फाइदै नहुने अवस्थाका लागि बिरामीका परिवारजन सुई खोज्दाको सास्ती व्यहोरिरहेका छन् ?
कोभिडका दुइटा चरण छन् । पहिलो दुई–तीन दिनदेखि भाइरस मल्टिप्लाई (गुणा) गर्दै विकसित हुँदै जान्छ । शरीरले भाइरसलाई चिनिसकेको हुँदैन । प्रतिरक्षा गर्ने प्रणाली बनाइसकेको हुँदैन । तर, भाइरस यस्तोसँग फैलिँदै जान्छ कि हप्तादिनमा शरीरका कोषहरूमै आक्रमण गर्न थाल्छ । कोषहरूमा आक्रमण भएपछि हाम्रै प्रतिरक्षा प्रणालीले हामीलाई बिरामी पार्ने हो । यसवेलामा प्लाज्मा पनि काम छैन, रेम्डेसिभिर पनि काम छैन, कुनै एन्टिभाइरल काम छैन । त्यो वेला हाम्रो रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने औषधि स्टेरोइड नै हो । यसैले ढिलो भएपछि प्लाज्माका लागि हारगुहार गर्न जरुरी हुन्न । कालोबजारमा रेम्डेसिभिर खोजेर सास्ती व्यहोर्नु पर्दैन । 
दोस्रो लहरमा युवा काफी प्रभावित भए । तेस्रो लहर फैलिए बालबालिका उच्च जोखिममा रहने अनुमान गरिन थालिएको छ । कतिको सत्य हो ?
सुरुमा देखिएको भाइरसले बालबालिकामा संक्रमण गराउँदैन, भइहाले पनि लक्षण नहुने अध्ययनले देखाएको थियो । बिस्तारै भाइरस म्युटेसन (रूपान्तरण) हुँदै गएपछि बालबालिकामा पनि संक्रमणको दर बढ्दै गएको छ । हाल प्रयोग गरिएका भ्याक्सिनबाट बालबालिका लाभान्वित नहुनु, विद्यालय खोलिनु आदिले अर्को लहरमा बालबालिका बढी प्रभावित हुने अनुमान गरिएको हो । हाल प्रयोगमा आएका खोप १६ वर्षभन्दा माथिकालाई मात्रै प्रयोगमा ल्याइनुले पनि बालबालिका जोखिममा छन् । हालसम्म बालबालिकामा संक्रमणले जटिल रूप नलिए पनि भाइरसले शरीरको प्रतिरोधी क्षमतामा पर्ने असरका कारण केही समयपश्चात् अन्य समस्या देखिने गरेको छ । यस्ता केसहरू हाल थोरै संख्यामा हुँदा जोखिम नदेखिए पनि महामारीमा बालबालिकाको ख्याल राख्न आवश्यक छ । 
कोभिड नियन्त्रणका लागि लकडाउन वा निषेधाज्ञा कति लम्ब्याउन सकिन्छ ? 
यो बाध्यता हो । निषेधाज्ञा–लकडाउन लम्बिँदै जाँदा खान–बस्नै मुस्किल हुन थालेको छ । ताइवान, न्युजिल्यान्ड आदि देशले लकडाउनविनै संक्रमण नियन्त्रण गरेका छन् । हामीकहाँ दूरी कायम राख्ने, मास्क प्रयोग गर्ने, भीडभाड नगर्ने, बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने जस्ता मापदण्ड पालन गराउन सकिएन ।

भारतमा जस्तो अक्सिजन र बेड नपाउने अवस्था नआओस् भन्नका खातिर मात्रै निषेधाज्ञा आवश्यक भएको हो । अस्पताल भर्ना हुने, संक्रमण र मृत्युदर नघटेसम्म लकडाउन आवश्यक छ, कम्तीमा एक महिना जान सक्छ । धेरै लम्ब्याउने कि नलम्ब्याउने चाहिँ नागरिकको हातमा पनि छ । सुरक्षा सतर्कता एकदमै पालना भए लकडाउन नगरी लड्ने जोखिम मोल्न सकिन्छ । 
संक्रमण व्यवस्थापनका लागि समुदायले आइसोलेसन सेन्टर निर्माण गर्न थालेका छन् । दक्ष जनशक्ति र व्यवस्थापनमा कमी भई ती आइसोलेसन सेन्टर नै संक्रमण सेन्टर बन्ने जोखिम छ कि छैन ? 
समुदायमा संक्रमण फैलिन नदिन आइसोलेसन सेन्टर आवश्यक देखिएको हो । पछिल्लो समय अक्सिजन र चिकित्सक आवश्यक पर्ने बिरामीको संख्या बढी हुँदा आइसोलेसन सेन्टरको आवश्यकता झन् बढेको छ । लक्षण नभएका संक्रमित घरमै आइसोलेसनमा बस्न उचित हुन्छ । आइसोलेसन सेन्टर व्यवस्थित नहुँदा जोखिम बढ्न सक्छ । अक्सिजन, औषधि चलाउन दक्ष जनशक्तिको सेवा अपरिहार्य हुन्छ । साथै, संक्रमण नियन्त्रणको उपाय नभई आइसोलेसन सेन्टर खोल्न दिनु हुँदैन । 
दोस्रो लहर भारत हुँदै नेपाल आयो । यो हाम्रो लागि कति अपेक्षित थियो ? अर्काे, यो जति घातक देखिएको छ, घातक भाइरसको शक्तिले हो या हाम्रो अव्यवस्थाले हो ?
दोस्रो लहर आउँछ, तेस्रो पनि आउँछ भन्ने पूर्वानुमान थियो । श्वासप्रश्वासबाट सर्ने यस्ता भाइरस यसै गरी आउने गरेको विगत छ । कोरोना भाइरस पुरानै हो, आइरहेकै छ । यो (नोवेल कोरोना) भाइरस अझै सिकिस्त पार्ने किसिमको हुनाले वर्षैपिच्छे आउने र हामीबीच रहनेवाला छ । रोगप्रतिरोधी क्षमता विकसित हुँदै गएपछि कम सिकिस्त बनाउला, तर यो हराइहाल्नेवाला छैन । त्यसैले हामी तयारी अवस्थामा रहनुपथ्र्यो । पहिलो लहर हाम्रोमा खासै घातक देखिएन ।

सुरुमा देखिएको भाइरसले बालबालिकामा संक्रमण गराउँदैन, भइहाले पनि लक्षण नहुने अध्ययनले देखाएको थियो । बिस्तारै भाइरस म्युटेसन हुँदै गएपछि बालबालिकामा पनि संक्रमणको दर बढ्दै गएको छ ।

सरकार–नागरिक सबै सतर्क भएका पनि हौँ । सीमा बन्द गर्ने, घरभित्रै बस्ने, मास्क लगाउने आदि सुरक्षा सतर्कता अपनाएका थियौँ । लकडाउनको पनि धेरै हदसम्म पालना भएको थियो । मान्छेले दुःख पाए पनि दुःखअनुसारको फल पनि पाइएको थियो । भाइरसले भयानक रूप देखाउन पाएन, मानवीय क्षति थोरै भयो । त्यसपछि हामी नेपालीलाई त कोरोनाले नसक्ने रहेछ भन्ने भ्रम पर्‍यो ।

कसैले हिमाली चिसो हावा पाएकालाई कोरोनाले केही गर्न सक्तैन भने, कसैले बर्गर खाने पो कमसल हुन्छन्, मसलासहितको तरकारी, दाल–भात खानेलाई कोरोनाले के गर्न सक्छ भन्ठाने । कसैले पूर्वीय सभ्यता किन पश्चिमभन्दा उत्कृष्ट छ भनेर व्याख्या गर्न भ्याए । कुरा पूर्व वा पश्चिमको होइन, वैज्ञानिक–प्रामाणिकताको हो । पोहोर महामारी नियन्त्रणमै रहेको सत्य हो । अहिले किन यस्तो भयावह ? उत्तर स्पष्ट छ, हाम्रो हेलचेक्र्याइँ । हामीले कोरोनालाई जित्यौँ भन्ने भाव सरकारदेखि सर्वसाधारणसम्मै आयो । कतिपय चिकित्सकमा समेत आयो । अहिलेको भाइरस पोहोरको भन्दा फरक छ, म्युटेसन भएको भाइरस हो, दु्रत गतिमा फैलिन्छ ।

युवा उमेरसमूहका मान्छेमा पनि लक्षण देखिइहाल्छ । भाइरसको मात्रा (भाइरल लोड) पनि बढी देखिएको छ । हाच्छ्युँ गर्दा पहिले सयवटा निस्किन्थ्यो भने अहिले लाखवटा निस्किन्छ । भाइरल लोड बढी भएकाले पहिला एकजनाबाट दुईजनामा सथ्र्याे भने अहिले दर्जनमा सर्छ । 

खोपबारे विविध र परस्पर विरोधी धारणा छन् । बेलायतमै पनि खोप लगाएपछि त्यहाँको एउटा सीमान्त समुदाय ‘हामीमाथि परीक्षण गर्न ल्याएको, बहिष्कार गर्नुपर्छ’ भनेर खोपविरोधी अभियान चलाउन पुग्यो । हाम्रोमा पनि सुरुमा खोप लगाउन उति आकर्षित भएनन् । कतिपय चिकित्सक–स्वास्थ्यकर्मीले लगाएनन् । दोस्रो लहर सुरु भएपछि खोप केन्द्रमा एक्कासि भीड हुन थाल्यो । फेरि पनि खोप लगाएकै संक्रमित भए भनेर त्रास छ ।

खोपले मानिसलाई सुरक्षित बनाउँछ भनेर ढुक्क हुने अथवा यसले केही पनि गर्दैन भनेर डराउने वा उपेक्षा गर्ने ? यी दुवैको बीचमा तपाईंले भन्नुपर्ने विषय केही छ ?
खोप विभिन्न प्रकारका हुन्छन् । जस्तो– बिफर, दादुराको खोप लगाउनेलाई बिफर, दादुरा लाग्दैन । हामीले पनि आशा गरेका थियौँ, खोप त्यस्तै प्रकारको होला भनेर । अहिले विकास भएकामध्ये फाइजर र मोडेर्ना खोपले ९५ प्रतिशत रोक्ने देखिएको छ । त्यो खोप अमेरिकाले दिएन । र, माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने भएकाले यहाँ चलाउन पनि गाह्रो हुन्छ । अस्ट्राजेनेकाको कोभिसिल्ड नेपालमा आयो । यो औसतमा ७० प्रतिशत प्रभावकारी हुन्छ भने पनि एक सयमा ३० जनालाई त लाग्छ । तर, रोग लागे पनि खोपले भाइरसलाई भयानक हुनबाट रोक्छ, मृत्युदर घटाउँछ । एउटा मात्रै डोज लगाए ५० प्रतिशत मात्रै हुन्छ, यसको असर । 
भाइरसको नयाँ भेरियन्ट भनिएको छ । हामीकहाँ फैलिरहेको भाइरसको भेरियन्ट वुहान हो कि युके भेरियन्ट हो ? कि भारतको डबल म्युटेन्ट हो ? कुन भेरियन्ट भन्ने विषयमा पर्याप्त अनुसन्धान भई भनिएको हो ? 
हामीकहाँ पर्याप्त अनुसन्धान भएको छैन, केही भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भाइरस परीक्षण गर्न पठाएकोमा धेरैजसो युके भेरियन्ट भेटियो । लक्षण हेर्दा भारतमा पनि युके भेरियन्ट नै हो । त्यहाँ डबल म्युटेन्ट पनि भेटियो । अनुसन्धान साझा रूपमा गरिरहेका छौँ । अरू पनि जम्मा गरेर महाशाखाले पठाउनेवाला थियो । त्यसको नतिजा मैले थाहा पाइसकेको छैन ।

युवा धेरै संक्रमित भइरहेको र अरू विशेषता हेर्दा इंग्ल्यान्डमा फैलिएको युके भेरियन्ट नै हो । अर्को ब्राजिल भेरियन्ट छ, त्यो हाम्रोमा आएको छैन । भारतमा पन्जाबतिर युके भेरियन्ट फैलियो । साउथ इन्डियातिर फैलिएको चाहिँ पुनः संक्रमण हुने देखियो । ट्रिपल म्युटेन्ट भनिएकोलाई वेस्ट बंगाल भेरियन्ट भनिएको छ । अहिले देखिएको डबल म्युटेन्ट धेरै नै संक्रमणशील छ भने रोगप्रतिरोधात्मक क्षमतालाई पनि प्रभाव पार्छ । बैंगलोरमा देखिएको भेरियन्टलाई पनि बदलेर अहिले भारतमा युके र डबल म्युटेन्ट भेरियन्ट फैलिरहेको छ । नयाँ भेरियन्ट प्रत्येक दिन आउने हुन सक्छ ।