१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
दीपेश पछाई काठमाडौं
अर्जुन अधिकारी नेपालगन्ज
२०७८ बैशाख २७ सोमबार ०४:०८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

यता, नागरिक बने अनागरिक 

राजधानीकै मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु अस्पताल, हेल्पिङ ह्यान्ड्स र ओम तथा भैरहवाको युनिभर्सल मेडिकल कलेजले अक्सिजन अभावमा बिरामी भर्ना बन्द गरे

Read Time : > 2 मिनेट
२०७८ बैशाख २७ सोमबार ०४:०८:००

कोभिड संक्रमण अनियन्त्रित भइरहेको वेला सरकारको तयारी के छ ? एउटा उदाहरण लुम्बिनी प्रदेशमा छ । कुल १६ हजार नौ सय आठ सक्रिय संक्रमितमध्ये १४ हजार आठ सय ४१ जना घरमै छन् । दुई हजार एक सय बिरामी अस्पताल जाँदा बेड पाएका छैनन् । 
प्रदेश मुकाम रहेको रुपन्देहीका अस्पतालमा नै बेड नपाएपछि बिरामीहरू अस्पतालको भुइँमा, गोदाममा र शवगृहको पेटीमा समेत सुतेका छन् । तर, उनीहरूका लागि अक्सिजको समेत अभाव हुँदै गएको छ । 

दुई साताअघि नेपालगन्जमा जे अवस्था थियो, अहिले रुपन्देहीमा त्यही अवस्था आएको छ । तर, सरकारले न नेपालगन्जमा कुनै व्यवस्था गर्न सक्यो, न त्यहाँको पाठ लिएर अन्य क्षेत्रमा तयारी ग¥यो । त्यसैले अहिले संक्रमित नागरिक बेवारिसे भएका छन् । 

भैरहवास्थित २५ बेडको कोभिड अस्पतालमा करिब सयजनाको उपचार भइरहेको छ । बेड खाली नभएकाले अस्पताल परिसरको भुइँ, पेटी, गोदाम, पुरानो शवगृह, भवनका पेटीमा राखेर बिरामीको उपचार भइरहेको छ । तर, सबै बिरामीका लागि आवश्यक अक्सिजन नभएकाले समस्या थपिएको छ । 

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले बेड अभावमा बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपरेको बताइन् । ‘हामीले व्यवस्था गर्न सक्ने अवस्था छैन, बिरामी आफैँले आफूलाई सहज स्थान खोजेर बिस्तारा लगाई बस्ने गरेका छन्,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘त्योभन्दा ठूलो समस्या अक्सिजनको भयो । उपचारको आशामा आएका बिरामीलाई अक्सिजन दिन सकिएन भने दुर्भाग्य हुन्छ ।’

अस्पतालमा अक्सिजन भण्डारण गर्ने कुनै व्यवस्था छैन । उद्योगबाट आएका अक्सिजन सीधै प्रयोग हुने हो । ‘माग बढेकाले सिलिन्डर अभाव हुन थालेको छ, हामी चिन्तित छौँ,’ उनले भनिन् । 

उता, अक्सिजन अभावमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले सोमबारबाट थप कोरोना संक्रमितको भर्ना बन्द गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालले सोमबारदेखि थप कोरोना संक्रमितको उपचार गर्न नसक्ने जनाएको हो । अक्सिजन सहज रूपमा उपलब्ध गराउन नसक्ने भएकाले नयाँ कोभिडका बिरामी भर्ना नलिने अवस्था आएको मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. साधन मुखीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दैनिक दुई सयजना गम्भीर प्रकृतिका बिरामीको उपचार हुँदै आएकोमा अक्सिजनको आपूर्ति नियमित नभएकाले उपचारमा समस्या देखिएको अस्पतालको भनाइ छ । ‘दैनिक करिब सात सय सिलिन्डरभन्दा बढी अक्सिजन आवश्यक पर्नेमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दैनिक चार सय २० सिलिन्डर मात्र दिने गरेको छ, त्यसैले अक्सिजन अभाव भएको छ,’ मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए ।

यसैबीच, अक्सिजन अभावका कारण काठमाडौंका अस्पतालहरूले कोरोना संक्रमितका लागि छुट्याएका बेड कटौती गर्न थालेका छन् । मेडिकेयर अस्पताल, नेपाल भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल, हेल्पिङ ह्यान्ड्स  सामुदायिक अस्पताल, ओम अस्पतालले बिरामी भर्ना नलिने भन्दै विज्ञप्ति जारी गरेका छन् । ‘कोरोना संक्रमितको उपचार गर्न अक्सिजन अपरिहार्य छ, तर देशमा अक्सिजनको चरम अभाव छ । त्यसैले अक्सिजनविना बिरामी भर्ना गर्नु उपयुक्त नभएकाले अक्सिजन उपलब्ध नहुँदा सम्म बिरामी भर्ना नलिने निर्णय गरेका छौँ,’ उनपीहरूले विज्ञप्तिमा भनेका छन् ।

बाँकेमा एकै दिन १४ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी विशेष कोरोना अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजको कोरोना अस्पतालमा उपचाररत १४ जनाको आइतबार मृत्यु भएको हो ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर ओलीले आइतबार अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए । उनका अनुसार सातजना मेडिकल कलेजमा र सातजना भेरी अस्पतालमा उपचाररतको मृत्यु भएको छ । पछिल्लो समय अस्पतालमा उपचाररत संक्रमितको मृत्यु हुने क्रम बढेको छ । 

कोरोना संक्रमणको लक्षण देखिए पनि परीक्षण नगराउने र लामो समयसम्म घरमै बसेकामा जटिल समस्या देखिएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले बताए । ढिलो गरी अस्पताल आउँदा फोक्सोमा निमोनिया भई श्वासप्रश्वासमा समस्या हुने र अक्सिजनको कमी भई संक्रमितको मृत्यु हुने गरेको डा. पाण्डेले बताए । ‘ढिलो गरी अस्पताल आउने बिरामीको फोक्सोमा निमोनिया भई मृत्यु हुने गरेको छ,’ उनले भने । 

यस्तै, कोरोना संक्रमणबाट आइतबार ८८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ५२ जनाको मृत्यु भएको र बाँकी नेपाली सेनाद्वारा शव व्यवस्थापन गरिएकाहरूको तथ्याँक भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार सात सय २० पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा आठ हजार आठ सय ५० जनामा संक्रमण देखिएको छ । १८ हजार सात सय ८५ जनाको पिसिआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जनामा र ६ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा मात्र चार हजार एक सय ९८ संक्रमित थपिएका छन् । काठमाडौंमा तीन हजार एक सय ६१, ललितपुरमा पाँच सय ३३ र भक्तपुरमा पाँच सय चार जनामा संक्रमण पुष्टी भएको छ । 
देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार एक सय ६० पुगेको छ । अहिलेसम्म तीन लाख ९४ हजार ६ सय ६६ जनामा संक्रमण देखिएको छ । तीमध्ये तीन लाख दुई हजार सात सय ८७ जना निको भएका छन् । पछिल्लो २४ घन्टामा चार हजार २२ जना संक्रमणमुक्त भएका छन् ।