मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
केदार दाहाल काठमाडौं
२०७८ बैशाख २३ बिहीबार १०:४०:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

 कोरोनाका गम्भीर बिरामीलाई बेड छैन, तर ठूला अस्पतालका बेड विदेशी पर्यटकलाई रिजर्भ 

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७८ बैशाख २३ बिहीबार १०:४०:००

विदेशी पर्यटक तथा कूटनीतिक नियोगका कर्मचारीलाई ग्रान्डी, ओम, ह्याम्स, नर्भिक, स्टार, बयोधा, ग्रिनसिटीलगायतमा दुई साताअगाडिदेखि सयौँ बेड होल्ड

हिमाल आरोहणमा आउने पर्यटकहरूलाई काठमाडौंका ठूला अस्पतालले बेड छुट्याएर राख्दा कोरानाबाट गम्भीर बिरामीले उपचार नपाउने अवस्था आएको छ । ठूला अस्पतालले पर्यटकसँग मनग्य रकम असुल गर्न पाउने भएकाले दुई साताअगाडिदेखि नै पर्यटकलाई बेड होल्ड गरेर राखेका छन् । हिमाल आरोहणमा जाँदा पर्यटकहरूलाई समस्या पर्न सक्ने तथा कोरोनाको समेत जोखिम भएकाले बेड पाउन नसक्ने आकलन गर्दै ट्राभल एजेन्सीहरूले अस्पतालका बेड होल्ड गरेका हुन् । उनीहरूले ग्रान्डी, ओम, ह्याम्स, नर्भिक, स्टार, बयोधा, ग्रिनसिटीलगायतका ठूला सुविधासम्पन्न अस्पतालका बेड होल्ड गरेर राखेका छन् । सोहीअनु्सार पर्यटकहरू पनि बेसक्याम्पबाट सीधै अस्पताल गएर आराम गरिरहेका एक व्यवसायीले जानकारी दिए । उनका अनुसार कोेरोना संक्रमण फैलिएपछि विदेशीहरू मानसिक त्रासले अस्पतालमै गएर बसेका हुन् । 

‘अस्पतालमा बसेपछि बिमा गरेर आएका विदेशीहरूले बिमा रकमसमेत दाबी गर्न पाउने तथा अस्पतालहरूले पनि मनग्य आम्दानी गर्न पाउने देखिन्छ,’ ती व्यवसायीले भने । सोहीकारण पर्यटकसहित विदेशी कूटनीतिक नियोग तथा एनजिओ, आइनजिओमा आउने विदेशीहरूले पनि अस्पतालका सयाैँ बेडहरू होल्ड गर्न लगाएका छन् । हिमाल आरोहणमा मात्रै यो सिजनमा विभागबाट ८५ आरोहण दलबाट ७ सय ४२ आरोहीले आरोहणको अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि ४३ समूहका ३ सय १५ पुरुष र ९२ जना महिला गरेर ४ सय ८ जनाले अनुमति लिएका छन् । आरोहणमा आउनेहरूका सहयोगी तथा आफन्त पनि हुने भएकाले धेरै बेडहरू होल्ड भएका छन् । 

सगरमाथा बेसक्याम्पमा नै कोरोना फैलिएको आशंका 
कोभिड–१९को दोस्रो लहरको जोखिमका बीच सयौँ सहयोगीसहित विभिन्न हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा जम्मा भएका छन् । सगमारथा आरोहणका लागि मात्रै आधार शिविरमा झन्डै ४ हजार मानिसहरू जम्मा भएका छन् । सरकारले स्वास्थ्य मापदण्डमा कडाइ गरेको जनाउँदै आए पनि एकपछि अर्को आरोहणमा गएका विदेशी नागरिकका कोरोना संक्रमण देखिएको छ । केही दिनअगाडि आरोहणमा आएका नर्वे र भारतका एक–एकजनालाई कोरोना संक्रमण देखिएको थियो । एकजना आरोही गाइड शेर्पालाई पनि कोरोना संक्रमण देखिएको छ । आधार शिविरमा समस्या देखिएपछि हेलिकोप्टरमा उनीहरूलाई काठमाडौं ल्याइएको थियो । अहिले एकजनाको ग्रान्डी र एकजना ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । मंगलबार पुनः आरोहणमा गएका रसियाली दुईजना नागरिकमा कोरोना संक्रमण देखिएपछि काठमाडौं ल्याइएको छ । ती रसियाली भने होटेल आइसोलेसनमा बसेका छन् । 

सहकार्य नहुँदा समस्या 
पछिल्लो समय धेरै होटेलले आइसोलेसन बनाउन तयारी गरे पनि सहकार्यको अभावले ठोस कार्य अगाडि नबढेको होटेल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले बताए । होटेल संघ नेपाल (हान)मा आबद्ध होटेलहरूसँग मात्रै काठमाडौंमा मात्रै ६ हजार ५ सय रुम तारे होटेलमा नै रहेका छन् । भने देशभर ६० हजार रुम रहेका छन् । यता साना नन्तारे होटेलहरूमा देशभर १ लाख ६० हजार कोठा रहेका छन् । 

अस्पताल, नेपाल सरकार र होटेल व्यवसायीबीच छलफल भएर मेडिकल टिम प्रत्येक होटेलमा खटाउन सकेमा तत्कालै काठमाडौंमा मात्रै ६ हजार ५ सय रुम तारे होटलमा नै उपलब्ध हुने अवस्था रहेको महासचिव शाक्यले बताए । 

धौलागिरी आरोहणमा गएका १९ आरोहीलाई कोरोना संक्रमण

द गार्डियनले धौलागिरी हिमाल आरोहणमा जाने क्रममा १९ जनाभन्दा बढी आरोहीलाई कोरोना संक्रमण भएको जनाएको छ । द गार्डियनले आफ्नो अनलाइन संस्करणमा धौलागिरी बेसक्याम्पमा आरोहणमा गएका १९ जनाभन्दा बढी आरोहीलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । सबै आरोहीलाई एयरलिफ्ट गरेर काठमाडौं पठाइएको जनाइएको छ । द गार्डियनलाई सेभेन समिटका सञ्चालक तथा गाइड मिग्मा शेर्पाले र्‍यापिड टेस्टको क्रममा ती आरोहीलाई कोरोना पोजेटिभ देखिएको जनाएका छन् । 

सस्तो मूल्यमै होटेल आइसोलेसनमा 
निजी अस्पतालहरूले कोरोनाका बिरामीसँग महँगो शुल्क असुल गरिरहेका वेला दुई होटेलहरूले सस्तो मूल्यमै आइसोलेसन सेवा सुरु गरेका छन् । तीनतारेस्तरका कान्तिपथमा रहेको एल्लो प्यागोडा र ठमेलमा रहेको टिम्बर हाउसले आइसोलेसन सुरु गरेका हुन् । टिम्बर हाउसले ३५ वटा बेडमा आइसोलेसन सुरु गरेको छ भने एल्लो प्यागोडाले ३२ वटा बेडमा आइसोलेसन सेवा सुरु गरेको छ । दुवै होटेलले ५ हजार देखि ७ हजार रुपैयाँ प्रतिदिन शुल्क तोकेका छन् । ‘चारपटक खानेकुरा खुवाएर डिलक्स रुममा राखेका छौँ, आवश्यक पर्नेलाई अक्सिजनको सेवासमेत दिएका छौँ,’ टिम्बर हाउसका सञ्चालक राजेन्द्र अम्गाईले भने । 

तीन दिनअगाडिबाट मात्रै सुरु गरेको आइसोलेसनमा अहिले खास गरी विदेशी मात्रै रहेको र नेपालीलाई पनि सजिलै राख्ने अम्गाईले जानकारी दिए । मेडिकल टिमसहित रहेको र डाक्टरले बिरामी हेर्नुपरेमा चार्ज बिरामीले छुट्टै खर्च व्यहोर्नुपर्ने उनको भनाइ छ । टिम्बर होटेलले मेरो अस्पतालसँग सहकार्य गरेको छ । यता एल्लो प्यागोडाले गौतम बुद्ध अस्पतालसँग सहकार्य गरेको अनिलराज भण्डारीले बताए । केही दिन गम्भीर बिरामी पनि राखेको, तर असम्भव भएपछि परिवारमा बस्न नसक्ने पोजेटिभ देखिएकालाई मात्रै राख्न थालेको भण्डारीले बताए । ‘सबै अस्पतालमै बस्नुपर्ने खालका समेत आउन थालेपछि समस्या भयो,’ भण्डारीले भने ।