१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:o२:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद

ब्याटिङ, बलिङ र फिल्डिङमा नेपालकाे अभूतपूर्व प्रदर्शन

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:o२:oo

नेदरल्यान्ड्सलाई एक सय ४२ रनको भारी अन्तरले पराजित गर्दै उपाधि जित्ने क्रममा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा अभूतपूर्व प्रदर्शन गरेको छ

ब्याटिङलाई नेपालको परम्परागत समस्या मानिन्थ्यो । त्रिदेशीय टी–२० शृंखलाको उपाधि भने नेपालले ब्याटिङमै उच्चस्तरको प्रदर्शन गर्दै जितेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्रै तीन विकेट गुमाएर अहिलेसम्मकै ठूलो दुई सय ३८ रनको योगफल तय गर्‍यो । 

पिटर सिलार, कप्तान
हामीले भुर्तेलको सहज क्याच छुटायौँ । त्यो हाम्रो लागि निकै नै भारी पर्‍यो, त्यसबाहेक हामीले धेरै गल्ती गर्‍यौँ । त्योभन्दा पनि हामीलाई उपाधि जित्न एउटा मात्रै खेल हैन कि प्रतियोगिताका सबै खेलमा राम्रो खेल्नुपर्छ भनेर नेपालले सिकाएको छ 
 

ब्याटिङमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलसँगै कुशल मल्लले अर्धशतकीय योगदान दिए । भुर्तेलले ५३ बलमा ७७ रनको अर्धशतक प्रहार गरे । कुशल चौथो ओभरमै आउट हुनबाट जोगिएका थिए । ३.२ ओभरमा बास डी लिडको बलिङमा ठूलो सट खेल्ने प्रयास गर्दा उनी प्वाइन्टमा समातिएका थिए । यद्यपि, नेदरल्यान्ड्सका फिल्डरले आफ्नो हातमा आइसकेको बललाई फुत्काएपछि भुर्तेलले जीवनदान पाए । त्यसबाट अघि बढेका उनले प्रतियोगितामा आफ्नो व्यक्तिगत चौथो अर्धशतक मात्रै प्रहार गरेनन्, टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले आफ्नो व्यक्तिगत सर्वाधिक स्कोरसमेत प्रहार गरे । 

आसिफ सेख आठ बलमा १६ रन जोड्दा आउट भएपछि भुर्तेलसँगको प्रारम्भिक जोडी सुरुवातमै टुटेको थियो । त्यसवेला नेपालले बोर्डमा मात्रै ३० रन पुर्‍याएको थियो । त्यसवेलासम्म आसिफले दुई छक्का र एक चौका प्रहार गरेका थिए । त्यसपछि ब्याटिङका लागि क्रिजमा आएका ज्ञानेन्द्र मल्ल १९ बलमा ३३ रन जोड्दै आउट भए । उनले आफ्नो इनिङ्समा दुई छक्का र तीन चौका प्रहार गरे । त्यसपछि आएका कुशल मल्लले २४ बलमा अविजित ५० रन जोड्दै भुर्तेललाई गतिलो साथ दिए । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो । 

भुर्तेल र मल्ल (कुशल)ले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । भुर्तेल आउट भएपछि क्रिजमा आएका उपकप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन जोड्दै अविजित रहे । उनले तीन छक्का र पाँच चौका प्रहार गरे । मल्ल (कुशल) र दीपेन्द्रले चौथो विकेटका लागि अविजित रहँदै ७५ रनको साझेदारी गरे । त्यसपछि बलिङ र फिल्डिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको नेपालले नेदरल्यान्ड्सलाई १७.२ ओभरमा ९६ रनमै रोकेर सहज जित भेट्टायो । फाइनल खेलमा नेपालले जति सशक्त ब्याटिङ प्रदर्शन गर्‍यो, उत्ति नै राम्रो बलिङ र फिल्डिङ गर्‍यो । 

भुर्तेल र मल्ल (कुशल)ले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । भुर्तेल आउट भएपछि क्रिजमा आएका उपकप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा ४८ रन जोड्दै अविजित रहे ।

नेपाललाई पहिलो सफलता फिल्डिङबाट आसिफले दिलाए । उनले प्वाइन्टबाट ‘डाइरेक्ट हिट’ गर्दै प्रारम्भिक ब्याट्सम्यान तोबियस भिसी (२) लाई आउट गराएर । त्यसपछि कप्तान ज्ञानेन्द्रले एउटा आकर्षक क्याच लिँदा तेस्रो क्रममा बेन कुपर सात विकेटमै आउट भए । 

कमलसिंह ऐरीको बलमा ठूलो सट प्रहार गरेका बेनलाई ज्ञानेन्द्रले बाउन्ड्रीमा आकर्षक क्याच लिए । उनले हावामा रहेको बललाई समातेर माथि फाले, आफ्नो शरीरलाई ब्यालेन्समा राखेर अनि फेरि क्याच लिए । 

भुर्तेलको आकर्षक डाइरेक्ट हिटमा नेपालले नेदरल्यान्ड्सको तेस्रो विकेट लियो । प्वाइन्टबाटै उनले प्रहार गरेको बलले स्टम्प ढालेपछि नेदरल्यान्ड्सका बास डी लिड एक रनमै आउट भए । नेदरल्यान्ड्सले तेस्रो विकेट गुमाउँदा बोर्डमा मात्रै ३३ रन पुर्‍याएको थियो । 

नेदरल्यान्ड्सले त्यसपछि अझ छिटो गतिमा विकेट गुमायो र सय रनको योगफल पनि कटाउन सकेन । नेदरल्यान्ड्सले अन्तर्राष्ट्रिय टी–२० खेलमा रनको आधारमा व्यहोरेको यो अहिलेसम्मकै ठूलो हार बनेको छ । नेदरल्यान्ड्सका लागि सेबास्टियन ब्राटले अविजित २६, म्याक्स ओडोउडले २० र कप्तान पिटर सिलारले १३ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ओडोउड र कप्तान सिलारलाई करण केसीले आउट गराएका थिए । 

भुर्तेलको क्याच छुटाउनु र अन्य धेरै कारणले पराजय व्यहोर्नुपरेको नेदरल्यान्ड्सका कप्तान पिटरले प्रतिक्रिया दिए । ‘हामीले भुर्तेलको सहज क्याच छुटायौँ । त्यो हाम्रो लागि निकै नै भारी पर्‍यो,’ कप्तान पिटरले भने, ‘त्यसबाहेक हामीले धेरै गल्ती गर्‍यौँ । त्योभन्दा पनि हामीलाई नेपालले उपाधि जित्न एउटा मात्रै खेल हैन कि प्रतियोगिताका सबै खेलमा राम्रो खेल्नुपर्छ भनेर सिकाएको छ ।’

नेदरल्यान्ड्सलाई सामान्य योगफलमा रोक्न करणले तीन विकेट लिए । उनी फाइनल खेलको म्यान अफ दी म्याच चुनिए । यस्तै, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । अभिनाश बोहोराले एक विकेट लिए । 

कुशल भुर्तेल सर्वाेत्कृष्ट खेलाडी

आफ्नो डेब्यु खेलमै लगातार तीनसहित चार अर्धशतक प्रहार गरेका नेपालका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल त्रिदेशीय टी–२० शृंखलाको सर्वाेत्कृष्ट खेलाडी चुनिए । 

उनले प्रतियोगिताको पाँचमध्ये चार खेलमा अर्धशतक प्रहार गरे । लिग चरणअन्तर्गत मलेसियाविरुद्धको दोस्रो खेलमा मात्रै उनी (१६) अर्धशतक प्रहार गर्नबाट चुकेका थिए । त्यही प्रदर्शनसँगै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनले आफूमाथि विश्वास देखाएकोमा प्रशिक्षक र कप्तानलाई धन्यवाद दिए।

‘मैले लामो समयदेखि तयारी गरेको थिएँ । त्यसैले पनि मलाई डेब्यु प्रतियोगिता हो भनेर दबाबको महसुस थिएन,’ कुशलले भने, ‘मेरो क्षमता देखेर मलाई विश्वास गर्नुभएकोमा प्रशिक्षक र कप्तानलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूले गर्नुभएको विश्वासअनुसारको प्रदर्शन गरे जस्तो लागेको छ ।’
 

ad
ad