मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ६ आइतबार
  • Sunday, 20 June, 2021
अर्जुन अधिकारी काठमाडाैं
२०७८ बैशाख १८ शनिबार ०५:५७:००
Read Time : > 7 मिनेट
Read Time : > 7 मिनेट
२०७८ बैशाख १८ शनिबार ०५:५७:००

आज, सिकिस्त बिरामीलाई पनि अस्पतालमा बेड छैन भनेर सार्वजनिक सूचना जारी गर्ने सरकारले धेरै अघि होइन, १० दिनअघि मात्रै अथाह भिड जम्मा गर्दै थियो

गत साता मात्रै बालुवाटारमा मूर्ति  पूजा गर्न सरकारले नै भिड जम्मा गर्‍यो

६ वैशाखमा मन्त्रिपरिषद्ले २५ जनाभन्दा बढी भेला भए कारबाही हुने निर्णय गर्‍यो, तर अर्को दिन बालुवाटारमा प्रधानमन्त्रीले मूर्ति पूजाका नाममा यस्तो भिड जम्मा गरे

चितवनको माडीमा सरकारले नै राम मन्दिरका नाममा हजारौँ मान्छे उतार्‍यो

प्रधानमन्त्रीको निर्देशनमा पर्यटनमन्त्री भानुभक्त ढकाल र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा चितवनको माडीमा निकालिएको जुलुस । मन्त्रीहरू विनामास्क जुलुसमा थिए ।

तर, जीवनरक्षाको याचना गर्दै अस्पताल गएका बिरामीलाई सरकार भन्दै छ, ‘बेड दिन सकिँदैन’

महामारीले उच्च गति लिँदै छ । यो कुन हदसम्म जाने हो भन्ने कुनै यकिन छैन । तर, स्वास्थ्य मन्त्रालयले अहिले नै सार्वजनिक सूचना निकालेर भन्यो, ‘अस्पतालले बिरामी थेग्न सक्दैन ।’

....                 ....

नयाँ भेरियन्ट देखिएसँगै कोरोना महामारी भयावह बन्दै छ । संक्रमितले अस्पतालमा उपचार पाउन कठिन भइरहेको छ । यही वेला सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको भन्दै ‘हात उठाएको’ छ । 

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहर देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको बताएको छ । संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भन्दै मन्त्रालयले नागरिकलाई थप संवेदनशील हुन आग्रह गरेको छ ।

‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ । त्यसैले सबै दाजुभाइ, दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्यका मापदण्डहरूको संवेदनशील भई कडा रूपमा पालना गर्नु/गराउनुपर्नेछ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन हार्दिक अपिल छ ।’

शुक्रबार मात्रै देशभर पाँच हजार सात सय २७ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ । पछिल्लो १७ दिनमा काठमाडौं उपत्यकामा मात्रै संक्रमण झन्डै १२ गुणाले बढेको छ । गत १ वैशाखमा उपत्यकामा दुई सय ५४ संक्रमित देखिएका थिए । शुक्रबार (१७ वैशाख) दुई हजार नौ सय ५६ जनामा संक्रमण देखिएको छ । 

संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा उपत्यकामा उपचार पाउने सम्भावना भने घट्दै गएको छ । अस्पताल पुगेका बिरामीलाई चिकित्सकले प्राथमिकताका आधारमा मात्रै भर्ना लिन थालेका छन् । सामान्य अवस्थाका संक्रमितले बेड ओगट्दा गम्भीर बिरामीले भर्ना नपाएपछि भर्नामा प्राथमिकता हेर्न थालिएको चिकित्सकहरूले बताएका छन् । 

‘सबै अस्पतालले अब कस्ता अवस्थाका बिरामी मात्रै भर्ना गर्ने भन्ने योजना बनाउनुपर्छ,’ टेकु अस्पतालका कोभिड चिकित्सक डा. अनुप बास्तोलाले भने, ‘स्वास्थ्यमा सुधार देखिएको छ भने त्यस्ता बिरामी रिपोर्ट नेगेटिभ नआउँदासम्म बेडमा राखिरहनुपर्दैन । औषधि र काउन्सिलिङ गरेर घर पठाई अर्को गम्भीर बिरामीलाई भर्ना गर्नुपर्छ । अहिले हामीले आवश्यकता हेरेर मात्रै भर्ना लिन थालेका छौँ ।’

सरकारले उपलब्ध सबै स्रोत–साधन महामारी नियन्त्रणमा लगाउनुपर्ने डा. बास्तोलाले बताए । ‘राजधानीमा मात्रै निजी–सरकारी गरेर हजारौँ बेड छन् । कोभिड अस्पतालबाहेक सबै अस्पताल अहिले खाली छन् । ओपिडी सेवा बन्द छ । सामान्य शल्यक्रिया रोकिएकाले कोभिडबाहेकका अस्पतालका बेड खाली छन् । ती बेड पनि राज्यले प्रयोगमा ल्याउनुपर्छ,’ उनले भने । 

यसपटक सरकारी अस्पताललाई मात्रै कोरोना संक्रमितको उपचार गर्न बाध्यकारी व्यवस्था गरिएको छ । ५० प्रतिशत बेड छुट्याउन भनिएको छ । जब कि गत वर्ष निजी अस्पताललाई समेत कोरोना संक्रमितका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन थियो । देशभरका सरकारी अस्पतालमा करिब सात हजारको संख्यामा मात्रै बेड छन् । 

उपत्यकाका सरकारी अस्पतालमा कोरोनाका लागिसम्म एक हजार एक सय ३२ शड्ढया तयार छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शुक्रबार साँझसम्म सात सय ६९ शय्या  भरिएका छन् । 

उपत्यकाका तीन निजी अस्पताल ग्रान्डी, ह्याम्स र नेपाल मेडिसिटीले पनि संक्रमितको उपचार गरेको तथ्यांक मन्त्रालयमा पठाएका छन् । यी अस्पतालमा कोरोनाका लागि छुट्याएका बेडभन्दा एक सय एक बढी बिरामी भर्ना छन् । तीनवटै अस्पतालमा गरेर ६४ आइसोलेसन बेड छन् भने शुक्रबारसम्म एक सय ६५ बिरामी भर्ना गरिएका छन् । 

 

मन्त्रालयको तथ्यांकअनुसार सरकारी अस्पतालमा एक सय ३८ र निजी अस्पतालमा ७५ आइसियू बेड छन् । शुक्रबार ८० जना सरकारी र ४५ जना निजी अस्पतालका आइसियूमा उपचाररत छन् । त्यस्तै, सरकारी अस्पतालमा ८५ र निजीमा ४१ भेन्टिलेटर कोरोनाका लागि छुट्याइएका छन् । शुक्रबार सरकारीमा ४८ र निजी अस्पतालमा १९ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमण नियन्त्रणका लागि सरकारले आवश्यकताअनुसार निजी अस्पतालको जनशक्तिदेखि उपकरणसम्म प्रयोग गर्न सकिने बताए । ‘आवश्यकताअनुसार आइसियू, भेन्टिलेटर, बेडलगायत उपकरणदेखि जनशक्तिसम्म सरकारले उपयोग गर्छ,’ उनले भने । त्यस्तै, विगतमा आइसोलेसन, क्वारेन्टिन बनाइएका खरिपाटी, आयुर्वेद रिसर्च सेन्टर कीर्तिपुर, वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई पनि तत्काल उपयोगमा ल्याउने सचिव अर्यालको भनाइ छ । 

देशभर रहेका ६ सय ४९ आधारभूत अस्पतालमा पाँच बेडका दरले तीन हजार दुई सय ४५ बेड थप गरिने पनि सचिव अर्यालले बताए । स्वास्थ्य मन्त्रालयले देशभरका निजी मेडिकल कलेजसँग कोरोनाका लागि पनि बेड छुट्याउन सम्झौता गर्न थालेको छ । 

२४ घण्टामा ३३ को मृत्यु, ५७७ जना संक्रमित 

पछिल्लो २४ घन्टा देशभर कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार दुई सय ७९ पुगेको छ । बिहीबार मात्रै ३५ संक्रमितको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार  शुक्रबार देशभर पाँच हजार सात सय २७ नयाँ संक्रमित देखिएका छन् । १५ हजार तीन सय ९१ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जना संक्रमित भेटिएका हुन् । 

संक्रमितको पछिल्लो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख २३ हजार एक सय ८७ पुगेको छ । शुक्रबार नौ सय २८ निको भएसँगै निको हुनेको संख्या दुई लाख ८१ हजार ९५ पुगेको छ । हालसम्म पिसिआर परीक्षण २४ लाख ७३ हजार नौ सय ५६ पुगेको छ । आइसोलेसनमा ३८ हजार आठ सय १३ र क्वारेन्टिनमा ५५ जना रहेका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, धनुुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढिरहेको छ । 

त्यसैबीच खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड– १९ को संक्रमण भएको छ । उनको पिसिआर परीक्षणका क्रममा शुक्रबार बिहान संक्रमण पुष्टि भएको स्वकीय सचिव राजेन्द्र गौतमले बताए । मन्त्री थापाकी छोरी उष्णता श्रेष्ठ थापालाई संक्रमण भएपछि उनको बिहीबार स्वाब संकलन गरिएको थियो । उनकी छोरीलाई चार दिनअघि संक्रमण भएको थियो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोभिड– १९ को संक्रमण भएको थियो । उनी सैनिक अस्पतालमा उपचाररत छन् ।

दुई महिना सबै जुटेर लडौँ : डा. अनुप बास्तोला

हामी अत्यन्तै गम्भीर मोडमा उभिएका छौँ । अघिल्लो वर्षको तुलनामा यसपटक तीव्र गतिमा संक्रमण फैलिएकाले तत्काल रोक्न सक्ने सम्भावना देखिँदैन । तर, सरकारले लकडाउन सुरु गरेको छ । यहीबीचमा आमनागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको खण्डमा अबको दुई महिनामा केही केस घटाउन सकिन्छ कि भन्ने आशा जागेको छ । अबका दुई महिना सबै जुटेर लडौँ । यो हाम्रो लागि मात्रै होइन, हाम्रो पुस्ताकै लागि खराब समय हो । 

अहिले निजी होस् कि सरकारी, कुनै अस्पतालले पनि नाफा नहेरौँ । भएका स्रोत–साधनको समुचित प्रयोग गरौँ । जनशक्ति व्यवस्थापनमा लागौँ । बेडहरू सधैँ प्याक हुँदैनन् । बेड भरिने, खाली हुने क्रम भइरहन्छ । व्यवस्थापन बेडको होइन भिडको गर्नुपर्ने छ । 

कस्ता बिरामी भर्ना गर्ने भन्ने योजना अब सबै अस्पतालले बनाउनुपर्छ । अक्सिजन दिएर राखेका बिरामीको स्वास्थ्यमा सुधार छ भने बेडमा राखिरहनुपर्दैन । अर्को गम्भीर बिरामीलाई भर्ना गर्ने र सुधार भएकालाई काउन्सिलिङ गरेर घर पठाउनुपर्छ । अहिले हामीले आवश्यकता हेरेर मात्रै भर्ना गरिरहेका छौँ । 

निजी–सरकारी गरेर हजारौँ बेड राजधानीमा मात्रै छ । कोभिड अस्पतालबाहेक सबै अस्पताल खाली छन् । ओपिडी सेवा बन्द छ । सामान्य शल्यक्रिया रोकिएकाले कोभिडबाहेकका अस्पतालका बेड खाली छन् । ती बेड पनि राज्यले प्रयोगमा ल्याउनुपर्छ । सबै जुटेको खण्डमा क्षति हुँदैन, जुट्न सकेनौँ भने ठूलो क्षति व्यहोर्नुपर्छ । 

सरकारले जनताको जीवनलाई होइन, मूर्तिलाई महत्व दियो : डा. अरुणा उप्रेती, जनस्वास्थ्यविद्

काेरोना महामारी अहिलेको अवस्थामा पुग्छ भनेर उहिलेदेखि जनस्वास्थ्यविज्ञहरूले सजग गराउँदै आएका थिए । तर, सरकारले वास्ता गरेन । बरु, विभिन्न जात्रा प्रदर्शन गर्‍यो । सरकार र दलहरूले सभा–सम्मेलन गरेर असंवेदनशीलताको पराकाष्ठा देखाए । जनस्वास्थ्यविज्ञहरूले भएभरका जात्रा र सार्वजनिक कार्यक्रमलाई नगर्न/कम गर्न सुझाब दिँदा पनि सरकार र दलहरूले टेरेनन् । नेपालमा मात्रै होइन, भारतमा पनि त्यहाँका दलहरूले यस्तै असंवेदनशीलता देखाए । 

अहिले अस्पतालको मात्रै समस्या होइन, जनस्वास्थ्यको चासोको विषय पनि हो । यो अवस्था आउनुमा सरकार सबैभन्दा बढी जिम्मेवार छ । यसअघिका विभिन्न सरकारको पनि दोष छ । यस्ता विपत् आउँदा मन्त्री वा नेतालाई होइन, आमनागरिकलाई बढी क्षति हुन्छ, दुख्छ । नेता वा मन्त्रीले त समस्या प¥यो भने विभिन्न उपाय अपनाइहाल्छन् नि ! गरिब, मजदुर र मध्यम वर्गीय नागरिक पो मारमा पर्छन् ।

देश महामारीको चपेटामा छ, तर सरकार करोडौँ रुपैयाँ मठ–मन्दिरमा चढाइरहेको छ । अर्बौँ रकम धरहरामा खर्च गरेको छ । यस्तो सरकारको नेतृत्व गरिरहेका नेताहरू पछि जनतासँग के भनेर भोट माग्न आउँछन् होला ? तत्कालको आवश्यकतालाई नजरअन्दाज गरेर यसरी खर्च गर्नु भनेको सरकारको मूर्खता र राजनीतिक स्वार्थीपना हो । 

जनस्वास्थ्यविज्ञहरूले पटकपटक सचेत गराउँदा पनि प्रधानमन्त्रीजस्तो व्यक्ति आफैँ अफवाह फैलाउँदै हिँड्नुभयो । ‘नेपालमा अन्तको जस्तो कोरोना महामारी हुँदैन, केही हुँदैन भनेर प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरूले मूर्खताको पराकाष्ठा प्रदर्शन गरे । अहिले अवस्था जटिल बनेपछि अस्पतालमा बेडको व्यवस्था गर्न सक्दैन भनेर सरकारले निकम्मापन देखाएको छ । सरकारको विज्ञप्ति देखेर निःशब्द हुने अवस्था आएको छ । जन्मिएको दश दिनपछि आमाले बच्चालाई ‘बाँच्न मन लाग्छ भने बाँच, मर्न मन लाग्छ भने मर’ भनेर बाटोमा छाडिदिएकोजस्तै अवस्थामा सरकारले नागरिकलाई पुर्‍याएको छ । 

नेपालमा कोरोना महामारीको पहिलो चरण सुरु भएको करिब एक वर्षभन्दा बढी समय भयो । यसबीचमा सरकारले पर्याप्त अक्सिजनको व्यवस्था गर्न सक्थ्यो । अस्पतालमा बेडको उचित प्रबन्ध मिलाउन सक्थ्यो । खुला सिमाना भएको छिमेकी भारतबाट फर्किएका आफ्ना नागरिकलाई कसरी, कहाँ व्यवस्था गर्ने भनेर क्वारेन्टिन वा आइसोलेसनको व्यवस्था गर्न सक्थ्यो । विभिन्न सञ्चारमाध्यमको प्रयोग गरेर सर्वसाधारणमा सचेतना फैलाउन सक्थ्यो । अस्पतालका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनको तयारी गर्न सक्थ्यो । तर, काम केही नगरेर सयौँ अस्पताल उद्घाटन गरेको भनेर हल्ला मात्रै फिँजायो । 

सरकारले पैसा वा स्रोत नभएर अहिलेको अवस्था आएको होइन । नेतृत्वकर्ताको मूर्खताका कारण यति गम्भीर विषयलाई बेवास्ता गरिएको हो । आमनागरिकको स्वास्थ्यलाई प्राथमिकतामै राखिएन । महामारीमा स्वास्थ्य पूर्वाधार निर्माणभन्दा पशुपतिमा करोडौँको सुनको गजुर राख्न महत्वपूर्ण ठान्यो । नागरिकको जीवनभन्दा राम–सीताको मूर्तिलाई प्राथमिकतामा राख्यो । यसको मारमा हामी आमनागरिक परेका छौँ ।

यस्तो गैरजिम्मेवार सरकार सायद पञ्चायती व्यवस्थामा पनि थिएन होला । महामारीको समयमा जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारले देखाएको गैरजिम्मेवारपनको इतिहासमा लिखत रहनेछ । भावी पुस्तालाई यस्तो निकम्मा सरकार पनि थियो भनेर एउटा महत्वपूर्ण उदाहरण हुनेछ । कोरोना त सधैँभरि रहनेछैन । केही समयपछि वा केही वर्षपछि यो कम हुँदै जानेछ । तर, सरकारले नागरिकमाथि गर्न सक्ने यो हदको हेलचेक्र्याइँ भने फेरि पनि दोहोरिन सक्छ । भावी पुस्तालाई यसबारे जानकारी दिइरहनुपर्छ । 

आज सरकारले निकालेको विज्ञप्तिले संविधानमा प्रत्याभूत गरेको नागरिकको स्वास्थ्य अधिकारको उल्लंघन गरेको छ, धज्जी उडाएको छ । दास प्रथाका शासकहरूको कथा सुन्दा आज जस्तो महसुस हुन्छ, केही वर्षपछि सायद अहिलेका शासकहरूको कथा त्योभन्दा पनि कारुणिक सुनिनेछ ।

प्रदेश सरकारहरूको कमजोरीसमेत छताछुल्ल भएको छ । मैले पछिल्लो एक वर्षमा देशका धेरै ठाउँमा पुगेर त्यहाँका स्वास्थ्य संस्थाबारे बुझ्ने अवसर पाएँ । नेपालगन्ज, धनगढीलगायत सहरको अवस्था हेर्दा धान्दैन भन्ने लागेको थियो । त्यस विषयमा हामीले राज्यलाई भन्यौँ पनि । नभन्दै अहिले त्यस्तै अवस्था आएको छ । यद्यपि, भारतको जस्तो अवस्थामा हामी अझै पुगिसकेका छैनौँ । त्यहाँको सरकारले मृतक र संक्रमितको आँकडा लुकाएको भन्ने खबर आइरहेका छन् । यहाँ पनि त्यो अवस्था आयो भने के होला भनेर कल्पना गर्नसमेत डर लाग्छ । 

हाम्रोजस्तै आर्थिक अवस्था भएका कतिपय मुलुकले समयमै जनस्वास्थ्यका मापदण्डप्रति ध्यान दिएकै कारण कोरोना महामारीबाट त्यति ठूलो क्षति व्यहोर्नुपरेको छैन । जस्तो कि श्रीलंका । त्यहाँको अवस्था हाम्रोजस्तो छैन । मानिसको मृत्यु नहुने भन्ने होइन, तर अस्पताल नपाएरै ज्यान गुमाउनु भनेको दुःखद अवस्था हो ।