मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
सुजित महत काठमाडौं
२०७८ बैशाख १९ आइतबार ०५:००:००
Read Time : > 9 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नयाँ भेरियन्टको संक्रमण दर उच्च छ, मृत्युदर भने उस्तै हो

Read Time : > 9 मिनेट
सुजित महत, काठमाडौं
२०७८ बैशाख १९ आइतबार ०५:००:००

डा. जनक कोइराला,
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका विज्ञ

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट एमबिबिएस तथा युनिभर्सिटी अफ इलिनोई, सिकागोमा जनस्वास्थ्य र इन्टरनल मेडिसिनमा स्नातकोत्तर तथा संक्रामक रोगमा सुपर स्पेसलाइजेसन गरी सदर्न इलिनोई विश्वविद्यालयमा दुई दशक प्राध्यापन र एक दशक विभागीय प्रमुखका रूपमा काम गरी नेपाल फर्केका डा. जनक कोइराला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा विज्ञका रूपमा क्रियाशील छन् । साथै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा परामर्शदाताका रूपमा कार्यरत छन् । मुलुकमा देखिएको कोभिड–१९ को दोस्रो लहरमा केन्द्रित रही नयाँ पत्रिकाका सुजित महतले डा. कोइरालासँग गरेको कुराकानी :

हामी त कोरोना भाइरसमाथि विजय प्राप्त गरिसकेको भ्रममा थियौँ । भारतमा र अहिले नेपालमा पनि यसको दोस्रो लहर आयो, जुन पहिलोभन्दा खतरनाक देखिँदै छ । विज्ञहरूका लागि यो दोस्रो लहर अपेक्षित थियो त ?

दोस्रो लहर आउँछ भन्नेमा त खासै शंका थिएन । लकडाउन थिएन, भीडभाड पनि सुरु भइसकेको थियो । भीडभाडका बाबजुद कोभिड–१९ संक्रमितको संख्या नबढेपछि नागरिकमा ‘हामीले कोरोनालाई जित्यौँ’ भन्ने भाव आएको थियो । मत्थर भएपछि हामी मात्र होइन, विश्वका अरू देशमा पनि अब सधैँकै लागि महामारी मत्थर भयो भन्ने परेको थियो । महामारीको दोस्रो, तेस्रो लहरका बारेमा सर्वसाधारणको चासो नहुनु अस्वाभाविक पनि होइन । हामीकहाँ सुरक्षा सावधानीलाई सबैभन्दा बेवास्ता गरिएको दसैँ–तिहारपछि दोस्रो लहर आउने पूर्वानुमान गरिएको थियो । अन्यत्र पनि जाडोयाममै अर्को लहर आउने पूर्वानुमान थियो । नभन्दै इंग्ल्यान्ड, अमेरिकामा आयो अनि नियन्त्रण पनि भयो । हाम्रोमा चाहिँ अचम्मसँग त्यही वेला मत्थर भयो । हामीकहाँ पहिलो लहर पनि ढिलो गरी आएको हो । मे महिनामा पहिलो केस पहिचान भएपछि एकैचोटि जुलाई–अगस्टदेखि ह्वात्तै बढ्न थालेको हो । भारतमा पनि त्यस बखत जनसंख्याको अनुपातमा कोरोनाको असर कमै देखिएको हो । यसैले हामी दक्षिण एसियालीमै रोगप्रतिरोधी क्षमता बढी रहेको निष्कर्षमा आमजनमानस पुगे । सन् १९१८ को इन्फ्लुएन्जा (स्पेनिस फ्लु) पनि तेस्रो लहरपछि बल्ल मत्थर भएको थियो । नागरिकको ठूलो हिस्सामा रोगप्रतिरोधी क्षमता विकास नभएसम्म महामारी आइरहन्छ । अर्को कुरा, कोरोना भाइरसको ‘म्युटेसन’ (रूपान्तरण) हुन्छ भन्ने पोहोर जनवरीमै देखिइसकेको थियो । भाइरस ‘म्युटेसन’ भएपछि अझ तीव्र वेगमा फैलिन सक्छ । म्युटेसन भएको भाइरसमाथि भ्याक्सिनको प्रभावकारिता नहुने हो कि आदि विषयमा विज्ञहरूबीच विमर्श भइरहेको थियो । तैपनि, फेरि पनि म्युटेन्ट भाइरसले झन् कहर ल्याउँछ नै भन्ने ठोकुवा गर्न सकिँदैन । सन् २००३–००४ मा पहिलो सार्समा त्यस्तै भयो । सुरुमा ८–१० देशलाई यसले निकै प्रभावित पा¥यो, तर स्वाट्टै हरायो । दोस्रो, तेस्रो लहर आउँदै आएन । सायद भाइरस नै कमजोर थियो, एक वर्षभित्र बिलायो । कोरोना बलियो छ, यो हराएर जाने सम्भावना हालसम्म त देखिँदैन । यसैले दोस्रो लहर त अवश्यम्भावी थियो । 

यो भाइरससँगको युद्ध हो । भाइरसको ब्रेन छैन, हामीसित ब्रेन छ । त्यसैको मद्दतले युद्ध जित्ने हो । युद्धमा जस्तै सबै मिलेर लड्नुपर्छ । युद्धमा सेनाले बचाइहाल्छ भनेर गैरसैनिकले जे पनि गर्न थाले के हुन्छ ? गैरसैनिकले पनि सुरक्षा सावधानी अपनाउने, दुस्मनविरुद्ध सक्रिय हुने गरे युद्ध जित्न सजिलो हुन्छ ।

दोस्रो लहरमा भारतमा जे–जस्तो अवस्था देखिँदै छ, नेपालमै पनि पहिलोभन्दा विकराल अवस्था देखिइसक्यो । पहिलो लहरको भाइरस र अहिलेकोमा के फरक छ ? के यो बढी घातक हो ?

यो युके भेरियन्ट हो । भारतमा आइपुग्दा डबल म्युटेसन भएको पनि भनिएको छ, यकिन भएको छैन । सिंगल म्युटेसनमा एउटा प्रोटिन अल्टर भएको हुन्छ, डबलमा दुइटा प्रोटिन अल्टर हुन्छ । स्पाइक प्रोटिन भनिन्छ । मान्छेको शरीरमा प्रवेश गर्ने र बिरामी बनाउने त्यही स्पाइक प्रोटिनले गर्दा हो । भ्याक्सिनमा हुने प्रोटिन पनि त्यही स्पाइक प्रोटिन हो । भाइरसमा बदलाव (म्युटेसन) हुँदा छिटो फैलिने सम्भावना हुन्छ । जस्तो– हिजोको भाइरस एकजनाबाट परिवारकै अर्को एकजना सदस्यमा सर्ने सम्भावना हुन्थ्यो भने अहिले एकजनाबाट परिवारका सबैलाई सर्ने सम्भावना बढी छ । हिजोको भाइरस अर्कोमा संक्रमण हुन एक साता लाग्थ्यो भने अहिलेको एकदमै चाँडै । पहिले वृद्धवृद्धा, रोगप्रतिरोधी क्षमता कमजोर भएका दीर्घरोगीलाई हुन्थ्यो, हाम्रो परिवेशमा पनि त्यही देखिएको थियो । अहिलेको भाइरसले इंग्ल्यान्डमै युवालाई बढी प्रभावित पा¥यो । यहाँ पनि २०–४० उमेरसमूहमा बढी देखिन्छ । ५० नाघेकामा कम देखिन्छ । 

यसको कारणचाहिँ पहिलेको भाइरसबाट संक्रमित हुँदा युवा, रोगप्रतिरोधी क्षमता बलियो भएकामा लक्षण नै देखिँदैनथ्यो । यसैले परीक्षण नै नभई ती रेकर्डमा आउँदैनथे । अहिलेको भाइरसले संक्रमणमा रोगप्रतिरोधी क्षमता बलियो भए पनि लक्षण देखिइहाल्छ । अस्पताल पनि कुदाइहाल्नुपर्ने अवस्था बन्छ । दक्षिण अफ्रिकी भेरियन्ट सबैभन्दा घातक छ, जुन यहाँ फैलिएको छैन । अमेरिकामा पछिल्लो समय फैलिएको ब्राजिलियन भेरियन्ट हो । तिनमा भ्याक्सिन प्रतिरोधी क्षमता बढी छ । एउटा भाइरसले रजाइँ गरिरहेको ठाउँमा अर्को भाइरस फैलिहाल्दैन । भारत र नेपालमा युके भेरियन्टको रजाइँ भएकाले ब्राजिली र दक्षिण अफ्रिकी भेरियन्ट आइहाल्दैन वा एकदमै कम फैलिने सम्भावना हुन्छ । हामी वा अरू जनावरमा अंग विकास हुने एउटा पूर्ण मेकानिजम हुन्छ । एउटा सेलबाट सुरु भई मल्टिप्लाई हुँदै फोक्सो, छाला, दिमाग, कलेजो आदि अंग ठ्याक्कै बन्छ । शरीरको पूर्ण संरचना तयार हुन्छ । तर, भाइरसको शरीरमा त्यो पूर्ण मेकानिजम हुँदैन । मल्टिप्लाई गर्दै जाँदा प्रोटिनहरू लाइन लगाउने हो । प्रोटिन यताउता भएपछि प्रिन्टिङ गर्दा एरर भएर शब्दको अर्कै अर्थ लाग्ने वा अर्थै नलाग्ने हुन्छ नि, त्यस्तै भाइरसको प्रभावमा पनि फरक पर्छ । युके भेरियन्ट प्रोटिनमा परिवर्तन भएको हुँदा मान्छेको सेलमा छिटै पस्न सक्ने, छिटो फैलिने भयो । 

भाइरसमा म्युटेसन हुँदा भ्याक्सिनको प्रभावकारिता नहुने हो कि भन्ने डर पनि थियो, तर भ्याक्सिनले काम गरेको छ । ‘कोभिसिल्ड’ले अहिलेको भाइरसबाट जोगाउँछ । भारतमा भनिएको डबल म्युटेसनमा भ्याक्सिनको प्रभावकारिता प्रमाणित भइसकेको छैन, अध्ययन जारी छ । ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको भाइरसमा भने ‘कोभिसिल्ड’ले काम नगर्ने प्रमाणित भइसकेको छ ।

पहिलो लहरमा हामीकहाँ र भारतमा खासै भौतिक क्षति भएन, अहिले किन हताहती बढिरहेको छ ?

भाइरस बढी घातक भएर होइन । मृत्युदर त अझ घटेको छ, विश्वव्यापी रूपमा । बढ्ता मान्छे मरेकोचाहिँ बढी पैmलिएर हो । पहिले एक महिनामा एक सय थपिन्थे भने अहिले दुई हजार थपिन्छन् । संक्रमित हुनेको संख्या बढेपछि मर्नेको संख्या पनि बढेको हो । भारतमा बिरामी ह्वात्तै बढेपछि स्वास्थ्य प्रणालीले काम गर्न सकेन । अक्सिजनसमेत दिन नसकिने अवस्था आयो । मान्छेले डराएर घरघरै अक्सिजन भरिएका सिलिन्डर राख्न थाले । बजारमा सिलिन्डर नभएपछि अक्सिजनको वितरण प्रभावित भयो । ‘रेम्डेसिभिर’ त्यही भयो । भोलि संक्रमित भइहालियो भने काम लाग्छ भनेर ‘रेम्डेसिभिर’ किनेर राख्न थाले । नत्र उपचारमा त पोहोरभन्दा यसपालि स्वास्थ्यकर्मी झन् दक्ष भइसके नि । मृत्युदर ४–५ प्रतिशतबाट १ प्रतिशतभन्दा कममा झरेको छ । उपचार पाए संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था एकदमै न्यून छ । स्टेरोइड र अक्सिजन मात्र भए बिरामी बचाउन सकिन्छ । त्यस्तै अवस्था नआओस् भनेर निषेधाज्ञा लगाइएको हो । सुरुमा स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्नुस्, मास्क लाउनुस् भनेर सचेत गराउन खोज्यो । तर, पूर्वराजा नै कुम्भको भीडमा गएर कोभिड–१९ संक्रमित भई फर्किने देशमा नागरिकबाट कति नै अपेक्षा गर्ने ? स्वास्थ्य प्रणाली भारतमै जस्तो क्र्यास नहोस् भनेर निषेधाज्ञा लगाउनुपरेको हो । बिस्तारै फैलियो भने अस्पतालले उपचार गर्न भ्याउँछ, उपचार पाएपछि बिरामीको मृत्यु हुने सम्भावना न्यून हुन्छ । 

बडे–बडे विकसित देशका स्वास्थ्य प्रणाली महामारीले भत्काइदियो, महामारीमा यस्तै हो ? चीनले चाहिँ कसरी व्यवस्थापन ग¥यो ?

अमेरिकामा डोनाल्ड ट्रम्पले हल्का लिइदिँदा स्वास्थ्य प्रणाली क्र्यास भएको हो । व्यापार–व्यवसायलाई प्राथमिकता दिइयो । अर्थतन्त्र सबैभन्दा माथि भनियो । मरे पनि गरिब–अश्वेत मर्छन् भन्नेमा ट्रम्प पुगे । इंग्ल्यान्डमा बोरिस जोन्सन सुरुतिरै संक्रमित भएकाले विज्ञको सुझाबअनुसार चले । विश्वकै उत्कृष्ट विज्ञको कुरा नसुनी ट्रम्पले लहड देखाए । ब्राजिल नियन्त्रणबाहिर जानुमा पनि सामथ्र्यभन्दा पनि हेलचेक्र्याइँ हो । नरेन्द्र मोदीले पनि पर्याप्त गम्भीरता देखाएनन् । अस्ति भर्खरसम्म पश्चिम बंगालमा विशाल चुनावी ¥याली गर्दै थिए । कम्युनिस्ट प्रणालीको चीनमा नागरिक अनुशासनमा बाँधिनैपर्छ । यसैले मास्क र भौतिक दूरीको परिपालना भयो । हामीकहाँ पनि पुलिसले चौबाटोमा उभ्याउन थालेपछि बल्ल घरबाहिर यसै ननिस्कने, मास्क लाउने नियम पालन हुने गर्छ । चीनले कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दियो, जसले फैलिन दिएन । भ्याक्सिनमा पनि चीन अघि नै रह्यो । अर्को कुरा, चीनमा कति–कस्ता तथ्यांक बाहिर ल्याउने भन्ने त सरकारको हातमा छ । त्यसैले वास्तविक चित्र सार्वजनिक नहुन पनि सक्छ । सानो जनसंख्या भएका भुटान, ताइवानले पनि अनुशासनमा बाँधेर स्थिति नियन्त्रणबाहिर जान दिएनन् । 

ट्रम्प हुन् वा बोल्सोनारो, मोदी हुन् वा केपी ओली, दक्षिणपन्थी विचारधाराका शासकले कोभिड–१९ को महामारीलाई गम्भीरतापूर्वक लिएनन् । दक्षिणपन्थी विचारधाराका शासक नै किन ?

यसमा कुनै विचारधाराको प्रभाव हो जस्तो लाग्दैन । ज्ञानको कमीले गर्दा हो । वैज्ञानिक अनुसन्धानमा विश्वास नगर्ने, आफूले पढेको, विश्वास गरेको ज्ञानलाई मात्र अन्तिम सत्य ठान्ने प्रवृत्ति हो । सिसिएमसी र स्वास्थ्य मन्त्रालयको किताब विमोचनमै एलोप्याथीभन्दा नेचुरोप्याथीमा लाग्नुपर्छ भनेको सुन्न प¥यो । बेसार खानुपर्छ भनेर चिकित्सकलाई पढाएर पठाइदिने काम नभएको होइन । यी सब वैज्ञानिक प्रमाण नभएका व्यक्तिका निजी विश्वास हुन् । बेसारको अनुसन्धान नभएको होइन, तर त्यसको प्रभावकारिताबारे कतै पनि पुष्टि भएको छैन । निजी विश्वासलाई महŒव दिने भएपछि नागरिकले दुःख पाउँछन् । मुलुक गलत दिशातिर जान्छ ।

राष्ट्रको नेतृत्व गर्ने नै वैज्ञानिक प्रमाणभन्दा निजी विश्वासमा लाग्ने भएपछि उच्चस्तरीय निर्णयहरूमा त्यसको के–कस्तो प्रभाव पर्दोरहेछ ?

विज्ञसहित धेरैको राय सुनेर निर्णय गर्दा ‘प्राग्मेटिक’ (व्यावहारिक) हुन्छ । सबै कुरामा वैज्ञानिक प्रमाण नहुन सक्छ, यस्तोमा इतिहास हेर्ने हो । निजी आस्था–विश्वासमा गरिने निर्णय ‘डग्मेटिक’ (जडसूत्रवादी) हुन्छ । नेतृत्वले अरूको कुरै नसुनी निजी विश्वासका आधारमा निजी काम गर्दा त्यसले राष्ट्रलाई नै घाटा पुग्छ । त्यसैले मुलुकको विषयमा निर्णय गर्दा निजी विश्वासका आधारमा गरिनु हुँदैन । विज्ञानले धेरै चमत्कार गरिसकेको छ, त्यसैले विज्ञानको आधारमा निर्णय हुनुपर्छ, निजी विश्वासका आधारमा होइन । हाम्रो सन्दर्भमा स्वास्थ्य मन्त्रालय र सिसिएमसी नै हो । मन्त्रालय ‘प्राग्मेटिक’ छ । सुझाब पनि लिने गर्छ । त्यहाँबाट मन्त्रिपरिषद्मा गएपछि चाहिँ गलत निर्णय त भन्दिनँ, विलम्ब भएको छ । अहिलेकै निषेधाज्ञा दुई हप्ता ढिलो भयो । समयमै गर्दिएको भए नेपालगन्जकै क्षति रोक्न सक्थ्यौँ कि । काठमाडौंमा फैलिएपछि मात्र निर्णय गरियो । शिक्षा मन्त्रालयले अघि नै स्कुल बन्द गर्दिनुपथ्र्यो । निजी स्कुलहरूको दबाबमा ढिलो गरे, निजी स्कुलले शुल्क उठाउन गाह्रो परेका कारण खोल्नका लागि दबाब दिएको सबैले बुझेकै छन् । हामीलाई पनि थाहा छ नि, बालबालिकाको पढाइ पोहोरदेखि प्रभावित छ, सकेसम्म पढ्ने वातावरण बनाइदिनुपर्छ । तर, ज्यानभन्दा ठूलो त फेरि केही पनि होइन । अन्ततः सही निर्णय भएको हो । 

बेसार खानुपर्छ भनेर चिकित्सकलाई पढाएर पठाइदिने काम नभएको होइन । यी सब वैज्ञानिक प्रमाण नभएका व्यक्तिका निजी विश्वास हुन् । बेसारको अनुसन्धान नभएको होइन, तर त्यसको प्रभावकारिताबारे कतै पनि पुष्टि भएको छैन । निजी विश्वासलाई महत्व दिने भएपछि नागरिकले दुःख पाउँछन् । मुलुक गलत दिशातिर जान्छ ।

भ्याक्सिनको प्रभावकारिता कस्तो छ ? नेपाल होस् वा भारत, भ्याक्सिन सुरु गर्दा नागरिकमा भ्याक्सिन लाउने अपेक्षित उत्साह देखिएन, दोस्रो लहरले गाँजेपछि बल्ल उत्साह देखिन्छ । भ्याक्सिनको दोस्रो डोज लिइसकेका पनि लक्षणसहित संक्रमित भएको खबर सुनिदै छ, यस्तो किन ? 

महामारी मत्थर भई ‘हामीले कोरोनामाथि विजय प्राप्त गरिसक्यौँ’ भन्ने भाव आएको वेला भ्याक्सिन उपलब्ध भएको हुँदा अपेक्षित उत्साह नदेखिएको हुन सक्छ । भ्याक्सिनमा पनि भाइरस नै हुन्छ, थाहा पाउनेहरू कोरोनाभन्दा भ्याक्सिनको भाइरसले डराएका हुन सक्छन् । भ्याक्सिनको एफिकेसीमा फाइजर र मोडेर्ना नै अब्बल देखिए, ९५ प्रतिशत एफिकेसी प्रमाणित भएको छ । ९५ प्रतिशत एफिकेसीको मतलब सयजनालाई लाउँदा ९५ लाई कोभिड नै लाग्दैन । लाग्ने पाँचजना पनि गम्भीर बिरामी हुँदैनन्, मर्ने त करिब जिरो नै हुन्छ । ‘कोभिसिल्ड’को ७० प्रतिशत एफिकेसी देखिएको छ, अमेरिकामा ८० प्रतिशतसम्म देखियो । ३० प्रतिशतलाई त हुने भयो, तैपनि गम्भीर बिरामी हुनबाट जोगाउँछ । पहिलो डोजले पर्याप्त रोगप्रतिरोधी क्षमता विकास गरेको हुँदैन । दोस्रो डोजको पनि दुई हप्तापछि बल्ल खोपले पूरा काम गर्ने हो । स्पष्ट कुरा के हो भने खोपमार्फत भाइरस नै दिने हो । यसैले त्यो भाइरसले हल्का ज्वरो आउने, जिउ दुख्ने भएको हो । खोपको लक्ष्य रोग लाग्नै नदिने होइन, मर्नबाट जोगाउने हो । संक्रमित भए पनि ज्यान नजाला ।

फाइजर र मोडेर्नामा अत्याधुनिक प्रविधि प्रयोग भएको छ, यसमा भाइरसको जिनलाई निकालेर भ्याक्सिन बनाइन्छ । यो भ्याक्सिन मासंपेशीमा दिएपछि स्पाइक प्रोटिन बनेर एन्टिबडी तयार हुन्छ । त्यसैले प्रभावकारितामा यो अब्बल देखिएको हो । 

‘कोभिसिल्ड’ अलि पुरानो प्रविधिमा उत्पादन भएको हो । भाइरसमा म्युटेसन हुँदा भ्याक्सिनको प्रभावकारिता नहुने हो कि भन्ने डर पनि थियो, तर भ्याक्सिनले काम गरेको छ । हामीकहाँ सुरुमा भित्रिएको ‘कोभिसिल्ड’ले अहिलेको भाइरसबाट जोगाउँछ । भारतमा भनिएको डबल म्युटेसनमा भ्याक्सिनको प्रभावकारिता प्रमाणित भइसकेको छैन, अध्ययन जारी छ । ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको भाइरसमा भने ‘कोभिसिल्ड’ले काम नगर्ने प्रमाणित भइसकेको छ । त्यो नेपालमा आएको छैन । यहाँ भएको युके भेरियन्ट नै हो ।

मन्त्रालय ‘प्राग्मेटिक’ छ, सुझाब पनि लिने गर्छ । त्यहाँबाट मन्त्रिपरिषद्मा गएपछि चाहिँ गलत निर्णय त भन्दिनँ, विलम्ब भएको छ । अहिलेकै निषेधाज्ञा दुई हप्ता ढिलो भयो । समयमै गर्दिएको भए नेपालगन्जकै क्षति रोक्न सक्थ्यौँ कि ! काठमाडौंमा फैलिएपछि मात्र निर्णय गरियो ।

सन् १९१८ को स्पेनिस फ्लुले भारतमा ठूलो हताहती भयो, नेपालमा चाहिँ खासै भौतिक क्षति भएको देखिँदैन, किन होला ?

नेपालमा यातायात सञ्जालमा नजोडिएका कारण हुनुपर्छ । जति आवतजावत भयो, उति महामारी फैलिने हो । हवाईजहाज वा सडक सञ्जाल नभएको समयमा पनि प्लेग महामारीको रूपमा आउँथ्यो । किनकि, जल यातायात प्रचलित थियो । पानीजहाजमै मुसामार्फत मान्छेमा सथ्र्यो । स्पेनिस फ्लु न्युयोर्क, लन्डन, पेरिस र बम्बईमा एकैचोटिजसो फैलिएको थियो । कारण, पानीजहाजमार्फत मान्छेको ओहोरदोहोर । नेपालमा पनि त्यसबखत अलि–अलि भयो होला, तर रोग पहिचान नै भएन होला । केही मान्छे त मरे होलान् नि । तैपनि, भारतको तुलनामा एकदमै कम हताहती भएको हुनुपर्छ । यसको कारणचाहिँ भारत त्यतिवेलै रेल सञ्जालमा जोडिइसकेको थियो । 

आगामी दिन कस्ता होलान् ? भारतकै जस्तो अवस्था आउला कि ?

अहिलेको उभार तत्काल मत्थर हुँदैन । दुई दिनदेखि दुई हप्ताको समय इन्कुवेसनको हुन्छ, औसतमा एक हप्ता । अर्थात्, एक्सपोज भएपछि संक्रमित हुन औसत एक साताको समय लाग्छ । निषेधाज्ञाको नतिजाका लागि यो सकिएको अर्को दुई हप्ता कुर्नुपर्छ । अहिले स्वास्थ्य मन्त्रालयमा बुझ्दा अस्पतालमा बेड उपलब्ध छ भनेको सुन्छु, आवश्यक पर्दा अस्पतालमा फोन घुमायो, बेड छैन भनिन्छ । मन्त्रालयले तथ्यांक तोडमोड ग¥यो कि अस्पतालहरू बिरामी भर्ना गर्न अनिच्छुक हुन्, बुझ्न सकेको छैन । दिनको १०–१५ हजार संक्रमित देखिन थाले भारतकै जस्तै दृश्य दोहोरिन सक्छ । अस्पतालले अत्यावश्यकबाहेक अरू सेवा तत्कालका लागि बन्द गरी कोभिड बेड बढाउन प¥यो । यसबाहेक अक्सिजनसहितको बेड भएको सेन्टर स्थापना गर्नुपर्छ । म सक्रिय रहेको अमेरिका–नेपाल फाउन्डेसनले गोंगबुमा राधास्वामी भवनमा दुई सय बेडको आइसोलेसन सञ्चालन गर्ने तयारी गरेको छ, जसमा अक्सिजन, औषधिसहित स्वास्थ्यकर्मी परिचालित हुन्छन् । यो महामारीमा अक्सिजन र स्टेरोइडसहित स्वास्थ्यकर्मी परिचालन गर्न सके धेरै बिरामीलाई अस्पताल नपठाई बचाउन सकिन्छ । 

कोरोना भाइरस अर्को एउटा फ्लु भयो, एन्फ्लुएन्जाजस्तै । एन्फ्लुएन्जा जाडोमा हुन्छ । कोरोना बिलाउने होइन कि रहिरहने देखिन्छ । बिस्तारै रोगप्रतिरोधी क्षमता विकास हुन्छ । अमेरिकाले ३० करोडमध्ये १० करोड जनतालाई खोप लगाइसक्यो । हामीले पनि सबैलाई खोप लगाउनुपर्छ । दीर्घरोगीलाई प्राथमिकता दिएर मृत्युदर घटाउनुपर्छ । यो भाइरससँगको युद्ध हो । भाइरसको ब्रेन छैन, हामीसित ब्रेन छ । त्यसैको मद्दतले युद्ध जित्ने हो । युद्धमा जस्तै सबै मिलेर लड्नुपर्छ । युद्धमा सेनाले बचाइहाल्छ भनेर गैरसैनिकले जे पनि गर्न थाले के हुन्छ ? गैरसैनिकले पनि सुरक्षा सावधानी अपनाउने, दुस्मनविरुद्ध सक्रिय हुने गरे युद्ध जित्न सजिलो हुन्छ ।