१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 02 May, 2025
मञ्जु टेलर काठमाडौं
Invalid date format o२:४४:oo
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

३६ निजी ल्याबमध्ये विदेश जान पाँचको पिसिआरलाई मात्रै मान्यता, जनता दिनभर जोखिमपूर्ण लाइनमा

सरकारी अस्पतालमा रिपोर्ट आउन तीन दिन लाग्छ, विदेश जान ४८ घन्टायताको रिपोर्ट अनिवार्य भएकोले निजीमा जान बाध्य

Read Time : > 4 मिनेट
मञ्जु टेलर, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o२:४४:oo

- राजधानीका स्टार, ह्याम्स, मेडिसिटी र मनमोहन तथा भैरहवामा युनिभर्सलको पिसिआरलाई मात्र मान्यता
- विदेश जाने यात्रुको रिपोर्ट विश्वसनीय चाहिने सरकारको तर्क, तर स्वदेशमै बस्ने नागरिकको रिपोर्ट जस्तो भए पनि हुन्छ ? 

......

आइतबार साउदी उड्ने तयारीमा रहेका लुम्बिनीका मोहम्मद उमर शुक्रबार स्टार अस्पताल परिसरमा लाइनमा थिए, पिसिआरका लागि १११६ नम्बरको टिकट लिएका थिए । दिउँसोको ३ बजिसकेकोे थियो । उनको पालो सयजनाभन्दा पछाडि थियो । ‘म्यानपावरले पिसिआर परीक्षणका लागि ह्याम्स वा स्टार अस्पतालमा जानू भनेको थियो, त्यही भएर यता आएको,’ उनले भने । 

सरकारले देशभर ५१ सरकारी र ३६ निजी प्रयोगशालालाई पिसिआर परीक्षणको अनुमति दिएको छ । तर, सरकारी अस्पतालमा जम्मा हजार रुपैयाँमा पिसिआर परीक्षण हुन्छ, तर रिपोर्ट आउन तीनदेखि चार दिनसम्म लाग्छ । तर, विदेश जान अहिले ४८ घन्टाभित्रको रिपोर्ट अनिवार्य गरिएको छ । 

निजी अस्पतालमा ६ देखि आठ घन्टामा नै रिपोर्ट आउँछ, त्यसैले दोब्बर पैसा (दुई हजार) तिरेर पनि यात्रुहरू निजी अस्पताल जान बाध्य छन् । तर, ३६ निजी प्रयोगशालामध्ये जम्मा पाँचको पिसिआर देखाए मात्र विदेश जान पाइन्छ । निजीमा स्टार, ह्याम्स, मेडिसिटी अस्पताल र मनमोहन मेमोरियल मेडिकल कलेज तथा उपत्यकाबाहिर युनिभर्सल मेडिकल कलेजले मात्र मान्यता पाएका छन् । यसरी थोरै प्रयोगशालामा धेरै मान्छेको परीक्षण गराउँदा प्रयोगशालामा नै भिड बढेर संक्रमणको जोखिम बढेको छ । 

ह्याम्स अस्पतालमा पिसिआर गर्नेको भिड । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

त्यसो त सरकारले नै एकै ठाउँमा २५ जनाभन्दा बढी जम्मा नहुन आदेश जारी गरेको छ । तर, प्रयोगशालामा हजारजनाको भिड छ । त्यही भिडमा भेटिए, नेपालगन्जका मानबहादुर बोहरा । स्टार अस्पतालमा बिहानै टिकट लिए पनि बेलुकापखसम्म उनको पालो आएको थिएन । उनी पनि आइतबार साँझ साउदी जाँदै छन् । मंगलबार नेपालगन्जबाट काठमाडौं आएका उनले गुनासो गरे, ‘पहिले नै पिसिआर गरिहाले म्याद सकिन्छ । ठिक्क समयमा गर्दा भिड छ, अन्तको मान्यता नहुने, पाँच अस्पतालको मात्र मान्यता हुने भन्ने अनौठो नियम रहेछ ।’

ह्याम्स अस्पतालमा पालो कुरिरहेकी संगीता भुसाललाई रुघाखोकी लागेको थियो । आइतबार युके जान लागेकी संगीता बिहीबार पिसिआरका लागि अस्पताल गएकी थिइन् । तर, रिपोर्ट पुरानो हुने भएपछि उनी शुक्रबार पनि ह्याम्स पुगेकी थिइन् । ‘हिजो नै यहाँ भिडभाड थियो, आज पनि यस्तै छ । पर्सि फ्लाइट छ, पिसिआर रिपोर्ट पजिटिभ आयो भने के गर्ने होला ?’ उनी डराएकी छिन् । 

सरकारले विदेश जाने प्रयोजनका लागि पिसिआर परीक्षण गर्न निजी अस्पतालको नामै तोकेर अनुमति दिएको छ । परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने वेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच अस्पतालका ल्याबलाई नाम र फोन नम्बरसमेत उल्लेख गरेर अनुमति दिएपछि ती अस्पतालमा परीक्षण गराउनेको भिड छ ।

स्टार अस्पतालमा पनि भिड उस्तै छ । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

विदेश जानेको रिपोर्ट विश्वसनीय होस् भनेर ‘ए’ क्लासका प्रयोगशालालाई मात्र प्रस्तावित यात्रुको पिसिआर परीक्षण गर्ने अनुमति दिएको सरकारको भनाइ छ । ‘विदेश जाने यात्रुका लागि अस्पताल भएका ल्याबलाई मात्र पिसिआर परीक्षण गराउने व्यवस्था गरिएको हो । नेपालमा नेगेटिभ रिपोर्ट आएकालाई पनि हङकङमा शुक्रबार मात्रै पजिटिभ रिपोर्ट आएको छ । त्यसैले यहाँ पिसिआरमा ठूलो आर्थिक खेल देखियो । पिसिआर विश्वसनीय होस् भन्ने हाम्रो आशय हो, यसमा सम्झौता हुँदैन,’ मन्त्री त्रिपाठीले नयाँ पत्रिकासँग भने । 

विदेश जाने यात्रुको पिसिआर रिपोर्टमा सम्झौता नहुने विषय ठीकै हो, तर स्वदेशमै रहनेको रिपोर्ट पनि उत्तिकै विश्वसनीय हुनुपर्दैन ? रिपोर्टमा सम्झौता गर्ने प्रयोगशालालाई सरकारले किन मान्यता दिएको हो भन्ने प्रश्न जीवितै छ । जवाफमा मन्त्री त्रिपाठी भन्छन्, ‘पजिटिभलाई नेगेटिभ रिपोर्ट बनाएर दिने प्रयोगशालामाथि कारबाहीसमेत चलाएका छौँ, त्यसैले यो निर्णयमा म कसैको पनि कुरा सुन्ने पक्षमा छैन । निजीमा भिड गरेर किन बस्नुप¥यो ? सरकारीमा हजार रुपैयाँमा परीक्षण गरे भिडै हुँदैन ।’ तर, मन्त्री त्रिपाठीलाई नै थाहा छ, सरकारी प्रयोगशालाको रिपोर्ट आउन तीन दिन लाग्छ, जब कि विदेश जान सरकारले ४८ घन्टायताको रिपोर्ट अनिवार्य गरेको छ । 

कोभिड– १९ को समयमा पिसिआर रिपोर्टको समय ७२ घन्टा तोकिए पनि दोस्रो लहर फैलिएसँगै रिपोर्टको म्याद घटाइएको छ । अर्थात् विमानमा बस्ने समयको दुई दिनअगाडि मात्र पिसिआर परीक्षण गरिएको हुनुपर्छ । सरकारी अस्पतालमा पिसिआरका लागि भिडभाड रहने हुँदा समयमै पालो नपाइने र कहिलेकाहीँ भिड बढी भएमा रिपोर्ट आउन ढिलाइ हुने हुँदा अधिकांश निजी अस्पताल पुग्ने गरेका छन् ।

ठगी रोक्न अस्पतालमा आधारित प्रयोगशालालाई मात्रै मान्यता : हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री

विदेश जाने यात्रुका लागि अस्पताल भएका ल्याबलाई मात्र पिसिआर परीक्षण गराउने व्यवस्था गरिएको हो । नेपालमा नेगेटिभ रिपोर्ट आएकालाई पनि हङकङमा शुक्रबार मात्रै पजिटिभ रिपोर्ट आएको छ । त्यसैले यहाँ पिसिआरमा ठूलो आर्थिक खेल देखियो । सरकारी प्रयोगशालामा हजार रुपौयाँमा पिसिआर परीक्षण भइरहेको छ । निजीमा दुई हजार रुपैयाँमा परीक्षण हुन्छ । सबैले सरकारीमा पिसिआर गरे हुँदैन ? विदेश जानेसँग १९ हजारसम्म लिएको प्रमाण हामीले सुरक्षित राखेका छौँ । त्यस्ता ल्याब अनुमति खारेज गर्‍यो भनेर हिँडेका छन् । 

पजिटिभलाई नेगेटिभ रिपोर्ट बनाएर दिने प्रयोगशालामाथि कारबाहीसमेत चलाएका छौँ, त्यसैले यो निर्णयमा म कसैको पनि कुरा सुन्ने पक्षमा छैन । निजीमा भिड गरेर किन बस्नुपर्‍यो ? सरकारीमा हजार रुपैयाँमा परीक्षण गरे भिडै हुँदैन । मन्त्रालयले किन अस्पतालमा आधारित प्रयोगशाला भन्यो भने ल्याब भाग्न सक्छन् । अस्पतालका अन्य थुप्रै कार्यक्रम हुने भएकाले कारबाही गर्न सहज हुने भएकाले यस्तो निर्णय गरिएको हो । अहिले आन्तरिक रूपमा धेरै प्रयोगशाला सिआइबीको अनुसन्धानमा छन् । 

......

शनिबार कोरोना संक्रमणको नयाँ रेकर्ड : पछिल्लो २४ घन्टामा ५७६३ नयाँ संक्रमित

सरकारले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने बताएको अर्को दिन नेपालमा कोभिड– १९ को संक्रमणबाट एकै दिनमा अहिलेसम्मकै धेरै संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार (२४ घन्टामा) पाँच हजार सात सय ६३ नयाँ संक्रमित भेटिएका छन् । 

शनिबार पिसिआर र एन्टिजेन गरी १४ हजार नौ सय ६९ जनाको परीक्षण गर्दा पाँच हजार सात सय ६३ नयाँ संक्रमित भेटिएका हुन् । यो ३८ दशमलव पाँच प्रतिशत हो । १४ हजार नौ सय ६९ मध्ये पाँच सय ६६ जनाको एन्टिजेन र बाँकीको पिसिआर परीक्षण भएको थियो । 

यसअघि पहिलो लहरमा कोरोना उच्च संक्रमण हुँदा सबैभन्दा धेरै एकै दिनमा ५ कात्तिकमा पाँच हजार सात सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो । २० हजार एक सय १८ जनाको परीक्षण हुँदा साढे २८ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

शुक्रबार स्वास्थ्य मन्त्रालयले ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शड्ढया उपलब्ध गराउन नसकिने’ भएको जनाएको थियो । नयाँ भेरियन्टसँगै आएको दोस्रो लहरले कोरोना महामारी भयावह बन्दै गएको छ । 

शुक्रबार २४ घन्टामा पाँच हजार सात सय २७ जना नयाँ संक्रमित भेटिएका थिए । देशभरका १५ हजार तीन सय ९१ पिसिआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको थियो । यस अवधिमा पाँच सय २५ जनामा एन्टिजेन परीक्षण गर्दा ७० जना संक्रमित भेटिएका थिए । 

शनिबार २४ घन्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्‍न जिल्लामा गरी शुक्रबार कोरानाबाट ३३ जनाको मृत्यु भएको जानकारी दिएको थियो । मन्त्रालयले बिहीबार २४ घन्टाको अवधिमा ३५ जनाको मृत्यु भएको जनाएको थियो । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म तीन हजार दुई सय ९८ पुगेको छ ।

संक्रमितको पछिल्लो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको छ । शुक्रबार एक हजार दुई सय ८७ निको भएसँगै निको हुनेको संख्या दुई लाख ८२ हजार तीन सय ८२ पुगेको छ । हालसम्म पिसिआर परीक्षण २४ लाख ८८ हजार तीन सय ५९ पुगेको छ । आइसोलेसनमा ४३ हजार दुई सय १३ र क्वारेन्टिनमा ६७ जना रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, धनुुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढिरहेको बताएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।