१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:३६:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चार वर्षअघि भारतमा बेचिएकी नुवाकोटकी बालिकाको उद्धार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:३६:oo

नुवाकोटकी शर्मिला (१७) (नाम परिवर्तन)लाई चार वर्षअघि गाउँकी एक दिदीले भारतमा राम्रो गर्न सकिने आश्वासन दिइन् । घरको आर्थिक अवस्था पनि एकदम कमजोर थियो । उनी काम पाउने आश्वासनले भारततिर लागिन् । चार वर्षअघि भारतको कोलकातामा बेचिएकी उनलाई कोलकातास्थित महावाणिज्य दूतको कार्यालय र विश्व सेवा विस्तार नामक संस्थाले उद्धार गरेर आइतबार नेपाल ल्याएको छ ।

शर्मिला आफू २० वर्ष पुगेको बताउँछिन् । तर, उनको परिवारसँग भेटेर बुझ्दा र उनको डकुमेन्ट हेर्दा १६–१७ वर्षको मात्र रहेको सरस्वती मानन्धरले बताइन् । ‘बहिनी २० वर्ष पुगेँ भन्छिन् । तर, चार वर्षअघि उनी कक्षा– ५ मा पढ्दै गर्दा भारतमा बेचिएकी रहिछन्,’ उनी भन्छिन्, ‘उनको परिवारसँग भेटेर उनको विषयमा बुझ्यौँ । उनी १६–१७ वर्षकी मात्र हुन् ।’ 

कलिलै उमेरमा भारतमा बेचिएकी उनी नेपाली बोल्न सक्दिनन् । उनी हिन्दी र बंगाली भाषामा कुरा गर्छिन् । उनलाई काममा लगाइदिने बहानामा बेचिएको मानन्धनरले बताइन् । ‘गाउँमा गएर बुझ्दा काममा लगाइदिने बहानामा भारत पुर्‍याएको जानकारी पाएका छौँ,’ उनले भनिन्, ‘यसबारे थप बुझ्न जरुरी छ ।’ बालिका आफूलाई भारतसम्म पुर्‍याउनेको विषयमा बोल्न चाहन्नन् । कसले भारत पुर्‍यायो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नही बोलिंगी ।’

कोलकतास्थित महावाणिज्य दूतावासका अनुसार ती बालिकालाई त्यहाँको प्रहरीले एक वर्षअघि ‘रेडलाइट एरिया’बाट उद्धार गरेको थियो । उनलाई त्यहाँबाट उद्धार गरेर एक वर्षसम्म ‘सेल्टर होम’मा राखिएको महावाणिज्य दूतावासका कार्यालय सचिव सतिस थापा जानकारी दिए ।

अनुसन्धानको क्रममा उनलाई बेचिएको पाइएको उनले बताए । तर, सानै भएका कारण उनलाई देहव्यापारमा नलगाइएको थापाले बताए । ‘उनलाई बेच्नचाहिँ कोठीमै बेचिएको रहेछ । उनी आफैँ भन्छिन् । तर, उमेर सानो भएका कारण देहव्यापारमा लगाइएनछ,’ कार्यालय सचिव थापाले भने, ‘त्यहाँ उनलाई नानीहरू हेर्ने जिम्मा लगाइएको रहेछ । त्यही क्रममा कोलकाता प्रहरीले उद्धार गरेको हो । एक वर्ष उनी सेल्टर बसिन् । घर पत्ता नलाग्दा उनलाई नेपाल ल्याउन सकिएको थिएन ।’ 

उनको घरमा बिरामी आमा छिन् । आर्थिक अवस्था एकदमै कमजोर रहेको परिवारकी रहेकी विश्व सेवा विस्तारकी संयोजक मानन्धरले बताइन् । ‘हामी उनको घर पुग्यौँ । घरको आर्थिक अवस्था एकदम कमजोर छ । गाउँकै एक महिलाले भारत पुर्‍याएकी रहिछन्,’ उनले भनिन्, ‘आमाले म बिरामी छु । एकपटक छोरीलाई हेर्छु भनेर बोलाउन फोन नम्बर माग्दा पनि ती महिलाले दिइनछिन् ।’ उद्धार गरिएकी ती बालिकालाई परिवारको जिम्मा लगाइने विश्व सेवा विस्तारले जनाएको छ । 

तीन बालकको उद्धार 
महावाणिज्य दूतावास र विश्व सेवा विस्तारले विभिन्न बहानामा भारत पुर्‍याइएका तीनजना बालकको पनि उद्धार गरेको छ । काम दिने र पढाइ पनि दिने बहानमा भारत पुर्‍याइएका तीन बालकको पनि उद्धार भएको छ । उद्धार गरिएका धनकुटा, दमक र सिराहाका बालक छन् । दमक र धनकुटाका दुई बालकलाई छिमेकीले भारतमा राम्रो पढाइदिने भन्दै दार्जिलिङ लगेका थिए । ‘पछिचाहिँ सेल्टरमा लगेर छाडिदिए । म ५ वर्षको हुँदा दार्जिलिङ लगिएको थियो,’ दमकका ती बालक भन्छन्, ‘घर आउन साह्रै मन लाग्यो र सेल्टरमा सरहरूलाई भनेँ । अनि घर आउन पाएँ ।’ 

सिराहाका ११ वर्षीय बालक काम खोज्दै कोलकाता पुगेका थिए । उनलाई उद्धार गरेर त्यहाँको प्रहरीले ‘सेल्टर होम’मा राखेको थियो । महावाणिज्य दूतावासको समन्वयमा उनको घर पत्ता लगाएर उद्धार गरिएको हो । उनको घरसम्म पुगेर सबै कागजात बनाउन विश्व सेवा विस्तार संस्थाले सहयोग गरेको संस्थाका प्रतिनिधि इन्द्र बस्नेतले जानकारी दिए । 
तस्बिर क्याप्सन : भारतबाट उद्धार गरेर ल्याइएकी बालिका । तस्बिर : नयाँ पत्रिका 
 

ad
ad