मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
देवचुली नगरपालिका–१३ का कोरोना संक्रमितलाई ट्याक्टरमा राखेर अस्पाल लैजाँदै परिवार । तस्बिर : नयाँ पत्रिका
रामकुमार श्रेष्ठ नवलपरासी
विवेक पोख्रेल नवलपरासी
२०७८ बैशाख २२ बुधबार ०८:४०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अस्पताल लगिदेऊ भन्दाभन्दै बिरामीले गुमाए ज्यान

Read Time : > 3 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
विवेक पोख्रेल नवलपरासी
२०७८ बैशाख २२ बुधबार ०८:४०:००

देवचुली नगरपालिकाभित्र १० वटा एम्बुलेन्स छन् । बिरामीको अवस्था गम्भीर हुँदै गएको थाहा पाएपछि वडाध्यक्ष आए । नगरपालिकाका स्वास्थ्यकर्मी पनि आए । धेरै मानिस जम्मा भए, तर संक्रमितलाई डेढ किलोमिटर परको अस्पताल पुर्‍याउन न त एम्बुलेन्स तयार भए, न त छिमेकीले कार वा अटो नै दिए ।

लगातार ज्वरो आएपछि १५ वैशाखमा चितवनको पुरानो मेडिकल कलेजमा उपचार गर्न गएका पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ का ६८ वर्षीय पुरुष सामान्य उपचारपछि पिसिआर परीक्षणका लागि स्वाब दिएर फर्किए । घर फर्किएको दुई दिनपछि पजिटिभ रिपोर्ट मोबाइलको म्यासेजमा आयो । लगत्तै उनका परिवारले सम्बन्धित वडा अर्थात् देवचुली–१३ का वडाध्यक्ष क्या. दिलबहादुर खत्रीलाई खबर गरे । वडाध्यक्षले अघिल्लोपटक झैँ स्वास्थ्य कार्यालयलाई स्वतः जानकारी हुन्छ भनेर वास्ता गरेनन् ।

बिस्तारै बिरामीलाई संक्रमणले च्याप्दै गयो । २० वैशाखको बिहानसम्म आफैँ खाना खाएका उनलाई दिउँसो एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । उनका छोरा शंकर काफ्लेले अस्पतालसम्म लैजान हारगुहार मागे, तर कोही तयार भएनन् ।

पाँच बेडको अक्सिजनसहितको आइसोलेसन बेड रहेको प्रस्तावित देवचुली नगर अस्पताल अर्थात् दुम्कौली प्राथमिक स्वास्थ्य चौकी उनको घरबाट करिब डेढ किलोमिटर पर थियो । ‘बुबा पीडामा छट्पटाइरहनुभएको थियो । मलाई अस्पताल लैदिनु भन्दै हुनुहुन्थ्यो, तर कोही तयार भएनन्,’ उनले भने ।

देवचुली नगरपालिकाभित्र १० वटा एम्बुलेन्स छ । बिरामीको अवस्था गम्भीर हुँदै गएको थाहा पाएपछि वडाध्यक्ष खत्री आए । नगरपालिकाका स्वास्थ्यकर्मी सिनियर अहेव शिव पराजुली, पिताम्बर भुर्तेल पनि आए । गाउँका धेरै मानिस जम्मा भए, तर संक्रमितलाई डेढ किलोमिटर परको अस्पताल पुर्‍याउन न त एम्बुलेन्स तयार भए, न त छिमेकीले कार वा अटो नै दिए । समय बित्दै गयो, संक्रमित मृत्युसँग लड्दै थिए । बिरामीको अवस्था झन्झन् नाजुक हुँदै गयो । मोटरसाइकलमा लैजान तयार भए पनि संक्रमण फैलने डरले त्यहाँ रहेका मानिसले मोटरसाइकलमा बोक्न दिएनन् । 

‘मोटरसाइकल वा ह्विलचियरमा भए पनि लैजान्छौँ भनेँ, तर कसैले लैजान दिएनन् । अन्ततः ट्याक्टरमा भए पनि हालियो, तर अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरे,’ काफ्लेले भने, ‘आज हामीलाई यस्तो भयो । भोलि अरूलाई नहोला भन्न सकिन्न । बिरामीलाई ट्याक्टरमा हाल्न कोही पनि तयार भएनन्, सबै रमिते भएर बसे ।’

मृतक परिवारका चारजना घरमै छुटाछुटै आइसोलेसनमा छन् । कोही किरियामा बसेका छन् । किरियामा बस्नु नपर्ने होम आइसोलेसनमा छन् । ‘बस्न खान त समस्या छैन, तर हाम्रो घरमा कसैलाई आउन दिइएको छैन,’ शंकरले भने ।

देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीले संक्रमित परिवारले वेलैमा वडाध्यक्षलाई जानकारी गराए पनि वडाध्यक्षले पहिलाझैँ स्वास्थ्य कार्यालयलाई सोझै जानकारी हुन्छ भन्ने सोचेर पहलकदमी नलिँदा यस्तो परिस्थिति सिर्जना भएको बताइन् ।

वडाध्यक्ष खत्री भन्छन्– मैले बिरामीलाई हातले छुन सकिनँ
देवचुली–१३ का ६८ वर्षीय पुरुष मृत्युशड्ढयामा छटपटिरहँदा देवचुली नगरपालिका–१३ का वडाध्यक्ष क्या.डिलबहादुर खत्री उनकै घर पुगेका थिए । बिरामीलाई सास फेर्न गाह्रो भएको थाहा पाउनासाथ अस्पताल लैजान एम्बुलेन्सलाई फोन गरेँ, तर कुनै एम्बुलेन्स वेलैमा आइपुगेनन् । वडाध्यक्ष खत्री भन्छन्, ‘कोही कता कोही कता छु भनेर जिल्लाबाहिर भएको जानकारी गराए, एउटा एम्बुलेन्स आएको थियो । ऊ आफ्नोमा संक्रमित बोक्न मिल्ने क्याबिन छैन भनेर बीचबाटोबाटै फर्कियो । निकै कष्टकर थियो त्यो समय । म पनि त्यहीँ थिएँ, तर बिरामीलाई ट्याक्टरमा हाल्ने वेला छुने, उचाल्ने, सघाउने आँट गर्न सकिनँ ।’

स्वास्थ्यकर्मी भन्छन्–गम्भीर भएको थाहा पाए पिपिई लाएर आउँथ्यौँ
देवचुलीका संक्रमितका बारेमा उनका परिवारले वडाध्यक्षलाई वेलैमा जानकारी गराए पनि स्वास्थ्यकर्मीले भने सोमबार मात्र थाहा पाएको बताए । बिरामीलाई अस्पताल लैजान साधन नपाएर छटपटिरहेका वेला घटनास्थलमा रहेका दुई स्वास्थ्यकर्मीले आफूहरूले पिपिई नलगाई गएका कारण कुनै सहयोग गर्न नसकेको बताए । घटनास्थलमा भेटिएका सिनियर अहेव शिव पराजुलीले नयाँ पत्रिकासँग भने, ‘मैले आधा बोतल पानी पनि उठाउन सक्दिनँ अनि तेत्रो मान्छे कहाँ उठाउन सक्छु । संक्रमित भएको थाहा पाएर खोज्दै गएका थियौँ, गम्भीर भन्ने थाहा पाएको भए पिपिई लगाएर जाने थियौँ । संक्रमितको कोभिडका कारणभन्दा पनि मुटुको समस्याका कारण निधन भएको हुनुपर्छ । उनको अवस्था बिहानसम्म ठीक रहेछ । हर्टअट्याकका कारण तत्काल ज्यान गएको हुन सक्छ ।’

दिनभर देवचुली तनावग्रस्त
कोभिडको व्यवस्थापनमा नगरपालिकाले चरम लापरबाही गरेको, गम्भीर नभएको भन्दै दिनभर देवचुली तनावग्रस्त बन्यो । स्थानीय बासिन्दा तथा राजनीतिक अगुवाहरूले देवचुली नगर प्रमुख, उपप्रमुखको कार्यकक्षमा ताला लगाइदिए । नगर प्रमुख उपप्रमुखले प्रयोग गरेको सरकारी साधन प्रयोग गर्नसमेत रोक लगाएर नियन्त्रणमा लिए । घटनाबाट आलोचित बनेपछि नगरपालिकाभित्र रहेका १० वटै एम्बुलेन्सचालकलाई बोलाएर हाई अलर्टमा राखेको नगरपालिकाले जनाएको छ । ‘कम्तीमा एउटा एम्बुलेन्स संक्रमितलाई बोक्न नगरपालिकाभित्रै रहने गरी तय गरिएको छ भने अन्य प्रकारका गम्भीर बिरामीलाई बोक्न अर्कोलाई तयारी अवस्थामा राखिएको छ,’ नगर उपप्रमुख पार्वता तिवारीले भनिन् ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले सोमबारको घटना दुःखद र गम्भीर भएको बताए । उनले भने, ‘यो स्वास्थ्यमाथिको गम्भीर लापरबाही हो । त्यस्तो घटना नहुनुपर्ने थियो भयो, तर अब सबै गम्भीर भएर लाग्नुपर्छ । यो सबैलाई पर्ने घटना हो ।’

स्थानीय तहले सहयोग नगरेर मृत्यु भएको अवस्था जिल्लामा छैन : मनमाया भट्टराई पंगेनी, प्रजिअ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) 

देवचुलीमा मृत्यु भएका व्यक्ति कोभिड संक्रमित हो भनेर हामीलाई पहिल्यै जानकारी थिएन । उनी संक्रमित भएर जिल्लामा कतिजनालाई संक्रमण सारे त्यो पनि थाहा भएन । ललितपुरमा कोरोना परीक्षण गराएर आएका उनी पछिल्लो समय सन्चो भएर बसेका थिए रे । उनलाई अचानक गाह्रो भएको वेलामा एम्बुलेन्स फेला परेन । अर्को बिरामी लगेको वेला पर्‍यो ।

जे साधन पाउनुभयो सो प्रयोग गरेर उहाँ अस्पताल पुग्नुभयो । ढिलो ल्याएकै कारणले मृत्यु भएको पनि भन्न मिल्दैन कि ? यस विषयमा डाक्टरहरूसँग बुझ्नुपर्ला । गैँडाकोटकी ८३ वर्षीया महिला एम्बुलेन्समा अस्पतालमा ल्याउँदाल्याउँदै बित्नुभएको थियो, उहाँको कुरा आएन । परिवारले र स्थानीयले कहीँ विरोध गर्नुभएन । चाहिने कुरालाई इस्यु बनाउने हो । नचाहिने कुरामा इस्यु बनाएर नगरपालिकामा ताला लगाउने त भएन नि ।

यतिवेला भड्किने भड्काउने, ताला लगाउने, मान्छेहरू भिड गर्ने काम भएका छन्, यस्तो अवस्थामा हामी संक्रामक रोग ऐनअन्तर्गत कारबाही गर्न बाध्य हुन्छौँ । उहाँ अक्सिजन नपाएर पनि बितेको होइन । अस्पताल लाँदालाँदै मृत्यु भएको हो । स्थानीय तहहरूलाई हामीले यो महामारीको समयमा सक्रिय बनाएका छौँ ।

फोकल पर्सनहरू तोकिएका छन् । निजी क्षेत्रले समेत हामीलाई सहयोग गरेको अवस्था छ । संक्रमित बिरामीका लागि आवश्यक एम्बुलेन्स तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । हरेक स्थानीय तहमा एम्बुलेन्सका चालक सक्रिय छन् । त्यसको अनुगमन गर्ने जिम्मा रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपुरलाई दिइएको छ । अहिलेसम्म उपचार नपाएर, स्थानीय तहले सहयोग नगरेर मानिस मरेको अवस्था जिल्लामा छैन ।