१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o६:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मजदुरको भान्सा फेरि चौरमा (भिडियो रिपोर्ट)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:o२:oo

गत वर्षको लकडाउनमा मनकारीहरूको सहयोगले भोको पेट भरेका विपन्न मजदुर यसपटक पनि खुला आकाशमुनि

मंगलबार अपराह्न ३ नबज्दै मजदुर तथा विपन्नहरू थापाथली प्रसूतिगृहनजिकैको चौरमा जम्मा भइसकेका थिए । आकाशबाट पानी छिट्याउँदै थियो । केहीले चिसो भुइँमै पलेँटी कसेका थिए, केही कार्टुन र इँटा बिछ्याएर बसेका थिए । प्रतीक्षा बेलुकाको खानाको थियो । 

उनीहरू खाना ल्याउने मनकारीको बाटो कुरिरहेका थिए, तर आइपुगे प्रहरी । माइकिङ गर्दै अगाडि बढेका प्रहरी देखेपछि उनीहरू झस्किए, कतै लखेट्ने त होइन भनेर । त्यही भएर कहाँबाट आएका भन्दै प्रहरीले कडा लवजमा प्रश्न गर्दा उनीहरूको बोली फुट्न सकेन । 

कोरोना महामारीमा जोगिन सचेत गराएर प्रहरी फर्किए, मजदुरहरू ढुक्क भए । केहीबेरपछि ट्याक्सीमा प्याकिङ खाना लिएर आइपुगिन् इन्दिरा रानामगर । गत वर्षको लकडाउनमा खुलामञ्चमा मजदुरहरूको पेट भर्न सहयोग गर्नेमध्ये उनी पनि एक थिइन् । यसपालि पनि विभिन्न ठाउँमा समस्यामा परेकालाई उनले खाना वितरण गर्दै छिन् । सोमबारदेखि थापाथलीमा पनि सुरु गरेकी हुन् । 

ट्याक्सीबाट झरेलगत्तै उनले उपस्थितलाई सम्बोधन गरिन्, ‘हामी कोही भोको बस्नु नपरोस् भनेर काम गरिरहेका छौँ । तर, दुई भाग उठाउने पनि भेटिएका छन् ।’ इन्दिराले यसो भन्दै गर्दा एक व्यक्तिले सबैको तर्फबाट वाचा गरे, ‘यहाँ त्यस्तो हुँदैन आमा ।’ सायद खाना खुवाउने कार्यक्रम नै बन्द होला कि भन्ने चिन्ता उनको मनमा पसेको थियो । 

इन्दिराले उपस्थित सबैलाई खानाको प्याकेट बाँडिन् । मजदुरहरूले चउरमै खाना खाए । शंखमूल बस्ने गीता गिरी र उनका श्रीमान् पनि खाना खान आइपुगेका थिए । गत वर्ष लकडाउनमा खुलामञ्चमा पेट भरेका उनीहरूको भान्सा यसपालि पनि खुला आकाशमुनि सरेको छ । कोठामा ग्यास सकिएको र किन्ने पैसा नभएकाले यहाँ आउनुपरेको उनले बताइन् । 

‘ठेलागाडामा फलफूल, तरकारी बेचेर जीविकोपार्जन गर्दै आएका थियौँ । तर, निषेधाज्ञासँगै काम बन्द भएपछि आर्थिक संकट निम्तिएको छ,’ गीताले भनिन्, ‘कोठामा ग्यास सकियो, तर किन्ने पैसा नभएपछि खान खान यहाँ आएका हौँ ।’ उनीहरूले बिहानको खाना पनि थापाथलीमै खाएका थिए ।

दोलखाका श्याम पुडासैनी नुवाकोटको खानेपानी आयोजनामा मजदुरी गर्दाको पाउनुपर्ने पैसा लिन गत १४ वैशाखमा काठमाडौं आएका थिए । तर, पैसा काठमाडौं आइपुगेन । १५ वैशाखको बेलुका मात्रै सम्बन्धित व्यक्तिको हातमा पैसा परेकाले उनी काठमाडौं आउन सम्भव भएन, किनभने भोलिपल्ट बिहानैदेखि निषेधाज्ञा थियो । श्यामले पैसा त पाएनन्, घर फर्किन पनि पाएनन् । कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पस हाताभित्र खुला स्थानमा बस्दै आएको बताउने उनी खाना खान थापाथली आइपुगेका थिए । कीर्तिपुरबाट हिँडेर आएको उनले बताए । 

‘पैसा लिन आएको हो, तर न पैसा पाएँ न घर फर्किन । काठमाडौंमा बस्ने कोठा छैन, कीर्तिपुर क्याम्पस परिसरतिर बस्ने गरेको छु,’ श्यामले भने, ‘थापाथलीमा खाना बाँड्छन् भनेको सुनेपछि हिँडेरै यहाँ आइपुगेँ । के गर्ने परेपछि हिँड्नैपर्‍यो ।’ 

थापाथलीको यही चउरमा बिहान भने ९ देखि ११ बजेसम्म हाम्रो टिम नेपालले खाना खुवाउने गरेको छ । निषेधाज्ञासँगै रोजगारी गुमाएकाहरू गत वर्षजस्तै खानाका लागि खुला आकाशमुनि आउने क्रम बढिरहेको छ । 

ad
ad