१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:o६:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सेती नदी र पाताले छाँगो भाडामा दिने तयारी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o६:oo

पोखरा महानगरपालिकाले सेती नदीको नौ किमि र पाताले छाँगोको डेढ किमि क्षेत्र ४० वर्षका लागि सेती क्यान्योन प्रालिलाई भाडामा दिँदै

पोखरा महानगरपालिकाले सेती खोँच र छोरेपाटनस्थित पाताले छाँगो एक निजी कम्पनीलाई ४० वर्षका लागि सुम्पन लागेको छ । ‘सेती खोँच पर्यटन पूर्वाधार विकास आयोजना’ सञ्चालनको नाममा सेती नदीको झन्डै ८.६८ किलोमिटर लामो क्षेत्र र ‘पाताले छाँगो सीसा पुल निर्माण तथा अन्य पूर्वाधार विकास आयोजना’को नाममा पाताले छाँगोको १.५ किलोमिटर क्षेत्र एक निजी कम्पनीलाई सुम्पन लागेको हो । 

पोखरा–४ मा रहेको सेती क्यान्योन प्रालिलाई ४० वर्षका लागि ती क्षेत्र दिन सम्झौता गर्न लागिएको महानगरका योजना महाशाखा प्रमुख इन्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए । कम्पनीलाई महानगरको वडा नम्बर १ को गाईघाटको शवदाह स्थलदेखि तल वडा नम्बर ३, ७, ९, १०, ११, १५, १६ र १७ को ऐतिहासिक र धार्मिकस्थल ढुंगेसाँघुसम्मको क्षेत्र दिने तयारी छ । उक्त कम्पनीसँग सम्झौता गर्न महागरको ४७औँ पूर्ण बैठकले स्वीकृति दिएको छ । महानगरको ४७औँ कार्यपालिकाको बैठकले निर्णयमा भनिएको छ, ‘सार्वजनिक निजी साझेदारीमा सेती खोँचमा साहसिक पर्यटकीय आयोजना सञ्चालन गर्ने सम्बन्धमा समितिको सुझाबको आधारमा श्री सेती क्यानोनिङ प्रालिसँग सम्झौता गर्ने निर्णय गरियो ।’ 

पोखरा महानगरपालिकाको सार्वजनिक निजी साझेदारीसम्बन्धी ऐन २०७४ को दफा २९ बमोजिम अब छिटै सम्झौता गर्ने महानगरको तयारी छ । महानगरका वरिष्ठ इन्जिनियर महेन्द्र गोदारका अनुसार सेती नदीमा मात्र सेती क्यान्योन प्रालिले करिब दुई अर्ब ५० करोड खर्च गर्नेछ । यद्यपि यसको अन्तिम निक्र्याेल भने हुन बाँकी रहेको उनले जानकारी दिए । पाताले छाँगोमा भने कति खर्च गर्ने भन्ने अन्तिम टुंगो लाग्न बाँकी रहेको उनले बताए । दुई वर्षअगाडि विभिन्न राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा विज्ञापन गरेर नै उक्त योजनाका लागि आह्वान गरिएकामा विभिन्न पाँच कम्पनीले आवेदन दिएका इन्जिनियर गोदारले बताए । उनका अनुसार तिनै कम्पनीमध्ये सेती क्यान्योन प्रालिले उपयुक्त प्रस्ताव पेस गरेकाले सो कम्पनीलाई जिम्मा दिने निर्णय भएको हो ।

के के बन्नेछन् संरचना ?
पोखरा महानगरपालिका र सेती क्यान्योन प्रालिबीच गर्न लागिएको सम्झौता ड्राफ्टमा उल्लेख भएबमोजिम आयोजनास्थलमा सोभिनियर सप, पानीसहितको म्युजिकल फाउन्टेन, क्यान्टिलिभरको पैदलयात्राको अन्तरालहरूमा कृत्रिम झरना, सेती खोँचको प्रवेश र निकास द्वार क्षेत्रमा सेल्फी बिन्दुहरू, खोँचभित्र सिसा, काठ र ढुंगाको क्यान्टिलिभर यात्रा, आयोजनाको फोकल बिन्दुमा सिसा स्काइवाक, प्रत्येक प्रवेश र निकास बिन्दुमा ढुंगाको पैदलमार्ग, रेस्टुरेन्ट र क्याफे बन्ने छन् । त्यसैगरी, बोटानिक पार्क, साहसिक वनपार्क, बन्जीजम्पिङ, जीप फ्लायर, क्यानोनिङ, किल्फ वाकिङ, टनेल वाल्क वे, ट्रयम्पोलिङ, धार्मिक मिनिएर्चर र पानी मनोरञ्जन पार्कलगायतका संरचना बन्ने उल्लेख छ । छोरेपाटनको पाताले छाँगोमा सिसाको पुललगायतका संरचना निर्माण हुनेछन् । ती संरचनालाई सेती क्यान्योनले व्यावसायिक रूपमा सञ्चालनमा ल्याउनेछ । 

धार्मिक, सांस्कृतिक र पर्यावरणमाथि नै आक्रमण : सरोकारवाला  
पोखरेली सरोकारवालाहरूले सेती खोँच र पाताले छाँगोलगायतका पर्यटकीय स्थल निजी क्षेत्रलाई दिने निर्णयलाई ‘धार्मिक, सांस्कृतिक र पर्यावरणमाथिकै आक्रमण’ भनेका छन् । सेती डिल र पाताले छाँगोवरपरको भूभाग अत्यन्त कमजोर रहेको र विभिन्न समयमा विज्ञहरूले उक्त क्षेत्रमा संरचना नबनाउन आग्रह गर्दै आएको पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले बताए । ‘सेती डिल र त्यसको वरपरकै भूभाग कमजोर छ । विभिन्न समयमा भूगर्भविद्ले दिएको प्रतिवेदन महानगरसँगै छ । त्यति मात्र नभएर ऐतिहासिक धार्मिक, सांकृतिक र प्राकृतिक दृष्टिकोणले त्यस्ता ठाउँमा मानवीय क्रियाकलाप अत्यधिक गर्ने काम उचित छैन,’ उनले भने ।

वातावरणविज्ञ डा.अनिल सुवेदीले फेवाताल र अन्य तालतलैया रामसार सूचीमा सूचीकृत हुँदा नै के गर्न पाउने र के गर्न नपाउने स्पष्ट भनिएको बताए । सेती नदी र यसको सिमक्षेत्रलाई समेत उक्त मापदण्डले छुने उनको भनाइ छ । मानवीय हिसाबले पनि सिसाको पुल जोखिमयुक्त रहेको प्रतिवेदन आइरहेका वेला कुनै पनि हिसाबले त्यहाँ पूर्वाधार निर्माण उपयुक्त नभएको सुवेदीको दाबी छ । सेती नदीवरपर हिन्दू, बौद्धलगायत धर्मावलम्बीको आस्थासमेत जोडिएकाले संस्कृतिमाथिको हमला भएको उनको तर्क छ । ‘सेती नदीसँग पोखरेलीहरूको आस्था जोडिएको छ । सेती किनारवरपर मन्दिर छ । बौद्ध बिहार छ । त्यहाँ संरचना बन्नु भनेको आस्था र संस्कृतिमाथि पनि हमला हो,’ सुवेदी भन्छन्, ‘भोेलि त्यहाँ झोला राखेको पनि पैसा तिर्नुपर्ने स्थिति आउन सक्छ ।’

छोरेपाटन मावि व्यवस्थापन समितिका पूर्वअध्यक्ष टीकाराम पौडेलले पाताले छाँगो नगर विकास समितिको नाममा रहेको र समितिले भोगाधिकार छोरेपाटन माविलाई नै दिएकाले अर्काको सम्पत्ति हडप्ने अधिकार महानगरलाई नभएको बताए । ‘छोरेपाटनको पाताले छाँगोवरिपरि मापदण्डविपरीत संरचना बनेका छन् । ती संरचना भत्काउनुको साटो महानगर आफैँ मापदण्ड मिच्न खोज्दै छ,’ पौडेलले भने ।

पोखरा महानगरका मेयर मानबहादुर जिसी भन्छन्–आकाश नै खस्यो जसरी प्रचार गरियो

पोखरा महानगरका मेयर मानबहादुर जिसीले तीन वर्ष लामो प्रयासपछि बल्ल सम्झौता गर्ने चरणमा पुग्न लागिएको जानकारी दिए । उनले सबै पक्षसँग छलफल गरेरै निष्कर्षमा पुगिएको दाबी पनि गरे । लगानीका लागि स्वीकृति दिँदैमा सबै कुरा नसकिने भन्दै उनले योजना कार्यान्वयनमा जान धेरै चरण पार गर्नुपर्ने औँल्याए । 

‘समग्र पोखराको हितका लागि हामीले काम गर्न खोजेका हौँ । यसमा फाइनान्सियल ग्यारेन्टीका विषय छन् । त्यो भित्रने चानेचुने कुरा होइन । इआइएको कुरा छ । डिपिआर निर्माण गर्ने कुरा छ । भौगर्भिक अध्ययनलगायतका सर्तहरू छन्् । संघीय सरकारले स्वीकृति दिनुपर्नेछ । यी सबै पूरा भएपछि मात्र योजना कार्यान्वयनमा जाने हो,’ उनले भने, ‘अहिले नै सबै आकाशै खस्यो भन्ने ढंगले प्रचार गरिएको छ । 

महानगरले आर्थिक प्रलोभनमा यो सबै गर्‍यो भन्ने कुरा सबै वाहियात हो । प्राकृतिक स्रोतसाधन बेच्यो भन्ने कुरासँग म सहमत छैन ।’ यदि पोखराको हितविपरीत देखिए सच्याउन सकिने उनको भनाइ छ । ‘यो सम्झौता नै सबै कुरा होइन । भोलि गलत भन्ने भयो भने यसलाई सच्याएर अगाडि बढ्न पनि सकिन्छ । यो लालमोहर नै लगाएको त होइन नि । यति धेरै विरोध गर्न जरुरी छैन,’ जिसीले भने ।

ad
ad