कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा संक्रमण पुष्टि भएको छ । बुधबार पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड– १९ का बिरामीको संख्या १० पुगेको अस्पतालले जनाएको छ ।
गत वर्षभन्दा यो वर्ष संक्रमण फैलिने दर उच्च भएकाले संक्रमित थपिइरहेको अस्पतालले जनाएको छ । एक सातायता दिनमा एक–दुईजना देखिएकाेमा आज एकै दिन बढी संख्या देखिएको अस्पतालका प्रवक्ता डा. कृष्णप्रसाद विष्टले बताए । उनले भने, ‘संक्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।’
कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रवक्ता डा. विष्टले बताए ।
अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शंकास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा. विष्टले बताए । बालबालिकाको रिपोर्ट पजिटिभ भएमा कोभिडका लागि छुट्याइएको शय्यामा उपचार गरिन्छ । संक्रमित नभएको पाइएमा अरू सामान्य शय्मा उपचार गरिने उनले बताए । उनले भने, ‘अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।’
अस्पतालले नियमित सेवालाई निरन्तरता दिइरहेको भए पनि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बिरामीको संख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ ।