मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार ०७:५४:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

परराष्ट्रको  क्षमतामा प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार ०७:५४:००

कोरोना महमारीले फेरि एकपटक कूटनीतिक योग्यताको माग गरेको छ । पछिल्लो समय आन्तरिक राजनीतिक व्यवस्थापन र शक्ति सञ्चयका लागि सरकारले चालेका केही कदमले अहिले नै समस्या सिर्जना गरेका छन् । कोरोना महामारीका समयमा विश्वभरका सरकार आ–आफ्ना जनताको जीवनरक्षा गर्न र आर्थिक अवस्था खस्किन नदिन प्रयत्नरत रहे । जहाँ–जहाँ जनउत्तरदायी सरकार थिए, त्यहाँ यसको व्यवस्थापन अलि सहज भयो । जहाँ–जहाँ अनुत्तरदायी शासक रहे, त्यहाँ महामारीले थप सतायो । महामारी सबै देशमा चुनौतीकै रूपमा आएको हो । स्पेन र इटलीमा सरकारका सकारात्मक प्रयासका बाबजुद स्वास्थ्य प्रणाली धराशयी भएको दखिएको छ । 

खोप खरिद गर्नेतिर सरकारले कूटनीतिक सक्रियता देखाउनु जरुरी छ । अहिलेसम्मका परिणाम हेर्दा यस मामिलामा परराष्ट्र मन्त्रालयको क्षमतामा प्रश्न उठ्ने अवस्था छ ।

संयुक्त राज्य अमेरिका, ब्राजिल र भारतमा शासकहरूको उदासीपनले कोरोना महामारी नियन्त्रण र व्यवस्थापन असफल प्रायः देखियो । भलै अहिले अमेरिकाले यस माहामारीलाई सामना गर्न केही सकारात्मक पहल लिएको छ । कोरोना महामारीको अर्को सन्देश, हरेक देशले आफू र आफ्ना नागरिकलाई प्राथमिकतामा राख्दा रहेछन् । पहिले आफू बचौँं, पछि मिले अरूलाई सहयोग गरौँला भन्ने आम दृष्टिकोणको निर्माण हुँदो रहेछ । कतिसम्म भने चिनियाँ बजारमा खरिद गरेर फ्रान्स लान लागिएको स्वास्थ्य सामग्रीको कार्गो जहाज नै अमेरिका उतारिएको समाचार आयो । अहिले पनि शक्ति सम्पन्न राष्ट्र खोप पहिले आफ्ना लागि सुरक्षित गरिरहेका छन् । गरिब देशहरू हेरेकोहेर्‍यै भएका छन् । नेपालले यस मामिलामा भूराजनीतिक लाभ हासिल गरेको छ । पहिलो भारतले १० लाख खोप उपलब्ध गरायो । पछि चीनले आठ लाख खोप पठाइदियो । 

त्यसवेलासम्म नेपालले भारतबाटै सहयोगमा पाएको वा किनेर पनि आफ्ना नगारिकका लागि खोपको माग पूरा गर्न सकिन्छ भन्ने सोच राखेको थियो । त्यसैले गर्दा चीन र रुसमा उपलब्ध खोप खरिद गर्नतर्फ पहल नै गरिएन । जबकि उनीहरू पहिलेदेखि नै नेपाललाई खोप बेच्न तयार थिए । यहीँनेर हाम्रो राजनीतिक नेतृत्वको अल्पदृष्टि र सत्तास्वार्थ मुछिन पुग्यो । अहिले भारतबाट खोप ल्याउने विषय भारतमा उत्पन्न संकटले नै धमिल्याइदिएको छ । यता भारतको सिरम इन्स्टिच्युटबाट किनेर ल्याउन तयार पारिएको पछिल्लो १० लाख खोपसमेत नआउने देखिएको छ । यस्तो समयमा चाहिने भनेकै कुशल कूटनीति हो । 

कूटनीतिका विभिन्न तह प्रयोग गरेर जिटुजी प्रक्रियामार्फत वा सीधै उत्पादक कम्पनीसँग सम्पर्क गरेर भए पनि यथाशक्य छिटो खोप ल्याउनु नै जनतालाई सुरक्षित पार्ने उपाय हो । यस मामिलामा विश्वबजारमा नेपाल मात्र खोप खोजीमा लागेको देश होइन । विश्वभर यसको माग उच्च छ र उत्पादन सीमित छ । जटिल र संकटपूर्ण समयमा खोप राजनीतिका आफ्ना आयाम नभएका पनि होइनन् । अब नेपालले अरू देशबाट खोप ल्याउँदा भारत रिसाउला भन्ने सरकारलाई परेको थियो भने पनि त्यो अवस्था रहेन । त्यसैले पनि छिटोभन्दा छिटो रुसी या चिनियाँ कम्पनीसँग सम्बन्ध स्थापित गरी खोप खरिद गर्नेतिर सरकारले कूटनीतिक सक्रियता देखाउनु जरुरी छ । अहिलेसम्मका परिणाम हेर्दा यस मामिलामा परराष्ट्र मन्त्रालयको क्षमतामा प्रश्न उठ्ने अवस्था छ ।