१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
टेकराज थामी काठमाडौं
रमेश रावल काठमाडौं
मोहन विष्ट सुर्खेत
केदार दाहाल कञ्चन्पुर
२o८१ जेठ ५ शनिबार o३:३८:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीको अत्याचार, आफैँले तोकेको भाडाभन्दा दुई–तीन लाख बढी असुली

उड्डयन प्राधिकरण भन्छ– उजुरी परे कारबाही गर्छौँ

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडौं
रमेश रावल, काठमाडौं
मोहन विष्ट, सुर्खेत
केदार दाहाल, कञ्चन्पुर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o३:३८:oo

उपचारबाट पन्छिएको सरकार अनुगमनको जिम्मेवारीबाट पनि अलग : सिटी बसले दुई रुपैयाँ भाडा असुली गर्दा स्वाभाविक कारबाहीमा उत्रिने सरकार हेलिकोप्टर कम्पनी आफैँले तोकेभन्दा दुई–तीन लाख बढी भाडा असुल्दा मूकदर्शक

......

महेन्द्रनगर उच्च अदालतको दिपायल इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई कोभिड संक्रमण भएपछि महाकाली अस्पतालको आइसियू बेडमा उपचार भइरहेको थियो, तर स्वास्थ्यमा सुधार नभएपछि अघिल्लो बुधबार काठमाडौंबाट हेलिकोप्टर मगाइयो । उनलाई राजधानी पुर्‍याउन हेलिकोप्टर भाडा मात्र नौ लाख लाग्यो । काठमाडौंको करुणा अस्पतालमा उपचारपछि भट्टराई अहिले आराम गरिरहेका छन् । 

* न्यायाधीशकाे परिवारले हेलिकोप्टरमा लागेको नौ लाख भाडा तिरेको छ । तर, विपन्न जनताले यत्रो पैसा कहाँबाट तिर्ने ? यसै पनि कञ्चनपुरबाट काठमाडाैँसम्मको हेलिकोप्टर भाडा ६ हजार पाँच सय डलर (सात लाख ६७ हजार) तोकिएको छ । तर, विमानसेवा सञ्चालक संघ आफैँले तोकेकोभन्दा डेढ बढी लाख भाडा असुल गरेर हेलिकोप्टर कम्पनीहरूले जनतामाथि अत्याचार गरिरहेका छन् । उपचारबाट हात झिकेको सरकार हेलिकोप्टर कम्पनीले उद्धारका नाममा अत्याचार गर्दा मूकदर्शक छ । 

महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिर सामुदायिक कलेजका प्रमुख डा. राजकुमार साउदलाई लिन पुगेको हेलिकोप्टर

कञ्चनपुरकै भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरका स्थानीय एवं कञ्चन विद्या मन्दिर सामुदायिक कलेजका प्राचार्य डा. राजकुमार साउदलाई पनि कोरोना संक्रमण भयो । होम आइसोलेसनमा बसेका उनी गम्भीर भएपछि गत सोमबार मात्र उनलाई लिन काठमाडौंबाट हेलिकोप्टर मगाइयो, भाडा उठाइएको छ– ९ लाख १५ हजार । 

यस्तै वैशाख तेस्रो साता भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरका स्थानीय एवं एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोकविक्रम जैरूलाई समेत नेपालगन्जबाट काठमाडौं लग्न श्री एयरले साढे ६ लाख भाडा लियो । जब कि संघले नेपालगन्जबाट काठमाडौंसम्मको भाडा चार हजार डलर (चार लाख ७२ हजार रुपैयाँ) तोकेको छ । 

पूर्वखानेपानी राज्यमन्त्री दिनेशचन्द्र यादवलाई गत पुसमा कोरोना संक्रमण भयो । उपचारका लागि उनलाई भेरी अस्पतालमा भर्ना गरियो, तर निको भएनन् । राष्ट्रिय भूमि समस्या समाधान आयोगका सदस्यसमेत रहेका उनलाई पनि हेलिकोप्टरमा काठमाडौंस्थित ग्रान्डी अस्पताल लगियो । १ माघमा अस्पतालमै उनको निधन भयो । 

हेलिकोप्टरले भाडाबापत मात्र आठ लाख लिएको पूर्वराज्यमन्त्रीका आफन्त कैलाश यादवले बताए । नेपालगन्जबाट काठमाडौंसम्मको भाडा चार लाख तोकिएकोमा कसैसँग ६ लाख र कसैसँग आठ लाखसम्म असुल गरिएको छ । ‘हामीसँग आठ लाख मागिएको थियो, तर हेलिकोप्टर भाडा र सम्पूर्ण औषधि–उपचार खर्च सरकारले व्यहोर्‍यो,’ कैलाशले भने । 

पूर्वराज्यमन्त्री र अहिले भूमि समस्या समाधान आयोगका सदस्य भएकाले यादवको उद्धारमा भएको हेलिकोप्टरको भाडा पनि सरकारले ति¥यो । तर, सबै जनता यति भाग्यमानी हुँदैनन् । सर्वसाधारण त घरमा बसे ज्यान जाने, उपचार गर्न गए घरबार जाने अवस्थामा छन् । 

सुर्खेतका जीवराज गिरीलाई केही समयअघि कोरोना संक्रमण पुष्टि भयो । स्वास्थ्य प्रतिकूल भएपछि आफन्तले नेपालगन्ज लगे । त्यहाँ पनि उपचार हुन नसकेपछि परिवारका सदस्यले हेलिकोप्टरमार्फत काठमाडौं पु¥याए । तर, उपचारको क्रममा ग्रान्डी अस्पतालमा उनको मृत्यु भयो । 

जीवराजको जीवन जोगाउने प्रयासमा हेलिकोप्टर र अस्पतालको बिल गरेर ५० लाख खर्च भएको परिवारजनले बताए । तैपनि उनको जीवन रक्षा भएन । आफन्त राजेन्द्र गिरीको उपचारमा लागेको ऋण तिर्न उनीहरूले जग्गा बेचेका छन् । 

सल्यानको शारदा नगरपालिका घर भएका संक्रमित इन्द्रबहादुर खड्कालाई सास फेर्न गाह्रो भएपछि परिवारले पाँच दिनअघि दाङस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए । तर, त्यहाँ पनि उपचार हुन नसकेपछि गत मंगलबार थप उपचारका लागि काठमाडौं पुर्‍याउनुपर्ने भयो । खड्काका आफन्तले श्री एयरमा सम्पर्क गरे । श्रीले सुरुमा सात लाख ५० हजार भाडा भन्यो । जब कि भाडादर तोकिएको छ– चार लाख १३ हजार । 

विपन्न परिवारले भाडा निकै महँगो भएको भन्दै ‘अत्याचार नगर्न’ बिन्ती गर्‍यो । ‘बार्गेनिङ’पछि श्रीले ६ लाखभन्दा एक रुपैयाँ पनि नघट्ने अडान राख्यो । यो रकम पनि चल्तीको भाडाभन्दा करिब दुई लाख महँगो हो । तर, पीडित परिवारसँग कुनै विकल्प थिएन, ६ लाख तिर्ने गरी जीवनमरणको दोसाँधमा रहेका खड्कालाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नहुँदै उनको प्राण उड्यो । 

‘भाडा अत्यन्तै महँगो हो भन्ने थाहा थियो, तर हेलिकोप्टर चढ्नुको विकल्प पनि थिएन । यति गरेर पनि हाम्रो बिरामीलाई बचाउन सकिएन,’ मृृतक खड्काका आफन्त मनोज सिंहले नयाँ पत्रिकासँग भने, ‘जनतालाई महामारीबाट ज्यान जोगाउनै मुस्किल भएको छ, तर यस्तो वेला पनि हेलिकोप्टर कम्पनीहरूले सर्वसाधारणको ढाड सेकिरहेका छन् । यो त कालोबजारी हो । सरकारले के हेरिरहेको छ ?’

उड्डयन प्राधिकरण भन्छ– उजुरी परे कारबाही गर्छौँ

तोकिएभन्दा बढी असुल्नु कालोबजारी हो । कालोबजारी ऐन, २०३२ को दफा ३ मा ‘सेवाप्रदायक कुनै पनि संस्थाले २० प्रतिशतभन्दा धेरै नाफा हुने गरी कारोबार गर्न हुँदैन’ भनेको छ । कसैले ऐन उल्लंघन गरे पाँच वर्षसम्म कैद वा जरिवाना हुने व्यवस्था ऐनमा छ । तर, पर्याप्त नाफा राखेर विमानसेवा सञ्चालक संघले तोकेभन्दा दुई–तीन लाख बढी भाडा लिँदा पनि हेलिकोप्टर कम्पनीमाथि कारबाही भएको छैन । 

कोरोना संक्रमितको उपचारमा सहयोग गर्न भन्दै केही दिनयता हेलिकोप्टर कम्पनीहरूले सेवा सुरु गरेका छन् । विशेषगरी मनाङ, सिम्रिक, अल्टिच्युड, कैलाश र श्री एयरले देशका विभिन्न भागबाट बिरामीलाई काठमाडौंका अस्पतालसम्म ल्याउन र लैजान हेलिकोप्टर सञ्चालन गरेका छन् । तर, नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौनता देखाउँदा उनीहरूले सर्वसाधारणबाट मनपरी भाडा असुलेर कालोबजारी गरिरहेका छन् । 

हेलिकोप्टर कम्पनीहरूले एउटै गन्तव्यको पनि फरक–फरक भाडा असुलिरहेका छन् । जस्तो कि अल्टिच्युड एयरले दाङको घोराहीबाट काठमाडौंसम्म बिरामी ल्याएको पाँच लाख ६० हजार लिने गरेको छ भने श्री एयरले सात लाख ५० हजार उठाउने गरेको छ । कैलाश एयरले घोराही–काठमाडौं बिरामी ल्याएको पाँच लाख ५० हजार लिइरहेको छ । जब कि यी तीनवटै कम्पनीले उठाइरहेको भाडा निर्धारितभन्दा धेरै हो । अरू वेला हेलिकोप्टर कम्पनीहरूले दाङ–काठमाडौंको भाडा तीन लाख ७५ हजारदेखि चार लाखसम्म लिने गरेका छन् । 

मनाङ एयरले रामेछापबाट कोरोना संक्रमितलाई काठमाडौं ल्याएको तीन लाख ५० हजार भाडा उठाइरहेको छ । जब कि संघले तोकेको भाडा हजार डलर अर्थात् एक लाख १८ हजार रुपैयाँ मात्र हो । यसरी संघले तोकेभन्दा दोब्बर भाडा लिएर जनतामाथि अत्याचार भएको छ । त्यस्तै, भोजपुरबाट काठमाडौंको उडानमा दुई लाख ९५ हजार तोकिएको अहिले मनाङ एयरले नै पाँच लाख असुलिरहेको छ ।

सिम्रिक एयरले ताप्लेजुङको फुङलिङबाट बिरामीलाई काठमाडौंसम्म ल्याएको हेलिकोप्टरको भाडा मात्रै ६ लाख ५० हजार र प्यारामेडिकल टोलीको खर्च भनेर थप ६५ हजार उठाइरहेको छ । जब कि ताप्लेजुङ उडानको भाडा चार लाख १३ हजार तोकिएको छ । सिम्रिकले नै रामेछाप उडानको तीन लाख ६५ हजार असुलिरहेको छ । 

मनाङ एयरले बिरामीलाई रामेछापबाट काठमाडौंसम्म ल्याएको तीन लाख ५० हजार भाडा असुलिरहेको छ । यही गन्तव्यको अल्टिच्युड एयरले दुई लाख ५५ हजार र कैलाशले दुई लाख ३० हजार लिने गरेका छन् । हेलिकोप्टरहरूले सामान्य अवस्थामा रामेछाप–काठमाडौंको भाडा एक लाख ४५ हजारसम्म लिने गरेका छन् । सामान्य अवस्थामा हेलिकोप्टरहरूले विराटनगरबाट काठमाडौंसम्मको भाडा दुई लाख ७५ हजार लिने गरेका थिए । तर, महामारीमा लुट मच्चाउँदै श्री एयरसहितका कम्पनीले अहिले नागरिकबाट चार लाखसम्म असुलिरहेका छन् । 

‘कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई पाँच वर्षसम्म कैद वा जरिवाना वा दुवै हुन सक्नेछ,’ ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ ।

निजी क्षेत्रबाट सञ्चालित हेलिकोप्टरहरूको नियमन गर्ने जिम्मा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को हो । तर, क्यानले अहिलेसम्म हेलिकोप्टरको भाडादर नै तोकेको छैन । अरू वेला हेलिकोप्टर कम्पनीहरूले आपसी प्रतिस्पर्धाकै आधारमा यात्रुसँग भाडा उठाउने गर्छन् । 

क्यानका महानिर्देशक राजन पोखरेलले हेलिकोप्टर कम्पनीहरूले मनपरी भाडा उठाएको सूचना आफूहरूलाई नआएको बताए । धेरै भाडा असुलेको उजुरी आए कारबाही गर्ने उनको भनाइ छ । ‘अहिलेसम्म हेलिकोप्टरको भाडा निर्धारण गरिएको छैन । उनीहरूले आपसी प्रतिस्पर्धाकै आधारमा भाडा लिने गर्छन् । पछिल्लो समय उनीहरूले कोरोनाका बिरामीलाई सेवा दिएको जानकारीमा छ । यात्रुसँग कति भाडा उठाउँछन् त्यसको जानकारी भएन,’ महानिर्देशक पोखरेलले भने, ‘महामारीका वेला कसैले पनि यात्रुसँग चर्को भाडा लिन मिल्दैन । अहिलेसम्म यस विषयमा हामीकहाँ उजुरी परेको छैन । कतैबाट उजुरी आए छानबिन गरेर दोषीमाथि कारबाही हुन्छ ।’ 

हेलिकोप्टर सञ्चालकहरू भने कोरोना संक्रमितलाई विशेष सेवा दिनुपर्ने भएकाले भाडा महँगो भएको दाबी गर्छन् । ‘कोरोना संक्रमित बोक्न केही कम्पनीका हेलिकोप्टर सञ्चालित छन् । उनीहरूले चल्तीको रेटभन्दा केही महँगो भाडा लिएका होलान् । तर, त्यो विशेष व्यवस्थाका लागि हो,’ हेलिकोप्टरसँग सम्बन्धित वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता युवराज शर्मा कँडेलले भने, ‘बिरामी बोक्न हेलिकोप्टरमा प्यारा–मेडिकल टोली चाहिन्छ । भेन्टिलेटर आवश्यक पर्छ । रिस्क मोलेबापत पाइलटलाई विशेष अलाउन्स दिनुपर्छ । बिरामी केयर गर्नेलाई पनि सुविधा दिनुपर्छ । त्यसैले केही महँगो पर्न गएको हो । सामान्य रूपमा यात्रु बोक्दा भाडा दर उत्ति नै हो ।’

संघ आफैँले तोकेको भाडा, तर योभन्दा लाखौँ बढी असुलिएको छ

*सच्याइएको - दिपायल इजलासका न्यायाधीश कृष्णलाल भट्टराइलाई उपचारका लागि काठमाडौं लैजाँदाको हेलिकोप्टर भाडा सरकारले नभई स्वयं परिवारले तिरेकोले सच्याइएको छ ।


    

ad
ad